प्रा.डा. विद्यानाथ कोइराला | दृष्टिकोण | फागुन ११, २०७६
नीति भनेको भोलिका निम्ति सोच्ने कुरा हो, आजलाई मात्र होइन । त्यसैले शिक्षा नीतिमा सोच्नै पर्ने कुरा हो– हाम्रो माटोको शिक्षा के हो ? हामीसँग त अचम्मको माटोको शिक्षा छ । हामीले सर्प देख्यौँ भने नमार भन्छौँ । खजुरो देख्यौँ भने मार–मार भन्छौ । किन भन्यौँ होला ? त्यो माटोको शिक्षा हो ।
सर्पले प्वाल पारेर पानीको निकास बनाइदिने रहेछ । प्रकृतिक रूपमा निस्किएको बिषाक्त वस्तु पिइदिएर स्वस्थ्य बनाउन सक्ने तागत रहेछ । बिच्छीले चाहिँ मान्छेलाई डसेर मार्न सक्ने संभावना रहेछ । सर्पले पनि मार्छ तर त्यसको गुन धेरै रहेछ ।
बिच्छीको गुन कम रहेछ । त्यही भएर हामीले बिच्छी वा खजुरो देख्यौँ भने मारिदिने रहेछौँ । खुम्ले कीरा देख्यौँ भने ठीकै छ, केही गर्दैन भन्दा रहेछौँ । किनभने खुम्ले भनेको मलमा हुन्छ । त्यसले मललाई खुकुलो बनाइदिन्छ । त्यसैले नमार भन्दा रहेछौँ । मकैको जरा खाएमा चाहिँ मार्दा रहेछौँ । त्यस्तै, गँडयौलालाई देख्यौँ भने नमार भन्ने रहेछौँ । त्यो हाम्रो माटोको शिक्षा हो ।
अनिवार्य रूपमा हाम्रो शिक्षा नीतिमा यसको खोजी हुनुपर्छ । त्यस्तै, रातो माटोको शिक्षा र सेतो माटोको शिक्षामा पनि फरक हुन्छ । रातो माटोमा मान्छेले बदाम लगायो । फुस्रो माटोमा मान्छेले कोदो लगायो । त्यो त कति वर्षदेखि अजमाएको ज्ञान हो । यसलाई जनताको शिक्षा भने पनि हुन्छ । कृषिमा भएको शिक्षा । वनमा भएको शिक्षा । स्वास्थ्यमा भएको शिक्षा । खानेपानीमा भएको शिक्षा ।
दोस्रो, विदेशीले दिने शिक्षा र हामीले दिन खोजेको शिक्षामा कहाँनेर मिल्ने रहेछ, कहाँ नेर फरक हुँदो रहेछ ? त्यसको खोजी हो । किनभने हामीले एउटा शिक्षा पायौँ भने अर्को शिक्षासँग जोड्नै सक्दैनौँ । जस्तोः केटाकटीलाई हात धोएर खानुपर्छ भनेर सिकाइयो तर टेवलमा जाँदा उसले चम्चा समात्यो । हातसँग त नातै भएन खानाको । अर्थात् चम्चाले खाँदाखेरि हात धुनुपर्ने हो कि ? हातले खाँदा मात्र हात धुनुपर्ने हो ? त्यसो हो भनेदेखि केटाकेटीलाई सिकाउनुपर्ने के हो ?
