रूपक अलङ्कार | साहित्य | माघ ११, २०७६
दश मिनेट ओरालो र बीस मिनेट तेर्सो हिँडेपछि मात्र हामी स्कुल पुग्न सक्थ्यौँ । स्कुलसम्म पुग्न लामो दूरी पार गर्नुपर्ने हुनाले हामी सकेसम्म चाँडै हिँड्थ्यौँ, स्कुल जानका लागि । दालभात, तरकारी पाक्नुपर्छ स्कुल जानका लागि भन्ने नियम थिएन हाम्रो गाउँमा । दाल पाक्न त तिथि, श्राद्ध आउनै पर्थ्यो । एकसरो तरकारी भात र साथमा दूध वा दही भएपछि स्कुल जाने सर्जाम पुगिहाल्थ्यो ।
घरमा तयार भएको सर्जाम हाम गरेर म घरबाट स्कुलका लागि निस्किएँ हात्ती छाप चप्पल पड्काउँदै । विद्यालयको पोसाकमा सर्ट र पाइन्टभन्दा अरू केही पनि अनिवार्य थिएन । किताब बोक्न झोला कहिल्यै चाहिएन, हातमै च्यापेर काम चलाइन्थ्यो ।
आँपको बोटनेर उभिएर कुमारलाई बोलाएँ, उसले भात खाएकै रहेनछ । गणेशको घरपट्टि हेरेँ, ऊ भर्खर बाख्रा चराएर आएर बाँध्दै रहेछ । साथीहरूले आज ढिलो गरे कि मैले चाँडो गरेको हो भन्ने कुरोको निधो गरिनसक्दै पुन्टे माथिबाट झर्यो । साथी भयो । अरू आउँदै गर्छन्, हामी जाऔँ भन्दै पुन्टे मलाई समेत नपर्खी अघि लाग्यो ।
पुन्टे, नाम मात्र पुन्टे हो । मान्छे मभन्दा निकै जब्बर थियो । ऊभन्दा मुनिका दुई भाइले नै मलाई पटक पटक गोदिसकेका थिए । मान्छे गोद्नमा पुन्टे पनि कहलिएको मान्छे थियो । अहिलेसम्म उसले आफ्नो पराक्रम ममाथि परीक्षण गरेको थिएन अर्थात् उसले मलाई भुरो सम्झेर हात हालेको थिएन । मभन्दा एक कक्षा माथि पढ्ने भएकाले ऊ मलाई माया गर्थ्याे । ऊसित निहुँ खोन्ने आँट मैले कहिल्यै गरिनँ पनि ।
नौबिसे बजार ओर्लिँदासम्म पनि हामी दुइ जना मात्र थियौँ । बजारबाट घरतिर लाग्ने गौँडामै हजुरबा भटिनुभयो । हजुरबाको ज्वारीकोटमा एक पुरिया बिस्कुट जहिल्यै हुन्थ्यो । त्यो बिस्कुट मेरो पेटपूजाका लागि हुन्थ्यो । आज हजुरबाको खल्तीमा बिस्कुट भेटिएन । हजुरबाले दुई रुपयाँको नोट मलाई दिनुभयो । आजको दिन बडा रमाइलो हुनेमा कुनै शंका रहेन ।
दुई रुपयाँले मेरो मनलाई मात्र होइन, पुन्टेको मनलाई समेत उपियाँ बनाएर बुरुक्क उफार्यो । स्कुल जाँदा हिँडेर जानेलाई खासै मान्छे मानिँदैनथ्यो । साना भुरा र केटीहरू मात्र हिँडेर जान्थे । दौडिरहेको गाडीमा झुन्डेर चढ्नुलाई पुराषार्थ मानिन्थ्यो । चार कक्षादेखि नै चलिरहेको गाडीमा झुन्डिने प्रयत्न थाले तापनि म यो काममा कहिल्यै पोख्न भइनँ ।
त्यस दिन पनि पुन्टे ढुंगा बोकेर आएको गाडीमा झुन्डिहाल्यो म गाडीको साङ्लो समातेर दौडिरहेँ । उसले माथिबाट मेरो हात समात्यो र तान्यो । म बल्लतल्ल माथि उक्लेँ । खानिखोला आई त हाल्यो ।
मेरो खल्तीमा भएको दुई रुपयाँले हामीलाई डेडे बुढाको साइकल दुकानमा पुर्ययो । ऊ कुनै साइकल व्यापारी नभएर दुनियाँभरका झ्याम्पट साइकल जम्मा गरेर हामीलाई भाडामा लगाउँथ्यो । पाँच रुपयाँमा ३० मिनेट र दुई रुपयाँमा १० मिनेट साइकल चलाउन पाइन्थ्यो । डेढे बुढालाई दुई रुपैयाँ टक्र्याएर हामीले साइकल समात्यौँ ।
पुन्टेले साइकल ठेल्यो म साइकल चढेँ । म ओर्लेपछि पुन्टे चढ्यो र बेपत्ता भयो ।
