विद्यालय र विषयको छनोट: सन्तान कि अभिभावकको स्वार्थ अगाडि ?

विद्यालय र विषयको छनोट: सन्तान कि अभिभावकको स्वार्थ अगाडि ?

राजकुमार महर्जन  |  दृष्टिकोण  |  माघ ०५, २०७६

हामी विद्यालय संचालकहरू सधैँ धेरै प्रकारका अभिभावकहरूको सामना गरिरहेका हुन्छाैँ । छोराछोरीहरूको राम्रो भविष्यका लागि अभिभावकहरूले गरेको त्याग, तपस्या, प्रयास र निर्णयका कहानीहरू सुनाउने गर्नुुहुन्छ । छोराछोरीहरूको स्वार्थका अगाडि आफ्नो स्वार्थलाई रत्तिभर पनि वास्ता नगरेको, आफ्ना इच्छा, आकांक्षालाई बलिदानी दिन तयार रहेको बताउनुहुुन्छ ।

यस्ता कुरा सुुन्दा आनन्द लाग्नु स्वाभाविक हो र अझ भन्दा यस्तो कुरा सुन्दा मीठो लाग्छ । तर, व्यावहारिक पक्षलाई नियाल्दै जाने हो भने त्यस्ता सबै कहानीहरू काल्पनिक त होइन ? भन्ने  लाग्न थाल्छ ।

छोराछोरीहरूको स्वार्थका नाममा गरिएका हरेक क्रियाकलापहरूमा अभिभावकहरूकै स्वार्थ बढी लुकेको पाइन्छ  । हुनत यो दृष्टिदोष पनि हुन सक्छ वा सोचमा पनि फरकपन आएको हुन सक्छ । यस्ता प्रकरणहरू हुन्छन्, छोराछोरीका लागि भनिएका यी कुरामा अन्ततः अभिभावकको बढी स्वार्थ देखिन्छ ।  

प्रकरण– १

‘मैले मेरा छोराछोरीहरूलाई घर छेवैको विद्यालयमा भर्ना गरिदिएँ । लिन, पुर्‍याउन सजिलो छ । कहिलेकाहीँ नभ्याउँदा आफैँ आउन र जान सक्छ ।’
यसमा तपाईं कसको स्वार्थ पहिलो नम्बरमा पाउनुहन्छ ? पक्का पनि अभिभावककै । लिन, पुर्‍याउन सजिलो छ, आफैँ आउन, जान सक्छ । यो उक्तिको अर्थ के हो ?

प्रकरण– २
‘मैले मेरा छोराछोरीहरूलाई बस चढाएर टाढाको विद्यालयमा पठाएँ । बिहान सबेरै जान्छन् । बेलुका पनि ढिलो आउँछन् । गाउँ टोलमा जो पायो उहीसँग खेलेर दुःख दिँदैनन् । उनीहरू घर पुग्ने बेलासम्ममा आफू पनि घर आइपुगिन्छ ।’

यस प्रकारका अभिभावकहरूले बालबालिकाहरूको खेल्न पाउने नैसर्गिक अधिकारका बारेमा सोच्न भ्याएको त देखिन्नँ नै, बरु आफूले उनीहरूलाई समय दिनुपर्ने दायित्वबाट पन्छिएको देखिन्छ । त्यति मात्र नभएर टोल छिमेकका व्यक्तिहरू भन्दा आफू अब्बल छु भन्ने भ्रम अभिभावकहरूमा प्रष्टै देखिन्छ ।  

भोलि तपाईंलाई तपाईंका सन्तानले यस्तो प्रश्न गर्नेछन्– ‘बुबा, आमा, तपाईंहरूले मलाई खाल्डोमा जाक्ने निर्णय किन लिनुभयो ? तपाईंहरूको क्षणिक सहजताका लागि मलाई संसार जित्ने बाटो हिँड्नबाट किन बञ्चित गर्नुभयो ? थोरै पैसा जोगाउनका लागि मलाई किन त्यत्रा विधि अवसरहरूबाट बञ्चित गर्नुभयो ? तपाईंको फोस्रो आडम्बरका लागि मेरो जीवनको दाउ किन थाप्नुभयो ? मेरो चाहना र क्षमतालाई नबुझी किन तपाईंले जबर्जस्ती आफ्नो निर्णय लाद्नुभयो ?’ आदि आदि ।


