रमेश भट्टराई ‘सहृदयी’ | दृष्टिकोण | माघ २३, २०७६
सम्माननीय प्रधानमन्त्रीले ‘सरकारका राम्रा कामलाई पनि बोलिएन, विरोधका शैलीमा मात्र आवाज आए’ भन्ने भाव व्यक्त गर्नुभएको कुरा बजारमा निकै चर्चाको विषय बन्यो । तर, किन जनताको प्रतिनिधिका राम्रा कामलाई पनि प्रशंसा गरिँदैन त ? यसमा अचम्मको सार आउन सक्ला ।
वास्तवमा आजको नेपाली राजनीतिमा पार्टीका भजनमण्डली बन्नेको पनि त कमी छैन । प्रशंसा गर्ने संस्कारको जरो कहाँबाट र किन मक्किएको हो– अर्को खोजको विषयले हाम्रो धरातललाई सम्झाउँछ ।
‘गाउँपालिकाले कायापलट हुने बजेट ल्याएको छ । हाम्रो नीति तथा कार्यक्रम युगसापेक्षी छ । पाँच वर्षमा हाम्रो सरकारले यो गाउँपालिकालाई उच्च आय भएको क्षेत्र भनेर घोषणा गर्नेछ’, चियाको कप हातमा बोकेर बिहानै दुई–चार जनाका साथमा वडाध्यक्षज्यू गफिनुहुन्छ ।
अर्कातिर एकाथरी ओहोदा नभिरेर पनि आस्था भएकाहरूको जमघटमा बूढा मान्छे बोल्छन्, ‘खै, पंचायत ढालेँ भन्छन्, बहुदल ल्याएँ, राजा खेदाएँ भन्छन्, बहुमतको सरकार भयो अब नबाझी विकासकै मात्र कुरो हुन्छ पनि भन्थे । अहँ ! आज सबै नेता जस्ता । सत्तामा बस्नेमा गुट छ । मिल्यौँ भन्छन् तर भागबण्डा पुरानै मुखतिर ताकेर खेमाबन्दी हुँदो रहेछ । कर्मचारी भागबण्डामा चल्ने । हैकमवादी देखिन्छ । प्रतिपक्षी पनि कमजोरी खोजेर लडाउने र भत्काउनेबाहेक बनाउने सपनै देख्दैन । कुर्सीको मोह हिजोकै जस्तो । अस्थिर विचार उस्तै । स्थानीय जनताले अधिकार त पाए, नीति पनि बने तर अब त काजमै बस्ने हुन् कि खै ?’
यद्यपि नेताले विगतमा ठूलाठूला गल्ती गरेका हुन्छन्, जनताका लागि भन्दै जनताको मानवअधिकार, बाँच्ने अधिकारदेखि घरबार मात्र होइन, हत्या नै गरेका हुन्छन् तर तिनीहरू कहिल्यै दोषी र हत्यारा हुँदैनन् । केवल त्यागी र समर्पित हुन्छन्, चाहे आफ्नो स्वार्थको राजनीतिमा होमिएका नै किन नहुन्– गरिब देशका जनताले खराब नेता हो भन्ने जान्दाजान्दै पनि आशा बोकेर चाकडी गरिरहन्छन् ।
अर्काले दूध चियाको तर पन्छाउँदै भन्छ, ‘अहँ, यो बहुमतको सरकार भएर पनि स्पष्ट भिजनै भएन । बाझेकै छन्, भ्रष्टाचार घटेकै छैन । युवा खाडीमा भासिएकै छन् । स्वरोजगारको अभाव र शिक्षितहरू बेरोजगार बनिरहेकै छन् ।’
चिया चौतारी फुर्सदका गफ हुन् । कतै रमाइला हुन्छन्, कतै मुक्कामुक्की गर्दै जुध्छन् । आजकल टेबलमा चियाको चुस्कीसँगै ससाना जनसभा हुन्छन् । आँखा मिच्दै देशको बहस मच्चिन्छ । हो, आजभोलि यसो महिलाले पनि कान थाप्न थालेका छन् । समावेशी सम्बोधन नहुने पो हो कि भनी बीचमा अचार थप्दै गर्छन् ।
