राजु खप्तडी बस्नेत | साहित्य | माघ १८, २०७६
मलाई मृत घोषणा गरेको दिन
म शैय्याबाट उठ्नेछु
मलाई निःशब्दताले मौन बनाएको दिन
म भीषण नाद गर्नेछु
यी झिनामसिना दिनरातका के कुरा गर्छ्यौ दिल
यी धर्साहरू जूनका मुलायम किरण होलान्
म अस्ताएको दिन घामका रश्मि भएर उदाउनेछु ।
प्रश्न जन्मिछन् कतै, हुर्किन्छन् कतै
अनि टुङ्गिन्छन कतै
यो सीमित या अनन्त हिँड्दाहिँड्दै
जवाफ बद्लिन्छन् कतै
साससम्म या प्राणसम्म जोड्दाजोड्दै
सम्बन्ध चुँडिन्छन् कतै ।
मलाई लाखौँ अंकगणितले घेरेको दिन
म शून्य भएर बस्नेछु
म हजार हिस्सामा टुक्रिएको दिन
म एक भएरै उभिनेछु
मलाई मृत घोषणा गरेको दिन ...।
ओडारहरू खालि, गुफाहरू खालि
यहाँ सुरुङभित्र जिन्दगी छ
खरायो हो कि कछुवा हो यो
यहाँ दुलोभित्र जिन्दगी छ
बतासले छोएको
त्यो आखिरी पल
देउरालीमुनि बन्धकी छ ।
मैले तत्त्वभित्र सुरुङ खनेको दिन
म आफूलाई पिरती लाउनेछु
मैले यो जीवन बाँच्न जानेको दिन
म आफैँसँग फर्की आउनेछु
मलाई मृत गरेको दिन ।