रोदीघर : एक उर्वर कला केन्द्र

रोदीघर : एक उर्वर कला केन्द्र

यमबहादुर दुरा  |  दृष्टिकोण  |  माघ २४, २०७६

झुक्किएँ कि पहिले कतै देखेजस्तो लाग्यो
रोदीघरमै तिम्ले बाटो छेकेजस्तो लाग्यो ।

गीतकार भूपाल राईका शब्दले सजिएको यस गीतले अहिले बिरानो बन्दै गएको एउटा सांस्कृतिक बिम्ब आँखासामु ल्याउँछ । गीतले नेपालको ग्रामीण परिवेशको झल्को दिन्छ, सामाजिक संस्था रोदीघरको सम्झना गराउँछ ।

गण्डकी भेगको ग्रामीण परिवेशमा जन्मे हुर्केका, त्यहाँको सांस्कृतिक रीतभाँत बुझेका, जीवनयात्राको लगभग ४० वर्षको घुम्ती पार गर्दै गरेका व्यक्तिलाई सांस्कृतिक केन्द्र रोदीघरको चिनारी दिइरहनुपर्दैन ।

बृहत् नेपाली शब्दकोश (पाँचौँ संस्करण, २०५८)मा रोदीलाई यसरी अथ्र्याइएको छ : १. ‘विशेषत: गुरुङ जातिमा प्रचलित राती निश्चित ठाउँमा ठिटाठिटीहरू भेला भएर गीत गाउने, ख्याल ठट्टा गर्ने आदि मनोरञ्जक कार्यक्रम ।’

२. ‘धान काट्ने बेलामा नाचगान गरी मनाइने एक उत्सव ।’

यो परिभाषा एकाङ्गी र गलत छ । धान काट्ने बेलामा नाचगान गरी मनाइने एक उत्सवलाई रोदी भनिँदैन । खासमा गण्डकी भेगका गुरुङ, मगर, दुरा जस्ता मतवाली समुदायमा रोदी बस्ने परंपरा छ । गाउँका युवायुवती भेला भएर सामूहिक नाचगान गर्ने थलो (घर) नै रोदीघर हो । तर, रोदीघरमा हुने गतिविधि यतिमा सीमित हुँदैन ।

रोदीघर गाउँमा भारा–पर्मको चाँजोपाँजो र आलोपालो मिलाउने, झारा जस्ता सामूहिक कामबारे सरसल्लाह गर्ने थलो पनि  हो । औँसी–पूर्णे जस्ता हल (खनजोत) नचल्ने दिनमा हाटबजार जाने वा माछा मार्न जाने विषयमा सरसल्लाह पनि रोदीघरमै गरिन्थ्यो ।

गाउँका छोरीचेली, छुट्टीमा घर आएका लाहुरे, ढाक्रे सबै एकै ठाउँमा जम्मा भएर सुखदुःख साटासाट गर्ने, गीतवाद गर्ने र दिनभरको थकाइ मेट्ने साझा थलो हो, रोदीघर । यसले ग्रामीण मनहरू वहलाउने राम्रो अवसर दिन्छ ।

रोदी एउटा सुन्दर कला केन्द्र पनि हो, जहाँ नाचगान हुन्थ्यो । पहिले पहिले रोदीका कारण गाउँको कला दुरुस्त थियो । बाह्य संस्कृतिबाट गाउँघर सङ्क्रमित थिएन । रैथाने गीतसंगीतले गाउँघर सुशोभित थियो । यसले सबैका कलाको संचार गराएको थियो । गाउँका हरेक व्यक्ति नाच्न गाउन जान्ने जान्थे । अर्को कुरा, रोदीघरबाटै एउटा गाउँमा गुञ्जिएको लोकभाका अर्को गाउँमा फैलिन्थ्यो ।

उच्छृङ्खल र अश्लील क्रियाकलापका लागि रोदीघरको जन्म भएको भन्ने आशयको टीकाटिप्पणी अमर्यादित र त्रुटिपूर्ण छ । रोदीघरबारे गरिने टीकाटिप्पणीले सामूहिक जीवनशैली र लोककलाको प्रतिबिम्बलाई नै प्रहार गरेको ठहर्छ ।

