प्रा.डा. विद्यानाथ कोइराला | दृष्टिकोण | माघ २६, २०७६
बलेँसीको घाम हेरेर हामी स्कुल जाने गथ्र्यौं । यसरी हामी बलेँसीसँग जोडियौँ । जाडोको बलेँसीको घाम । गर्मीको बलेँसीको घाम । त्यो हाम्रो गणित थियो ।
काममा जाँदा र फर्केर आउँदा घाम कति जुवा आयो भनेर जोड्ने चिन्तन थियो । सायद गोरु जोत्दाखेरिको जुवा होला त्यो । बिहान भाले कुखुरो बास्ने बेला कतिखेर हो ? अक्सर ४ बजे । किनभने कुखुरा घाम वा तातोको आधारमा बास्ने हो । छिटो घाम लाग्ने ठाउँमा छिटो भाले कुखुरा बास्छ । ढिलो लाग्ने ठाउँमा ढिलो बास्छ ।
घामको तातोसँग त्यसको बासाइको सम्बन्ध हुन्छ भन्ने कुरामा जापानको नागोया विश्वविद्यालयका योसिमुरा तथा सुयोसी सिमुराको अध्ययन छ । उनीहरू भन्छन्, ‘भाले कुखुराले घामको पूर्वानुमान गर्छ । बासेर आफ्नो क्षेत्रको चौहद्घी कायम गर्छ । पोथी कुखुराले चाहिँ चल्लालाई उठाउँछ । यो कुरा नजानेका वा जान्न नपाएका विकासे कुखुराहरू राती जुनबेला पनि बासिदिने गर्छन् । त्यो कारण हो, ती कुखुराहरूले बिजुलीको उज्यालो तथा त्यसको रापको मात्र पूर्वानुमान गर्छन् ।’
मान्छे तथा कुखुराको यो चलनचल्तीले भन्छ– हाम्रो निम्ति घाम आधार थियो । वनस्पति पनि आधार थियो । जंगलमा दिउँसै अँध्यारो भयो भने गाई घर ल्याएर बाँध्ने बेला कतिखेर हुन्छ भन्ने कुरा अररीको पातले दिन्थ्यो । पात छ्याप्प तल बसिसकेपछि ल अब रात पर्न थाल्यो, गाई गोरु माथी ल्याउनुपर्छ भन्ने थाहा हुन्थ्यो । त्यसैअनुसार गाई गोरु घर ल्याउने गरिन्थ्यो ।
अर्थात् अररीको पातमा गणित थियो । विज्ञान थियो । समयको जानकारी थियो । घडी थियो । त्यसले हामीलाई के थाहा हुन्थ्यो भने अब घाम गयो । झ्याउँकिरी समयको जानकारी दिने अर्को जीव हो । जब झयाँउकिरी कराउन थाल्छ, अब बेलुका भयो भन्ने थाहा हुन्थ्यो । शहरी पुस्ताले अररीबाट समय थाहा पाउने दिन गए । घामबाट समय थाहा पाउने दिन गए । बलेँसीबाट समय थाहा पाउने दिन गए । कुखुराको डाकोबाट समय थाहा पाउने दिन गए ।
विना घडी कसरी समय थाहा पाउने भन्ने चिन्तन बढ्यो । घडी चाहिन्छ भन्ने बुद्धि नआउन्जेलसम्म पनि मान्छेले जिन्दगी चलाइरहेका थिए नि ! शुक्रतारा यहाँनेर उदायो, अब यति घडी रात बाँकी छ भन्थे । कृकिटी यहाँनेर बसे अब रात यति घडी मात्र बाँकी छ भन्थे । यी र यस्ता ज्ञानहरू हाम्रा पुर्खाका थिए । ती अब नासिँदै छन् ।
हाम्रो पुर्खालाई ब्रह्ममुहूर्तको बेला कतिखेर हो भन्नेसम्मको ज्ञान थियो । प्रकृतिमै उनीहरूको घडी थियो । घडी बनाउनु नपर्ने । किन्नु पनि नपर्ने । घडीको सामानले वातावरण बिग्रियो भन्नु पनि नपर्ने । घडी बन्यो । त्यो राम्रो कुरा हो । यसले हामीलाई युनिट अफ टाइममा लग्यो । युनिट अफ टाइम भनेको ठ्याक्क यति मिनेट र यति सेकेण्ड भनेको हो ।
