सरोज ज्ञवाली | दृष्टिकोण | फागुन १२, २०७५
हालै एउटा अन्तराष्ट्रिय कार्यशाला गोष्ठीमा सहभागी हुँदा एक जना बंगलादेशी हिन्दु युवकसँग भेटघाट भयो । कुराको सिलसिलामा ती युवकले पहिला नेपाल हिन्दु राष्ट्र रहेको र पछिल्ला दिनमा नेपाल धर्मनिरपेक्ष राष्ट्र हुँदा दुख लागेको धारणा व्यक्त गरे । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरु अल्पमतमा रहेका, संबैधानिक तवरले विभेद नभए पनि व्यवहारमा धेरै ठाउँमा हिन्दु धर्मावलम्बीहरुलाई धेरै कष्ट रहेको बताउँदै उनले बंगलादेशमा बस्ने हिन्दुहरुका लागि नेपाल हिन्दु राष्ट्र हुनु गर्वको कुरा रहेको थियो भन्ने उल्लेख गरे । विभिन्न अन्तराष्ट्रिय तालिम तथा गोष्ठीहरुका सिलसिलामा फिजी, मरिसस तथा इण्डोनोसियाको बाली, सुमात्रा पुग्दा त्यहाँ बसोबास गर्ने मानिसहरुको मस्तिष्कमा नेपालको पहिचान एउटा हिन्दु राष्ट्रको रुपमा रहेको भेटिन्छ । बौद्ध धर्मावलम्वीहरुको सघनता रहेको देश जस्तै थाइल्याण्ड, कम्बोडिया, लाओस, श्रीलंकाका मानिसहरु नेपाललाई सगरमाथाको देश वा गोर्खालीको देश भनेर चिन्दैनन् बुद्ध जन्मेको देशका रुपमा चिन्छन् ।
हामी नेपाललाई सगरमाथा वा माउण्ट एभरेष्टकोे देश अथवा गोर्खाली वीर बहादुरहरुको देश भनेर परिचित गराउने कोशिस गर्छाैं र आत्मरतिमा रमाउँछौं । तर अधिकांश देशका मानिसलाई माउण्ट एभरेष्ट तथा गोर्खाली वीरका बारे थाहा नै छैन् । संसारको सबै भन्दा ठूलो चट्टान कहाँ छ ? संसारको सबै भन्दा ठूलो रुख कहाँ छ ? सबैभन्दा ठूलो बगैंचा कहाँ छ ? अधिकांश मानिसहरुलाई यी प्रश्नका उत्तर थाहा नहुन सक्छ । जरुरी पनि छैन् । अझ प्रश्न गरौं, संसारको सबै भन्दा अग्ला मानिस कुन देशका हुन् ? संसारका सबै भन्दा बुद्धिमान मानिसहरु कहाँ बस्छन् ? संसारका बलिया मान्छेहरु कहाँका हुन् ? यी प्रश्नको उत्तर संग आम मान्छेको के सरोकार ? तपाई विश्वस्त हुनुहुन्न भने नेपाली पासपोर्ट लिएर, विश्व भ्रमणमा निस्कनुस्, तब नेपालीप्रति हुने नकारात्मक धारणा र भेदभाव अनुभव गर्न सकिन्छ । यसको अर्थ यो होइन, हामी सबै ठाउँमा अपहेलित छौं । विश्वमा नेपालीको परिचय सोझो, ईमान्दार एवं सुन्दर देशमा बसोबास गर्ने नागरिकको रुपमा पनि छ ।
डेढ अर्ब हिन्दु तथा करिब एक अर्ब बौद्ध धर्मावलम्वीहरुको आस्थाको रुपमा रहेको सनातन हिन्दु तथा बुद्धको जन्मभूमिको पहिचानलाई राजनीतिक भन्नुस वा मुर्खतापूर्ण, पागलपन वा सनकपनका कारण हामीले विर्सजन गर्यौं । त्यस्तो के आवश्यकता आइलाग्यो जसले विश्वको एक मात्र हिन्दु राष्ट्रको सर्व व्यापक पहिचान हामीले गुमाउन पुग्यौं ?
इजरायल आफूलाई यहुदीको देश भनेर गर्व गर्छ । इजरायलले करिब करिब लुप्त भएको हिब्रुभाषालाई राष्ट्रभाषाको रुपमा स्थापित गरेर पुर्नजीवित बनायो । सानो शहर जत्रो एउटा देश भेटिकन सिटिले सम्पूर्ण व्रिmश्चियन समुदायको प्रतिनिधित्व गरी रहेको छ । करोडौं मुस्लिमहरुको गर्वको विषय रहेको छ मक्का–मदिना । हामीलाई के विपत्ति आइलाग्यो र हामीले हिन्दुत्वको पहिचान मेटायौं ?