 
नेपालीहरूको काम गर्ने समयको हिसाबले ८ घण्टालाई १ दिन मान्ने चलन छ । यदि ८ घण्टालाई १ दिन मान्ने हो भने बिहान ७ः३० बजे बस चढ्ने विद्यार्थी ७ः०० बजे नै घरबाट  निस्कनुपर्छ । साँझ पनि विभिन्न रुट घुम्दै र ट्राफिक जाम छिचोल्दै घर आइपुग्न  करिब २ घण्टाभन्दा बढी समय बसमा नै बिताउँछन् ।

भन्न त अभिभावकहरू आफ्नो सन्तानको स्वार्थका खातिर यसो गरेको भन्छन् तर सानासाना नानीहरू, जसलाई किन र कसका लागि पढ्ने ? भन्ने कुरासमेत थाहा छैन, उसलाई दैनिक ४–५ घण्टा लामो बसको दूरीमा यात्रा गराउनु कसको स्वार्थ पूर्ति गर्नका लागि हो ? सहजै छुट्याउन सकिन्छ ।

यस हिसाबले नर्सरीमा भर्ना भएको विद्यार्थीले कक्षा १० उत्तीर्ण गर्ने बेलासम्ममा ६ वर्ष ६ महिना बराबरको समय बसमै बसेर खेर फ्याँकिसकेको हुन्छ । यसरी समय, स्रोत र स्वास्थ्यको दुरूपयोगले कसको स्वार्थ पूर्ति हुन्छ, दुःख पाउने छोराछोरीको या दुःख दिँदा गौरव मान्ने आमाबाबुको ?अर्कोतर्फ सानो छँदा बसमा अरूले दुःख दिन्छन् । ठूला विद्यार्थीहरूको थिचोमिचोको सिकार बन्छन् । त्यही भोगाइ, त्यही सिकाइबाट प्रेरित भई आफू ठूलो भएपछि आफूभन्दा साना भाइबहिनीहरूलाई दुःख दिने सिकाइ गरिरहेका छौँ ।   

प्रकरण– ३

‘छोराछोरीको पढाइका बारेमा त्यति साह्रो ध्यान दिन पाइँदैन, त्यसैले मैले छोराछोरीहरूलाई आफ्नै साथीको विद्यालयमा भर्ना गरिदिएँ । आफूलाई चित्त नबुझेको कुरा भन्न पनि पाइने । २–४ महिना शुल्क बाँकी भए पनि केही भन्दैन ।’   

यसमा पनि ठूलो आर्थिक स्वार्थ अभिभभावकको देखिन्छ । अर्कातर्फ जिम्मेवारीबाट पन्छिने वहाना पनि । खोई छोराछोरीहरूको भलाइ सोचेको ?

प्रकरण– ४

‘मैले त छोराछोरीहरूलाई महँगै विद्यालयमा भर्ना गरिदिएँ । सस्तो विद्यालयमा राम्रो स्टाटसका विद्यार्थीहरू नै हुँदैनन् । संगत गतिलो हुँदैन ।’

यसमा पनि अभिभावाकले छोराछोरी भर्ना गर्न यति खर्च गरेँ, उति खर्च गरेँ, महिनाको पढाइ शुल्क यति तिरेँ, उति तिरेँ भन्ने बखान साथीसंगीमाझ गरिरहेका हुन्छन्, यस वर्गका अभिभावक ।
यस भनाइमा पनि त अभिभावकको आडम्बरको स्वार्थले पहिलो स्थान अ‍ेगटेको छ । खै कुन नम्बरमा पर्छ सन्तानको स्वार्थ ?

