विवाहमा प्रयोग हुने लोकमन्त्र

विवाहमा प्रयोग हुने लोकमन्त्र

डा. ध्रुवप्रसाद भट्टराई  |  दृष्टिकोण  |  पुस २२, २०७६

समाजमा विवाह गर्ने कार्य परंपरादेखि नै चलेको हो । विवाह कार्यलाई व्यवस्थित गर्ने र गराउन समाजका प्रबुद्ध वर्गले यसका विधिविधान तयार पारेका छन् । यसै सन्दर्भमा हिन्दु धर्मका विवाह विधिका व्याख्याताहरूले पनि यससम्बन्धी अनेकौँ पुस्तक प्रकाशन गरेका छन् ।

उनीहरूमध्ये केही जातजातिका मानिसहरूले यी पुस्तक पढ्न र पढाउन विद्यालय, महाविद्यालय, विश्वविद्यालय, मठ मन्दिर तथा विभिन्न शिक्षा पद्धतिलाई उपयोग गरेका छन् तापनि लोकसमाजका कतिपय जातजातिका मानिसहरू यसको उपयोग गर्न, यी पुस्तकमा रहेको संस्कृत भाषा पढ्न र संस्कृत भाषा जान्ने व्यक्तिलाई बोलाएर विधानअनुसार विवाह कार्य गर्ने र गराउने सन्दर्भबाट टाढा छन् ।

माथिका सन्दर्भबाट टाढा रहेका जातजातिले पनि यसको विकल्पका रूपमा परंपरादेखि नै आफ्ना मौलिक कार्यविधि तयार पारेका छन् । त्यसै कार्यविधिअनुसार विवाह कार्य सम्पन्न गर्छन् ।

विवाहका समयमा मन्त्र भन्ने परंपराको अनुसरणमा हिन्दु धर्म मान्ने तर हिन्दु धर्मकै विधानबाट टाढा पारिएका दलितहरूले पनि मन्त्रको प्रयोग गर्छन् । तर, यिनीहरूले प्रयोग गर्ने मन्त्र वैदिक वा पौराणिक नभएर लोकमन्त्र हुन् । यी लोकमन्त्र वेदका मन्त्रझैँ श्रुति र स्मृति परंपराबाट आएका हुन् । त्यसैले लोकमन्त्रको परंपरा निकै लामो समयदेखि चलेको मानिन्छ ।

यद्यपि, ‘बुढा मरे भाषा सरे’ भन्ने उखानअनुसार भाषामा आएको परिवर्तनअनुसार यी मन्त्रको भाषामा पनि आधुनिक भाषाको प्रभाव छ । यस प्रकारका मन्त्रहरूको प्रयोग दलितहरू (कामी, दमाईं, सुनार, सार्की तथा गन्धर्व)ले विवाहका समयमा भन्ने गरेका छन् । विवाहका समयमा विभिन्न जातिले भन्ने लोकमन्त्र प्रायः एकै प्रकारका भए पनि विभिन्न ठाउँ र जातिले भनेका लोकमन्त्रमा केही भिन्नता पनि छ । यही भिन्नताले गर्दा कतिपय लोकमन्त्रमा पाठ भेद देखिएको छ तापनि अधिकांश लोकमन्त्र एकै प्रकारका देखिनाले जात र स्थानमा भिन्नता आए पनि लोकमन्त्रमा खासै भिन्नता नरहेको पुष्टि भएको छ ।

दलित जातिका विवाहमा विभिन्न वैदिक वा पौराणिक मन्त्रको प्रभावका लोकमन्त्र पनि प्रयोग भएका पाइन्छन् तापनि यस अध्ययनमा मौलिक लोकपद्यमा आधारित लोकमन्त्रको मात्र उपयोग गरिएको छ ।

