चित्रकुमार सुवेदी | साहित्य | पुस २६, २०७६
पुर्खाहरू भन्थे
लेखेर खान्छ भन्थे बाघले
देखेर खान्छ भन्थे भालुले
टेकेर खान्छ भन्थे सर्पले
व्वासाले,
चर्दै र हिँड्दै गरेको
गाई–भैँसी
हिँड्दा थाकेर बिसाएका–बस्तुभाउ
कज्याउँछ, सुमसुम्याउँछ
माया गर्छ, मालिस गर्छ
मस्त निदाउँदा, बस्तुहरू
अनि निकाल्छ मुटु कलेजो
अनि थाहा हुन्छ
के गर्नु थाहा पाएर
हगिसक्यो दैलो देख्यो भने झैँ
सकिन्छ जीवन
बाघ, भालु र सर्पसँग
जोगिन सकिन्छ
हाम्रा पुर्खाहरू नै हुन
बाघ, भालु र सर्पलाई
रित्याएर, खेलाएर पैसा कमाउने
जोगिन गाह्रो त
तीसँग हुँदो रहेछ
जो व्वासाले झैँ
सुमसुम्याएर,
मिठा कुरा गरेर
चिप्ला भाषण गरेर
थाहै नपाई
मुटु कलेजो निकाल्ने
शासकहरूसँग ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, खोटाङ