प्रकरण– ५

‘पढ्नेले जहाँ पनि पढ्छन्, नपढ्नेले कहीँ पनि पढ्दैनन् । छोराछोरी पढाउन धेरै खर्च गर्ने नै होइन ।’

यस प्रकारका अभिभावकहरू छोराछोरी पढाउन छुट र निःशुल्कको चक्करमा हुन्छन् । सस्तोको खोजीमा समय बिताउँछन् । हुनत महँगो सबै राम्रो र सस्तो सबै नराम्रो भन्ने कुरा शत प्रतिशत सही होइन तर विद्यार्थीहरूको सही सिकाइ तथा उनीहरूको सर्वोपरी विकासका लागि चाहिने आधारभूत सुविधासमेत दिन नसक्ने गरी निःशुल्क वा सस्तो शुल्कमा अध्यापन गराउने विद्यालयमा आफ्ना छोराछोरीहरूलाई भर्ना गराउनुअघि हरेक अभिभावकले एक पटक गहिरिएर सोच्नु त्यति नै जरुरी विषय हो ।  

शिक्षा कहिल्यै निःशुल्क थिएन । यो हुन पनि सक्दैन । प्राचीनकालमा ऋषिमुनिहरूकहाँ अध्ययनका लागि शिष्यहरू जान्थे, गुरुकुलमा पुग्थे । त्यतिबेला अहिलेको जस्तो ‘डे स्कलर्स’ विद्यालय थिएनन् । अनिवार्य आवासीय सुविधा भोग गर्नुपथ्र्यो ।

नालन्दा, तक्षशिला जस्ता विश्वविख्यात विश्वविद्यालयहरू अस्तित्वमा थिए । अहिले भनिने बोर्डिङ स्कुलको अवधारणा नयाँ होइन । सनातनकालदेखि चलिआएको प्रचलन हो । मात्र स्वरूप फेरिएको छ । उद्देश्य एउटै हो ।

त्यो समयमा पनि शिक्षा निःशुल्क भने थिएन । त्यतिबेलाका विद्यार्थी अर्थात् शिष्यहरूले श्रम, अन्नपात, गुरुदक्षिणा आदिको रूपमा शुल्क तिर्थे । गुरु दक्षिणाले कहिलेकाहीँ यति डरलाग्दो रूप लिन्थ्यो, जसले एक जना होनाहार शिष्यको जीवन समाप्त पारिदिन्थ्यो ।

एकलव्यले गुरु दक्षिणा स्वरूप गुरु द्रोणचार्यलाई आफ्नो बुढी औँला काटेर दिनुपरेको थियो । अंगुलीमालले हजार मानवका बुढी औँला दिनुपर्दा भयानक अपराधी तथा डाँकु बन्नुपरेको यथार्थ कसै सामु लुकेको छैन ।

यतिबेला निःशुल्क भनिएका कुनै पनि विद्यालय निःशुल्क छैन । नेपालको सन्दर्भमा भन्ने हो भने निःशुल्क भनिएका सरकारी तथा सामुदायिक विद्यालयको प्रावि तहमा अध्ययनरत एक जना विद्यार्थीका लागि मासिक करिव १५ सय रुपैयाँ सरकारले लगानी गरिदिएको छ । त्यो सबै पैसा तपाईं हामीले नै तिरेको करबाट जम्मा भएको रकम हो ।

त्यसबाहेक स्थानीय तवरबाट आउने चन्दा, उपहार, सहयोग तथा विद्यार्थीहरूबाट उठाइने विविध शुल्कलाई जोड्ने हो भने सरकारी तथा सामुदायिक विद्यालयहरूको शिक्षा अझ धेरै महँगो परिरहेको तथ्य उजागर हुन्छ ।

भनिन्छ, तपाईंले आज आफ्ना छोराछोरीहरूको सिकाइमा कञ्जुस्याइँ गरेर बचाएको रकमभन्दा भविष्यमा उनीहरूका लागि अवसर सिर्जना गर्न वा उनीहरूको जीवनलाई सहज बनाउन गर्नुपर्ने लगानी निकै भारी र महँगो हुन्छ ।

मानौँ, तपाईंले छोराछोरीका लागि रोज्नुभएको विद्यालय अरू विद्यालयभन्दा मासिक ५०० रुपैयाँ सस्तो छ, त्यहाँ दैनिक शिक्षण सिकाइ क्रियाकलाप राम्रो छ । बाह्य परीक्षा नतिजा पनि राम्रै छ । तर, त्यहाँ अन्य अतिरिक्त तथा सहायक क्रियाकलापहरू भने खासै छैनन् ।

