चाँद के पार चलो...

डार्क साइड अफ मूनकाे रहस्य

चाँद के पार चलो...

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  फागुन १६, २०७५

चलो दिलदार चलो, चाँद के पार चलो 
हम है तैयार चलो, चाँँद के पार चलो...

कैफ भोपालीका भावपूर्ण शब्दलाई गुलाम मोहम्मदले सुमधुर संगीत संयोजन गरेर मोहम्मद रफी र लता मंगेशकरको सुरिलो आवाजमा ‘पाकीजा’ फिल्मका लागि रेकर्ड गरेका थिए उपर्युक्त गीत । जुन लाखौ युवाप्रेमी युगलका लागि अमर सौगात नै बन्यो । 

यदि मेरो स्मृति दुरुस्त छ भने फिल्मका निर्देशक कमाल अमरोहीले यस गीतको छायांकनका लागि नायक/नायिका (राजकुमार/मीनाकुमारी)लाई सन्ध्या बेलामा नौका बिहार गराएका थिए । 

‘चाँद के पार चलो’, चाँद अर्थात् हाम्रो चन्द्रमा कवि गीतकारका लागि मात्र होइन, विज्ञान जगतका मनीषीका लागि पनि सधैं परम आकर्षणको केन्द्रविन्दु रहेको छ । 

पृथ्वीबाट मानिसले हेर्न सक्ने खगोलीय पिण्डहरूमा सबैभन्दा ठूला आकारका दुई पिण्डमध्ये एउटा चन्द्रमा हो । 

‘चाँद के पार चलो’, चाँद अर्थात् हाम्रो चन्द्रमा कवि गीतकारका लागि मात्र होइन, विज्ञान जगतका मनीषीका लागि पनि सधैं परम आकर्षणको केन्द्रविन्दु रहेको छ । पृथ्वीबाट मानिसले हेर्न सक्ने खगोलीय पिण्डहरूमा सबैभन्दा ठूला आकारका दुई पिण्डमध्ये एउटा चन्द्रमा हो ।

ईसापूर्व चौथो शताब्दीमा नै ग्रिक गणितज्ञ एरिस्टारस अफ समोस (ARISTARCHUS OF SAMOS) ले चन्द्रग्रहणको अध्ययनका आधारमा पृथ्वीबाट चन्द्रमाको मोटामोटी दूरी पत्ता लगाइसकेका थिए । 
ईसापूर्व दोस्रो शताब्दीका अर्का एक जना विद्वान हिप्पारकसले (HIPPARCHUS) ले ‘प्यारालक्स’ (PARALLAX) माध्यमबाट चन्द्रमाको दूरी झण्डै आँकलन गर्ने सफलता आर्जित गरे । 

सन् १९५० को दशकमा आएर उन्नत प्रविधिको प्रयोगले पृथ्वी र चन्द्रमाको वास्तविक दूरी पत्ता लाग्यो । पृथ्वीबाट चन्द्रमाको दूरी खोजतलाशको अभिप्राय भने यति नै हो । मानवले २२–२४ सय वर्षपहिला नै बुझिसकेको थियो, पृथ्वीदेखि सबैभन्दा नजिकको अर्को खगोलीय पिण्ड चन्द्रमा हो । सायद कवि र विज्ञान जगतको चन्द्रप्रतिको आकर्षणको कारण चन्द्रमा नजिक हुनु पनि हो कि !

चीनकाे चन्द्रयान ओर्लेकाे चन्द्रमाकाे भूभाग । चन्द्रमाकाे याे भाग पृथ्वीबाट देखिदैन । यसैभागलाई वैज्ञानिकहरुले 'डार्क साइड अफ मून' भन्छन ।

यसै गीतको अन्तिम दुई पंक्तिसँग समन्वय गरेर विषयवस्तुमा प्रवेश गर्ने ‘रोमान्टिसिज्म’ले व्यग्र बनेको छु । 

जिन्दगी खत्म भी हो जाए अगर
न कभी खत्म हो उल्फत का सफर
चलो दिलदार चलो चाँद के पार चलो ।

