मोक्ष, निर्वाण, साल्भेसन र हाम्रो जीवन

मोक्ष, निर्वाण, साल्भेसन र हाम्रो जीवन

पर्वत भट्टराई  |  जीवनदर्शन  |  फागुन १५, २०७५

हाम्रो धर्म,  दर्शन, परम्परा, संस्कृति र मूल्य मान्यताहरुले हामीलाई मोक्षको पाठ राम्ररी सिकाएका छन् । हामी मोक्षको पाठ सिक्दै शिशु, किशोर, युवा, जवान हुँदै बुढो हुन्छौ । तर सिकेको अथवा सिकाइएको मोक्षको यो पाठ आफ्नो जीवनमा लागू गर्न नसकेर हामी हैरान हुन्छौं । हामीसँग केही ज्ञान पनि छ । जीवनबाट अध्यारो हटाएर उज्यालोमा पुगैँ भन्ने भावना पनि छ । अनन्त ईच्छा नराखेर सानासाना खुशीमा चित्त बुझाउने प्रयास पनि छ । खराब संस्कार त्यागेर असल बाटोमा हिड्ने आकाङ्क्षा पनि छ । मन र आत्माको आवाज सुनेर कर्तव्यपथमा लाग्ने अठोट हुँदाहुँदै पनि हामी मोक्षको नजिक किन पुग्न सकिरहेका छैनौं ?  के कमी छ हाम्रो आचरणमा र हामी मोक्ष भन्दा भन्दै मृत्युवरण गर्छौं ?  यस सन्दर्भमा दर्शनका कुरा सुनौं र केही बुझ्ने कोशिस गरौंस कसले के भनेका छन् । 

जियन ज्याक रुसोले ( सन् १७१२ - १७७८) भनेका थिए, 'मानिस स्वतन्त्र भएर जन्मन्छ तर उसले आफूलाई सधैं भरि जन्जिरभित्र पाउँछु ।' आजको मानव समाजलाई हेर्दा लाग्छ कि यो भनाइ एकदम साँचो हो । किनकी मानिस आफू, आफ्नो परिवार, समाज र अनेकन अन्य परिबन्दका कारणले चारैतिरबाट घेरिएको छ । यति हुँदाहुँदै पनि मानिसले मुक्ति, मोक्ष, निर्वाण अथवा साल्भेसन कसरी प्राप्त गर्न सकिन्छ भनेर अनेक खोजी जारी राखेकै हुन्छ । यही मोक्षको खोजलाई दर्शन, धर्म र विज्ञानमा अनेक तरहले परिभाषित गरिएको छ । मुक्ति, मोक्ष, निर्वाण अथवा साल्भेसन जे भने पनि आशय एउटै हो । तसर्थ यहाँ मोक्ष शब्दलाई सबैको प्रतिनिधि शब्द ठानेर केही कुरा उल्लेख गर्न गइरहेको छु । 

मोक्ष शब्द पुर्वीय दर्शन परम्पराबाट आएको र यसको अर्थ जन्ममरणको बन्धनबाट सधैंको लागि  छुटकारा पाउनु हो । अर्थात् जन्मनु नपरोस्, मृत्युको डर नै बाँकी नरहोस, यसले मुक्ति स्वतः पाइ हालिन्छ । निर्वाण शब्द खास गरी बौद्ध दर्शन परम्पराबाट आएको हो । यसको शाब्दिक अर्थ,'बलेको बत्ती निभ्नु' हो । यस शब्दलाई संस्कृतमा निर्वाण र पालीमा निब्बान भनिएको छ । यसको आशय पीडा, दुस्ख, क्लेष र अज्ञानताबाट मुक्ति पाउनु हो । मोक्ष कै अर्थमा अन्य दर्शनहरुमा पनि निर्वाण शब्द भनिएको पाइन्छ । भागवत्, गीता, रघुवंश पुराण, उपनिषद् र अनेक भाष्यहरु जस्ता नयाँ पुराना ग्रन्थहरुमा पनि यसको प्रयोग गरिएको पाइन्छ । यो कुरालाई बुद्ध दर्शन र धर्ममा बढी पारिभाषित गरिएको भए पनि साङ्ख्य, न्याय, वैशेषिक, योग, मीमांसा र वेदान्तमा पनि मोक्ष र निर्वाणको प्रसस्त चर्चा गरिएको पाइन्छ । 

पूर्वीय धार्मिक ग्रन्थ गीताको अन्तिम अध्यायलाई मोक्ष सन्यास योग भनिएको छ । यसमा उल्लेख भए अनुसार  मानव जीवनमा मोक्ष प्राप्त गर्नु भनेको यस जगतमा जन्मिने र मर्ने जुन चक्र छ त्यसबाट मुक्त हुनु हो । शिवानन्द स्वामीले गीताको व्याख्या गर्दै यसलाई  'The Yoga of Liberation by Renunciation' भनेका छन् । आफ्नो सबै कुरा बिना शर्त त्यागेर कर्म गरे पछि मोक्ष पाइने कुरामा उनको विश्वास थियो । 