गफमा बहस चर्कियो, ‘एकताबाट निर्मित नवीन इतिहास कोरेको पार्टीले मखुन्डो मात्रै भिरेर सौदाबाजी त गर्दै छैन ?’ मलाई दर्शक/स्रोता बनेर सुनिरहन मन लाग्यो । म जस्ता कान थाप्नेमा कोही समर्थक, कोही ठुटे नेताका पुच्छर त कोही ससानाका अघि गफ लडाएर चिया खाने दाउमा थिए– मैले मनन गरेँ । नेपालीहरूमा शङ्का र राम्रो कुरालाई नराम्रै बनाउने आदत पनि छँदै छ– सोचेँ ।
हुनत धेरैले भन्ने गर्छन्– नेपाली जनता भेडा हुन् । विश्लेषण र समर्थन गर्ने तरिका पनि अन्धो प्रवृत्तिको छ । चाकडीबाजको शैली र स्वार्थको आशा बोकेर खेमाबद्ध हुनेको लर्को विद्वान् भनिएका व्यक्तित्वमा पनि हुँदो रहेछ । अर्को अचम्मको कुरा आफू समर्थकको जेजस्ता घटना भए पनि, जति जघन्य र खराब कार्य भए पनि सल्ट्याएर आपूm माथि पर्ने होड चल्दो रहेछ ।
कसैले भन्दै थिए– ‘यो मखुन्डो भिरेको एकता हो । माओवादीले दशाैँ वर्ष युद्ध गर्यो, आज हेरौँ त जनताको त्याग र भोगेका वेदनामाथि प्रहार ? सत्य हो ! मान्छेमा बहस छन् तर खेमाबन्दीका छाँट । पहिला पार्टीको समर्थन त्यसपछि पार्टीभित्रकै खेमाबन्दीको ।’
कुरो गहिरो छ, निष्कर्षचाहिँ कुर्सीको । कोही हातको भाउ लगाउँदै बोल्दै थिए, ‘यो दुई दिने मखुन्डो भिरेर पुरानै शैलीमा एक भएका छन् । अब दुई–चार दिनमा आपसमा तुष जन्माएर भिड्छन् । नेपालमा स्थायी सरकारले काम गर्ने जोग नै छैन । खै, विश्वास छैन ।’
कोहीचाहिँ, ‘यो सबै स्वार्थ र गोजी भर्ने खेल हो । जनताको आँखामा छारो हालेर स्वार्थ पूरा गर्ने प्रपञ्च हो’, आशङ्काकै भावमा दुःख मान्दै थिए ।
स्कुलै जान नपाएका र राजनीतिको ‘र’ नै नबुझेको हिमालको एउटा गरिब किसान या गोठालो भनौँ । जनता र नेता, नेता र सत्ताधारी नेतृत्व, प्रतिपक्षी र समकक्षी आपसमा विरोधाभास त हुन्छ । भाषण र व्यवहारमा भनिने र व्यावहारिक प्रयोजनका पाटामा मुलुकले परिवर्तनलाई कसरी बुझ्दै छ ? जबसम्म जनतामा विकासको प्रत्यक्ष अनुभव र निष्पक्ष न्यायको आभास हुँदैन, तबसम्म जुनसुकै व्यवस्था सरकार आए पनि प्रशंसाभन्दा बढी विरोध हुन्छ नै ।
एउटा नवपुस्ता छ, जसले कोरियन भाषा पढ्दै छ । जापानी, हिब्रु, अंग्रेजी आदि सिकेर या त आईएलटीएस दिएर विदेशतिरै होमिने सपना बोकेको छ । अमेरिकाको डीभी भर्नेको लर्को, शिक्षा र पैसाको अपेक्षाको खज्मजिएको संसारमा समृद्धिका गफ ? मान्छेको पेट भर्ने समस्यामा घोत्लिनुपर्दैन र ? कम आय हुनेको अवस्थाप्रति सोच्नुपर्ने कुरा पहिला कि अन्या योजना ?
