अलबिदा रविन्द्र...!

अलबिदा रविन्द्र...!

आशिष पौडेल  |  समाज  |  फागुन १६, २०७५

पत्रकारले ‘निदाउँदा आँखा चिम्लिए पनि कान ठाडो पार्नुपर्छ’ भन्ने सर्वमान्य मान्यता छ । तर, अहिले विश्वभर नै समाचार ‘ब्रेकिङ’का नाममा समाचार ‘भेरिफाइ’ नै नगरी जथाभावी सूचना पस्किने प्रवृत्ति हाबी भइरहेको छ । 

यस प्रवृत्तिबाट भिन्न रही हामीले एक महिनाअघि सहिद दिवसको दिन पारेर अनलाइन सुरु गर्यौं– लोकसंवाद डट कम । हाम्रो स्पष्ट मान्यता छ– ‘ब्रेकिङ’का नाममा तथ्य नखुलेका तथा पुष्टि हुन नसकेका समाचार प्रकाशित नगर्ने । र, हरेक घटनाको तथ्य ‘भेरिफाइ’ गरेर मात्र समाचार प्रकाशन गर्ने । 

त्यति मात्रै होइन, हामी आम समुदायको सूचनाको अधिकारबारे पनि संवेदनशील छौं । तर, सीमित साधनस्रोतका कारण चाहेजति समाचार भने प्रवाह गर्न सकेका छैनौं । र, पनि सकेजति जनतालाई सुसूचित गर्न प्रयत्नरत छौं । 

हिजो फागुन १५ गते बुधबार हामी समाचार कक्षमा बसेर आ–आफ्ना ढंगले खबर लेखनका लागि स्रोत सामग्रीका रूपमा जानकारीमूलक विविध सन्दर्भ सामग्रीको खोजीमा घोत्लिरहेका थियौं । 

विभिन्न सञ्चार माध्यममा भारतले पाकिस्तानी आतंकवादी अखडामाथि बम आक्रमण गरेको र पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेका समाचार आइरहेका थिए । हामी यी दाबीबीचको सत्यता र यसलाई पुष्टि गर्ने आधारको प्रमाणिकता खोजिरहेका थियौं । हामीले भारतीय मिडियाको ‘ब्रेकिङ न्युज’ र पाकिस्तानी सेनाका प्रवक्ता मेजर गफुरका भनाइ र ट्विट फलो गरिरहेका थियौं ।

यो समाचार साँच्चै नै ‘हट’ थियो । तर पनि हामी ‘कुल’ दिमागले काम गरिरहेका थियौं । आधिकारिकताका लागि समाचार संस्था बिबिसी, एपिएन, सिएनएन र अरु थुप्रै च्यानललगायतका स्रोतमाथि पनि नजर छँदै थियो । फरक र केही नयाँ लाग्नेबित्तिकै आपसमा कुराकानी भइहाल्थ्यो । 

भारत–पाकिस्तानबीच युद्ध भएमा त्यसले नेपाललाई पार्ने असर र दक्षिण एसिया तथा समग्र विश्वमै हुनसक्ने प्रभावका बारेमा पनि चासो र चिन्ता प्रकट हुन्थ्यो । 

हाम्रो निष्कर्ष थियो– दुवै देश युद्ध चाहँदैनन् । तर केही नगरेको जस्तो पनि नदेखियोस् भनेर हामी उक्त समाचारको फलो गरिरहेका थियो । साथै छलफल पनि । 

यो ‘स्कुप’का लागि थिएन । र, युद्ध भएमा हामी ‘स्किप’ हुन पनि सक्दैनौं भन्ने नै मुख्य चिन्ता थियो । 
यत्तिकैमा भूपराजजीको मोबाइल बज्यो । उताबाट के भनियो सुन्ने कुरो पनि भएन । भुपराजजीले ‘हँऽऽऽऽ...’ भनेर बेग्लै मुखाकृति बनाउनुभयो । 

अघिल्लो दिनमात्र उहाँले आफ्नो छिमेकीको भर्खर २०/२२ की बुहारी चेलीको अकस्मात भएको निधनको खबर सुनाउनुभएको थियो । केही भयो भन्ने त भयो । तर, त्यो ‘लेभल’को ‘सिरियस म्याटर’ होइन कि भन्ने लाग्यो । ‘पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहिन भयो रे !’ 

