अनुरोध शर्मा | दृष्टिकोण | माघ १४, २०७६
चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाएको छ । नेकपाको लामो रस्साकस्सीपछि अग्नि सापकोटा सभामुख चयन भएका छन् । बिना किपरको पोलमा गोल हान्न सफल अग्नि सापकोटालाई सभामुख पद सम्हाल्न वा पचाउन भने निकै सकस हुने देखिन्छ ।
द्वन्द्वका अनेक घाउबाट आफैँ पनि पीडित हुन् सापकोटा । परिवारका झन्डै आधा दर्जन सदस्य द्वन्द्वमा गुमाएका सापकोटा आफैँ घाइते पनि हुन् । उसो त उनी मर्न र मार्न नै द्वन्द्वमा होमिएका थिए । त्यसमा हामीले चिन्ता गर्नुको अर्थ छैन । सबै जानाजानी भए गरिएका कार्य थिए ती ।
तर, राजनीतिक हिसाबले त्यसलाई मूल्यांकन गर्दा सापकोटाको राजनीतिक ‘लगानी’ प्रशस्त नै होला । त्यसवापत उनले प्राप्त गरेको पद वा प्राप्ति पनि ठीकै होला ।
जे भए पनि लामो समयदेखि अनिर्णयको बन्दी बनेको, मियोविहीन बनेको नीति निर्माणको थलो संसदले सभामुख पाएको छ, यो खुसीको कुरा हो ।
तर, सँगै दुःखको कुरा यो छ कि सापकोटालाई हत्याकाे आरोपित व्यक्ति हुन् । काभ्रेका अर्जुन लामालगायतको हत्याका आरोपी लागेकाे हुन् उनी । भन्न त हिजो कार्यभार सम्हाल्दा सापकोटाले ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ शैलीमा बडो ‘ओजपूर्ण’ अभिव्यक्ति दिएछन्, सभामुखको कुर्सीमा बसेर । भनेछन्, ‘विरोध र आन्दोलन भइरहन्छन् लोकतन्त्रमा ।’
यसो भनिरहँदा उनलाई चौतर्फी रूपमा घेराबन्दी गरिइरहिएको पत्तो भएन कि सायद । उनीमाथिका अघिल्ला मुद्दा त जीवित र चलिरहेकै छन्, त्यसमाथि पुनः अर्को मुद्दा पनि केही दिनअघि दर्ता भएको छ । यस्तो बेलामा उनी यति ‘आत्मविश्वास’का साथ प्रस्तुत हुन सक्नु साँच्चै ठूलो कुरा हो ।
सापकोटाको सभामुख प्रधानमन्त्री ओलीको ‘आशीर्वाद’ हो भन्ने छिपेको छैन । ओलीले नै सापकोटाको नाम प्रस्ताव गरिदिएका हुन् । तत्कालीन माओवादीको ‘कोटा’को सभामुखका लागि अन्य कम विवादित व्यक्ति हुँदाहुँदै सापकोटालाई नै ओलीले रोज्नुको अन्तर्य धेरैलाई थाहा छ । तर, विचरा प्रचण्ड ओलीको चंगुलबाट निस्कन र ओलीलाई इन्कार गरेर अगाडि बढ्न सक्ने हैसियतमा छैनन् ।
यसरी सभामुखमा सापकोटा ल्याउनुको बाँकी तथ्य विस्तारै खुल्दै जाँदा ओली–प्रचण्ड साइनो पनि अप्राकृतिक रहेको अर्थात् एमाले–माओवादी एकता पनि संकटमा पर्ने प्रस्ट हुँदै जाने राजनीतिक वृत्तमा चर्चा छ ।
यसकै परिणाम सभामुखमा विवादित र आरोपी सापकोटालाई सभामुखका लागि स्वीकार गर्न प्रचण्डा स्वयं बाध्य भए ।
राजनीतिक बजारमा गाइँगुइँ सुनिन्छ, अब ओलीले सापकोटाविरुद्ध अर्को पासा फाल्छन् । ओलीलाई एमसीसी पास गराउनु छ पहिला, त्यसपछि मोहीको झिँगो बनाएर सापकोटालाई फालेर सुवास नेम्बाङ वा तेस्रो आफ्नो मान्छे सभामुखमा ल्याउने कसरत अब सुरु हुनेछ ओलीबाट ।
र, यो असंभव किन पनि छैन भने, एउटी महिलामाथि बलात्कारको अभियोगमा बहालवाला सभामुख कृष्णबहादुर महरालाई कालकोठरीमा पुर्याउनुमा पनि ओलीको हात छ भनिन्छ । एमसीसी पास गर्न असहमत रहेका महरा त्यही कारण ओलीका निशानामा परेका हुन् भन्ने स्वयं महराले पनि बताएका छन् ।
सापकोटाको अभियोग त अझ ठूलो छ, जसलाई टेक्न र निचोर्न ओलीलाई निकै सहज हुनेछ । यसपछि सापकोटा साँच्चै नमज्जाले फसाइनेछन् । महरालाई ‘ठेगान’ लगाएका ओलीले प्रचण्डका अर्का हात सापकोटालाई समेत ‘साइज’मा ल्याएपछि प्रचण्ड आफैँ निरीह र व्याकुल बन्नेछन् र आफैँ पार्टीका सबै क्षेत्रमा सर्वेसर्वा भइनेछ भन्ने पनि ओलीको आँकलन छ ।
यसरी सभामुखमा सापकोटा ल्याउनुको बाँकी तथ्य विस्तारै खुल्दै जाँदा ओली–प्रचण्ड साइनो पनि अप्राकृतिक रहेको अर्थात् एमाले–माओवादी एकता पनि संकटमा पर्ने प्रस्ट हुँदै जाने राजनीतिक वृत्तमा चर्चा छ ।