अर्थात् जिन्दगी त कति हो, आज छ भोलि हुन्न । सफर त उल्फतकै हो, मोहब्बतकै हो, विज्ञानकै हो र खोज अनुसन्धानकै हो । 

चाइनिज मित्रहरूले कैफ भोपालीको ‘चाँद के पार चलो’ भन्ने चाहनालाई मूर्त रूप दिएकोमा ‘नासा’ले त बधाई प्रेषित गर्यो । युवावस्थामा राजकुमारको फ्यान रहेको यस पंक्तिकारले बधाई स्वरूप यो लेख लेख्दैछ । 

केही दिन पहिलाको खबर हो।

चीनले ‘डार्कसाइड अफ मुन’मा आफ्नो यान ओह्राल्ने सफलता पायो । यो ‘डार्क साइड अफ मुन’ भन्ने शब्दले धेरै मित्र ‘कन्फ्युज’ हुनुभएको रहेछ । 
के हो ‘डार्क साइड अफ मुन’ ?

‘डार्क साइड अफ मुन’लाई यदि तपाईँ ‘डार्क साइड अफ अर्थ’सँग दाँजेर शाब्दिक व्याख्यामा बुझ्नुहुन्छ भने यो गलत हुनेछ । 

अलिकति बुझ्ने प्रयास गरौं । हाम्रो चन्द्रमा हामीबाट ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । हामी बसेको पृथ्वीको व्यास १२ हजार ७ सय ४२ किमि छ, चन्द्रमाको व्यास भने ३ हजार ४ सय ७५  किमि मात्रै छ । पृथ्वीको व्यासको झण्डै २७% मात्रै । 

पृथ्वीको परिधि ४० हजार ७५ किमि छ र चन्द्रमाको परिधि जम्मा १० हजार ९ सय २१ किमि छ । 

पृथ्वीको सतहको कूल क्षेत्रफल ५१ करोड ७२ हजार किमि२ छ र चन्द्रमाको सतहको कूल क्षेत्रफल जम्मा ३ करोड ७९ लाख ३० हजार किमि२ छ । पृथ्वीको तुलनामा झण्डै ७ % मात्र । 

तपाईँहरूलाई थाहा छ– पृथ्वी आफ्नो अक्षमा परिक्रमा गर्छ । पृथ्वीलाई अक्षमा एक परिक्रमा पूरा गर्न १६७४ किमी/घण्टाको गतिले हिँड्दा २३ घण्टा ५६ मिनेट ४.१  सेकेण्डको समय लाग्छ । यस परिक्रमाका दौरान पृथ्वीको जुन भागमा सूर्यको प्रकाश पर्छ त्यहाँ दिन र जहाँ प्रकाश पर्दैन त्यहाँ रात्रि हुन्छ । 

कल्पना गर्नुस्– सम्पूर्ण पृथ्वीको आकार नेपाल र भारतजतिको मात्रै हुने थियो भने के हुन्थ्यो होला ? के यस अवस्थामा पृथ्वीमा (नेपाल र भारत जतिको) रात्रि हुने थियो ? अहँ, सबै उत्तरको अपेक्षा मबाट    नगर्नुस् । कहिल्यैकाहीँ ‘गुगल अंकल’लाई पनि सोध्ने गर्नुस् न । 

चन्द्रमा पृथ्वीको उपग्रह हो । ग्रहको परिक्रमा गर्नेलाई उपग्रहलाई चन्द्रमा भनिन्छ । पृथ्वीको एक परिक्रमा पूरा गर्न चन्द्रमालाई २७ दिन ७ घण्टा ४३ मिनेट ११.५ सेकेण्डको समय लाग्छ । परिक्रमा अवधिमा चन्द्रमाको गति हुन्छ– १.०२२ किमी/सेकेण्ड वा भनौ ३६७९.२ किमि प्रति/घण्टा । 

पृथ्वीजस्तै चन्द्रमा पनि आफ्नो अक्षमा परिक्रमा गर्छ । चन्द्रमाको आफ्नो अक्षमा घुम्ने गति ४.६२७  मिटर/सेकेण्ड अर्थात् १६.६५७२ किमी÷घण्टा हुन्छ । हिसाब गरी हेर्नुस्, यस गतिले १० हजार ९ सय २१ किमि लामो परिधिमा एक फन्को पूरा गर्न चन्द्रमालाई कति समय लाग्छ ? 

