लोकसंवाद संवाददाता | साहित्य | माघ ०५, २०७६
काठमाडौंमा शनिबार ‘मुक्तक माहोल’ सम्पन्न भएको छ । शिलापत्रडटकमको नियमित मासिक साहित्यिक शृंखला ‘स्रष्टासँग शिलापत्र’को सातौँ संस्करणमा शनिबार मुक्तकका विषयमा चर्चा परिचर्चा र मुक्तकवाचन गरिएको हो ।
ज्ञानुवाकर पौडेल, बादल घिमिरे र सुशीला पौडेलले मुक्तकको विगत र वर्तमानका विषयमा संवाद गरेका थिए । घनेन्द्र ओझाले सहजीकरण गरेको उक्त कार्यक्रममा प्यानल डिस्कसनमा सहभागीहरूले मुक्तकमा पनि गजलमा जस्तै अनेक विवाद कायम रहेको र त्यसलाई निरूपण गर्ने प्रयास भइरहेको बताए ।
बदल घिमिरेले मुक्तक, चतुष्पदी र रुबाइमा भिन्नता रहेको भन्दै मुक्तक निश्चित सीमा र मर्यादामा लेखिनुपर्नेमा जथाभावी छोटा कवितालाई मुक्तक भनिकएकामा आपत्ति जनाए ।
सुशीला पौडेलले मुक्तक साहित्यको विशिष्ट र प्रभावकारी विधा भएकाले मुक्तक लेखन सोचेजस्तो सजिलो नभएको अनुभव सुनाइन् ।
ज्ञानुवाकर पौडेलले साहित्य सिद्धान्त र सूत्रमा मात्र बाँधिनु नहुने भन्दै केही लचक भएर पनि प्रभावकारी शिल्प र प्रस्तुति दिन सक्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रकाश बस्नेत गफाडी, किरण दर्पण र सन्तोष अम्गाईंले मुक्तक वाचन गरेका थिए ।
स्रष्टा, साहित्य र शिलापत्रको सुसम्बन्ध कायम राख्न हरेक महिनाको पहिलो शनिबार शिलापत्रडटकमले उक्त कार्यक्रम गर्दै अएको कार्यक्रम संयोजक घनेन्द्र ओझाले जानकारी दिए ।