तीर्थ प्रसाईं | दृष्टिकोण | माघ २०, २०७६
सामाजिक संजालमा ‘अटेन्सन सिकिङ’ भन्ने शब्द लोकप्रिय छ । यो शब्दले कम्तीमा एक संजाल प्रयोगकर्ताले आफ्नो उच्च मूल्यांकन गर्ने, घमण्ड गर्ने, आफूलाई सबैको केन्द्रमा राख्ने र अरूले आफ्नो तारिफ मात्र गरून् भन्ने किसिमको ‘सेलिब्रिटी मेनिया’ वा ‘पपुलारिटी मेनिया’ले ग्रस्त हुनु भन्ने जनाउन सक्छ ।
यस किसिमको आफूलाई केन्द्रमा राख्ने मेनियाले मान्छेलाई दिने मानसिक पीडा र व्यक्तित्वगत असन्तुलन अटेन्सन सिकिङका असर हुन् । यसले मान्छेलाई खुसी बनाउनुको साटो झन् तनावग्रस्त र दुखी बनाउँदै लैजान्छ ।
जाँ प्याजे नामका एक स्वीस भाषाविद् तथा मनोविश्लेषक छन्, उनले बच्चा र तिनको बुझ्ने क्षमताका बारेमा भाषा र मनोविज्ञानसँग सम्बन्धित सिद्धान्तहरू निर्माण गरेका छन् । उनको मनोवैज्ञानिक भाषिक विकासको सिद्धान्तलाई ‘अन्डरस्ट्यान्डिङ थ्योरी’ भनिन्छ । भाषा तथा मनोविज्ञानको क्षेत्रमा यस सिद्धान्तलाई राम्रो सिद्धान्त मानिन्छ । यो सिद्धान्तअनुसार प्याजेले बच्चामा हुने बोधको विकासलाई चार चरणमा बाँडेका छन्, जसलाई बोधको विकासका चरणहरू भनिन्छ ।
१) सेन्सरी मोटर चरण: यो पहिलो चरण बच्चा जन्मेपछि दुई वर्षको उमेर पुगुन्जेलसम्म कायम रहन्छ । यस चरणलाई सेन्सरी मोटर चरण भन्नुको अर्थ यस चरणमा बच्चाको सोचाइ देख्नु, सुन्नु, चलायमान हुनु, छुनु, प्रयोग र परीक्षण (चकचक) गरी हेर्नु आदिमा निर्भर रहन्छ । यो बच्चाको जैविक तथा मनोवैज्ञानिक अस्तित्वको संक्रमणकालीन चरण हो ।
२) पूर्वपरिचालन (प्रिअपरेसनल) चरण (२ देखि ७ वर्ष): बच्चाले यस चरणमा अझै पनि आफ्नो दिमागले गर्नुपर्ने कार्य संचालन गर्न राम्ररी जानी नसकेको हुने भएकाले यस चरणलाई पूर्वपरिचालन चरण भनिएको हो ।
यस चरणमा बच्चाले शब्दका अर्थ र स्थानगत कार्यहरू सिक्छ र उसमा विकास भएको तार्किक सिद्धान्तको आधारमा उसको सोच निर्धारित हुन्छ । यस चरणमा हासिल हुने कार्यहरू क) शब्दका अर्थ र स्थानगत कार्यहरू अर्थात् बच्चामा संकेतहरू प्रयोग गरेर सोच्ने तरिकाको विकास, ख) अहंकेन्द्री सोच अर्थात् मैले जे सोच्छु, त्यो एउटा मात्र सोच्ने तरिका हो भन्ने भावनाको विकास, ग) विकेन्द्रीयता अर्थात् कुनै पनि घटनाको एउटाभन्दा अरू पक्ष वा आयाममा हेर्न नसक्ने समस्या, घ) प्राकृतिकता अर्थात् निर्जीव वस्तुलाई सजीव वस्तु जसरी व्यवहार गर्ने गुण, ङ) क्रमबद्धता अर्थात् वस्तुहरूलाई समूह छुट्याएर हेर्न नसक्ने र तिनलाई क्रमिक वस्तुको लस्करको रूपमा हेर्ने गुण, च) संरक्षण अर्थात् वस्तुको स्वरूप परिवर्तन भए पनि त्यसका निश्चित गुण एकै हुन्छन् (गुण संरक्षित हुन्छ) भन्ने बुझाइ ।
