लोकसंवाद संवाददाता | दृष्टिकोण | पुस २४, २०७६
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ ‘नेपाल भ्रमण वर्ष– २०२०’ सुरुवात गरेको छ । भ्रमण वर्ष घोषणादेखि शुभारम्भसम्म वास्तवमा देशभित्र भएका ती छलफल र बहसहरू २० लाख पर्यटक कसरी भित्र्याउने ? त्यसमा मात्र केन्द्रित थिएन । कसरी लामो समयसम्म आएका पर्यटकलाई राखिराख्ने र सोहीअनुसारको पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयमा केही हदसम्म केन्द्रित भएको देखिन्छ ।
त्यसभन्दा पनि भ्रमण वर्षलाई राष्ट्रिय एकता कायम गरेर ‘राष्ट्रिय उत्सव’को रूपमा कसरी मनाउन सकिन्छ ? राष्ट्रिय महाअभियानको रूपमा कसरी लैजान सकिन्छ ? केके गर्दा पर्यटनका बारेमा राष्ट्रिय मनोविज्ञान तयार हुन्छ ? त्यो हुन सक्यो कि सकेन ? र, पर्यटनको क्षेत्रमा राखेका दीर्घकालीन योजना र सपनाहरू कसरी पूरा गर्न सकिन्छ ? यी र यस्ता यावत् प्रश्नहरू भ्रमण वर्षको शुभारम्भसँगै सतहमा आएका छन् ।
सरकारले घोषणा गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रमुख आधार पर्यटनलाई कसरी बनाउन सकिन्छ ? आर्थिक र सामाजिक असमानताहरूको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माणमा पर्यटन क्षेत्रको कस्तो योगदान हुनेछ ? यी यस्तै प्रश्नहरूको बीचमा ‘नेपाल भ्रमण वर्ष– २०२०’ भव्य ‘शुभारम्भ’ भएको छ ।
नेपाल भ्रणम वर्ष– २०२० मनाइरहँदा हामीले विगतमा गरेका सकारात्मक कुराको अनुसरण गर्दै र नकारात्मक कुरालाई सुधार गरेर अगाडि बढ्न सकियो भने मात्र यस्ता अभियानहरू सफल हुनेछन् ।
२२ वर्ष अगाडि नेपाल भ्रमण वर्ष– १९९८ मनाउँदा नेपालले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सो वर्ष केवल ४ लाख ६३ हजार ६८४ जना पर्यटक नेपाल भित्रिएको आँकडाले देखाउँछ । सन् १९९६ बाट तत्कालीन नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र युद्धले सन् २००२/००३ मा आइपुग्दा विकाराल रूप लियो । सन् २००२ मा नेपालमा २ लाख ७५ हजार ४६८ जना पर्यटक नेपाल आएका देखिन्छ ।
द्यश वर्षे सशस्त्र द्वन्द्वले नेपालको पर्यटन उद्योग तहसनहस मात्र होइन, थिलथिलो नै बनाएको अवस्था छ । सन् २००६ मा भएको बृहत् शान्ति सम्झौता तथा दोस्रो जनआन्दोलनपछि भने ‘स्थायी शान्ति’को अपेक्षासँगै पर्यटक आगमनमा केही सुधारका संकेत देखिन थालेका हुन् ।
सन् १९९८ मा लिएको लक्ष्य सन् २००७ मा आएर पूरा भयो । यसको अर्थ के हो भने विगतमा मुलुकले राखेको लक्ष्य पूरा गर्न ९ वर्ष लागेको यथार्थ हाम्रा सामु छ । सन् २००७ मा नेपालमा पर्यटक आगमनको संख्या ५ लाख २६ हजार ७०४ पुगेको थियो ।