हाम्रा पुर्खाले वल्क अफ टाइममा कुरा गरे होलान् । जस्तो: बिहान भयो । घाम लाग्यो । तीन सल्ली घाम लाग्यो । पाँच जुवा घाम लाग्यो । सल्ली भनेको सल्लाको बोटको दूरी हो त ? जुवा भनेको गोरु/बल्ल जोत्दा दुई गोरु/बल्ललाई जोड्ने कँधेरी हो त ? अब हामीसँग त त्यो शब्द मर्ने भयो । ज्ञान मर्ने भयो ।
घडीले गर्दा सल्लीको नापो हरायो । जुवाको नापो पनि हरायो । अररीको समय पनि हरायो । झ्याउँकिरीको बोलीले दिने समय पनि हरायो । यसरी हामीले सबै कुराहरू विस्तारै गुम गर्दै लिएर गयौँ । यो गुमाइले छक्काल, आधारात, ताराको किरकिट जान्ने ज्ञान हरायो । अर्थात् पकृतिको आवाज सुन्न सक्ने तागत पनि हामीसँग हरायो ।
अब हङकङको आन्दोलन हामीले पनि गर्नुपर्ने दिन आयो । त्यो आन्दोलनको विषय थियो, हामीले चन्द्रमाको उज्यालो देख्न पाएनौँ । किनकि त्यहाँ कृत्रिम उज्यालोले गर्दा चन्द्रमाको उज्यालो नै देखिएन । हाम्रा पुर्खाको भाषामा सोम (चन्द्रमा) पनि हरायो । त्यसबाट पाइने सोमरस पनि हरायो । यसरी हेर्दा हङकङवासीले आफ्नोपन पनि गुुमाए । प्रकृतिको मज्जा पनि गुमाए । हामी पनि घडीमा गएर बस्यौँ । अब त हामीले हरेक कुरामा घडी चेक गर्नुपर्छ । यस अर्थमा प्रकृतिको सान्निध्य गयो । घडीमाथिको पराश्रय बढ्यो ।
पश्चिमाहरूले त त्यो घडी र जिन्दगी मिलाएका थिए । उनीहरूले गुड मर्निङ, गुड आफ्टरनुन र गुड इभिनिङ भने । त्यसका लागि उनीहरूलाई घडी चाहिन्छ । हाम्रो नमस्ते, नमस्कार, पाउलागी, रामराम, फ्याँफुल्ला, जोजोलपा, सेवारो, टासिदेले जेजे भने पनि विना घडी जिन्दगी चल्छ । यसको अर्थ हो– हामीले घडीमा होइन, जिन्दगीसँग जिन्दगी चलाएको हो । प्रकृतिसँग जिन्दगी चलाएको हो ।
लेखनको इतिहास नयाँ हो । पहिला हामी मौखिक थियौँ । पश्चिमाले त्यही भने । हामीले हो भनेर पत्यायौँ । हाम्रा पुर्खाले त वेद नै पश्यन्ति हो भनेका थिए । त्यो लेखिएको होइन, देखिएको हो भनेका थिए । देखेको भनेको अक्षर हो । सुनेको होइन ।
अहिले भने हामी प्रकृतिसँग विस्तारै टाढिँदै जान लाग्यौँ किनकि अब घडीले काम गर्ने भयो । प्रकृतिले काम नगर्ने भयो । त्यो स्थितिमा हामी फस्यौँ । त्यसैले हाम्रा मान्छेहरूलाई यी हाम्रा निजी सम्पति हुन भन्ने कुरा सिकाउनुपर्ने भयो । त्यो निजी सम्पतिलाई पश्चिमाहरूको घडीसँग लगेर कसरी जोड्ने हो भनी जानकार बनाउनु जरुरी भयो ।
भाले कुखुरा कतिखेर बास्छ ? कृकिटी कतिखेर देखिन्छ ? अररीको पात कतिखेर ओइलाउँछ ? यी र यस्ता कुराहरू खोजेर हाम्रा मान्छेहरूले ब्रह्ममुहूर्त भनेको कतिखेरलाई भन्दारहेछन् ? त्यो बेलामा पानीको अवस्था कस्तो हुन्छ ? हावाको अवस्था कस्तो हुन्छ ? पृथ्वीको अवस्था कस्तो हुन्छ ? त्योसँग हाम्रो शरीरको सम्बन्ध के हुन्छ ?