१६.६५७२ किमी प्रतिघण्टा  ×२४ घण्टा अथवा एक दिन  = ३९९.७७२८ 

एक दिनमा चन्द्रले अक्षमा घुम्ने दूरी 

यस एक दिनमा तय गर्ने दूरीका हिसाबले चन्द्रमालाई अक्षको एक फन्को पूरा गर्न २७ दिन ७ घण्टा ४३ मिनेट ११.५ सेकेण्डको समय लाग्छ । 

तपाईँलाई केही अचम्मको संयोग फेला परेन यहाँसम्म पढ्दा ?

याे चन्द्रमा हाेइन । चन्द्रमाकाे धरतीबाट देखिएकाे पृथ्वी हाे । पृथ्वीबाट चन्द्रमा देखिएकाे जस्तै चन्द्रमाबाट पृथ्वीकाे मनाेरम दृश्यावली देखिन्छ ।

चन्द्रमालाई पृथ्वीको एक परिक्रमा गर्न र आफ्नो अक्षको एक फन्को पूरा गर्न ठ्याक्कै एउटै समय अवधि लाग्छ, २७ दिन ७ घण्टा ४३ मिनेट ११.५ सेकेण्ड । 

‘डार्क साइड अफ मुन’ वाक्यको आशय वा रहस्य यही संयोगमा लुकेको छ । चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दा ठीक त्यही गतिले आफ्नो अक्षमा पनि परिक्रमा गर्छ । यस कारण पृथ्वीबाट सधैं चन्द्रमाको एक भाग देखिन्छ, अर्को पट्टिको भाग देखिँदैन । 

पृथ्वीबाट चन्द्रमाको देखिने भाग ५९% छ र ४१ % भाग पृथ्वीबाट कहिल्यै पनि देख्न सकिँदैन । 

पृथ्वीबाट चन्द्रमाको यही नदेखिने भागलाई ‘डार्क साइड अफ मुन’ भनिन्छ । यो वाक्यांश पृथ्वीको सापेक्ष चन्द्रमाका लागि प्रयोग गरिएको छ । हाम्रो सापेक्षजस्तो चन्द्रमामा ‘डार्क साइड’ हुन्न । 

एउटा रमाइलो प्रसंग, पृथ्वी आफ्नो अक्षमा २३ घण्टा ५६ मिनेट ४.१ सेकेण्डमा एक फन्को पूरा गर्छ । र, यहाँ झण्डै १२ घण्टाको दिन र १२ घण्टाको रात्रि हुन्छ । चन्द्रमालाई अक्षको एक फन्को घुम्न २७ दिन ७ घण्टा ४३ मिनेट ११.५ सेकेण्ड लाग्छ भने त्यहाँ दिन र रात्रिको अवधि कति लामो हुन्छ होला ?

५० वर्षपहिला १६ जुलाई १९६९ का दिन फ्लोरिडाको ‘केनेडी स्पेस सेन्टर’बाट तीन जना यात्री लिएर एउटा यान उड्यो । २० जुलाई १९६९ को रात्रि २०ः१८ युटिसीमा यानमा जडित अर्को यान ‘इगल’ले चन्द्र धरातलमा टेक्यो । ६ घण्टासम्म यान ‘इगल’ भित्रै रहेपछि २१ जुलाई १९६९ को ०२ः५६ युटिसीमा निल आर्मस्ट्रङले चन्द्र धरातलमा टेके । त्यसको २० मिनेटपछि अर्को यात्री एल्ड्रिन बजले चन्द्र धरातलमा पाइला राखे । दुवैले चन्द्र धरातलमा २ घण्टा १५ मिनेट चहलकदमी गरे । २१.५ किलोग्राम माटो र ढुंगाको ‘स्याम्पल’ पनि लिए । पुनः ‘इगल’मा आएर बसे, सुते । जम्माजम्मी २१.५ घण्टा उनीहरू चन्द्र धरातलमा रहे । 
गएका तीन जनामध्ये एक जना माइकल कोलिन्सले भने चन्द्र धरातलमा टेक्ने अवसर पाएनन् । उनी यान ‘कमाण्ड एण्ड सर्भिस माड्युल’ कोलम्बियामा बसेर चन्द्रमाको परिक्रमा गरिरहे । 