३) ठोस परिचालानात्मक (कंक्रिट अपरेसनल) चरण (७ देखि ११ वर्ष): यस चरणमा बच्चाले आफ्नो बुझ्ने क्षमतामा स्थिरता ल्याउन खोज्छ । उसले जोड, घटाउ, गुणन, भाग गर्न जान्दछ, ठोस वस्तुलाई वर्गीकरण गर्न सिक्छ र ठोस वस्तु वा घटनाका बारेमा तार्किक सोचको विकास गर्छ ।
४) औपचारिक परिचालानात्मक (फर्मल अपरेसनल) चरण (११ वर्षभन्दा माथि): यस चरणमा पुगेपछि बच्चामा कारण दिएर सोच्ने तार्किक सोचको विकास हुन्छ । उसले समस्या समाधान गर्न वैकल्पिक संभावनाहरूको हिसाबले सोच्न सक्छ भने कुनै पनि घटना, वस्तु, समस्याका बारेमा व्यवस्थित तरिकाले निष्कर्ष निकाल्न सक्छ ।
यस सिद्धान्तका आधारमा अटेन्सन सिकिङ मनोवैज्ञानिक–भाषिक चरणको विकासको क्रममा २ देखि ७ वर्ष उमेर समूहका बच्चाको माइन्डसेट हो । दुःखका साथ भन्नुपर्दा यो माइन्डसेट नेपालका नेता, सेलिब्रिटी, कलाकार सबैमा रहेको माइन्डसेट हो र यसको विकास हुनुमा हामी आमजनता पनि उत्तिकै जिम्मेवार छौँ । हामीले सुरुदेखि नै अटेन्सन सिकिङलाई कसरी बढावा दियौँ भन्ने कुरा मनन् गरौँ ।
म अलिक सानै थिएँ । वि.सं. २०४८ को चुनावताका राजनीतिक भाषण र झण्डाको चमकधमक खुब मन पथ्र्यो र निकै लामो बाटो हिँडेर हामी चुनावी उम्मेदवार, नेताहरूको भाषण सुन्न जान्थ्यौँ । चुनाव भनेको रिङमा हुने कुस्ती हो भन्ने एक किसिमको रौनक हामीमा थियो ।
हामी चाहन्थ्यौँ, उम्मेदवारहरूबीच धक्कामुक्का नै होस् र बलियो उम्मेदवारले जितोस् । विपक्षी भन्नासाथ सबै हिसाबले विपक्षी हो भन्ने हामीले सोचेका थियौँ । मलाई कांग्रेस उम्मेदवार रामबाबु प्रसाईंको भाषण सुनेको याद छ, जसमा उनले आफ्नो विपक्षमा चुनाव लडेका उनका प्रतिद्वन्द्वी सीपी मैनालीको कठालो समात्ने वा त्यस्तै कुनै आक्रामक कुरो गरेका थिए ।
भाषण हाम्रा लागि लोकदोहोरी जस्तै थिए र हामीलाई कुनै कुराको ओठे जवाफ अर्को नेताले अर्थात् दोहोरी गायकले कसरी दिन्छ भन्ने बडो उत्सुकता हुन्थ्यो । त्यसैले कुन नेता बलियो वा कसले आक्रामक कुरो गर्छ भन्ने बुझ्न पनि रामबाबु प्रसाईंको भाषणपछि सीपी मैनालीको भाषण नसुनी नहुने देखियो ।
हामी सीपी मैनालीको भाषण सुन्न गयौँ । हामीलाई राजनीति नीति निर्माण गर्ने कुरो हो भन्ने थाहा थिएन । यो त हाम्रा लागि फगत लोकदोहोरी वा रिङमा हुने बक्सिङको खेल थियो । दलहरूले शक्ति प्रदर्शन भन्दै हजारौँ मान्छेको भेला गरेबाट हामीले त्यस्तै निष्कर्ष निकालेका थियौँ ।
नेता चिनौँ, राजनीतिमा अप टु डेट बनौँ, सचेत बनौँ, पेट मारेर आफ्नो काम छाडेर पनि टीभी हेरौँ । बाबुरामको छेउमा हामी आउट अफ डेट भइसक्यौँ । यस्तै हो भने हामी दुनियाँकै अचेत मान्छे बन्छौँ । आउट अफ डेट हुनुमा त लाज लाग्नुपर्छ, कि कसो ?