यदि तिमीसँग चम्चा छ भने हात नधोए पनि केही फरक परेन । चम्चा छैन भने हात धोऊ भनेर भन्ने हो कि कसरी भन्ने हो ? त्यो कुरामा पनि ध्यान राख्नुपर्छ । अर्थात् विद्यार्थीलाई विरोधाभाषमा पनि जिउने ज्ञान दिनु जरुरी हुन्छ । यो कुरा पनि नीतिमा छुट्नै नहुने विषय हो ।
ती ज्ञानहरू अद्यावधिक गर्ने को हो ? शिक्षकलाई अद्यावधिक गर्ने को होला ? कृषकलाई अद्यावधिक गर्ने को होला ? पैसा लिएर हिँड्ने भनेको त मेरै पुस्ता भयो । अबका पुस्ताले त पैसा पनि लिएर हिँड्दैनन् । विना पैसा कसरी हिँडेको भनेर भन्ने हो भने एउटा कार्ड छ भन्ने परिस्थिति आइसक्यो । त्यो कार्डका बारेमा अहिलेका केटाकटीहरूले त थाहा पाउनुपर्यो । यो भनेको आजीवन शिक्षा दिने को हो ? त्यो कुरा नीतिमा छुटाउनुहुँदैन ।
तेस्रो भनेका बालविकासका चिन्तनहरू हुन् । एउटा ठाउँमा भएका चिन्तनहरू अर्को ठाउँमा मिल्दैनन् । एउटा जातको तरिका अर्को जातसँग मिल्दैन । त्यो नमिल्नुका पछाडि केही तर्कहरू पनि हुन सक्छन् । केही सत्यहरू पनि हुन सक्छन् ।
जस्तोः मगरका केटाकेटीहरूलाई रक्सी तताएर खुवाइदिने चलन छ । मगर आमाहरूलाई सुत्केरी हुनेवित्तिकै एक माना तोरीको तेल खुवाउने चलन छ । महिला सुत्केरी हुँदा उनको रगत जान्छ । अर्थात् रगतबाट कोलेस्ट्रोलको मात्रा बाहिर जाने रहेछ । त्यो मात्रा पूरा गर्नका निम्ति तेल खुवाउने चलन रहेछ ।
तर, बाहुन–क्षेत्रीकामा तेल होइन, घीउ खान दिने चलन छ । घीउमा पनि कोलेस्ट्रोल छ तर घीउको कोलेस्ट्रोल ठीक कि तेलको कोलेस्ट्रोल ठीक ? भन्यो भने डाक्टरले सजिलो गरी पच्नलाई तेल र गाह्रो गरी पच्नलाई घीउ खाऊ भन्ने गर्छन् ।
घीउ ३८ डिग्री सेल्सियसको तातोमा शरीरमा मिल्छ । हाम्रो शरीरले उत्पादन गर्ने सामान्य ताप त्यही हो । तेल वा डाल्डाले चाहिँ ४०–४२ डिग्री सेल्सियसको तापक्रम खोजेको हुन्छ । यस्ता कुराहरू पनि नीतिगत बुँदामा राख्नुपर्छ ।
बच्चालाई मसाज गर्ने हाम्रो चलन हो । पश्चिमाहरू मसाज गरिदिनुहुँदैन भन्ने चिन्तन बोक्छन् । तेल पनि दलेर लगाउने कि नदलेर ? यी र यस्ता कुराहरूको खोजी गर्ने कुरा पनि नीतिमा राखिनुपर्छ । अर्थात् हाम्रा अभ्यासहरूलाई खोजी गर्ने र त्यसलाई आधुनिकीकरण गर्ने भन्ने कुरा पनि नीतिमा छुट्नुहुँदैन । त्यसो भएपछि तिनलाई घरमा पढाउने कि समुदायमा ल्याउने कि स्कुलमा ल्याउने कि कहाँ ल्याउँदा पढाइ हुने रहेछ भनी यकिन गर्न सकिन्छ ।