लाग्यो– मौसम खराब छ, कहीँ कतै होला । तर, मनमा एक प्रकारको चिसो पसिसकेको थियो । 

अघिसम्मको मुडले अब साथ दिएन । अन्य पत्रकार मित्रसँग पनि सम्पर्क गरियो । उनीहरूले पनि अहिलेसम्म सम्पर्कविहिन भन्ने मात्र समाचार हो भने । त्यसपछि के गर्ने ? कसो गर्ने ? भन्ने मात्र भयो । योसम्बन्धी समाचार लेख्ने/नलेख्ने ? मनमा दुविधा भइरह्यो । लेख्दा पनि के लेख्ने भन्नेबारे पनि एकछिन मन्थन गरियो । फेरि उही ‘ब्रेकिङ’ र ‘स्कुप’का नाममा आतंक नफैलाउँ भन्ने भयो । हामी आफ्नो उद्देश्य, आदर्श र सिद्धान्तबाट विचलित भएनौं । र, धैर्य गर्यौं । 

एकछिनपछि मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा भन्ने समाचार आयो, यसमा पनि हामीले आफ्नो धैर्यता कायम राख्यौं । आधिकारिक रूपमा पुष्टि नभइकन यो विषयमा केही नलेखौं भन्नेमै हामी अडिग रह्यौं । 

स्थानीयवासी र प्रत्यक्षदर्शीका भनाइको हवाला दिँदै यससम्बन्धी समाचार आए । तर पनि हामी शान्त बस्यौं । स्थानीय प्रहरीलाई उध्दृत गर्दै पनि समाचार आए । कतै कुनै कुरामा ढिलो नगरौं भन्ने विचार नआएको पनि होइन । तर, त्यसले फेरि पेशाप्रतिको इमान्दारिता, नैतिकता र आफैंले निर्धारण गरेको उद्देश्यलाई कुल्चन सकेन । 

बरु बारम्बार हुने यस्ता दुर्घटनाले अन्तर्राष्ट्रिय रूपमा बिग्रिएको छवि, राष्ट्रिय ध्वजावाहकले युरोपको आकाशमा उड्न अनुमति नपाएको तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कालोसूचीमा राखिएको पीडा, ग्राउण्डेड जहाज र अनियमितताका कुराले गिजोलिरह्यो । 

हरेक दुर्घटनापछि गठन हुने आयोग र आयोगमाथिका आयोग अनि अधिकांश दुर्घटनामा दुरुस्त लाग्ने रिपोर्ट र दोषी करार गरिएका मृत पाइलटप्रति पनि एकमुष्ट समवेदना र सहानुभूति जागेर आयो । तिनको कलकलाउँदो जवानी, लालाबालाले गुमाउनुपरेको अभिभावकत्व अनि आश्रितले बिमा रकमका लागि भोग्नुपरेको हैरानी सबैले द्रविभूत बनायो । 

अभिभावकले आफ्नो सन्तानको ‘करियर’माथि गरेको लगानी, धैर्य र आशा विमानको भग्नावशेषसँगै जल्दै गरेको देख्दा कुन अभिभावकको मन थामिएला ! अझ त्यसमाथि अभिभावकको चितामाथि दागबत्ती दिनुपर्नेमा उल्टै सन्तानको दाहसंस्कार गर्नुपर्दा कुन अभिभावकको चित्त नफाट्ला ! यो विषय बडो जटिल छ । व्यक्तिको होस् वा राज्यको, करोडौंको भौतिक नोक्सानी त छँदैछ । भौतिक नोक्सानीको त परिपूरण गरुँला, अपुरणीय मानवीय क्षतिको भर्पाई कसरी गर्ने ? यस्तै विषयले समचार कक्षमा प्रवेश पायो । 

१५ दिनअघिदेखि मौसम खराबी रहने भविष्यवाणी हुँदाहुँदै उनी त्यो दुर्गममा हवाई सेवाका लागि किन तयार भए ? खराब मौसममा हुने गरेका हवाई दुर्घटनाका बारेमा उनीजत्तिको मन्त्री जानकार नहुने प्रश्न नै भएन । 

मन्त्री र हवाई कम्पनी मालिक जस्तो भिभिआइपी यात्रालाई क्याप्टेनले आफ्नो पेशागत मर्यादाले इन्कार गर्न सकेनन् कि भन्ने प्रश्न पनि उब्जिएको छ । यस्ता धेरै प्रश्न र जिज्ञासाले न्युज रुम बेचैन  भइरह्यो । 

यतिञ्जेलसम्म मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटनामा परेर ७ मध्ये ५ को शव प्राप्त भएको जानकारी आइसकेको थियो । तर, पनि मन्त्री अधिकारीको शव पहिचान भएको आधिकारिक सूचना प्राप्त भएको थिएन । 

जतिसुकै बेचैनी र छटपटाहट भए पनि हामी आफ्नो धर्म निर्वाहमा अडिग रह्यौं । मन हुँडल्लिरहेको थियो । एकछिनमा मन्त्री अधिकारसहित हेलिकप्टरमा सवार सातै जनाको निधन भएको आधिकारिक पुष्टि  भयो । 

अब न्युज रुम मौन देखियो । न्युज रुममा सन्नाटा छायो । मन पीडाले भरिएर तलाउ भयो । तर पनि पत्रकारको कर्तव्य निर्वाह गर्नुपर्ने दायित्व छँदै थियो । 

कतिपय कर्तव्य यस्ता हुन्छन्, जसमा दिल खोलेर मनका भाव व्यक्त गर्नसमेत सकिँदैन । 

मनभरि पीडाको पहाड बोकेर देशले आशा गरेको एउटा जुझारु युवा नेतृत्वको असामयीक निधनको समाचार लेखियो । 

हार्दिक श्रद्धाञ्जली !

अलबिदा रविन्द्र...!