आदि शङ्करले रचना गरेको निर्वाण षट्कम् मा भनिएको छ  ुम बुद्धि, अहङ्कार, मन र चित्त केही होइन । म कान, जिब्रो, नाक र आँखा पनि होइन । म भूमि, अग्नि, वायु, जल र आकास पनि होइन । म त केवल शुद्ध चेतना, अनादि, अनन्त शिव मात्र हुँ । विश्वका समस्त सम्पूर्ण दर्शनहरुमा मानिसको मोक्षको खोजी त गरिन्छ नै तर कस्तो अवस्था चाहीँ मोक्ष हो भन्ने कुरामा सबैका दृष्टिकोण फरक फरक रहेका छन् । 

पूर्वीय दर्शन परम्परामा जीवनका चार लक्ष्य हुन्छन् । धर्म, अर्थ, काम र मोक्ष । जसलाई प्राप्त गर्नु मानव जीवनको मुख्य उपलब्धि मानिन्छ । धर्म, अर्थ र काम यसै जीवनमा र बाँकी रहेको मोक्ष चाहीँ मृत्यु पछि प्राप्त हुन्छ भन्ने भनाइ प्रचलित रहेको पाइन्छ । परम् ज्ञानको प्राप्ति नै मोक्ष हो भन्ने भनाइ पनि छ । जैन दर्शन र धर्मका अनुसार दुस्ख, सुख, अहङ्कार, कर्म र संस्कारहरु हटाएर आत्माको  चित्त स्वरूप अन्तिम ज्ञान प्राप्त गर्नु नै मोक्ष हो । त्यसै गरी क्रिश्चियन दर्शनरधर्मका अनुसार कुनै पनि पाप कर्म नगरी प्रभुप्रति शुद्ध भावले निष्ठा राख्नु नै ुुसाल्भेसनुु अर्थात् मोक्ष हो । एउटा प्रशिद्ध भनाइ छ      'Deliverance from the power and penalty of sin is salvation' ।

ज्ञान प्राप्त गरेर अज्ञानता हटाउनु, प्रकाशित भएर अध्यारो हटाउनु, ईच्छाहरु हटाएर निष्काम हुनु र सांसारिक सुख, दुःख, अहङ्कार, कर्म र संस्कारहरु पनि हटाएर आत्माको मुल स्वरुप प्राप्त गर्नु नै मोक्ष पाउनु हो भन्ने कुरा पूर्वीय दर्शनको मूल आशय रहेको छ । यसरी हिन्दू, बौद्ध, जैन र क्रिश्चियन दर्शनरधर्म परम्परामा मोक्ष भनेको यो सांसारिक दुनियाँबाट मुक्त हुनु, साश्वत ज्ञान लिनु र आत्माको चीरशान्ति प्राप्त गर्नु हो । इश्लाम दर्शनरधर्म परम्परामा पनि मानिसलाई आफ्नो कर्तब्यप्रति सधैं तत्पर रहेर आवश्यक परेको बेला सहादत दिन प्रेरित गरेको पाइन्छ ।

यसरी हामीले सिकेको र बुझेको मोक्षलाई हामी आफ्नै जीवनमा चरितार्थ भएको हेर्ने र भोग्ने चाहना राख्छौं तर सामाजिक सम्झौताको सिद्धान्त बोकेका रुसोले भने जस्तै फेरि बाधिन्छौं घरमा, परिवारमा, समाजमा, नियममा र अन्य के के मा ।रु हामी आफै आफ्ना लागि अनेक नियम, मान्यता, संस्कार र सीमाहरु बनाउछौं र आफै त्यसमा बाधिन्छौं । यसरी नबाँधिएर पनि कहाँ सुख पाइन्छ १ विकृति, विसङ्गति र अनुशासनहीनता भयो भने कसरी परिवार, समाज र देश चल्छ होला भन्ने चिन्ता पनि त्यतिकै छ । त्यसैले मुक्ति,  मोक्ष,  निर्वाण र साल्भेसनलाई सहजै सबैले प्राप्त गर्न प्राचीनकालदेखि वर्तमानकालसम्मका विचारक, चिन्तक, सिद्धान्तकार अथवा दार्शनिकहरुले देखाएको बाटोमा हिड्न जरुरी छ । यस्तो बाटो भनेको सम्यक जीवन बिताउने, खराब अवस्था आउन नदिने र त्यस्तो भएन भने पनि धैर्यतापूर्वक अवस्थालाई बुझेर अगाडि बढ्नु हो । त्यसका लागि हामीले  दर्शन, धर्म, विज्ञान, प्रविधि र नयाँ युग अनुसारको मौलिक चरित्र निर्माण गर्नु जरुरी देखिन्छ । 

parbat.bhatta@gmail.com