यतिबेला तपाईंको जोगिने रकम:
१ महिनाको  ५००/—
१ वर्षको  ५००×१२  ६,०००/—
कक्षा १ देखि १० सम्म १० वर्षको ६,०००×१० ६०,०००/—

इतिहासलाई पल्टाउने हो भने आज विश्व महाशक्ति भन्ने देश पत्ता लाग्नुभन्दा अगाडि नेपाल सम्पन्न देशको रूपमा चिनिन्थ्यो । आर्थिक, सामाजिक, भौतिक, शैक्षिक आदि सबै विकासमा नेपाल अगाडि नै थियो । समयको परिवर्तनसँगै नेपाली शासकहरूको मूर्खताले गर्दा शक्ति र सत्ताको खेलमा देशलाई शताब्दीयौँ लामो समयसम्म बन्धक बनाइएको कुरा कतै लुकेको छैन ।

शिक्षालाई महत्त्व दिइएन, फलस्वरूप परापूर्वकालदेखि वर्तमान समयसम्म नेपाल विदेसीहरूका लागि नोकर उत्पादन गर्ने कारखाना जस्तो भएको छ । कुनै जमानामा नेपालीहरू बर्मा, भूटान, असम आदिलाई स्वर्ग बनाउन आफ्नो जीउज्यान अर्पिन जान्थे, मुग्लान पस्थे । अहिले पनि तल्लो स्तरकै काम गर्नका लागि खाडी मुलुकदेखि युरोप अमेरिकामै जाने गरेका छन् ।

अध्यात्मिक गुरु ओशोले भनेका छन्, ‘विद्यालय र कलेजमा जबर्जस्ती घोकेर अध्ययन गरेका विद्यार्थीहरूले स्कुल र कलेजहरूमा गोल्ड मेडलहरू त पाउलान् तर वास्तविक जीवनको परीक्षामा उनीहरूले माटोको मेडल पनि पाउन सक्दैनन् ।’

के हामी नेपालीहरूले अरू देशका मानिसलाई काम गराउने सोच कहिल्यै विकसित गर्न सकेका छौँ त ? निकै कम मानिसहरूमा मात्र यस्तो सोच आएको होला तर अधिकांश नेपालीहरूमा अझै पनि ‘नोकर’ मानसिकता हटेको छैन । आखिर किन त ? उत्तर स्पष्ट छ– हाम्रो देशमा अझै पनि शैक्षिक जागरण आएकै छैन ।

यदि तपाईं पनि माथि उदाहरणमा दिएकै कुरा सोचिरहनुभएको छ भने अर्थात् कम शुल्कलाई मात्र प्राथमिकता दिइरहनुभएको छ भने तपाईंका छोराछोरीको शिक्षाका लागि गरिने लगानीमा तपाईंले जोगाउने पनि माथि उदाहरणमा दिएजस्तै हो । तपाईं आफै त्यसको हिसाब निकाल्न सक्नुहुन्छ ।

छोराछोरीहरूले प्रवेशिका परीक्षामा रामै्र अंकमा उत्तीर्ण त गर्लान्, कलेज अध्ययन पनि पूरा गर्लान् तर जुन दिन वास्तविक जीवनमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ, त्यतिबेला खालि किताबी ज्ञान वा सीमित घेराभित्रको सीपले पुग्दैन ।

त्यही व्यक्ति जीवनभर असफलहरूको दर्जामा दरिन्छन् र अवसरको खोजीमा भौँतारिन्छन् । त्यतिबेला माथि उदाहरणमा देखाइए बराबरको लगानीले कुनै नौलो अवसर सिर्जना गर्न सकिन्नँ ।

अध्यात्मिक गुरु ओशोले भनेका छन्, ‘विद्यालय र कलेजमा जबर्जस्ती घोकेर अध्ययन गरेका विद्यार्थीहरूले स्कुल र कलेजहरूमा गोल्ड मेडलहरू त पाउलान् तर वास्तविक जीवनको परीक्षामा उनीहरूले माटोको मेडल पनि पाउन सक्दैनन् ।’