यसरी एक-दुईचोटि चढ्दैमा जाबो १० मिनेट सिद्धिने भइगयो । त्यसमाथि डेढे बुढाको साइकलमा कहिले चेन खुस्किने, कहिले पाइडल खुस्किने झन्झट । हामीले दुई रुपैयाँको करोडौँ आनन्द लुट्यौँ ।
पुन्टेले साइकलको अगाडिपट्टिको तेर्सो डन्डीमा राखेर चलाउने भयो, त्यो पनि ओरालामा । डेढे बुढाको साइकल न पर्यो, भन्नेवित्तिकै किन ब्रेक लाग्थ्यो र ? उसले साइकललाई लगेर सडकको भित्तातिरको कुलामा पछार्यो । हामी दुवै जना पोखरीमा डुबेर निस्केको रुपी जस्ता भयौँ । कुलामा हामी पछारिँदा वरपर हिलामा ल्यापल्याप गरिरहेको हाँसको बथान तितरबितर भयो । हाँसले भर्खर पारेको फुल भने लिएर भाग्न सकेन ।
पुन्टेले फुल देखिहाल्यो । हाम्रो दिमागमा एउटा सैतानी आइडिया आयो । वनमारा र तितेपातीको मुन्टाले फुल छोपेर साइकल बुझाउन गयौँ । हाम्रो हालत देखेर डेढे बुढो हाँस्यो ।
मेरो साइकल त भाँचेनौ नि ? उसको प्रश्नको उत्तरै नदिई हामी हिँडिहाल्यौँ । फर्केर आउँदा पनि फुल जस्ताको तस्तै थियो । हाँसको कँककँक भने बढेको थियो । मानिसको आवतजावतलाई विचारेर हाँसको फुल मैले खल्तीमा हालेँ । कसैले देखेमा हाम्रो कस्तो दुर्गति हुन्छ भन्ने कुराको पूर्वज्ञान हामीलाई थियो किनभने त्यो हाँस अरू कसैको नभएर हामीलाई सामाजिक पढाउने सरको थियो ।
सरले झिनामसिना गल्तीमा पनि रामधुलाई गरेका दृश्य मेरा आँखामा चलिचित्र भइरहेका थिए । यति हुँदाहुँदै पनि फुल बोकेर हामी सडक सडकै नौबिसेतिर लाग्यौँ ।
हजुरबाले दिक्दार भएर भन्नुभयो, 'थुक्क मोरा ! फुल मात्रै खा'को भए नि हुने नि । क्षेत्रीका घरमा फुलमा पिठो हालेर खाएर इज्जत फालिहालिछस् नि, बेइज्जती !'
भट्टामोड नपुग्दै पीपलको बोटमुनिको झाडीमा सजगताका साथ हाँसको फुल लुकाएर हामी स्कुल गयौँ । टिफिन नहुन्जेल नकुरी सुख थिएन । त्यतिबेलासम्म फुललाई केही नहोस् भन्ने कामना गरेरै मैले समय बिताएँ । पुन्टेले पनि त्यसै गर्यो होला । पिसाब फेर्न निस्केका बेलामा उसले मलाई किताब बोकेर भागौँ भनेको थियो तर मसित त्यत्रो पौरख गर्ने ल्याकत थिएन । एक्लै भाग्ने सामर्थ्य उसमा पनि थिएन ।
टिफिनको घन्टी बज्नेवित्तिकै सर्टभित्र ढाडमा किताब लुकाएर हामी विद्यालयबाट अलप भयौँ । धेरैले हामीलाई खोजे होलान् तर हामीलाई कसैको वास्ता भएन । वास्ता थियो त त्यही हाँसको फुलको । हाँसको फुलमाथि कमिलाले परेड खेल्न थालेका रहेछन् । पुछपाछ गरेर फुललाई पुन्टेले खल्तीमा हाल्यो । हामी हाइवेमा निस्कियौँ ।
फुल खल्तीमा बोकेर मध्यदिनमै घर फर्किनु हाम्रा निम्ति साँच्चै नै खतरा हुन्थ्यो त्यस कारण स्कुल आउने जाने सधैँको बाटो नहिँडेर अर्कै बाटो समात्ने विचार गर्यौँ र हाइवेको बाटो छाड्यौँ । नौबिसे स्वास्थ्य चौकी हुँदै संग्रामेको घर पछाडि हुँदै डुँडेको बाटो लाग्यौँ । अरू दिन पनि स्कुलबाट भागेर पौडी खेल्न जाने चोर बाटो त्यही नै थियो । त्यस बाटोबाट जाँदा एकैचोटि गाउँमुनिको आँपको चौतारामा पुगिन्थ्यिो ।
चौतारामा पुगेपछि पनि हामीलाई डर छाडेन । गाउँका मानिस बेलुकाका लागि बजार झर्ने ठिक्क बेला भएको थियो । हजुरबा, मामा, पुन्टेका बुबा वा अरू गाउँका जोकोही भेटिए पनि हामीलाई खतरा थियो । त्यसपछि पनि हामीले खोल्चापट्टिको बाटो समात्यौँ । यसरी लुक्दै भाग्दै बल्लतल्ल हामी पुन्टेको आँगनमा पुग्यौँ ।