मूल पाठ

श्री गणेशाय नमः नमो नमो नमोस्तुते स्वाहा
ॐनमो... ॐ नमो
सिरी गणेशाय नम, सिरीधरबाचा तसमे गुरु
निरञ्जन आपिले थापिले अन्न हेतुकी
पिरथिवीमा भए नव अन्न खन्न
अतलन, वितलन, सुतलन, तलतलन, रसतलन, मातलन, पदतलन
इति तो शक्ति शिला खुब रूप वर्णन
सम्पत सिरी गुरु सिरी विष्णु पाएका नमो नमो स्वाहा ।।
पूर्ण नेपाली (२०६०, २०९) ।

जन्तीलाई टीका लगाई दुलहा अन्माउँदा भनिने मन्त्र
महतारीका दूध खाई साइत गरी
दुलही लिन जाने शुद्ध सुभाङ स्वाहा ।
तिलबहादुर गन्धर्व, भैरवस्थान– ७, रानीठाँटी ।

हुमखाडी बनाउँदा भनिने मन्त्र
कन्याले धुपबत्ती बालेर जग्गेका लागि माटो खनेर ल्याउने ।
सुनैकी कोदाली रूपैकी बिँड
खनखन बाकुकन्ये जग्गेको माटो स्वाहा ।
मानबहादुर वि.क.÷टेकबहादुर वि.क., ख्याल– ४, धैरेनी ।

सुन केरे कोदाली त रूप करे बिँड
खनखन बाली कन्नेले यिनै जग्गेको माटो स्वाहा ।
हुमबहादुर रसाइली, बौघापोखराथोक (लुङ) ।

सुनै के रे कोदाली त रूपै के बिँड
खन हो रे बाली कन्ये माटी मङ्गलु स्वाहा ।
कोपलाल विश्वकर्मा, बन्दीपोखरा– ७, सामाकोट ।

हुमखाडी लिप्दा भनिने मन्त्र
काली गाईको गोबर त
गङ्गाजलको पानी
लिपलिप बाली कन्नेले
यिनै जग्गे लिप स्वाहा ।
हुमबहादुर रसाइली, बौघापोखराथोक (लुङ) ।
चारै कुनाका हौ (हुम) खाडी बनाइयो स्वाहा ।

हुमखाडी वा यज्ञ मण्डपलाई शुद्ध पार्न वा आफूलाई शुद्ध पार्ने मन्त्र
स्वस्ति श्री सुभाङ कालु गाई, सेती गाई,
कामधेनु गाईका गवँतले शुद्ध सुभाङ स्वाहा ।
तिलबहादुर गन्धर्व, भैरवस्थान– ७, रानीठाँटी ।

हुमखाडीमा धागो बेर्दा भनिने मन्त्र
चारैतिर लिङ्गा गाडेर सात वा नौ फेरा धागो बेर्ने ।
ॐ गणेशाय नमः स्वाहा भन्ने
चारै दिशा गाडिम् बरामँड सुनकी स्यौली
माझै फेरा गुथिम् बरामँड सुनकी सुथरी स्वाहा ।
हुमबहादुर रसाइली, बाघौपोखराथोक (लुङ) ।

चारैतिर गाडिम् बरामण सुनका स्याउली
सातैफेरा गुथिम् बरामण सुनको सुथरी स्वाहा ।
कोपलाल विश्वकर्मा, बन्दीपोखरा– ७, सामाकोट ।

रेखी हाल्दा भनिने मन्त्र
हुमखाडीमा सूर्य र चन्द्रको तथा अन्य देवी देवताको आकार बनाउने ।
चारै कुना लेखिम् बर्मा औरे औरे भाँती
सूर्य र चन्द्र छन् साँची स्वाहा ।
मानबहादुर वि.क.÷टेकबहादुर वि.क., ख्याहा– ४, धैरेनी ।
वरिपरि लेखिम् बरामण औरे औरे भाँती

पूर्वखण्ड लेखिम् बरामण चन्द्र सूर्य ज्योति ।
कोपलाल विश्वकर्मा, बन्दीपोखरा– ७, सामाकोट ।

