यमबहादुर दुरा | दृष्टिकोण | पुस २५, २०७६
नेपालका समुदाय अल्पसंख्यक समुदायमध्ये एक मानिने दुरा समुदाय अनेकन् रोचक सांस्कृतिक परंपराले भरिपूर्ण समुदाय मानिन्छ । यस समुदायका रोचक परंपरामध्ये एक हो, सियो राख्ने परंपरा । समग्रमा भन्दा सियो राख्ने चलन गाउँका किशोर–किशोरीको नामकरण प्रक्रियासँग सम्बन्धित छ ।
दुरा समुदायमा जन्मने बच्चाको दुई पटक नामकरण हुन्छ । पहिलो पटकको नामकरण अभिभावकले गर्छन् । पण्डित वा झाँक्री वा लामा पुरोहितसँग हेरखोर गराएर बालबच्चाको नामकरण गरिन्छ । दोस्रो पटकको नामकरण गाउँका ‘सिनियर’ दाइ–दिदीहरूको झुण्डले गर्छ ।
पहिलो र दोस्रो पटक नामकरण गर्दा अपनाइने भिन्न विधि र प्रक्रिया पनि फरक–फरक छ ।
पहिलो पटकको नामकरण बच्चाको जन्मकुण्डलीको आधारमा गरिन्छ । दोस्रो पटक नामकरण गर्दा व्यक्तिको रूप–रङ र स्वाभावका आधारमा नाम राखिन्छ, जसमा अभिभावकको कुनै भूमिका रहँदैन । यस प्रक्रियामा गाउँका ‘सिनियर’ दाइ–दिदीहरूको मुख्य भूमिका रहन्छ ।
पहिलो र दोस्रो पटक नामकरण गर्ने प्रक्रियामा अर्को पनि भिन्नता छ । पहिलो पटक नामकरण गर्दा बच्चा जन्मेपछि राखिन्छ भने दोस्रो पटक नामकरण गर्दा सम्बन्धित व्यक्ति किशोरावस्थमा प्रवेश गर्दै गर्दा राखिन्छ ।
अघि नै भनियो, दोस्रो पटक नामकरण गर्दा सम्बन्धित व्यक्तिको रूप–रङ र स्वाभावलाई ख्याल गरिन्छ । गमक्क परेर बस्ने केटालाई गमसै र त्यस्तै स्वाभाव भएकी केटीलाई गमह्रानी भनिन्छ । यसैगरी फूल जस्तै सुन्दर केटालाई फूलसै र फूल जस्तै राम्री केटीलाई फूलह्रानी भनिन्छ ।
नामकरणको सूची अझै लम्बिन्छ । कालो वर्णको केटा र केटीलाई क्रमशः श्यामसै र श्यामह्रानी भनिन्छ । डाल देखाएर हिँड्ने केटा र केटीलाई क्रमशः डालसै र डालह्रानी भनिन्छ । दिलदार केटा र केटीलाई क्रमशः डिलसै र डिलह्रानी भनिन्छ ।
नेपाली समाजको सांस्कृतिक अध्येताहरूले पनि सियो राख्ने परंपराबारे खासै खोज–अनुसन्धान गरेका पाइँदैन । तर, यसबारे थप खोज–अनुसन्धान हुनु अगावै यो परंपरा इतिहास बनिसकेको छ ।
नामकरणको सूची यतिमै सकिँदैन । शीतलु स्वाभावका केटा र केटीलाई क्रमशः शीतलसै र शीलतह्रानी भनिन्छ । त्यस्तै, मान खोज्ने केटा र केटीलाई क्रमशः मानसै र मानह्रानी भनिन्छ । रामरसी (रङ्ग–रेशम) मनपराउने केटा र केटीलाई क्रमशः रामसै र रामह्रानी भनिन्छ ।
यसरी नामकरण गरेपछि तन्नेरी–तरुनीको वृत्तमा त्यही प्रचलित रहन्छ र सोही नामले नै बोलाइन्छ । घरमा भने पुरानै नामले बोलाइन्छ । तर, तन्नेरी–तरुनीको वृत्तमा प्रचलित उपनाम (सियो) कतिपय अवस्थामा निकै चर्चित बन्छ र समाजको फराकिलो घेरासम्म फैलिन्छ ।
किशोर अवस्थाबाट बयस्क उमेरतिर लम्कँदै गरेका केटाकेटीहरूको उपनाम राखिन्छ । यसलाइै सियो राख्ने भनिन्छ । यस क्रममा केटालाई रामसाई, श्यामसाई, फूलसाई, डिलसाई आदि नाम दिइन्छ भने केटीहरूलाई राउरानी, सिरुमैरानी, मैरानी, दैरानी आदि नाम दिइन्छ । पछि उनीहरूलाई तिनै नामले पुकारिन्छ ।
किशोर–किशोरीको नामकरण जहाँ पायो त्यहीँ र जहिले पायो उहिले गरिँदैन । विशेष अवसरमा नामकरण गरिन्छ । खासगरी तीजको समयमा नामकरण गर्ने चलन छ । दर खाने बेलामा गाउँका तन्नेरी–तरुनी रोदीघरमा भेला भई नामकरण गर्ने प्रचलन रहि आएकाे छ ।
यस अवसरमा रोदीघरको पिँढीको भित्तामा चित्रकला बनाइन्छ, जसमा सर्प, बिच्छी, गँगटो र जुन–घामको चित्र कलात्मक किसिमले बनाइन्छ । सबै तन्नेरी–तरुनीको नाम (सियो) लेखिन्छ । यसलाई जिउँती लेख्ने भनिन्छ । कसैकसैले यसलाई जीवनीको अपभ्रंश मान्छन् । रोदी घरमा सियो राख्ने बेलामा नाचगान र रङ्ग–रेशम माहोल तयार हुन्छ ।
दुरा समुदायका अतिरिक्त गुरुङ समुदायमा पनि सियो राख्ने चलन छ । यस प्रक्रियालाई गुरुङ समुदायमा ‘चे’ भन्ने गरिन्छ । सियो राख्नुका पछाडि कुन सामाजिक मनोविज्ञान लुकेको छ, त्यो भने अध्ययन र विश्लेषण हुन बाँकी छ ।
नेपाली समाजको सांस्कृतिक अध्येताहरूले पनि सियो राख्ने परंपराबारे खासै खोज–अनुसन्धान गरेका पाइँदैन । तर, यसबारे थप खोज–अनुसन्धान हुनु अगावै यो परंपरा इतिहास बनिसकेको छ ।
अहिले दुरा समुदायमा सियो राख्ने परंपरा पूर्ण रूपमा हराइसकेको छ । त्यसको ठाउँमा विदेशी शैलीको नाम राख्ने चलनले लिइसकेको छ ।