पुन्टेका दुइटा भाइ स्कुलमै थिए । बाउआमा खेतमा थिए । आउँदा बाटैबाट देखेका थियौँ । उसका हजुरबा कसको घरमा तास फिट्दै थिए या बजारमा चिया सुप्रयाउन पुगिसकेका थिए । पुन्टेले ढोका खोल्यो र गुन्द्रीमा फ्यात्त किताब मिर्कायो । बाहिरबाट झिक्रा ल्यायो एक अँगालो । टुकीबाट खोयामा मट्टीतेल चुहायो र आगो सल्कायो । मट्टितेलको मीठो गन्द घरभरि व्याप्त भयो । अँगेनामा ताप्के बसाल्यो, हाँसको फुल फुटाएर कचौरामा हाल्यो । निकैबेरसम्म खबटा टक्काइरह्यो । अलिकति नुन हालेर छेस्काले एकछिन रगडिरह्यो ।
म सारा कुरा दर्शक भएर हेरिरहेको थिएँ । मैले फुल पकाएको दृश्य यसअघि यति नजिकबाट देखेको थिइनँ । पुन्टे जाबाले चाहिँ कसरी जानेको होला ! आज आएर ऊ मभन्दा ठूलो हो र म भुरो नै हँ भन्ने कुरामा विश्वास भयो । पुन्टेले तातेकोे ताप्केमा अलिकति तेल चुहायो र कचौराको फुल झ्वाइयँ पार्यो । छेस्काले चलाएकै भरमा उसले अम्लेट तयार पार्यो ।
अम्लेट औँस पनि तलमाथि नगरी बराबर भाग लाग्यो । हामीले आफ्नोआफ्नो भाग अम्लेट खायौँ । नरम नरम अम्लेटका टुक्रालाई जिब्राले छुँदा जिब्रामा नै काउबुडी लागेको जस्तो भयो । झोकैले खाने हो भने एक गाँस पनि नहुने अम्लेटलाई हामीले धेरैबेर लगाएर खायौँ । अनौठो आनन्दको दहमा डुब्दै उत्रँदै गर्दाको जस्तो आनन्द आयो हामीलाई । यसभन्दा पहिले मेरा जिब्राले ढुकुरको फुलको भन्दा अरूको अम्लेट छुन पाएको थिएन । तर, त्यो धेरै पहिलेको कुरा थियो । त्यतिबेलाको स्वाद मेरो जिब्रामा बाँकी थिएन पनि ।
कुखुराको नाम लिन पनि मामाघरमा निषेध जस्तै थियो त्यतिवेला अन्डाको त के कुरा ! तर, यो हाँसको फुल भएकाले मलाई त्यति डर थिएन ।
अम्लेट खाएको धेरैबेरसम्म पनि हाम्रो मुख अम्लेटको स्वादको सम्झनाले रसिलो भई नै रह्यो । कचौरामा भने फुलको रहलपहल बाँकी नै थियो । पुन्टेले त्यसमा मकैको पिठो हाल्यो । नुन, मसला थपेर फेरि ताप्केमा झ्वाइयँ पार्यो । मकैको रोटी पनि पाक्न लाग्यो । हिङ बाँधेको टालामा हिङ बास्ना आएझैँ रोटीबाट पनि फुलको बासना हररररर आयो । रोटीलाई पनि अम्लेटकै स्वादमा खायौँ हामीले उस्तै आनन्दका साथ ।
स्कुलबाट हाँसको फुल चोरेर घर ल्याएर खाएको कुरालाई हामीले दुई-चार हप्तासम्म गोप्य राख्यौँ, घरमा त भन्दै भनेनौँ ।
दशैँ आयो । दशमीका दिन भीमसेनको पूजा गर्न भनेर हजुरबाले हाँसका दुईवटा फुल ल्यउनुभयो । त्यो देखेर मैले हाँसको फुल खाएको खटना सम्झेँ । मेरो जिब्रो र्यालमा लफ्रक्क भिज्यो । हजुरबाले करेसामा भीमसेनस्थान बनाउनुभयो र पूजाआजा गरेर हाँसको फुल चढाउनुभयो ।
'ल अब यो हाँसको फुल लगेर लुकाएर राख् । पछि पकाएर खानू', हजुरबाले त्यति भनेपछि मेरो हंस झन् प्रफुल्लित भयो । त्यो हाँसको फुलमा मेरो हंस अघि नै पसिसकेको थियो । मैले नि भनिहालेँ, 'हाम्ले अस्ति न पनि हाँसको फुल खा'को नि हजुरबा !'
'काँ खा'को नि ?'
'पुन्टेका घरमा पिठो मिसाएर पकाएर खा'को ।'
हजुरबाले दिक्दार भएर भन्नुभयो, 'थुक्क मोरा ! फुल मात्रै खा'को भए नि हुने नि । क्षेत्रीका घरमा फुलमा पिठो हालेर खाएर इज्जत फालिहालिछस् नि, बेइज्जती !'