नेपालको परिस्थितिलाई केलाउने हो भने अधिकांश युवाहरू अवसरको खोजीमा देश, विदेश भौँतारिइरहेका छन् किनकि उनीहरूका आमाबाबुले अवसर सिर्जना गर्न सक्ने खालको शिक्षाका लागि लगानी गरेकै थिएनन् । तसर्थ, छोराछोरीको शिक्षामा गरिने खर्चलाई खर्चको रूपमा मात्र नहेर्नुहोस्, त्यो त भविष्यका निम्ति लगानी हो ।

प्रकरण– ६

‘सन्तानका लागि मैले जति हेरविचार गर्ने अभिभावक कमै हुन्छन् । म जसरी भए पनि उसलाई डाक्टर वा इन्जिनियर बनाउँछु । तर, उसको लगाव पढ्ने लेख्नेमा भन्दा अतिरिक्त क्रियाकलापमा बढी छ । ती विधाहरूमा उसले निकै राम्रो पनि गर्छ । तर, मलाई लाग्छ, उसले जसरी पनि पढेर राम्रो अंक हासिल गर्नुपर्छ । त्यसैले मैले उसलाई अन्य क्रियाकलापमा बढी समय खर्च गर्नबाट रोकेको छु बरु बचेको समयममा होम टयुसन हालिदिएको छु ।’

यो झनै खतरनाक अवस्था हो । निरन्तर बगिरहनुपर्ने नदीलाई कमजोर बाँधले थुन्ने प्रयास गर्दा के हुन्छ ? खाना पकाउँदा प्रेसर कुकरको सिट्टी लाग्न पाएन भने के हुन्छ ? जमिनमा निर्बाध जरा फैलाएर हुर्किनुपर्ने बिरुवालई सानो गमालामा रोपेर कहीँ रूख बन्न सक्छ ?

यस प्रकारका अभिभावकहरू भन्नलाई आफ्ना सन्तानको भविष्य उज्ज्वल पार्नका लागि नै यी सबै काम गरेँ भन्छन् तर उनीहरूले के कहिल्यै विचार गरेका छन् कि उनीहरूका सन्तानमा के गर्ने र के बन्ने क्षमता छ भन्ने कुरा ? यदि सुपरस्टार क्रिकेट खेलाडी सचिन तेन्दुलकरलाई उनका बाबुआमाले क्रिकेट खेल्नबाट बञ्चित गरी गीत जबर्जस्ती गाउन लगाएको भए अथवा स्वर सम्राट नारायण गोपाललाई जबर्जस्ती फुटबल खेल्न बाध्य पारिएको भए के हुन्थ्यो ?

दुनियाँका सबै मानिस राम, सीता वा बुद्ध बन्दैनन् । यदि विश्वका हरेक मानिस डाक्टर र इञ्जिनियर मात्र हुने हो भने हवाईजहाज कसले उडाउँछ ? विद्यालय र कलेजमा कसले पढाउँछ ? तपाईं हाम्रो घर कसले बनाउँछ ? देश कसले चलाउँछ ?

हरेक बालबालिका जन्मिँदै केही न केही विशिष्ट गुण र क्षमता लिएर आएका हुन्छन् । असल अभिभावकको मूल कर्तव्य भनेको उनीहरूको क्षमतालाई चिन्ने र त्यही क्षमतालाई अगाडि बढाउने वातावरण सिर्जना गरिदिने हो । त्यसैले आफ्ना सन्तानलाई दबाबको जीवन होइन, उनीहरूको मौलिक जीवन बाँच्नलाई प्रेरित गर्नुपर्छ ।

‘बच्चाहरूमा लगानी गर्ने सबैभन्दा उत्तम चिज तपाईंको समय र संस्कार हो । ध्यान दिनुहोस्, एक असल (श्रेष्ठ) बालकको निर्माण गर्नु १०० विद्यालय बनाउनुभन्दा उत्तम काम हो ।’ (स्वामी विवेकानन्द)