ब्राह्मण, क्षेत्रीको विवाहमा प्रयोग हुने लोकपद्य वा खाँडो आदिको प्रयोग त्यो समाजबाट हटेजस्तै दलित समाजबाट पनि यो परंपरा हटेको देखिन्छ । यसले गर्दा लोकपद्य वा लोकमन्त्र आज लोप हुने अवस्थामा पुगेका छन् । समयमै यिनको संरक्षण गर्नु आवश्यक छ । अझै ढिला भएमा लोकपद्य र लोकमन्त्र हराएर जानेछन् ।

बत्ती जलाउँदा भनिने मन्त्र
चन्द्र–सूर्य लेखेको ठाउँमा बत्ती बाल्ने ।
चारैतिर बालिम् बरामण दिया स्वाहा
चारैतिर दियो बाल्ने ।
कोपलाल विश्वकर्मा, बन्दीपोखरा– ७ ।

ग्रह कटाउँदा भनिने मन्त्र
एकै बाती जगायम् बरामँड
एकै गृह शान्ति भयो
बेदाबेदी पढायम् बरामँड
वेदागृह शान्ति स्वाहा ।
हुमबहादुर रसाइली, बौघापोखराथोक– ६, (लुङ) ।

मण्डपका विभिन्न देवीदेवतालाई पूजा गर्दा भनिने मन्त्र
चारै कुना चारै वेद, बीचमा अग्निहोत्रि स्वाहा
धान, चामल, फल, मेवा, जौ, कुश, तिल रक्षा गरुन् गणेशजीले स्वाहा ।
पञ्चधातु, पञ्चमन्त्र, पाँचै कुना स्वाहा ।
बर्मा, विस्नु, महेश पुज्यौँ गणेश साछी सूर्यचन्द्रको स्वाहा ।
दुर्गाबहादुर सुनार, मदनपोखरा– ७, डिट्ठिनी डाँडा ।

होमखाडीमा आगो जलाउँदा भनिने मन्त्र
सारको चकमक पाटको झुल
जगाऊ जगाऊ विश्वकर्माले यिनै जग्गेको आगो स्वाहा ।
हुमबहादुर रसाइली, बौघापोखराथोक– ६, (लुङ) ।

सारको चकमक पाटको झुलो
जगाऊ हो रे बरामण जग्गेको आगो स्वाहा ।
कहाँबाट आइन पनि कामधेनु गाई
सुनको सिङ, ताँबाको करङ, फलामको खुर,
मुगामोतीको पुच्छर, यिनै गाईको घीउले जग्गे जगायम् स्वाहा ।
चन्दन काठको पनि सुरो बनाइम्
यिनी गाईको घिउले जग्गे जगायम् स्वाहा ।
कोपलाल गहतराज, बन्दीपोखरा– ७, सामाकोट ।

दुलहा र दुलहीलाई मण्डप÷माडो घुमाउँदा भनिने मन्त्र
अचलामा लगनको गाँठो बाँधेर दुलहीलाई मण्डप÷माडो घुमाउने ।
अगि लाइन् भमरी त पछि लाए भमरा
भमराले रनवन घुमाई ल्यायो स्वाहा ।
मानबहादुर वि.क.÷टेकबहादुर वि.क., ख्याहा ।

अघि लाइन् दुलही त पछि लाए दुलहा, सम्पूर्ण दर्शकले ताली बजाए ।
अघि आए भमरा त पछि लाइन् भमरी, सात फन्का बेहुला बेहुलीलाई माडो घुमाए ।
दुर्गाबहादुर सुनार, मदन पोखरा ।

अघिअघि भमरा त पछिपछि भमरी स्वाहा ।
अघि लाइन् भमरी पछि लाए भमरा
भमरीले भमरालाई तीर्थ घुमाइन् स्वाहा ।
विष्णुमान हितङ्ग, कैलासनगर, तानसेन ।

दुलहाले दुलहीलाई ठाउँ सराउँदा भनिने मन्त्र
उताकी भमरीलाई यताका भमराले उठाई ल्यायो स्वाहा ।
यताबाट राखिम् नारा र जोतारा
हँसिया र हथौडा लिहीका फेँदमा स्वाहा ।
(लिही भनेको आरनमा हँसिया हथौडा आदि बनाउँदा राखिने फलामको अचानो)
मानबहादुर वि.क.÷टेकबहादुर वि.क., ख्याहा ।