‘नेपाल भ्रमण वर्ष– १९९८’ सफल भएको ठान्ने हो भने यो लक्ष्य ९ वर्ष अगाडि नै पूरा भइसकेको हुनुपर्ने थियो । त्यसका लागि कुनकुन पक्ष जिम्मेवार रहे भन्ने कुरामा ख्याल नगर्ने र त्यसबेला भएका कमी कमजोरीको समीक्षा नगरी सुरु गरिएका अभियानको लक्ष्य प्राप्त गर्न पुनः एक दशक पर्खनुपर्ने अवस्था नहोला भन्न सकिन्न ।
दोस्रो पटक नेपाल सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष– २०११’ को घोषण गर्यो । दोस्रो भ्रमण वर्षमा पनि केवल ७ लाख १९ हजार ५४७ पर्यटक भित्र्याएको आँकडा प्रस्तुत गर्दै ‘सफल’ भएको दाबी गर्ने गरेको देखिन्छ ।
दोस्रो भ्रमण वर्षले राखेको लक्ष्य पूरा गर्न करिब ७ वर्ष लागेको थियो । सरकारी आँकडा भन्छ, सन् २०१८ मा आइपुग्दा मात्र करिव ११ लाख पर्यटक आएका थिए । के कारण सफल हुन सकेन भन्नेबारेमा गहिरो विवेचना नगरी संचालन गरिने अभियानमाथि पुनः प्रश्न उठ्नु स्वाभाविक हो ।
अर्थात् अर्को भाषामा भन्ने हो भने विगतको आँकडाले के देखाउँछ भने तत्कालीन सरकारले घोषणा गरेको सन् १९९८ र २०११ का भ्रमण वर्ष दुवै लक्ष्य पूरा गर्न नसकी ‘सम्पन्न’ भए ।
ती भ्रमण वर्षहरूमा किन लक्ष्य पूरा हुन सकेन ? कुन कारणले यो लक्ष्य नभेटिएको हो ? कसको कमजोरी के हो ? सन् २०२० सम्म आइपुग्दा र भ्रमण वर्ष सुरु हुँदा कहीँ कतै छलफलसम्म भएको देखिँदैन ।
विगतका भ्रमण वर्षहरूमा यो कारणले लक्ष्य पूरा नभएको तर अहिले योयो कमी कमजोरी सुधार गरिएको हुँदा त्यसमा लक्ष्य पूरा हुन्छ भन्ने विश्वसनीय आधार दिन सकिएको देखिँदैन ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा महँगो र अव्यवस्थित विमानस्थलका रूपमा परिचित छ । नेपाल सरकारको स्वामित्वमा रहेको एक मात्र वायुसेवा निगम ‘राजनीतिक हस्तक्षेप’ र ‘व्यापक भ्रष्टाचार’ले थिलोथिलो भएको अवस्थामा छ ।
नेपाल सरकारले सन् २००९ मा नै सन् २०२० मा नेपालमा पर्यटक आगमन २० लाख पुर्याउने लक्ष्य लिएको थियो । यही योजनाको निरन्तरता हो, ‘नेपाल भ्रमण वर्ष– २०२० ।’ लक्ष्य राखेको भ्रमण वर्ष २०२० सफल हुनका लागि हिजोका भ्रमण वर्षहरूका लक्ष्य किन भेट्टाउन सकिएन ? त्यस अवधिमा भौतिक निर्माण र विगतका कमजोरी यो पटक सच्याइएको छ कि छैन ? भन्ने विषयलाई ध्यान दिनु पनि त्यतिकै जरुरी छ ।
सन् २०१६ मा ७ लाख ५३ हजार २ जना, २०१७ मा ९ लाख ४० हजार २१८ जना र २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटकले नेपाल भ्रमण गरेको सरकारी आँकडा छ । सन् २०१९ को अक्टोवरसम्ममा ९ लाख ७५ हजार ५५२ जनाले नेपाल भ्रमण गरिसकेका छन् भने यस वर्ष कुल १२ लाख ५० हजारले नेपाल भ्रमण गरेको अनुमानित आँकडा छ ।