केही दिनपहिला ‘डार्क साइड अफ मुन’मा जुन चिनिया यान ओर्लेको समाचार आयो । त्यो ‘डार्कसाइड’मा पुग्ने पहिलो व्यक्ति माइकल कोलिन्स हुन् । हो, उनले त्यहाँ टेकेका होइनन्, माथि माथिबाट भ्रमण गरेका थिए । यस भ्रमणका क्रममा उनीसँग यस्तो घटना घट्यो, जसले गर्दा उनी संसारकै पहिलो मानिस हुन पुगे । 

यात्रा अवधिमा तीनै जना यात्रीको एक आपसमा रेडियो सम्पर्क हुनुका साथै पृथ्वीस्थित हेडक्वार्टरसँग पनि निरन्तर रेडियो सम्पर्क हुन्थ्यो । 

चन्द्रमाको आकाशमा फन्को लाउँदै गर्दा जब कोलिन्स ‘डार्क साइड अफ मुन’माथि उडिरहेका थिए, उनको रेडियो यन्त्र बिग्रियो, साथीहरूका साथै हेडक्वार्टरसँग पनि सम्बन्धविच्छेद भयो । ४८ मिनेटको यस सम्पर्कविहिन अवस्थामा उनी परम एक्लो बन्न पुगे । उनी जतिको एक्लोपना आजसम्म संसारमा जन्मेका १०५ अर्ब मानिसले अनुभव गर्न पाएका छैनन् । 

आफ्नो बायोग्राफी ‘कैरिङ द फायर’ मा उनी भन्छन्, ‘ही एक्चुअली एन्ज्वायड द सोलिट्युड एण्ड फ्रिडम ही एक्सपिरियन्सड इन फ्लाइङ सोलो इन द कमान्ड मोड्युल स्पेसली ह्वेन ही फ्ल्यु एराउण्ड द ब्याक साइड अफ द मुन एण्ड वाज द ओनली ह्युमन अन दैट साइड अफ द युनिभर्स ।’ 

अमेरिकाले अपोलो अभियानअन्तर्गत पठाएका ६ चन्द्र अभियान (पठाइएका ७ वटा तर अपोलो १३ ले चन्द्रमामा ल्याण्ड नगरी फर्किनुपर्यो) का सबै यात्रीहरू पृथ्वीबाट चन्द्रमाको देखिने (५९%) भागमा ओहृलेका थिए । चन्द्रमाको पृथ्वीबाट नदेखिने भागमा यान ल्याण्ड गरेको यो पहिलो घटना हो । चीनले यसमा सफलता हासिल गरेर चन्द्र अनुसन्धानलाई अगाडि बढाएको छ । 

अपोलो १७ पछि (१९७२ देखि¬) कोही पनि मानिस चन्द्रमामा ओर्लेका छैनन् । अमेरिकाका अतिरिक्त सबै देशले मानवरहित यान मात्र चन्द्रमामा पठाउँदै आइरहेका छन् । आशा गरौं, निकट भविष्यमा पुनः मानव सहितको यान चन्द्रमामा पठाइनेछ । 

अन्तमा, उपरोक्त गीतकै पंक्तिले अन्तरिक्ष विज्ञान, खगोल विज्ञानलाई प्रेरणा मिलोस् ।

...आओ खो जाये सितारो मे कहीँ 
छोड दे आज यह दुनिया ये जमी