ईश्वरभक्ति र मानव कल्याणको ज्ञान

ईश्वरभक्ति र मानव कल्याणको ज्ञान

बी.एच ज्ञवाली  |  दृष्टिकोण  |  माघ १५, २०७६

हाम्रा प्राचीन ऋषि महर्षिहरू, वेद, उपनिषद्, गीता, पुराण आदि अनेक धार्मिक पुस्तकहरू, विश्वका अनेकौँ विद्धान् तथा महात्माहरू र अन्य धर्महरूका प्रमाणिक ग्रन्थहरूले ईश्वरलाई सर्वशक्तिमान्, मानव जातिका एक मात्र अवलम्बन तथा आधार मानेका छन् । ईश्वरको सर्वव्यापकतालाई स्वीकार गरेका पनि छन् ।

आर्यहरूको मूल ग्रन्थ वेदमा ‘ईशावास्यमिदं सर्वम्’ अर्थात् यस ब्रह्माण्डमा जे जति जगत् छन्, ती सबैमा ईश्वरको वास छ भनेर ईश्वरको सर्वव्यापकता दर्शाइएको छ । कुरानमा पनि ईश्वरलाई सर्वव्यापक, सर्वशक्तिमान्, अजन्नमा, अपरंपार, दयालु, न्यायी र निराकार एवं निर्विकार भनिएको छ ।

बाइबलमा ईश्वरलाई सर्वशक्तिमान्, सर्वद्रष्टा देखाइएको छ र ईश्वरसँग सम्पूर्ण मनुष्य जाति तथा पृथ्वीका समस्त देशहरूमा प्रभुको जीवन दर्शन गर्न सकौँ भन्ने प्रार्थना गरिएको छ ।

त्यस्तै, शिख धर्ममा पनि ईश्वर (अकाल पुरुष)लाई सर्वशक्तिमान्, अद्वितीय, निराकार, निर्विकार मानिएको छ । यस्ता परमेश्वरलाई देख्न सकिने सबैभन्दा उपयुक्त साधन भक्ति हो भन्ने राय धार्मिक ग्रन्थहरूको छ ।

ईश्वर सबै जगतका कणकणमा विद्यमान् हुनुहुन्छ । अणुको सूक्ष्म रूप परमाणु, अझ त्यसको पनि सूक्ष्म तत्त्वमा सर्वशक्ति सम्पन्न रूपमा रहनुहुन्छ । जसले ईश्वरको यो सर्वव्यापकता र सर्वशक्ति सम्पन्नतालाई हृदयङ्गम गरी आफ्नो पवित्र एवं निर्मल हृदयभित्रका ईश्वरको दर्शन गर्छ, त्यो सर्वश्रेष्ठ ज्ञानी हो ।

गीतामा भगवान् श्रीकृष्णले भन्नुभएको छ–
योगिनामपि सर्वेषां म द्वतेनान्तरात्मना ।
श्रद्धावान् भजते यो मां समेयुक्ततमो मतः ।।  (६/४७)

अर्थात् जुन मनुष्यले श्रद्धापूर्वक ममा चित्त दिएर मेरो भजन गर्छ, त्यो भक्त तपस्वी, ज्ञानी, योगीहरूभन्दा पनि सर्वश्रेष्ठ छ ।

जसको मन स्वभावैले भगवानतिर आकृष्ट छ, जसको आश्रय भगवानबाहेक अरू कोही छैन, जसले भगवानसँग आत्मीय सम्बन्ध स्थापित गरेको छ, उसले यस संसारमा जे जति छन्, त्यो सबै भगवानको रूप हो भन्ने कुरा मान्छ र यस संसारको सृष्टि, स्थिति र प्रात्मको कारण पनि भगवान नै हुन्छन् भन्ने विश्वास गर्छ ।

मनुष्यले आफ्ना शुभ–अशुभ कार्यहरूको भोग रूप अनेकौँ जीव योनीहरू पार गर्दै अन्त्यमा पुनः यो मानवदेह प्राप्त गर्छ । त्यसैले यो अन्य सम्पूर्ण शरीरभन्दा श्रेष्ठ छ ।

भगवानको विशेष कृपाले नै जन्म र मृत्यु रूपी जीवनचक्रबाट पार पाउन यो देह प्राप्त भएको हो । यस्तो मानव देह प्राप्त गरेर पनि परमआराध्य भगवानको भक्ति नगरेर केवल विषय वासनाको भोगमा जुन मनुष्य लिप्त रहन्छ, त्यस्तो व्यक्ति आत्महन्ता हो ।