समान्य परिवारमा हुर्केको म । कहिलेकाहीँ बाल्यकाल सम्झन्छु । बाआमाले दुःख गरी हुर्काउनुभयो, पढाउनुभयो । सनो छँदा उहाँहरूले मेरा लागि गर्नुभएको दुःख र कष्टको अर्थ मैले त्यति बुझ्न सकिनँ । त्यति महत्त्व दिइनँ पनि । उहाँहरूले मलाई माया गर्नुहुन्थ्यो तर त्यसको अर्थ पनि बुझिनँ ।

‘मलाई दुनियाँमा सबैभन्दा बढी माया गर्ने मान्छे मेरा बाआमा हुन् भन्ने कुरा त्यो दिन थाहा पाएँ, जुन दिन म मेरो छोराको बाबु बनेँ ।

यसरी सबैभन्दा बढी माया गर्ने मेरा बाआमाले समेत मेरो बारेमा निर्णय गर्दा अन्जानमा कहीँकतै भूलहरू गर्नुभएको छ । उहाँहरूले अन्जानमै भए पनि गरेका भूलहरूको सजाय म आज भोगिरहेको छु । तर, यति कुरामा म मेरा बाआमाप्रति गर्व गर्छु कि उहाँहरूले मलाई मेरै शैलीको जीवन बाँच्न कहिल्यै रोक्नुभएन ।

मैले गर्न नचाहेको र नखोजेको पेसा वा व्यवसाय अँगाल्न कहिल्यै दबाब दिनुभएन । हुन सक्छ, त्यसो नहुनुमा उहाँहरूको अबोधपन वा मप्रतिको बेवास्ता ।

उहाँहरूले मेरा निम्ति लिएका हरेक निर्णयमा मेरो स्वार्थ अगाडि थियो वा उहाँहरूको, मलाई थाहा हुने कुरै भएन । हुन सक्छ, उहाँहरूको आर्थिक हैसियत वा चेतनास्तरको कमी ।  त्यसैले होला उहाँहरूले मेरा कुनै पनि क्रियाकलापमा न हस्तक्षेप नै गर्नुभयो, न त सहयोग नै । अहिले सम्झिँदा लाग्छ, मेरा सोच र कार्यमा उहाँहरूले आफ्ना निर्णयहरू लाद्नुभएको भए ? वा मैले आफैँले जे जति गरेँ, त्यसमा मेरा आमाबुबाको सक्रिय सहयोग भएको भए ? अवश्य पनि माथिका दुवै अवस्थामा म आज जे छु, जस्तो छु, त्यसभन्दा फरक हुने थिएँ– या त आजभन्दा राम्रो या नराम्रो ।

मलाई थाहा छ, तपाई पनि आफ्नो जीवनका उपलब्धिसँग सन्तुष्ट हुनुहुन्न । त्यसमा तपाईंको विगत पक्कै पनि जोडिएको छ । मलाई यो पनि थाहा छ, तपाईं पनि आफ्ना सन्तानलाई दुनियाँकै सबैभन्दा बढी माया गर्नुहुन्छ ।

तपाई हाम्रा बाआमाले हिजोका दिनमा नजानी नजानी गरेको गल्तीका बारेमा आज हामी कति धेरै प्रश्न तेस्र्याइरहेका छौँ भने कतै आज तपाईंले जानीजानी गरेको भूलको सजाय भोलि तपाईंका सन्तानले पनि भोग्नुपर्ने त होइन ?

भोलि तपाईंलाई तपाईंका सन्तानले यस्तो प्रश्न गर्नेछन्– ‘बुबा, आमा, तपाईंहरूले मलाई खाल्डोमा जाक्ने निर्णय किन लिनुभयो ? तपाईंहरूको क्षणिक सहजताका लागि मलाई संसार जित्ने बाटो हिँड्नबाट किन बञ्चित गर्नुभयो ? थोरै पैसा जोगाउनका लागि मलाई किन त्यत्रा विधि अवसरहरूबाट बञ्चित गर्नुभयो ? तपाईंको फोस्रो आडम्बरका लागि मेरो जीवनको दाउ किन थाप्नुभयो ? मेरो चाहना र क्षमतालाई नबुझी किन तपाईंले जबर्जस्ती आफ्नो निर्णय लाद्नुभयो ?’ आदि आदि ।

त्यतिबेला तपाईं आफ्ना छोराछोरीलाई के जवाफ दिनुहुन्छ ?