अब बहस् नहोस् पनि कसरी ? जापानले, अस्ट्रेलियाले, जर्मनले भिसा खुलायो भन्दा गर्व गर्ने संस्कारमा आजसम्म परिवर्तन गर्ने सोच माथिल्ला नेतृत्वमै स्पष्ट रूपमा आएको छैन बरु अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रम बेचिँदाको पीडाभन्दा बढी श्रम स्वीकृति नदिँदा नै हुन्छ ।
जनताको अभिमतबाट चुनिएको प्रतिनिधिले विचारलाई बाँड्दा आफ्नो हैसियतलाई भुल्न पाइन्छ र ? कम्तीमा जनताको मागलाई सम्बोधन गर्ने वा चित्तबुझ्दो कारण वा त काम गरेर देखाउन पनि त जान्नुपर्छ । काम गर्नभन्दा पनि ओहोदाका नाममा, भ्रष्ट चरित्रको नाम र मनोविज्ञानमा ससाना बखेडाभित्र अल्झिएर आजको हाम्रो राजनीतिक नेतृत्व भौँतारिइरहेको देखिन्छ ।
नेता चुनाव लड्ने र जित्ने केही समयका लागि होइन, उसको कार्यकाल र क्षमता रहेसम्मका लागि हो । तिनले गल्ती गर्नु, समृद्धिको पाइलामा भाँजो हाल्नु, यताउता गर्दा जनताको मन भाँड्नु भनेको वास्तवमा जनताको अभिमतमाथिको अत्याचार हो ।
नेता जनताका लागि चुनिएको आस्थाको धरोहर हो । यद्यपि नेताले विगतमा ठूलाठूला गल्ती गरेका हुन्छन्, जनताका लागि भन्दै जनताको मानवअधिकार, बाँच्ने अधिकारदेखि घरबार मात्र होइन, हत्या नै गरेका हुन्छन् तर तिनीहरू कहिल्यै दोषी र हत्यारा हुँदैनन् । केवल त्यागी र समर्पित हुन्छन्, चाहे आफ्नो स्वार्थको राजनीतिमा होमिएका नै किन नहुन्– गरिब देशका जनताले खराब नेता हो भन्ने जान्दाजान्दै पनि आशा बोकेर चाकडी गरिरहन्छन् ।
घरघरमा सिंहदरबार पुग्यो कि खाने मुखचाहिँ घरघरमा पुग्यो भन्नुपर्ने जटिलताले देशमा पीडा भएको हो । ७७ जिल्लाका २९३ नगरपालिकाभित्र रहेका ४६० वटा गाउँपालिकामा कार्यरत कर्मचारी निकायलाई यदि मैले त जितेर आएको पार्टीका आडमा गुलामी गर्नुपर्छ भन्ने मात्र सोचले गाँज्यो र जताततै नातावाद चल्यो भने भ्रष्ट दरबार गाउँगाउँ पुग्यो भन्नुपर्ने हुन सक्छ ।
आज जुन देशमा मर्दाखेरि लास उठाउने मलामी पाउन छाडिएको छ, जुन देशमा राजनीति मात्रै ठूलो हो भन्ने शैली छ । जहाँ शिक्षा र शैक्षिक व्यक्तित्वको सम्मान हुँदैन, जहाँ विज्ञहरूले नेताको दैलो कुर्ने कुलीन परंपरालाई तोड्न सक्दैन भने परिवर्तन कसरी भयो ? सरकारी कामका लागि कर्मचारी आफन्तवादको खेमापन्थी चलाउँछन्, कर्मचारी नेताको पावर बोकेर कामचोर प्रवृत्तिमा हावी बन्छ । क्षमता र योग्यताको उपहास भइरहन्छ भने सुशासन कहाँ कुन स्थानमा कसरी कायम रहन्छ ?
हिजो सन् १९७० ताका जापानलाई चामल निर्यात गर्ने, दोस्रो विश्वयुद्धपछि खाद्यान्न बाँड्ने हैसियत बोकेको नेपाल आज २०१९ सम्मको समयमा कति परजीवी बनेको छ ? आज हामी जापानभन्दा ५०औँ वर्षपछि रहेछौँ । आज यसको कारण अधोगति अधोमति भएका मुलुकमा अर्कालाई बझाएर, लडाएर आफू उक्सिने प्रपञ्च मात्र रचिन्छ र राजनीति चलिरहन्छ । वास्तवमा दाता गरिब हुँदैन, माग्नेलाई उन्नतिले छुँदैन भन्ने हुनुपथ्र्यो । हामीले आत्मनिर्भरता बिर्सिहाल्यौँ । अर्काको भाषा, अर्काको सामान, बोर्डिङ स्कुलमा अंग्रेजी रटाउने, भान्छाघरदेखि चर्पीसम्मका सामान आयातीत अनि देशको उन्नति कसरी संभव हुन्छ ?
