लोकसंवाद संवाददाता | दृष्टिकोण | फागुन १७, २०७५
दोस्रो संविधानसभा निर्वाचनपछि ‘न्युज भित्ता’ अनलाइनले सञ्चालन गरेको १० उत्कृष्ट सभासद् चयनमा रविन्द्र अधिकारी उत्कृष्ट बनेका थिए । ‘न्युज भित्ता’ले अनलाइन भोटिङमार्फत् उत्कृष्ट चयन गरेको थियो ।
त्यतिबेला विश्वभरि छरिएर रहेका नेपालीले अनलाइनमार्फत् मतदान गरेका थिए ।
पहिलो संविधानसभामा देशभर एमाले पराजय भइरहँदा विजयी थोरै सभासद्मध्ये उनी कास्कीबाट विजयी भएका थिए ।
त्यतिबेला अनलाइन भोटिङको मत परिणाम प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की र वरिष्ठ पत्रकार तथा संचार अनुसन्धानकर्ता विनोद भट्टराई रहेको जुरीले सार्वजनिक गरेको हो । जुरीको साथमा साक्षीका रूपमा बरिष्ठ पत्रकार प्रतीक प्रधान रहेका थिए । उनलाई त्यतिबेला प्रदेशको भावी मुख्यमन्त्री हुँदै राष्ट्रको कार्यकारी प्रमुख भावी प्रधानमन्त्री हुने आँकलन गरिएको थियो । उनी विद्यार्थी राजनीतिबाट उदाएका हुनाले पछिल्लो पुस्तामा निकै लोकप्रिय नेता थिए । राजनीतिमा लागिरहेका युवा पुस्ताले उनलाई आदर्श नै मान्थे । धाराप्रवाह भाषण गर्ने उनको वाकपटुताको हरेकले सम्मान गर्थे । अध्ययनमा समेत अब्बल मानिएका नेता अधिकारीले राजनीतिक उद्देश्यप्राप्तिसँगै विकासमा स्पष्ट दृष्टिकोण राख्नसक्ने नेताको रूपमा आफूलाई उभ्याउन सकेका थिए । अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका थिए । एसियाली विद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघलगायत अन्तर्राष्ट्रिय युवा विद्यार्थी संगठनमा संलग्न भएर भूमिका निर्वाह गरेका अधिकारीले विभिन्न अन्तर्राष्ट्रिय सम्मलेनमा समेत भाग लिएका थिए ।
उनी कहिल्यै हारेनन्
राजनीतिमा संगठित हुँदा उनी १२ वर्षका थिए । २०३८ सालमा कक्षा ७ पढ्दै गर्दा अनेरास्ववियुका सबैभन्दा कान्छा सदस्य भएका थिए, सबैभन्दा धेरै भोट पाएर । उत्कृष्ट सभासद् चयनबेला पनि उनले धेरै भोट पाएका थिए । लोकप्रियताको मापन जनताकै मतले निर्धारण गर्छ, उनले जति चुनावमा भाग त्यति नै धेरै मत ल्याएर विजयी भए । शक्तिशाली विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष, त्रिवि कीर्तिपुरको स्ववियु सभापति, पृथ्वीनारायण क्याम्पस पोखराका स्ववियु सभापति । स्ववियु काउन्सिलको अध्यक्ष रविन्द्रले विद्यार्थी आन्दोलनको समयमा पाएका राजनीतिक सफलतका उच्च सिँढी हुन् ।
२०६४ पछिका तीनवटै चुनाव जित्ने एमालेका औंलामा गन्ने नेतामा पर्छन्, रविन्द्र अधिकारी । कास्की–२ बाट निर्वाचित अधिकारी पहिलोपटक मन्त्री बन्ने अवसर पाएका थिए । दोस्रो संविधानसभा अवधिभर संसद्को विकास समिति सभापति भएर उल्लेख्य काम गरेका अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा पाएका थिए ।