समाधानको बाटो
जीवनप्रति आशावादी बन्नुहोस्, तपाईंलाई के थाहा भोलिको समयले तपाईंको निम्ति के उपहार लिएर आउनेछ ।

आफ्ना छोराछोरी हुर्काउन अभिभावकीय भूमिका निर्वाह गर्दा आजसम्म जेजस्ता गल्ती या कमजोरी भए, त्यसलाई सम्झेर निराश हुनुभन्दा कमजोरीबाट सिकेर अघि बढ्नु राम्रो हुन्छ । आउनुहोस्, आज अहिलेबाट केही राम्रो कुराको थालनी गरौँ । असल बाबुआमा बनौँ । असल अभिभावक बनौँ ।

– सन्तान जन्माउँदैमा बाबुआमाको दर्जा त पाइएला तर असल अभिभावकको सम्मान पाइन्छ भन्ने छैन । उनीहरूलाई ठीक ढंगले हुर्काउने, बढाउने, पढाउने र जीवनको मार्गनिर्देशन दिने काम नै अभिभावकत्व हो । त्यसैले असल अभिभावक बन्ने कला सिक्नुहोस् ।

आजका बालबालिकाहरूलाई शिक्षित बाबुआमाभन्दा असल अभिभावकहरूको खाँचो छ । तालिमप्राप्त अभिभावकहरूको खाँचो छ ।

– छोराछोरीहरूका बारेमा निर्णय लिँदा उनीहरूको स्वार्थलाई केन्द्रमा राख्नुहोस् ।

– विद्यालयको छनोट धेरै कठिन कार्यहरूमध्ये एक हो । त्यसैले छोराछोरीहरूका निम्ति विद्यालयको छनोट गर्दा निम्नलिखित बुँदाहरूमा ध्यान दिनुहोस्, जसलाई ३पी अवधारणाका रूपमा  ख्याल गरौँ ।

पहिलो पीः विद्यालयमा संलग्न व्यक्तिहरू

विद्यालय छनोट गर्नुअघि कुनै पनि विद्यालयसँग सम्बन्धित व्यक्तिहरूका बारेमा राम्ररी जानकारी राख्नु राम्रो हुन्छ । यसलाई पनि विभिन्न भागमा विभाजन गर्न सकिन्छ ।

क. विद्यालय संचालकः विद्यालय संचालकको सोच, उसको जीवनशैली तथा आचारणलाई अध्ययन गर्ने ।

ख. विद्यालयका प्रिन्सिपल तथा शिक्षक र कर्मचारीहरू ः विद्यालयमा कार्यरत प्रिन्सिपल, शिक्षक तथा कर्मचारीहरूको शैक्षिक योग्यता, तालिम अन्य सीप तथा कार्यशैलीलाई अध्ययन गर्ने ।

ग. अभिभावकहरूः आफूले छोराछोरी पढाउन चाहेको विद्यालयका अभिभावकहरूको स्तर, जीवनशैली र उनीहरूले  छोराछोरीहरूलाई गर्ने व्यवहारको अध्ययन गर्ने ।

घ. विद्यार्थीहरूः आफ्ना छोराछोरी पढ्ने कक्षाका विद्यार्थीहरूसँग अन्तक्र्रिया गरी उनीहरूको स्तर, बानी व्यहोरा आदिको अध्ययन गर्ने ।

दोस्रो पीः विद्यालयका क्रियाकलाप तथा उपलब्धिहरू

यसअन्तर्गत विद्यालयका विविध क्षेत्रको अध्ययन गर्न सकिन्छ ।

क. शैक्षिक क्रियाकलापः विद्यालयमा लागू भएका शैक्षिक विधि बालकेन्द्रित हुन् या होइनन्, अध्ययन गर्ने । पढाइने पाठ्यपुस्तक, मूल्याङ्कन विधि आदिमा समेत ध्यान दिनुपर्छ ।

