राजकुमार महर्जन | दृष्टिकोण | माघ २०, २०७६
आकाशबाट झरेको पानी मन्दिरमा झरे पवित्र जल बन्छ । बोट बिरुवामा झरे शीतको थोपा बन्छ । त्यही पानीको थोपा समुद्रमा झरे नुनिलो पानी बन्छ । दुर्भाग्यवश नालीमा झर्यो भने दुर्गन्धित फोहोर त्यही जल बन्छ ।
बालबालिकाहरू पनि आमाको कोखबाट जन्मिँदा आकाशबाट झरेको निर्मल पानीको थोपा जस्तै हो । पछि समय, स्थान र परिवेशले जात–धर्म, धनी–गरिब, कालो–गोरो आदि जस्ता पर्खालहरू निर्माण गर्दै जान्छ । ती पर्खालहरूभित्र केटाकेटीहरू जतिजति घेरिँदै जान्छन्, त्यतित्यति नै उनीहरूमा भएका असली गुणहरू नष्ट हुँदै जान्छन् ।
सानैदेखि पाएको संस्कार र संगतले उनीहरूको अन्तिम व्यक्तित्व निर्माण गर्नमा प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । हिन्दु परिवारमा हुर्किएका बालबालिकाले गाईलाई लक्ष्मी मानी पूजा गर्छन् भने मुस्लिम वा क्रिश्चियन परिवारमा हुर्किएका बालबालिकाले त्यही गाईलाई मीठो भोजनको रूपमा लिन्छन् । सुँगुरलाई मुस्लिमहरूले पवित्र जीव र खान नहुने जनावरका रूपमा लिने गर्छन् भने अन्य समुदायहरूले मीठो भोजनको रूपमा लिने गरेका पाइन्छ ।
छोराछोरीहरूलाई भविष्यमा बेकामे बनाउने हो भने तपाईंको कुनै परिश्रम र खर्च लाग्दैन । यदि उनीहरूलाई अग्रगामी र शिष्ट बनाउने हो भने तपाईंले धेरैभन्दा धेरै परिश्रम, समय र सीपको लगानी गर्नुपर्ने हुन्छ । तथापि, तपाईंका छोराछोरीहरूलाई विभिन्न ज्ञान, सीप र शिक्षा दिनका लागि गर्नुपर्ने लगानीभन्दा उनीहरू अशिक्षित र सीपशून्य अवस्थामा पुगेर भविष्यमा तपाईंले व्यहोर्नुपर्ने खर्च भने अत्यन्तै महँगो हुन्छ ।
जसरी रक्सीमा दूध मिलाउँदा दूधले आफ्नो सुगन्ध गुमाउँछ, त्यसैगरी खराब संगतमा हुर्केका बालबालिकाहरू ठूला भएपछि उनीहरूको मन–मस्तिष्कमा खराब चिन्तन बढ्न थाल्ने र उनीहरूको दैनिक क्रियाकलापमा खराब कुराले प्रवेश पाउने संभावना अत्यन्त धेरै हुन्छ ।
भेडाको बथानमा हुर्केको सिंह
एक पटक एउटा सिंहको बच्चा (डमरु) जन्मिएको केही दिनमै जंगलको बाटो भुलेर भेडाको बथानमा मिसिन पुगेछ । डमरुले हरेक दिन भेडाको बथानमा रमाउँदै भेडाका क्रियाकलापहरू सिक्दै गयो । भेडाको जस्तो आवाज निकाल्न अलिक अप्ठ्यारो लाग्थ्यो तर पनि मिहिनेतका साथ भेडाको आवाज नक्कल र अभ्यास गर्न थाल्यो ।
भेडाले जस्तै घाँस खाने कला पनि सिक्यो । अलिक ठूलो भएपछि उसले आफूलाई पूर्ण रूपले भेडाको बानी व्यहोरामा ढालिसकेको थियो ।
तपाईंका छोराछोरीहरू दुनियाँ हाँक्न जन्मेका हुन्, कृपया तिनलाई तपाईं जस्तै मात्र बनाउन नखोज्नुहोस् । जीवनमा सधैँ असफल भएको व्यक्तिलाई उनीहरूको सल्लाहकार नबनाउनुहोस् ।