विद्यार्थी राजनीतिपछि उनी जिल्लाको राजनीतिमा केन्द्रित भए । एमाले (कास्की)को सदस्य, सचिव हुँदै अध्यक्षमा निर्वाचित भए । उनी कास्की क्षेत्र नम्बर ३ बाट संविधानसभाको दुई चुनावमा विजयी भए । विद्यार्थी राजनीति र संघर्षले भरिपूर्ण उनको रोमाञ्चक जीवनका रोचक प्रसंग अनेक छन् । त्यसअन्तर्गत ०४६ सालमा रामनाथ ढकाल जेलमा थिए, उनको अदालतमा बयान थियो, अदालतले फेरि जेल नै पठाउने फैसला गर्यो । बाहिर रामनाथलाई कुरेर बसेका रविन्द्रले जुक्ति लगाएर प्रहरीलाई गफमा भुलाएका थिए । प्रहरीलाई भुलाएर रविन्द्रको टोलीले रामनाथलाई भगायो । त्यसपछि प्रहरीले ढकाल र अधिकारी दुवैलाई पक्राउ गर्न सकेनन् । राजनीतिकै दौरानमा उनले अनेक राजनीतिक दस्तावेज तयार पारे, प्रतिवेदनहरू बनाए । अनेरास्ववियुकी चर्चित नेतृ सिन्धुपाल्चोककी विद्या भट्टराईसँग बिहे गरे । अहिले उनीहरूका दुई छोरा छन् ।
कालापानीमा मार्चपास
तत्कालीन एमालेको छैठाै महाधिवेशनमा महाकाली सन्धिलाई हेर्ने दृष्टिकोणमा पार्टीभित्र विवाद आउदा पार्टी नै विभाजन भयो । पार्टी विभाजन भएपछि योगेश भट्टराई रविन्द्र अधिकारीहरू विभाजित भएर बनेको नेकपा मालेतिर आवद्ध भए । भर्खर तत्कालीन नेकपा एमालेमा विभाजन भएर सिपी मैनाली, बामदेव गौतमहरूले नेकपा माले गठन गरेका थिए । विभाजित मालेसँग पनि क्रान्तिकारी कार्यकर्ताको ठूलो पंक्ति संगठित थियो । त्यही क्रममा उनी विद्यार्थी अध्यक्ष भए । उनी अध्यक्ष भएकै समयमा विद्यार्थी आन्दोलनलाई राष्ट्रियतासँग जोडेर हेर्नुपर्छ भनेर रत्नपार्कबाट कालपानीसम्म विद्यार्थीको ठूलो पंक्तिले मार्चपास गरेको थियो । ०५५ सालमा अखिलको अध्यक्ष अधिकारी भएपछि विद्यार्थी आन्दोलनलाई राष्ट्रियता, प्राविधिक शिक्षाको आन्दोलन जस्ता विषयसँग जोडियो, जसले अधिकारीलाई शीर्ष तहमा पुर्यायो ।
३३ प्रतिशतको आन्दोलन
देशभरबाट सडक र हवाई माध्यम हुँदै विद्यार्थीले राजधानी आउजाउ गर्नुपथ्र्याे । यो क्रम अहिले पनि रोकिएको छैन । कालापानी मार्चले उनलाई विद्यार्थी राजनीतिमा स्थापित गरेपछि उनलाई हरेक विद्यार्थीहरूले सम्झनयोग्य बनायो । तत्कालीन सरकारले मूल्यवृद्धि गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिए, जसको अगुवाई पनि रविन्द्र अधिकारी र तत्कालीन अनेरास्ववियुले गरेको थियो । मूल्यवृद्धिको विरोधमा देशभर प्रदर्शनमा रहेका विद्यार्थीले यातायातमा ५० प्रतिशत छुट दिनुपर्ने भन्दै आन्दोलन गरे । अन्ततः विद्यार्थी र सरकारबीच यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत छुट पाउने विद्यार्थी सहुलियत दिने व्यवस्था गरियो, जसको श्रेय अधिकारीलाई नै जान्छ । विद्यार्थीले यातायात लगायतका क्षेत्रमा पाउने सुविधा उनकै अगुवाइमा भएको थियो ।