भारतमा धेरै हिन्दुहरुको बाहुल्यता रहे तापनि, हिन्दु राष्ट्रको पहिचानको रुपमा अगाडि बढ्न भारतलाई सहज छैन् । हिन्दू राष्ट्रको रुपमा यदि नेपाल रहिरहेको भए, अधिकांश भारतीय हिन्दुहरुको प्रेम, सद्भावना र आस्थाकोे रुपमा रहन्थ्यो । जसले गर्दा हाम्रो राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता माथि कुनै आँच आउने सम्भावना सम्म हुने थिएन् ।
सिक्किमलाई भारतमा विलय गराउन सक्ने इन्दिरा गान्धीले नेपाललाई किन त्यो दृष्टिले हेर्न सकिनन्, कारण स्पष्ट छ भारतका अधिकांश हिन्दु धर्मावलम्वीहरु नेपाललाई स्वतन्त्र हिन्दु राष्ट्रको रुपमा हेर्न चाहन्थे । आफ्नै देशको अधिकांश नागरिकको मनोभाव विपरित इन्दिरा जान पनि कसरी सक्थिन् र ?
संसारका कतिपय देशहरु धर्म निरपेक्ष रुपमा रहेका छन् । सिद्धान्तका हिसाबले धर्म निरपेक्षता गलत नहोला । तर धर्म निरपेक्षताको नाममा नेपालमा जुन खुला धर्म परिवर्तन हुँदै आएको छ त्यसले धर्म निरपेक्षताप्रति नकारात्मक सन्देश प्रवाह गर्नमा मद्दत गरेको छ ।
नेपालमा बस्ने धेरै जसो मुस्लिमहरु पनि नेपाल हिन्दुराष्ट्र रहँदा आफू सुरक्षित रहेको महसुस गर्दथे । हाम्रो संस्कृति तथा परम्पराले पनि बुद्ध र हिन्दुहरुको आस्थामा कुनै भेदभाव गरेको थिएन् । करिब २% मात्रै क्रिश्चियन धर्मावलम्वी रहेको पृष्ठभूमिमा धर्म निरपेक्षता कसलाई खुशी तुल्याउन ल्याइयो र यसले हामीलाई कहाँ पुर्याउँछ ?
धर्म निरपेक्षता भनिरहँदा कतै हामीले धार्मिक तथा साँस्कृतिक द्वन्दलाई मलजल त गरिरहेका छैनौं ? धर्म र संस्कृतिमा आधारित पर्यटन तथा आर्थिक उपार्जनमा त हामीले अंकुश लगायौं, त्यो भन्दा बढी विश्व रंगमञ्चमा रहेको एक मात्र हिन्दु राष्ट्रको पहिचान समेत गुमाएका छाै ।
जुन बाटोबाट हामीले धर्म निरपेक्षता हाम्रो संविधानमा सजिलै स्थापित गर्यौं त्यति सजिलोका साथ हिन्दु राष्ट्र पुन स्थापना गर्न सक्ने सम्भावना अत्यन्त न्यून छ । संवैधानिक तवरले संविधान संशोधन गरेर हिन्दुराष्ट्र स्थापना गर्न असम्भव नभए पनि हाललाई मृगमरिचीका सदृष्य नै हो । वृहत आन्दोलनले यो सम्भव होला तर कमल थापा प्रवृति यस आन्दोलनको मुख्य वाधक हो ।
एउटा जापानी शब्द छ ‘काकुरे’, पहिले उनले सांस्कृतिक अतिक्रमणको खुब विरोध गरे तर पछि उनी त्यही सांस्कृतिक अतिक्रमणमा सामेल हुन पुगे । जसले गर्दा विरोधको आवाज विलीन हुनगयो । यस्तै प्रकारले कमल थापाले पहिले खुब हिन्दु राष्ट्रको धारणा अघि सारे, जसले गर्दा उनलाई राजनैतिक÷आर्थिक लाभ पनि मिल्यो । तर पछि कमल थापाले यो संविधानलाई उत्कृष्ट संविधानको रुपमा स्वीकार गरेपछि हिन्दु राष्ट्रको माग आफैंमा ओझेल हुन पुग्यो र अहिले हिन्दु राष्ट्रको कुरा गर्दा हाँसोको पात्र हुने अवस्था श्रृजना भयो ।
हिन्दु राष्ट्रको मागलाई कमजोर बनाउने अर्का तत्व हुन् राजतन्त्रका हिमायतीहरु । जसले राजतन्त्र र हिन्दु राष्ट्रियतालाई एकैचोटी उचाली रहेका छन् । तर वास्तविकता के हो भने, ज्ञानेन्द्र एउटा असफल तथा अदुरदर्शी राजा थिए । उनले गरेका मूर्खतापूर्ण क्रियाकलापले गर्दा उनको पुन राजा हुने सम्भावना न्यून हुन गएको छ । यस्ले गर्दा ज्ञानेन्द्र सहितको हिन्दुराष्ट्र सम्भव छैन् भन्ने एकथरी विश्लेषकको धारणा छ ।
जसरी यूरोपका केही देशहरुले विस्थापित भएका राजाहरुलाई पुनः स्थापित गरेको उदाहरण छ, त्यो झिनो आशा ब्युँत्याउने हो भने हामीले साँस्कृतिक राजाको कल्पना गर्नु पर्छ । यसका लागि मलेशियाको मोडल अनुरुपको साँस्कृतिक राजाको कल्पना गर्न सकिन्छ ।
मुख्यतः नेपालीहरुले एउटै स्वरमा हामीलाई हिन्दु तथा बौद्ध लगायत अन्य धर्म सहितको धार्मिक सद्भाव र पहिचान सहितको राष्ट्रको मागमा जनमत तयार हुन्छ भने, हाम्रो पहिचान स्थापना गर्न कुनै शक्तिले रोक्न सक्दैन ।