बाबुको किरिया गर्दै पन्ध्र वर्षीय किशोरी

बाबुको किरिया गर्दै पन्ध्र वर्षीय किशोरी

लोकसंवाद संवाददाता  |  समाज  |  फागुन १७, २०७५

चितवन । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । 

उहाँका बाबु लक्ष्मण देवकोटाको फागुन ९ गते ३९ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको थियो । गोरखाको पालुङटार घर भई शिक्षक पेशामा आवद्ध बाबु लक्ष्मणको निधन भएपछि ठूली छोरी आर्मिन्ता किरियामा बस्नुभएको हो । कान्छी छोरी ९ वर्षकी हुनुहुन्छ । 

संगिता बाबुले आफूलाई अनेक दुःख, समस्या भोगेर पनि स्याहार गरेकोप्रति कृतज्ञता जनाउन पनि किरिया बसेको बताउनुहुन्छ । बुबाले आफू नमर्दै तिमी मेरो छोरा हो, म मरे भने पनि तिमी किरिया बस्नु भन्ने गरेको उहाँले बताउनुभयो । 

आर्मिन्ताले हिन्दू संस्कारअनुसारका सबै कर्म गरेर बाबुको किरिया गरिरहेको मृतकका काका मानबहादुर देवकोटाले जानकारी दिनुभयो । छोराछोरी बराबर ठानेर छोरीकै चाहनाबमोजिम किरिया गरेको उहाँले बताउनुभयो । पुरुषप्रधान समाजमा महिला सशक्तीकरणका लागि सन्देश दिने उद्देश्यले छोरीले गर्ने किरियालाई महत्व दिएको मानबहादुरको भनाइ छ । 

१५ वर्षीया किशोरीले बाबुको किरिया गरेपछि स्थानीयवासीले पनि आर्मिन्ताको साहसको प्रशंसा गरेका छन् । उनीहरुले आर्मिन्ताको अभियानले महिला पनि पुरुषसरह जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सक्छन् भन्ने उदाहरण पेस गरेको बताएको खबर राससमा छ ।