श्रीमद्भागवतमा भगवान्ले भन्नुभएको छ –
नृदेहमाधं सुलभं सुदुर्लमं पल्वं सुकल्पं गुरुकर्णधारम्
भयानुकूलेन नमामस्पतेरितं पुमान् भवाब्धिं न तरेत् स आत्महा ।। (भा ११/२०/१७)

अर्थात् यो मानव शरीर समस्त शुभकर्महरूको फलको कारण हो र अत्यन्त दुर्लभ भएर पनि सजिलैसँग प्राप्त भएको छ । यस संसार सागरबाट पार पाउनका लागि यो एउटा बलियो डुंगा हो । यसलाई गुरुरूपी माझीले चलाउँछ र म (भगवान्) वायुरूप भएर गन्तव्य लक्ष्यतिर बढ्न प्र्रेरणा दिन्छु ।

हाम्रो सोचाइ ईश्वरले बनाएको यो सुन्दर संरचनालाई कसरी जोगाउने र कसरी अझ राम्रो र समृद्धशाली बनाउने भन्नेतिर हुनुपर्छ । यसलाई नै ध्वस्त पारेर आफ्नो क्षणिक स्वार्थसिद्ध गर्न खोज्नु उसको अदूरदर्शिता हो । यस्ता व्यक्तिलाई ईश्वरले कदापि क्षमा गर्नुहुन्न ।

जसले आफूभित्र रहेको ईश्वरलाई थाहा पाउँछ, त्यो यस संसारबाट पार हुन सक्दैन, त्यस्तो व्यक्ति आत्मकर्ता हो । भगवान अत्यन्त दयालु हुनुहुन्छ, प्रेरणाका मूर्ति हुनुहुन्छ, सबैमा समान भाव राख्नुहुन्छ ।

गीतामा भगवानले भन्नुभएको छ–
यै यथा मां प्रय धन्ते तांस्चथैव मजाम्यहम् ।
अर्थात् जसले जुन भावले मेरो भक्ति गर्छ, म उसलाई त्यही भावले सन्तुष्ट पार्छु ।

सर्वव्यापक परमेश्वरको जुन सर्वोत्कृष्ट जान्न योग्य स्वरूप छ, त्यसलाई प्रभुको भक्ति गर्ने सदा जागरुक व्यक्तिले मात्र प्रकाशित गर्न सक्छ । सदा सर्वदा विषय भोगमा लिप्त रहने, आमोद प्रमोद नै आफ्नो जीवनको प्रमुख लक्ष्य सम्झने व्यक्तिले परलोकलाई बिर्सिदिन्छ । त्यस्ताले ईश्वरलाई र ईश्वरको महिमालाई बुझ्न सक्दैन ।

भौतिक संसारलाई नै वास्तविक संसार मान्ने देहाभिमानले प्रेरित यस्ता मनुष्यहरू आफ्नो स्वार्थ सिद्ध गर्न आफूले लिएको मार्ग नै उत्तम मार्ग हो भन्ने कुरालाई उत्कृष्ट देखाएर सर्वसाधारणलाई भुलभुलैयामा पारी आफ्नो अधीनमा राख्न चाहनुहुन्न ।

जहाँ जसको जस्तो श्रद्धा छ, उसलाई त्यसैमा दृढ गराइदिनुहुन्छ । यो भगवानको उदारता हो, निष्पक्षता हो । भगवानको दृष्टि भक्तको हितका लागि हुन्छ, आफ्नो स्पार्थका लागि हुँदैन ।

हाम्रो सोचाइ ईश्वरले बनाएको यो सुन्दर संरचनालाई कसरी जोगाउने र कसरी अझ राम्रो र समृद्धशाली बनाउने भन्नेतिर हुनुपर्छ । यसलाई नै ध्वस्त पारेर आफ्नो क्षणिक स्वार्थसिद्ध गर्न खोज्नु उसको अदूरदर्शिता हो । यस्ता व्यक्तिलाई ईश्वरले कदापि क्षमा गर्नुहुन्न ।

अतः हामीले यदि आवागमनको चक्रबाट मुक्ति पाउनु छ भने आफ्ना सम्पूर्ण कर्महरूबाट बचेर अटल भक्तिभावका साथ ईश्वरको चिन्तन गरौँ, यसैमा हामी सबैको कल्याण छ ।