रोदीघरमा घन्किने सुमधुर लोकभाकाले धेरैलाई मन्त्रमुग्ध तुल्याउँथ्यो । रोदीघरमा जमेको गीतको खालबाट मनोरञ्जन लिन पाका पुस्ता पनि पछि पर्दैनथे । उनीहरू पनि गीतको खालमा झुम्मिन्थे । अरू त अरू, राती फेरी लगाएर हिँड्ने जोगी पनि मन्त्रमुग्ध भएर रोदीघरमा गीत सुन्थे भन्ने भनाइ गाउँँघरमा सुनिन्छ ।

रोदीघर संचार केन्द्र पनि हो, जहाँबाट सामुदायिक महत्त्वको सूचना त्यहाँ भेला हुने युवायुवतीमार्फत् प्रवाह हुन्थे । संचार प्रविधिको विकास नभएको समयमा गाउँभित्र र गाउँबाहिरका कतिपय खबर रोदीघरबाटै आदान–प्रदान हुन्थे ।

बर्खायामको बेफुर्सदीपूर्ण समयबाहेक अरूबेला रोदी बस्ने चलन छ । खासगरी असार महिनामा रोदी बसिँदैन । सामान्यतया मादल पनि बजाइँदैन । साउने संक्रान्ति लागेपछि रोदीघर फेरि पुरानो लयमा फर्किन्छ । गण्डकी भेगमा साउने संक्रान्ति ‘मादल फुकाउने दिन’को रूपमा पनि परिचित छ ।

रोदीघरमा भेला हुने युवायुवतीलाई रोदीघरकी आमा (रोदीआमा)को अभिभावकत्व र संरक्षकत्व प्रदान गर्छन् । कतैकतै रोदी बा पनि यही भूमिका रहन्छन् । त्यसैले रोदीआमाको महत्त्व उच्च रहन्छ । गाउँमा छोरीचेलीको विवाह हुँदा रोदीआमालाई अनिवार्य रूपमा सम्झने गरिन्छ ।

गाउँमा कुनै चेलीको विवाह हुँदा रोदीआमाका लागि एक पुङ रक्सी, एक माना चामल, रोटी तथा केही नगद छुट्याइन्छ । यसले ग्रामीण समाजमा रोदीआमाको महत्त्व र गरिमालाई प्रष्ट्याउँछ ।

कतैकतै रोदी बस्ने परंपराबारे नकारात्मक टीकाटिप्पणी नभएको पनि होइन । रोदीघरलाई पश्चिमी गोलाद्र्धको ‘नाइट क्लब’सँग दाँज्ने गरिएको पनि पाइन्छ । रोदीघरमा उच्छृङ्खल गतिविधि हुन्छ भन्ने भनाइ पनि आएका छन् ।

वास्तवमा रोदीघरमा अश्लील बोली–व्यवहार वर्जित मानिन्छ । त्यहाँ ‘चोखो माया, फुको ठट्टा’ चल्छ । रोदीघरमा भेला हुने युवायुवतीबीच स्वाभाविक रूपमा हाँसखेल हुन्छ । हाँसखेल  हुँदाहुँदै माया बस्न सक्छ । मन मिलेमा दुनियाँको नजरबाट बच्दै उनीहरूबीच यौन सम्बन्ध पनि हुन सक्ला । यसलाई अन्यथा मान्न मिल्दैन ।

आखिर दुनियाँको सर्वजनीन रीतबाट कोही पनि पर भाग्न सक्दैन, जुन सबैले शिरोपर गर्नुपर्ने यथार्थ हो । तर, उच्छृङ्खल र अश्लील क्रियाकलापका लागि रोदीघरको जन्म भएको भन्ने आशयको टीकाटिप्पणी अमर्यादित र त्रुटिपूर्ण छ । रोदीघरबारे गरिने टीकाटिप्पणीले सामूहिक जीवनशैली र लोककलाको प्रतिबिम्बलाई नै प्रहार गरेको ठहर्छ ।

अहिले कुनै समयको उर्वर सामाजिक संस्था रोदी हराइसकेको छ । यससँगै सामूहिक जीवनशैली र लोककला अधोगतितर्फ धकेलिएको छ, जुन सबैलै अनुभूत गरिरहेको पक्ष हो ।

रोदीघरको रौनक हामीसँग नभए पनि यसले सामूहिक जीवनशैली, सहकार्य र लोकसंस्कृतिको सम्बर्द्धनमा सिकाएको पाठ स्तुत्य छ ।