अनुरोध शर्मा | दृष्टिकोण | पुस २१, २०७६
नेपाली राजनीतिको पर्याय बनेको छ अस्थिरता । विगतदेखि हालसम्म पनि नेपाली राजनीति कहिल्यै स्थिर बन्न सकेन । सानो मुलुक, थोरै जनसंख्या, पर्याप्त प्राकृतिक स्रोत र साधन भएको नेपाल जस्तो मुलुकलाई सपनामा होइन, विपनामै स्विट्जरल्याण्ड र सिंगापुरभन्दा सुन्दर र विकसित बनाउन सकिन्छ । तर, यहाँको राजनीतिक अस्थिरता, नेतृत्वको बेइमानी, कर्मचारीचन्त्रको भ्रष्ट र अल्छी आचरणले गर्दा नेपाल सुन्दर भएर पनि कुरूप बन्दै गएको यथार्थ हो ।
२००७ साल अघिको परिवेशलाई एकछिन बिर्सने हो भने त्यसयताको खुला राजनीतिक वातावरणमा जे गर्न सकिन्थ्यो, त्यो पनि भएन । कारण, अस्थिर राजनीति नै थियो । राजा त्रिभुवनको मृत्युपछि राजा बनेका महेन्द्रले कलिलो प्रजातन्त्रको घाँटी निमोठेपछि नेपाली राजनीति पुनः अस्थिरतातर्फ धकेलियो । जबसम्म मुलुकको राजनीति स्थिर हुँदैन, तबसम्म शान्ति, अमनचयन र विकासमा गति हुँदैन ।
राजा महेन्द्रले त्यसबीचमा केही सुधार र विकासका कार्य अवश्य गरेका थिए तर राजनीतिक स्थिरता भइदिएको भए अझ बढी काम गर्न सकिन्थ्यो । भूमिगत राजनीतिक दलहरू एकातिर, अद्र्धसशस्त्र जस्तो आन्दोलन अनि निरंकुश र निर्दलीय राजाको प्रत्यक्ष शासनका बीच राजनीतिक स्थिरता र शान्तिको कामना बेकार थियो ।
पटक पटकका आन्दोलन, हिंसा र युद्धका कारण मुलुक थिलथिलो त भयो नै, आमजनमा नमीठो त्रास सदैव रह्यो । एक प्रकारको ‘ट्रमा’बाट नेपाली समाज लामो समयसम्म गुज्रियो । यसले गर्दा मुलुकको विकासमा निकै ठूलो धक्का लाग्यो ।
एकातिर भएका विकासका संरचना ध्वस्त पार्ने कार्य तीब्र भयो, राजनीतिक आन्दोलन वा आमूल परिवर्तनका नाममा भने अर्कातर्फ हत्या र हिंसाका कारण आमजनलाई यस्तो बनाइयो कि जनता कुनै कुरामा पनि उत्साह देखाउन छाडे । अनि कसरी हुन्छ विकास ? कसरी आउँछ समृद्धि ?
पछिल्लो लामो र ठूलो राजनीतिक आन्दोलन १० वर्षे सशस्त्र युद्धले त नेपाली समाज र नेपालको विकासको मार्गमा ठूलै अवरोध गरिदियो । ध्वस्तबाट निर्माणको कथित र गलत नारा दिएर तत्कालीन विद्रोही पक्षले वर्षौंसम्म नमेटिने र नपुरिने घाउ दियो, देशलाई र जनतालाई ।
यसका लागि पहिलो शर्त हो– राजनीतिक स्थिरता । जबसम्म राजनीतिक स्थिरता हुँदैन, कुनै पनि समाज, मुलुकको विकास र समृद्धि दिवा स्वप्न मात्र हुनेछ ।
त्यही घाउ पुर्न प्रयास गर्दागर्दै अर्को चोट लाग्ने क्रम बढ्दो छ । वर्ग संघर्षबाट वर्ण अनि जात र लिंगमा पुगेको नोपाली राजनीति र सामाजिक अवस्था आज निकै चुनौतीपूर्ण बनेको छ हाम्रा लागि ।
जब मुलुक र मुलुकवासीको आमूल परिवर्तनको नारा दिएर राजनीतिक नेतृत्व व्यक्तिगत अहं र स्वार्थमा चुर्लुम्म डुब्छ, तब समाज र राष्ट्र निश्चित रूपमै अधोगतितर्फ लाग्छ ।
वर्तमानमा नेपाली राजनीतिका दलहरू र तिनका नेतृत्वको व्यवहार र सोच हेर्दा यस्तै लाग्छ । यिनीहरू कसरी सत्तामा जाने र आफ्नो स्वार्थ पूरा गर्ने भन्नेमा केन्द्रित देखिन्छन् । देश र जनता गौण विषय बनेका छन् यिनीहरूका लागि ।
देशमा गणतन्त्र आयो, सयौँ वर्षको ‘सामन्ती’ राजतन्त्र ढालियो, जनताका छोराछोरीले शासन गर्ने ‘उत्कृष्ट’ व्यवस्था ल्याइयो भनियो तर खोइ यो झण्डै डेढ दशकको नेपालको अवस्थाम सुधार ? खोइ नेपालीको मुहारमा खुसी ?
अब जनताले भन्न मात्र बाँकी छ– ‘काले–सेते जो आओस्, शान्ति, सुरक्षा, विकास र समृद्धि अनि अमनचयन ल्याओस् ।’
यदि यस्तो अवस्था आयो भने कति लाजमर्दो हुन्छ वर्तमानका नेतृत्वलाई ? वर्तमानका राजनीतिक अगुवालाई ? अनि स्वतन्त्रता, विकास र समृद्धिका लागि भनेर बलिदान गर्ने ती तमाम शहीदहरूको आत्माले के भन्छ ?
यस्ता कुराहरूमा ध्यान कहिले जाला हाम्रा नेतृत्वको ? कहिले सोच्लान् देश र जनताको भविष्यबारे यिनले ?
हो, अब पनि मुलुकलाई समृद्धिको यात्रामा अगाडि नबढाउने हो भने हाम्रा सबै संघर्ष, आन्दोलन र बलिदानी बेकार हुनेछन् । सरकारले बनाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराको कुनै तुक रहँदैन ।
यसका लागि पहिलो शर्त हो– राजनीतिक स्थिरता । जबसम्म राजनीतिक स्थिरता हुँदैन, कुनै पनि समाज, मुलुकको विकास र समृद्धि दिवा स्वप्न मात्र हुनेछ ।
अबका नेपाली राजनीतिक दलहरूले मनन् गर्ने र सोच्नुपर्ने पहिलो कुरा नै यही हो । अनि मात्र विकास र समृद्धि संभव छ , अस्थिरताले गाँजेको समाजमा कुनै पनि काम स्वाभाविक र सहज रूपले सम्पन्न हुन सक्दैनन् ।