फ्रान्स सन् १९६७ ताका आज हाम्रो देशको जस्तै अन्योल र बेमेलको स्थितिमा थियो । आज सन् २०१९ मा हामी त्यसबेलाको फ्रान्स जसरी ५२ वर्ष पछाडि रहेछौँ । अब दक्षिण कोरियातिर एउटा प्रोफेसरले बोल्दा, तिनका छेउमा पर्दा आफ्नो आसन छाडेर सादर सम्मान हुन्छ । हाम्रो देशका बौद्धिक वर्ग भनाउँदाहरू पदको लिप्सा बोकेर नेताको दैलो कुर्ने लाजमर्दो प्रवृत्ति हावी बनेको छ ।
यदि यही विसंगतिपूर्ण सोच रहिरहने हो भने यो मुलुकमा अर्को पृथक् जालसाजीको राजनीतिक भड्खालोमा भासिने निश्चित छ । यहाँबाट ठूलो संख्यामा युवाशक्तिको जमात बाहिरिनु भनेको एक दिन पृथक् प्रकृतिको नेतृत्व जन्मनु हो । यसको जिम्मेवार हरेक सत्तापक्षी र विपक्षी नेतृत्व बन्नुपर्छ ।
विकासकै कुरा गर्ने हो भने २००७ सालदेखि आजसम्म झन्डै ७० वर्षको अन्तरालमा हाम्रो मुलुकले थुप्रै खाले सत्ताका प्रकृति पायो तर परिवर्तनलाई ठोस आभास गर्नै पाएन । कारण, हामीले स्पष्ट योजना र कार्यान्वयनको चरणलाई बोध गर्नै जानेनौँ । नीति बनायौँ, सुन्दर हुन्छ तर कार्यान्वयन र प्राप्तिको विवरणसँग दूरदर्शी बन्नै जानेनौँ ।
निष्कर्षतः देशले पहिलाको नेपाल र अहिलेको नेपाल हेरेर निराशाले जकडेको जनमानसलाई आशाले जोड्ने पहिलो आधार युवालाई अवसर र विकासको बाटोमा प्रयोग गर्नु नै हो । संभाव्यता खोतलेर युवाशक्तिका क्षमतालाई स्वदेशमै सम्मान गर्ने हो भने धेरै समस्या हल हुन्छ । विकासे मार्गमा अघि बढ्न बेर पनि लाग्दैन ।
पद, पैसा र पावरको धाकले देशको शासन व्यवस्थामा प्रहार हुन्छ । त्यसैले आदर्शवादी व्यवहारको विकासवादी समृद्धि ल्याउन सक्नुपर्छ । विनाभेदभाव व्यवहार र सबैलाई माया र प्रेम पस्कन थाल्ने र प्रतिपक्षीसँग पनि भाइचाराकै भावमा विकास र बाधक चिन्ने निकायलाई बलियो बनाइसक्दा देश बन्न युगौँसम्म कुरिरहनु नपर्ला । सबै समस्यासँग राजनीतिक कमजोरी नै जोडिन्छ तर विकासका क्षेत्रमा नवीन संरचना र व्यवस्थाको ज्ञानको अभाव हुनु पनि त हो । नयाँ व्यवस्था हो समय लाग्न सक्ला, यद्यपि, साना मान्छे, गरिब तर क्षमता भएकादेखि सुरु गर्नुपर्छ ।
सर्वहारा वर्ग र कम्युनिस्ट सिद्धान्तलाई केन्द्रमा राख्ने नै हो भने ठूला विकासलाई मात्रै विकास हो भन्ने संस्कारलाई बदल्न सक्नुपर्छ । अब आर्थिक समताको सिद्धान्तमा माथिल्लालाई दबाएर होइन, तल्लालाई उकास्नुपर्छ । कालो धन बटुल्नेलाई ‘हामीभित्रको हाम्रो मान्छे’ भन्ने विगतदेखिको राजनीतिक खेमाबन्दी स्वतन्त्र राजनीतिको सबैभन्दा घातक बनिरहेको छ । यो स्पष्ट भएकै छ । गुटबन्दी गर्ने नेताको कमजोरीलाई जनताले नै स्वार्थ बोकेर समर्थन गरिरहेका छन् । यसमा विगतको संस्कार बदलिएकै छैन ।
यो एकतन्त्रीय शासनमा जसरी नै हजुर्याइँ गर्ने र चाकडीबाजकै शैलीसँग विकसित छ । यसर्थ आर्थिक समताको विषयलाई अन्य वर्ग विभाजनबाट होइन, जनताको आय र जेथोका आधारबाट मापन गरिनुपर्छ । विकास भन्ने कुरा प्रशंसाभन्दा बढी आभास हुने कुरा हो । परिवर्तन पनि भोगाइसँग गाँसिने विषय हो ।