हामी मैनालीको भाषण सुन्न जाँदा त्यही शक्ति प्रदर्शन, शाब्दिक धक्कामुक्का, ओठे जवाफ चाहन्थ्यौँ र भयो पनि त्यही । मैनालीले आफ्नो भाषणमा श्रोताको आवश्यकताअनुसारको प्रसाईंलाई उचालेर थचार्ने वा त्यस्तै केही ओठे जवाफ फर्काए, हामीले ताली पिट्यौँ ।
हो, यही विन्दुमा हामीले राजनीतिक नेताहरूलाई ‘अटेन्सन सिकर’ बनायौँ । नेताहरू आफूले के गर्दा जनताले ताली पिट्छन् भन्ने सोच्न छाडेर कसो भन्दा ताली पिट्छन् भन्ने सोच्न थालेको यो नै पहिलो चरण थियो, जसले अहिले पूरै राजनीतिलाई गाँजेको देखिन्छ ।
हरेक नेतालाई आफू राज्यको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति भएको दम्भ छ, हरेक नेता सलामी थाप्न चप्पल लगाएरसमेत उभिन्छ । उसमा कुनै आचारसंहिताको ख्याल छैन अर्थात् आफ्नो व्यवहारको मूल्यांकन छैन । बोल्न जान्दछ अर्थात् ओठे जवाफ फर्काउन सक्छ किनभने उसलाई थाहा छ, मबाट जनताले हिजैदेखि ओठे जवाफको अपेक्षा गरेर आएका हुन्, उनीहरूलाई मेरो कामको कुनै चासो छैन ।
हरेक जनताले मलाई गन्नुपर्छ, मलाई चिन्नुपर्छ भन्ने भावनाले डेरा जमाएको छ नेतामा । यो नेतामा मात्र छैन, आमजनता, कलाकार सबैमा छ, यसका पछिल्ला उदाहरण भिटेन, आस्था राउत काण्डहरूले देखाएका छन् भने आमजनताको कुरो गर्दा तनुजा बानियाँसम्म नै यो अटेन्सन सिकिङको मामलामा फसेका प्रष्ट छ ।
नेपालमा अटेन्सन सिकिङ गर्ने र चर्चा बटुल्नेमा अन्जु पन्तदेखि अर्चना पनेरुसम्म नै आउँछन् । कुनै सीप नलागे नग्नता देखाउने, छाडा बोल्नेसमेतका गफ र विवाद निम्त्याउने काम कलाकारहरूको देखिन्छ भने नेताको चाहिँ राज्य नै टुक्र्याउने अभिव्यक्तिसम्मको लामो अटेन्सन सिकिङको फेहरिस्त पाइन्छ ।
भर्खर बाबुराम भट्टराईले सामाजिक संजालमा आमजनताको राजनीतिक चेतनामा उठाएको प्रश्न अटेन्सन सिकिङ र बचकना मानसिकताको उपज हो । त्यसमा उनले विमान परिचारिकाले आफूलाई नचिनेको तर कोसीकी चिया पसले महिलाले चिनेको कुरा गर्दै हाम्रो राजनीतिक चेत कति छ वा गाउँ र शहरको राजनीतिक चेतमा फरक छ ? भन्ने किसिमको कुरा गरेका छन् । उनले हदैसम्मको टिप्पणी गर्दै शहर वा गाउँको राजनीतिक चेत ‘आउटडेटेड’ भएको ! सम्म भन्न भ्याएका छन् ।
कुनै श्रमजीवी जनताका लागि कर्म नै भगवान् हुन्छ । तिनले राजनीतिक नेता चिन्नु वा नचिन्नुको कुनै अर्थ हुन्न किनभने पेटका लागि १२ घण्टा जोतिएर काम गर्नु तिनको नियति हो । टीभी हेर्नु भनेको जनताको फुर्सदको पुँजीवादी व्यवस्थापन हो । एउटा श्रमजीवी मान्छेले बाबुरामलाई किन चिन्ने ? कसरी चिन्ने ? बाबुरामलाई चिन्न टीभी हेरेर बस्ने कि आफ्नो जिन्दगी चलाउन कुनै कर्ममा लिप्त रहने ?
परिचारिकाले आफ्नो परिचारिकाको कर्तव्य राम्रो गरेकामै बाबुरामहरू खुसी हुनुपर्ने कि नचिनेको गुनासो गर्नुपर्ने ? बाबुरामले मलाई चिन्छन् ? आममान्छेलाई चिन्छन्, जो आफ्नो ड्युटी राम्ररी गरिरहेका छन् ? बाबुरामले नेताको ड्युटी राम्रोसँग गरेका छन् भने कुनैबेला चिन्न पनि सक्छन् तर उनलाई चिन्नुले नेपालको राजनीतिक चेत र ‘अप टु डेट’, ‘आउट अफ डेट’ बनाउने निर्धारकको भूमिका गर्छ ? नेताको अटेन्सन सिकिङबाट जनता वाक्क भएका छन् तर भाषण गरेको भरमा यिनलाई अटेन्सन दिएर बाँदरलाई लिस्नो हालिदिने पनि जनता नै हुन् ।
आउनोस्, नेता चिनौँ, राजनीतिमा अप टु डेट बनौँ, सचेत बनौँ, पेट मारेर आफ्नो काम छाडेर पनि टीभी हेरौँ । बाबुरामको छेउमा हामी आउट अफ डेट भइसक्यौँ । यस्तै हो भने हामी दुनियाँकै अचेत मान्छे बन्छौँ । आउट अफ डेट हुनुमा त लाज लाग्नुपर्छ, कि कसो ?