घरमा दाजुभाइ, दिदीबहिनीहरूले भाइबहिनी हेर्छन् । आमाबुबाहरूले हेर्छन् । भाउजूहरूले हेर्छन् । हजुरआमा तथा हजुरबाहरूले हेर्छन् । उनीहरूलाई तालिम दिने हो कि ? आया राखेर छुट्टै बालबालिका हेर्ने बनाउने हो ? यस्ता कुराले समाज डोहोरिन्छ । यो कुरा पनि नीतिमा हुनुपर्छ ।
अर्को साक्षरताको पाटो हो । जनतालाई साक्षर बनाउने काम कसको हो ? साक्षर नभए के हुन्छ भन्नेबारेमा उनीहरूलाई भन्ने को हो ? अर्थात् अहिले साक्षर बनेन भने मिति नाघेको चाउचाउ खानुपर्ने हुन्छ । मिति नाघेको नुन खानुपर्ने हुन्छ । त्यस्तो खानाले के असर गर्ला भनिदिने को हो ? जसरी हुन्छ, अक्षर पढ्नुपर्यो भनिदिने को हो ? यस्ता कुराहरू नीतिमा छाड्नुभएन । त्यो साक्षर भइसक्यो, त्यसलाई निरन्तर शिक्षा चाहिएला ।
नयाँनयाँ ज्ञानहरू आइसके । ती ज्ञानहरू अद्यावधिक गर्ने को हो ? शिक्षकलाई अद्यावधिक गर्ने को होला ? कृषकलाई अद्यावधिक गर्ने को होला ? पैसा लिएर हिँड्ने भनेको त मेरै पुस्ता भयो । अबका पुस्ताले त पैसा पनि लिएर हिँड्दैनन् । विना पैसा कसरी हिँडेको भनेर भन्ने हो भने एउटा कार्ड छ भन्ने परिस्थिति आइसक्यो । त्यो कार्डका बारेमा अहिलेका केटाकटीहरूले त थाहा पाउनुपर्यो । यो भनेको आजीवन शिक्षा दिने को हो ? त्यो कुरा नीतिमा छुटाउनुहुँदैन ।
नीतिमा छुटाउनै नहुने कुरा हो– आधारभूत शिक्षा । कम्तीमा केटाकेटीहरूले अनिवार्य रूपमा स्कुल आउनुपर्छ । आउन सकेनन् भने घरमा पनि स्कुल जानुपर्छ । नभए टोलमा जानुपर्छ । नभए खुला मोड र बन्द मोड दुवै एकसाथ चल्नुपर्छ । यो काम पालिकाहरूले गर्नुपर्छ भन्ने कुरा नीतिमा हुनै पर्छ ।
सीप शिक्षा अर्को कुरा हो । स्कुल छाडेर बस्ने केटाकेटीहरूलाई वा स्कुल जान नसक्ने केटाकेटीहरूलाई गरेर खाने सीपहरू के होलान् ? त्यो सीप घरमा सिकाउने कि ? काममा सिप सिकाउने कि ? भाइवरमा सिप सिकाउने कि ? सीपमा जानेको कुरा व्यवहारसँग जोडिन्छ कि जोडिँदैन ? त्यो कुरा पनि नीतिमा हुनुपर्छ ।
आरन चलाउने केटाकेटीले आगोमा फलाम राख्दा तात्छ भन्ने कुरा थाहा पाउँछन् । उनीहरूले सुचालक र कुचालक शब्द मात्र जाने पुग्छ । अणु एक ठाउँबाट अर्को ठाउँमा सर्छ भन्ने कुरा मात्र जाने पुग्छ । तातो कति डिग्री भयो भनेर मात्रै जाने पुग्छ । तातोमा पानी हाल्यो भने झ्वाइँय किन गर्छ ? भन्ने किसिमको विज्ञानको कुरा थाहा पाए पुग्छ । त्यो झ्वाइँय गर्दा फोका किन उठ्छ भनेर थाहा पाए हुन्छ ।
यस्ता सामग्री निर्माण गर्ने कुराहरू नीतिमा हुनुपर्छ । त्यसो भएपछि केटाकेटीहरूले पढाइ तथा गरिखाने सीप जोड्न सक्छन् । त्यसैले यो कुरा नीतिमा हुनुपर्छ ।