सिन्दूर हाल्ने बेलामा भनिने मन्त्र
पहिला पूर्व फालुम् सिन्दूर, त्यसपछि फालुम् उत्तर
चारै दिशा आकाश पाताल सिन्दूर चढायम् स्वाहा ।

विवाह कार्य समाप्तिपछि टीका लगाइदिँदा भनिने मन्त्र
सिरिखण्ड रह चन्दनका टीका
लगाएर शुद्ध सुभाङ स्वाहा ।
तिलबहादुर गन्धर्व, भैरवस्थान– ७, रानीठाँटी ।

दलित जातिका विवाहमा भनिने लोकमन्त्र विवाहका लागि यज्ञमण्डप तयार पार्दाखेरिका पाइएका छन् । यी लोकमन्त्रमा विवाहको कार्य प्रारम्भ गर्दा सर्वप्रथम गणेशजीको आराधना गरिएको छ । त्यसपपछि माटो ल्याएर उचाइमा वा खनेर खाडलमा यज्ञ मण्डप बनाउने त्यो काम गर्दा मन्त्र भनेर गरिएको छ भने यज्ञ मण्डपको लिपपोत गर्ने र त्यसको सिँगारपटार गर्नेजस्ता कार्यको वर्णन पनि लोकमन्त्रमा आएका छन् ।

यस्तै, विवाहका लागि तयार पारिएको मण्डपमा रेखी हाल्दा, दीप प्रज्ज्वलन गर्दा, नवग्रहको पूजा गर्दा भनिने लोकमन्त्र पनि प्रस्तुत गरिएका छन् । यस क्रममा मण्डपका विभिन्न देवी देवताको पूजा अर्चना गर्ने, होमखाडीमा अग्नि प्रज्ज्वलन गर्नेजस्ता कार्य गर्दा पनि वैदिक वा पौराणिक मन्त्र भनिएझैँ लोकमन्त्रको प्रयोग गरिएको देखिन्छ भने दुलहा–दुलहीलाई सात पटकसम्म मण्डप घुमाउने, दुलहा–दुलहीको ठाउँ साटासाट गर्ने तथा सिन्दूर हाल्ने जस्ता हिन्दु धर्मको विवाह पद्धतिमा गरिने कार्य गर्दा पनि लोकमन्त्रको प्रयोग गरिएको देखिन्छ ।

यी विभिन्न विधिमा आएका लोकमन्त्रको त्यस समयमका गरिने कार्यको वर्णन गरेकाले यसको विषयवस्तु विवाहको सन्दर्भलाई देखाउनुपरेको छ ।

निष्कर्ष

लोकसाहित्य सर्वसाधारण जनताको साहित्य हो । जनताको साहित्य भएकाले जनताको पीडा, व्याथा, वेदना, हर्ष, विष्मात्, सभ्यता, संस्कृति र रीतिरिवाज आदिलाई यसले नजिकबाट आत्मसात् गरेको हुन्छ ।

लोकसाहित्यका गद्य र पद्य भेदमध्ये लोकपद्य तथा लोकमन्त्र महत्त्वपूर्ण भेद हुन् ।लोक प्रतिभावान् लोककवि वा संस्कृतिका संवाहकहरूले आफ्ना ज्ञान र अनुभवले खारिएका सामाजिक, सांकृतिक, भौगोलिक, राजनीतिक र ऐतिहासिक आदि सन्दर्भलाई लयात्मक र मन्त्रको उच्चारण प्रक्रियाअनुरूप परंपरादेखि भन्दै आइरहेका छन् । यिनमा हाम्रा पुर्खाको इतिहास र संस्कृति, भावना र चाहना, सुख र दुःखका कथाहरू समेटिएका छन् ।