पारस शाहविरुद्ध पाँच लाख हस्ताक्षर
कानुन र सर्वसाधारणभन्दा निकै माथि रहेका राजपरिवारका सदस्यले जे गल्ती गरे पनि छुट हुने व्यवस्थाका विरुद्ध रत्नपार्कबाटै आन्दोलनको उद्घोष गर्ने संगठनको अध्यक्षका रूपमा रविन्द्र अधिकारी अघि सरे । गायक प्रवीण गुरुङलाई पारसविक्रम शाह चढेको गाडीले ठक्कर दिएको थियो, जुन तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले लेखेको आत्मकथामा पनि पढ्न सकिन्छ । रवीन्द्र अधिकारीको नेतृत्वमा तत्कालीन शाहज्यादा पारस शाहविरुद्ध आन्दोलन भयो । अधिकारी नेतृत्वमा चलेको आन्दोलनले पारस शाहको ज्यादतीविरुद्ध विद्याथी एकजुट भए । उनकै नेतृत्वमा पाँच लाखभन्दा बढी जनताको हस्ताक्षर संकलन गरियो । सो हस्ताक्षर तत्कालीन राजा वीरेन्द्रलाई बुझाउन अधिकारी नेतृत्वमा विद्यार्थी दरवारमा पुगेका थिए । जसले विद्यार्थी आन्दोलनलाई निकै चर्चाको शिखरमा पुर्याएको थियो ।
विकासमा चासो
पोखरेली जनताको अपार मत पाएपछि दोस्रो संविधानसभाका सदस्यको रूपमा अधिकारी काठमाडौं आए । पार्टीले उनलाई विकास समितिको सभापतिका रूपमा पठायो । त्यसक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा उनको निकै ठूलो चासो थियो । उनले आफ्नो कार्यकालमा सो विमानस्थलवाट अन्तर्राष्ट्रिय उडान गराउन चाहन्थे ।
पोखराको क्षेत्रीय विमानस्थल निर्माणमा पनि उनको चासो थियो । अहिले यो विमानस्थल निर्माणको क्रममा छ । कालीगण्डकी करिडोर पनि उनले विकास समितिमा हुँदै निकै चासोका साथ अगाडि बढाउन सहजीकरण गरेका थिए । चीनसँग भैरहवा जोड्ने यो बाटो अहिले आशिंक सञ्चालनमा आइसकेको छ । नाकाबन्दीको समयमा कोराला नाका खोल्ने विषयमा उनी स्थलगत अध्ययनमै पुगे । कोराला नाकाले पोखराको आर्थिक र पर्यटन विकासका लागि कोसेढुंगा हुन सक्ने कुरामा उनी बढि नै आशावादी थिए । लामो समयदेखि काम अघि बढ्न नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अगाडि बढाउन उनले प्रमुख भूमिका खेले । अहिले पर्यटन मन्त्री भएपछि पोखराको पर्यटन विकास, ग्रामीण बाटो, फेवा बेगनास, रूपा लगायत तालतलैयाको संरक्षण, सरसफाइ, पोखरा फराकिलो बनाउने, पुलहरू निर्माण गर्ने, पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पसलगायत विभिन्न विद्यालयको निर्माण, पोखराको खानेपानी, क्लबहरू, खेलकूदको क्षेत्रमा पनि उल्लेख्य भूमिका खेल्नुभएको थियो । पोखरालाई विश्वकै उत्कृष्ट सहर बनाउने सपना बोक्नुभएका अधिकारी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल, चक्रपथ, काठमाडौं पोखरा लुम्बिनी फास्ट ट्रयाक, काठमाडौं पोखरा रेल वे, मध्यपहाडी राजमार्ग जस्ता पूर्वाधार निर्माणको दबाब सृजना गर्ने काम गर्न महत्वपूर्ण भूमिका छ ।