क्याम्पस र विद्यालय तहको संयोजन कसरी गर्ने हो ? यो कुरा पनि नीतिमा हुनुपर्छ । उदाहरणका लागि, पालिकामा व्यावस्थापनको क्याम्पस छ । शिक्षाशास्त्रको क्याम्पस छ । मानविकीको क्याम्पस छ । ती क्याम्पसहरूले त्यहाँका स्कुलका शिक्षकहरूलाई व्यावस्थापकीय सीप सिकाउनुपर्छ ।
प्राध्यापकहरूले स्कुलका शिक्षकहरूलाई व्यावस्थापककीय ज्ञान सिकाए हुन्छ । कक्षाको मनिटरलाई सिकाए हुन्छ । यसो गर्नाले कलेज भनेको छुट्टै होइन रहेछ, यो त हाम्रो स्कुलसँग टाँसिएको रहेछ भन्ने जानकारी हुन्छ । कलेजले स्कुललाई जोड्न पाइन्छ । त्यस्ता किसिमका कुरा पनि नीतिमा छाड्नुहुँदैन ।
कतिपय पालिकामा विश्वविद्यालय छन् । ती पालिकाहरूले छाड्नै नहुने कुरा हो, विश्वविद्यालयलाई कसरी उपयोग गर्ने ? अर्थात् विश्वविद्यालयका विद्यार्थीहरूलाई समुदायसँग जोड्ने तरिका के हो ? समुदायका मान्छेहरूलाई विश्वविद्यालयको ज्ञानसँग जोड्ने तरिका के हो ? यस्तो यो दोहोरो तरिकालाई नीतिमा राख्नुपर्छ ।
शिक्षकको व्यवस्थापन तथा अनुगमन अर्को पाटो हो किनभने मूलतः जेजे भने पनि पढाउने शिक्षकले नै हो । त्यस्तो शिक्षकलाई पढाउने तरिका के हो ? त्यो शिक्षकले बदमासी गर्यो भने नियन्त्रण गर्ने तरिका के हो ? अनुगमन गर्ने तरिका के हो ? उसलाई सघाउने तरिका के हो ? आधुनिक प्रविधिसँग उसलाई जानकार बनाउने तरिका के हो ? प्रविधिमार्फत् पढ्ने, पढाउने तरिका के हो ? यस्ता किसिमका कुराहरू नीतिमा छाड्नुहुँदैन ।
निजी लगानीका विद्यालय तथा कलेजका बारेमा पनि नीतिगत कुराहरू बोलिनुपर्छ । निजी विद्यालय वा कलेज राख्ने कि नराख्ने ? जहाँ पढे पनि शैक्षिक क्षमता समान हुने डिजाइन बनाउने कि नबनाउने ? विशेष मान्छे बनाउने शिक्षालय राख्ने कि नराख्ने ? त्यस्ता किसिमका कुरा पनि नीतिमा छुटनुहुँदैन । प्रतिभा खोजी र तिनको थप शिक्षा पनि नीतिमा हुनै पर्छ । हाम्रा विद्यार्थीलाई झमककुमारीको भाषा सिक्ने कला सिकाउनुपर्छ । बमजनको कला सिकाउनुपर्छ । यस्ता कुराहरू पनि नीतिमा छुटनुहुँदैन ।
हिजो हाम्रा शिक्षकहरूले ‘बत्तीमुनि अँध्यारो’ भनेर पढाए । आजको विद्यार्थीले बत्तीमुनि उज्यालो देख्छन् । हिजोको सप्रसंग व्याख्या गर्दा त त्यो कुरा ठीक रहेछ । आजको निम्ति त उल्टो फर्काउनुपर्ने भयो । त्यस्ता किसिमका कुरा पनि नीतिमा राख्नुपर्छ ।
सुशाशन अर्को पाटो हो । कोप्रति को जिम्मेवार हुने ? कसले कसलाई कसरी सघाउने भन्ने किसिमको कुरा पनि नीतिमा छुट्नुहुँदैन ।