यस्तो खालको कुरालाई अलिकति गहिरिएर हेर्न सिकाउनुपर्ने भयो । यसरी हाम्रो तथा पश्चिमाहरूको ज्ञान जोड्ने तथा उनीहरूको समयसँग जोड्न सक्ने हो भने हामीले हामीलाई नै न्याय गर्ने थियौँ होला । अन्यथा हामीले हाम्रा चलनचल्तीका ज्ञानहरू विस्तारै विनास गर्छौं । पश्चिमा ज्ञानले हामीलाई थिच्दै आउँछ । अन्ततोगत्वा हामी आफैँ हराएको परिस्थितिमा पुग्छौँ ।
हाम्रा पुर्खाहरूले तीनवटा शब्दहरू बारम्बार भनिरहेका छन्– तन्त्र, मन्त्र र यन्त्र । यी तीनवटा शब्दले तीन युग बताउँछन्– तन्त्र युग, मन्त्र युग र यन्त्र युग । ती युगहरू बदलिने गर्छन् । नयाँ बनिरहने किसिमका पनि हुन्छन् । तन्त्र युगमा तनलाई उपयोग गर्न सक्ने किसिमको तागत थियो । मन्त्र युगमा मनलाई उपयोग गर्न सक्ने तागत थियो । अहिले यन्त्र युगमा यन्त्रमा नै आश्रित हुने चलन छ । बाध्यता छ ।
यन्त्रमा आश्रित हुनासाथ हामी केही पनि थाहा नपाउने भयौँ । कति बज्यो भन्नुपर्यो भने भाले कुखुरो बासेर थाहा पाउन छाड्यौँ । त्यसका लागि यन्त्र नै चाहिने भयो । अर्थात् हामी परनिर्भर बन्दै गएको देखियो । परिणामतः आजको ३० वर्ष, ४० वर्ष, ५० वर्षपछि सबै मान्छेहरू मेसिनमा भर पर्छन् । त्यतिबेला उनीहरूले आफ्नो बुद्धि खर्च गर्लान् कि नगर्लान् ?
सबै मान्छेहरू मेसिनमा नै भर परेपछि लेख्न थाल्लान् कि नथाल्लान् ? यसले जन्माउने प्रश्न हो– भोलिको मान्छे साक्षर हो कि निरक्षर हो ? के हुनुपर्ने हो ? हाम्रो परिभाषा बदल्ने पो हो कि ? त्यो मान्छेले लेख्नुपर्ने हो कि होइन ? पढनुपर्ने हो कि होइन ? अहिले नै हामीले फोन नम्बर सम्झिन छाड्यौँ । सम्झिनुपर्ने जरुरी पनि देखिएन । पढ्न छाड्यौँ । नेटमा हेरे हुने भयो । त्यसो भए कस्तो होला भोलिको शिक्षा ? कस्तो होला भोलिको शिक्षक ? भोलिको व्यवस्थापक ? भोलिको विद्यार्थी ?
लेखनको इतिहास नयाँ हो । पहिला हामी मौखिक थियौँ । पश्चिमाले त्यही भने । हामीले हो भनेर पत्यायौँ । हाम्रा पुर्खाले त वेद नै पश्यन्ति हो भनेका थिए । त्यो लेखिएको होइन, देखिएको हो भनेका थिए । देखेको भनेको अक्षर हो । सुनेको होइन ।
अक्षर देखेका थिए भन्ने हो भने हाम्रा मान्छेहरूले वेदको शब्दभन्दा पहिले अक्षर चिने । अक्षर त्यतिखेर पनि छ भन्ने मान्ने हो भने पहिले मौखिक अनि लिखित संस्कार आयो भन्ने कुरा सही हो र ? वा पहिले लिखित अनि मौखिक पो भएको हो कि ? यो कुरामा चुनौती गर्नुपर्ने परिस्थिति हाम्रो निम्ति आएको छ ।
यसको अर्थ हो, परनिर्भरताको पोजिसनमा हामी पुगिरहेका छौँ । आफैँमा निर्भर हुने कुरालाई छाड्दै गएका छौँ । अलिकति शहरीकरणले । अलिकति प्रविधिको प्रयोगले । अलिकति पश्चिमाहरूको दबदबाले । कतै यो विषयमा सोच्ने कि ?