एक दिन अचानक सिंहको माउ आफ्नो हराएको डमरु खोज्दै भेडाको बथान चरिरहेको ठाउँमा आइपुग्यो । सिंहिनी आफूतिर आइरहेको देखेर भेडाहरू भाग्न थाले । भेडाको बथान सँगसँगै डमरु पनि सुइँकुच्चा ठोकेर भाग्न थाल्यो । भेडाको बथानमा आफ्नो बच्चा पनि भाग्दै गरेको देखेर सिंहिनीले तेजसँग दौडेर आफ्नो बच्चालाई पक्रिई । डमरु अत्तालिएर थरथर काँपिरहेको थियो । यसरी डराएको देखेर सिंहिनीले डमरुलाई भनी, ‘तिमी किन यसरी काँपिरहेका छौ ? म तिम्री आमा हुँ ।’
डमरुले जवाफ दियो, ‘म कसरी तपाईंको छोरा हुन सक्छु ? म त भेडाको पाठो हुँ । तपाईं मलाई खानलाई यसो भनिरहनुभएको छ ।’
आफ्नो छोराको यस्तो कुरा सुनेर सिंहिनीलाई अचम्म लाग्यो । उसले डमरुको जन्मदेखि हालसम्मको सबै कुरा सुनाइसकेपछि भनी, ‘तिमी सिंह नै हौ । नपत्याए तिम्रो जुँगा हेर । अरू भेडाको तिम्रो जस्तो जुँगा छैन । तिम्रो पञ्जा हेर, अरू भेडाहरूको तिम्रो जस्तो पञ्जा पनि छैन । तिमी जति जोडले कुद्न सक्छौ, अरू भेडाहरू त्यसरी कुद्न सक्दैनन् । तिम्रो शरीरको बनावट र दाँतलाई याद गर, तिमीलाई घाँस खान निकै अप्ठ्यारो हुन्छ । तिमीलाई भेडाको जस्तो आवाज निकाल्न पनि गाह्रो भएको हुनुपर्छ । यी सबै कुरा हो कि होइन त ?’
सिंहिनीले यति धेरै कुरा गरेपछि डमरुले विस्तारै आफूलाई नियाल्यो । उसले पायो कि साँच्चै ऊ अरूभन्दा फरक थियो । दाँत, नङ्ग्रा, पञ्जा, जुँगा, शरीरको छाँटकाँट आदि सबै सिंहको जस्तै थियो । तैपनि विश्वास नभएर सिंह गर्जेजस्तै एक पटक गर्जेर हेर्यो । बल्ल चाल पायो कि वास्तवमा ऊ सिंह नै थियो ।
भेडाहरूको संगत र उनीहरूकै वातावरणमा हुर्किंदै गएकाले उसले आफूलाई पनि भेडा जस्तै सम्झेको मात्र थियो ।
विशेषगरी छ वर्षको उमेर पार गरिसकेका बालबालिकाहरूले बाबुआमा र शिक्षकहरूको भन्दा साथीहरूको कुरामा बढी विश्वास गर्छन् । त्यही उमेरदेखि उनीहरू साथीको समूह बनाउन मनपराउँछन् ।
बाल मनोविज्ञानको भाषामा भन्ने हो भने यौवनावस्थामा पुग्नुअघिको उमेरलाई उत्तरवाल्यवस्था भनिन्छ । शैक्षिक प्रणालीभित्र राखेर हेर्ने हो भने त्यो उमेर समूहलाई प्राथमिक उमेर र सामाजिक रूपमा भन्ने हो भने गुट बनाउने उमेर भनिन्छ । विशेषगरी यो उमेर समूह गुट बनाउने उमेर पनि भएकले असल संगत र असल सामाजिक वातावरणमा केटाकेटीहरूलाई हुर्काउनु जरुरी हुन्छ ।
एउटा भनाइ छ, 'भेडाले नेतृत्व गरेको हजारौँ सिंहका सेनाले भन्दा एउटा सिंहले नेतृत्व गरेको भेडाहरूको बथानले लडाइँ जित्ने संभावना बढी हुन्छ ।' बालबालिकाहरूका लागि पहिलो हिरो, पहिलो साथी र पहिलो प्रेम भनेका आमाबाबु नै हुन् । तसर्थ अभिभावकले देखाउनुभएको हरेक व्यवहार उनीहरूले सिको गर्छन् । यो उमेरमा अभिभावकले गरेको सानो गल्तीको सजाय बालबालिकाहरूले बाँकी जिन्दगीभर भोग्नुपर्ने हुन्छ ।'
तसर्थ सावधान ! तपाईंका छोराछोरीहरू दुनियाँ हाँक्न जन्मेका हुन्, कृपया तिनलाई तपाईं जस्तै मात्र बनाउन नखोज्नुहोस् । जीवनमा सधैँ असफल भएको व्यक्तिलाई उनीहरूको सल्लाहकार नबनाउनुहोस् ।