ख. शैक्षिक उपलब्धिः अभिभावकले आफ्ना नानीहरू कुनै पनि विद्यालयमा भर्ना गर्नुअघि हेर्नुपर्ने अर्को पक्ष भनेको कम्तीमा पनि विगत ५ वर्षदेखिको त्यस विद्यालयले हासिल गरेको शैक्षिक उपलव्धि हो ।

ग. सहायक तथा अतिरिक्त क्रियाकलापः सर्वगुण सम्पन्न व्यक्ति बन्न पढाइ, लेखाइमा राम्रो बन्नु त पर्छ तर वास्तविक जीवन जिउने कलाहरू पनि सिकेको हुनुपर्छ । तसर्थ, अभिभावकले आफ्ना छोराछोरी पढ्ने विद्यालयमा के कस्ता सहायक तथा अतिरिक्त क्रियाकलापहरूको नियमित प्रशिक्षण हुने गरेको छ र विद्यार्थीहरूले ती क्रियाकलापहरूमा कुन स्तरको प्रस्तुति गरिरहेका छन्, त्यो जान्नु जरुरी हुन्छ ।

घ. विद्यालयको प्रतिष्ठाः आफूले छान्न चाहेको विद्यालयको स्थापनादेखि हालसम्म समाज, राष्ट्र र अन्तर्राष्ट्रियस्तरमा पारेको प्रभाव, मान र प्रतिष्ठालाई पनि राम्ररी आँकलन गर्नुपर्छ ।

ङ. राष्ट्रिय हितमा योगदानः अभिभावकले ध्यान पुर्‍याउनुपर्ने अर्को महत्त्वपूर्ण पाटो भनेको आफूले छानेको विद्यालयले राष्ट्रिय हितमा कतिको योगदान पुर्‍याएको छ भन्ने हो । यदि कुनै विद्यालय सबै कुरामा उत्कृष्ट भईकन पनि राष्ट्रियतामै खतरा पुग्ने गरी आन्तरिक उद्देश्य राखी विदेशीहरूको लगानीमा विद्यालय संचालित हो भने त्यस्ता विद्यालयबाट सधैँ सचेत हुनुपर्छ ।

च. पूर्वविद्यार्थीहरूको स्थितिः अभिभावकले आफ्ना छोराछोरीहरूका लागि रोज्न खोजेको विद्यालयमा अध्ययन गरी आफ्नो वास्तविक जीवन यापन गरिरहेका विद्यार्थीहरूको अवस्था, उनीहरूले अँगालेका पेसा, व्यवसाय वा उनीहरूको व्यक्तिगत आचरण आदिका बारेमा पनि जानकारी राख्नु उत्तम हुन्छ ।

तेस्रो पीः विद्यालयका भावी योजनाहरू

सामान्यतया योजना भन्नाले विद्यालयको भावी योजना भन्ने बुझिन्छ तर मैले योजनाअन्तर्गत विद्यालय संचालन गर्नुपूर्व संचालकले देखेका सपनादेखि विद्यालयको दूरदृष्टि, विद्यालयको अन्तिम लक्ष्य र ती लक्ष्यहरू हासिल गर्नका लागि कोरिएका रण्नीतिगत योजनाहरू समेतलाई बुझाउन खोजेको हो ।

यदि तपाईं आफ्ना छोराछोरीहरूका लागि कुनै एक राम्रो विद्यालयको खोजीमा हुनुहुन्छ भने माथि उल्लेखित ‘३पी’लाई आधार बनाएर त्यस विद्यालयको भूत, भविष्य र वर्तमानका बारेमा राम्ररी जानकारी लिइसकेपछि आफ्ना सन्तानलाई भर्ना गराउनुभयो भने तपाईंले कहिल्यै पनि पछुताउनुपर्नेछैन ।

सन्तानको स्वार्थ नै तपाईंको स्वार्थभन्दा अगाडि राखी तपाईंले आफ्ना छोराछोरीहरूलाई हुर्काउनुभएको हो भन्ने कुरा प्रमाणित हुन्छ ।