यो आँकडाअनुसार सन् २०१६ मा ४० प्रतिशत, २०१७ र २०१८ मा २५ प्रतिशत र २०१९ मा केवल ८ प्रतिशतको वृद्धि हुँदै आएको देखिन्छ ।
भ्रमण वर्ष– २०२० को लक्ष्य भेट्नका लागि ६० प्रतिशत वृद्धि दर आवश्यक देखिन्छ । अर्थात् दैनिक ५ हजार ४८० जना पर्यटक नेपाल आउन सकेको खण्डमा मात्र यो लक्ष्य सहज रूपमा प्राप्त हुन्छ ।
एक्काइसौँ शताब्दीको दोस्रो दशकको अन्तिम वर्षमा आइपुग्दा विश्वमा नै घुमफिर एउटा संस्कृतिको रूपमा विकास भइरहेको छ । विगतमा ‘भ्रमण’लाई सोखको रूपमा लिइन्थ्यो र बुझिन्थ्यो । अहिले यसलाई वार्षिक क्यालेन्डरमा नै समावेश गरेर नियमित कार्यक्रमकै रूपमा लिने संस्कृति विकास हुँदै गएको पाइन्छ । पश्चिमी संस्कृतिको रूपमा रहेको भ्रमण संस्कृति अहिले विश्वव्यापी हुँदै छ ।
हामीले भ्रमण वर्ष– २०११ मा १० लाख पर्यटकको लक्ष्य राखिरहँदा थाइल्याण्डले पनि एक करोड लक्ष्यका साथ भ्रमण वर्ष मनाएको थियो । सन् २०२० मा आइपुग्दा थाइल्याण्ड एक करोडबाट साढे ४ करोडको लक्ष्य राखिरहेको छ भने नेपाल भने १० लाखबाट बीस लाख लक्ष्य निर्धारण गरिरहेको छ । त्यसमा पनि लक्ष्य प्राप्त हुने हो कि नहुने हो आशंका व्यक्त गर्ने ठाउँमा रहेका छौँ हामी ।
थाइल्याण्डले सन् २०१९ मा करिव ४ करोड १० लाख पर्यटक भित्र्याउँदा हामीले त्यसको ५ प्रतिशत मात्र लक्ष्य लिइरहेको अवस्था छ । यो अवस्थामा २० लाख पर्यटक भित्र्याउनु ठूलो लक्ष्य थिएन र होइन । यसका लागि सरकार, पर्यटन व्यवसायी तथा अन्य सरोकारवाला पक्ष अलिकति मात्र गम्भीर भइदिने हो भने यो असंभव लक्ष्य भने होइन ।
पर्यटन विकासको पहिलो शर्त भनेको पर्यटकसँग सम्बन्धित भौतिक पूर्वाधार नै प्रमुख मानिन्छ । त्यसमा पनि भूपरिवेष्ठित मुलुक भएका कारणले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले हाम्रो लक्ष्य धान्छ कि धान्दैन ? त्यो पनि सबैभन्दा बढी ख्याल गर्नुपर्ने विषय हो ।
नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ ।
नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल विश्वको सबैभन्दा महँगो र अव्यवस्थित विमानस्थलका रूपमा परिचित छ । नेपाल सरकारको स्वामित्वमा रहेको एक मात्र वायुसेवा निगम ‘राजनीतिक हस्तक्षेप’ र ‘व्यापक भ्रष्टाचार’ले थिलोथिलो भएको अवस्थामा छ । कतिसम्म भन्दा, युरोपियन युनियनले नेपालको हवाई सेवालाई हालसम्म पनि ‘कालो सूची’मा राखेको विषय पनि यथावत् नै छ ।
२० लाख पर्यटक नेपाल भित्रँदै गर्दा देशलाई के फाइदा हुनेछ ? पर्यटनमा कति गुणस्तरीयता आउनेछ ? पर्यटन क्षेत्रबाट राजस्व तथा रोजगारी कति बढ्नेछ ? समग्र आर्थिक वृद्धि, प्रति व्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन (जीडीपी)मा कस्तो योगदान दिनेछ ?
पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङमा कस्तो परिवर्तन आउनेछ ? यिनै प्रश्नहरूलाई केन्द्रमा राखेर नै सरकारले अभियान चलाउने गर्छ ।
आजसम्मका अनेकौँ छलफलका क्रममा देखिएको सहभागिता, सक्रियता र प्रतिबद्धताले सरकारलाई केही हदसम्म उत्साही त बनाएको होला तर व्यवसायीहरू उत्साही छन् कि छैनन् ? भन्ने कुरा पनि महत्त्वपूर्ण रहेको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सन्दर्भमा कायम भएको राष्ट्रिय एकताले सरकार र व्यावसायी पनि केही हदसम्म उत्साही भएका भने देखिन्छ ।
सबै क्षेत्रले यसलाई सफल बनाउन प्रतिबद्धता, ऊर्जा थपिएको बेला सरकारले पूर्वाधार निर्माण र नयाँ गन्तव्यको खोजीलाई ध्यान दिनु पनि उत्तिकै आवश्यक छ । सरकारले भन्ने गरेको सरकार यस अभियानको सहजकर्ता र व्यवस्थापक मात्रै हो । सिंगो देश यस अभियानको आयोजक हो । सबै राजनीतिक दल, निजी क्षेत्र, सामाजिक संघसंस्थाहरू, गैरसरकारी संस्थाहरू सबै आयोजक हुन् ।
तर, हालको अवस्थामा नेपालभित्र र बाहिर रहेका नेपालीहरूलाई यस अभियानमा कतिको परिचालन गर्न सकिएको छ ? यो विषय निकै पेचिलो मात्रै होइन, महत्त्वपूर्ण पनि छ भन्ने कुरालाई हेक्का राख्न जरुरी छ ।
आजको भोलि नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिँदैन होला । नेपाल वायुसेवा निगम तथा अन्तर्राष्ट्रिय विमानस्थललाई उत्कृष्ट बनाउन नसकिएला तर काठमाडौंको सबैभन्दा नजिकको पर्यटकीय स्थल नगरकोट जाने सडक, उपत्यकाभित्रै जोरपाटी–बौद्ध सडक बनाउन त सक्नुपर्ने हो नि ! तर, यी सडक आयोजनाहरू वर्षौंदेखि अलपत्र छन् । यस्ता सानासाना विषयमा सरकारको ध्यान जान सकिरहेको छैन ।
यतिबेला मलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको बाटोमा अघि बढ्ने आशा र अपेक्षा गरिएको छ । पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येको एक बनाउने सरकारको योजना रहँदै आएको छ । पर्यटनबाट नेपालको कूल गार्हस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहँदै आएको छ ।
१५औँ पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखेको देखिन्छ । यसका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तार प्रथामिकतामा पर्नै पर्ने हुन्छ । पर्यटनमा गुणस्तरीयता, बजारीकरण र ब्राण्डिङ हाम्रो प्राथमिकतामा राख्नै पर्छ । मानव संशाधनको विकास, सांस्कृति सम्पदाहरूको विकास, पर्यटनमा अध्ययन, अनुसन्धानमा जोड दिइएन भने पर्यटकहरूलाई आकर्षित गर्न कुरा ‘कोरा कल्पना’ हुन्छ ।
नेपालका पर्यटकीय आकर्षण र सेवाहरूमा विविधता ल्याउन अभिप्रेरित गर्ने, पर्यटकीय सम्पदा तथा पर्यटन क्षेत्रमा काम गर्ने जनशक्तिको गुणस्तर र क्षमता अभिवृद्धि गर्ने, पर्यटनका माध्यमबाट गरिबी निवारण गर्ने तथा स्थानीय समुदायको सहभागिता बढाउनमा सरकारको ध्यान केन्द्रित हुनु आवश्यक छ ।