दलितहरूमा विवाह कार्य गर्दा विवाहलाई मनोरंजक र विधानअनुरूप बनाउन विभिन्न किसिमका लोकपद्य र लोकमन्त्रको प्रयोग गर्ने गर्छन् । उनीहरूले प्रयोग गर्ने लोकपद्य वा लोकमन्त्रमा बिहे प्रश्नोत्तरी, खाँडो, कूटपद्य, मागल र लोकमन्त्र हुन्छन् ।

यिनीहरू संस्कृत छन्दको प्रभावमा आएका लोकछन्द र नेपालीका मौलिक गद्य र पद्यलयात्मक लोकछन्दमा आएका हुन्छन् । समाजअनुरूपको विषयवस्तु, सरल तथा सहज भाषा र संवादात्मक, वर्णनात्मक तथा विवरणत्मक शैलीको प्रयोग यिनमा रहेको हुन्छ । यसको उद्देश्य विवाहलाई मनोरंजक, ज्ञानवद्र्धक बनाउनु तथा परंपरादेखिको संस्कृतिको संरक्षण गर्नु रहेको देखिन्छ ।

हाम्रो समाजमा एउटै आर्य जातिभित्रको हुँदाहुँदै पनि केहीलाई ठूलो जात र केहीलाई सानो जात भनी जातीय विभेद गरिएको छ । सानो जातलाई वेद वा धर्मको चर्चा गरिएको भाषासमेत पढ्न हुँदैन भनिन्छ । अरूलाई पढ्न पनि नदिने र सानो पारिएको व्यक्तिको धार्मिक तथा सांस्कृतिक कार्य गराउन पनि नजाने गरेको सन्दर्भमा दलितहरूले धार्मिक तथा सांस्कृतिक कार्य गर्न अरूले गरेको देखेकै भरमा त्यसको अनुसरणमा र मौलिक प्रकारका लोकपद्य वा लोकमन्त्रको निर्माण गरेका हुन् ।

आजकल शिक्षा तथा चेतनाको स्तरमा केही वृद्धि भएकाले गाउँमा समेत तल्लो र माथिल्लो जात भनी विभाजन गर्ने क्रम घट्दै गएको र शहरमा यो स्थिति निकै नै कम भइसकेकाले ब्राह्मणहरूले ‘म तिम्रो विवाह आदि कार्य गराउन आउँदिनँ’ भन्न सक्ने अवस्था कमजोर हुँदै गएको छ ।

यस्तै, हाल शिक्षामा पनि जातीय विभेद रोकिएको छ । यहाँसम्म कि संस्कृत शिक्षा दिने संस्थाहरूले त्यस वर्गका लागि छात्रवृत्ति दिएर संस्कृत शिक्षा लिन प्रोत्साहन गरेको अवस्था छ । यसले गर्दा पहिले दलित मानिएकाहरू नै अहिले केही व्यक्ति वैदिक प्रक्रियाअनुसार विवाह आदि कार्य गराउन चाहन्छन् ।

यसले गर्दा दलितहरूले परंपरागत लोकपद्य वा लोकमन्त्रको प्रयोगलाई कम गर्दै लगेको देखिन्छ । यस्तै, आधुनिक शिक्षा र पाश्चात्य संस्कृतिकको अत्यधिक प्रभावका कारण सम्पूर्ण हिन्दु संस्कृति र सभ्यता कमजोर हुँदै गएको अवस्थामा दलितहरूको सभ्यता र संस्कृतिमा पनि नकारात्मक प्रभाव पारेको छ ।

ब्राह्मण, क्षेत्रीको विवाहमा प्रयोग हुने लोकपद्य वा खाँडो आदिको प्रयोग त्यो समाजबाट हटेजस्तै दलित समाजबाट पनि यो परंपरा हटेको देखिन्छ । यसले गर्दा लोकपद्य वा लोकमन्त्र आज लोप हुने अवस्थामा पुगेका छन् । समयमै यिनको संरक्षण गर्नु आवश्यक छ । अझै ढिला भएमा लोकपद्य र लोकमन्त्र हराएर जानेछन् ।