तीर्थ प्रसाईं | दृष्टिकोण | फागुन १२, २०७६
मानौँ कि तपाईं हामी नेपाली नबोलेर चिनियाँ वा अंग्रेजी भाषा बोल्थ्यौँ । अब सोचौँ, के हामीले नेपालीबाहेक अर्को भाषा बोलेको भए हाम्रो गाउँ ठाउँ, हाम्रो वरिपरिका भौतिक संरचना उस्तै रहन्थे ?
अर्थात् हामीले बोल्ने भाषाले हाम्रो वरिपरिका भौतिक वातावरणमा कस्तो प्रभाव पार्छ ?
प्रश्न एकदमै सामान्य छ र त्यसको उत्तर पनि सामान्य नै छ ।
यदि भाषा हेरफेर हुने हो भने हाम्रो वरिपरिको भौतिक वातावरण, रङरूप, नाप नक्सा सबै फरक पर्ने थियो ।
कसरी?
कसरी भन्नुहुन्छ भने भाषा संस्कृतिको अङ्ग हो, यसले विभिन्न वस्तुलाई उक्त संस्कृतिले कति महत्त्व दिन्छ, त्यसअनुसार महत्त्व दिएको हुन्छ । सबै संस्कृतिले एकै वस्तुलाई समान महत्त्व दिएका हुँदैनन् । सामान्य उदाहरणका लागि हाम्रो विश्वविद्यालयको केन्द्रतिर शिरीसका रूख रोपिएका छन्, शिरीसमा वर्षको एक पटक फूल फुल्छ, त्योभन्दा ठूलो त्यसको प्रयोजन छैन । पात उस्तो बाक्लो र गतिलो नहुने कारण त्यसले छाया पनि दिँदैन ।
हामी फूल केन्द्रित देखियौँ, कुनै बिरूवामा राम्रो फूल फुलिदिए हामीलाई पुग्ने देखियो । तर, अन्य संस्कृतिमा विश्वविद्यालयको केन्द्रमा छायादार रूख रोप्ने चलन रहेछ । तिनीहरू फूल केन्द्रित नभएर शीतलता केन्द्रित, छाया केन्द्रित रहेछन् ।
हामीले बोल्ने भाषाले हामी के केन्द्रित छौँ भन्ने कुरालाई देखाउँछ, त्यसको जोडफल संस्कृति हो वा संस्कृतिअनुसार हाम्रो भाषाले वस्तुमा दिने प्राथमिकता फरक पर्छ ।
यही मान्यतामा आधारित भएर भाषालाई नियन्त्रण गरेर तानाशाहहरू जन्मन्छन् । तानाशाही राज्यमा निश्चित शब्दहरू नियन्त्रण गरिएका हुन्छन् । यो मान्यतामा आधारित भएर लेखक जर्ज अर्वेलले 1984 नामक उपन्यास नै लेखेका छन् । भाषामाथिको नियन्त्रण र नियमन बेगर तानाशाहीतन्त्र टिक्दैन वा कुनै व्यवस्थाअनुकूलको सही शब्दावलीको प्रचारबेगर त्यो व्यवस्था आउँदैन, टिक्दैन ।
यसर्थ हामीले बोल्ने भाषाले गर्दा हाम्रो वरपरको भौतिक वातावरण फरक पर्छ, हामी त्यो भौतिक वातावरणअनुसारको भाषा बोल्छौँ, यो एकपक्षीय नभएर दोहोरो कुरा हो ।
जग हँसाउने काम नेपालको राजनीतिक वृत्तले लामो समयदेखि गर्दै आएको छ, त्यसैले जनतामा थेत्तरो हुनु र नियम तोड्नु बडो सामान्य र सही हो भन्ने बुझाइको विकास भइरहेको छ । यसले समाजलाई अगाडि लैजानुको साटो झनझन् पछाडि धकेल्दै लैजाने निश्चित छ ।
केही समययता नेपाली राजनीतिमा बेला बखत भाषिक छनोटका विवाद बाक्लै आएका देखिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विवाद गरिरहेका आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयअघि नै अश्लील शब्दमा थर्काएको समाचार धेरै पुरानो होइन । त्यस सँगसँगै क्रमिक रूपमा आएका अरू समाचारमा नेकपाले आफ्ना नेता, कार्यकर्तालाई सभ्य र सुसंस्कृत देखाउने आशयका साथ आफ्नै छोराछोरीलाई पनि तँ नभन्नू भन्ने किसिमको निर्देशन दिएको कुरा चर्चित भयो ।
अझ त्यसपछि निवर्तमान सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भयो, जसमा उनले कर्मचारीलाई लक्षित गरेर अश्लील शब्द बोलेको सुनियो । अझ त्यसअघि गीतमा अश्लील शब्द प्रयोग गरेका कारण एक गायकलाई पक्राउसम्म गरिएको देखिएको थियो ।
फ्रायडीय मनोविज्ञानका अनुसार मान्छेको दिमागले समाजमा बोल्न नमिल्ने शब्द आफ्नो अवचेतन दिमागमा लुकाएर राखेको हुन्छ, त्यो बाहिर निस्कन खोजिरहेको हुन्छ, उपयुक्त अवस्था पाउने साथ त्यो बाहिरिन्छ । त्यसरी गुम्सिएर रहेको कुरा बाहिर निस्कँदा बोल्नेलाई आनन्द हुन्छ । मनमा गुम्सेका कुरा बाहिर ल्याए मनलाई आनन्द हुने भएकाले त्यस्ता शब्द बोल्नुलाई मनपरी बोल्नु पनि भनिन्छ ।
एकातिर आफ्ना नेता तथा कार्यकर्तालाई तँसम्म नभन्नू भन्ने, अश्लील शब्द प्रयोग गरेको वहानामा गायकलाई पक्राउ गर्ने अनि अर्कोतिर आफैँ त्यस्ता अश्लील शब्दप्रति पकड जमाएर हप्काउने पाराले प्रस्तुत भइरहने कार्य आफैँमा हैकमवादी र गोठाले शैलीको देखिन्छ । महात्मा गान्धीले आफैँले चकलेट खान छाडेर मात्र सानो बच्चालाई चकलेट नखानू भनेर सम्झाउनुपरेको किस्सा हेर्दा भाषिक प्रयोगको सभ्यता जनता वा कार्यकर्ताभन्दा नेताहरूले पहिले सिक्नुपर्ने देखिन्छ ।
जनता वा कार्यकर्तामाझ आफैँ अश्लील शब्द बोल्ने गोठाले नेताहरूले यस्तो गर उस्तो गर भनेर निर्देशन दिएको कति सुहाउँदैन । नेता भनेका जनताका अघि लाठी बोकेर बसेका गोठाला होइनन् । उपयुक्त नीति बनाएर जनतालाई अनुशासनमा राख्ने कार्य फरक हो । मैले आफैँले छाडा बोलेर कसैलाई थर्काएर काम लगाउँछु भन्नु कुनै हिसाबले पनि जायज होइन । आफैँमा नैतिकता नभएकाहरूले आफूलाई नैतिकताको पाठ पढाउँदा, आफैँ अश्लील शब्दको घडा भएर अश्लील भाषा नबोल भन्दा आमजनताले चित्त मात्र दुखाउने होइन, त्यो हाँस्छ पनि, यसलाई जगहँसाइ भनिन्छ ।
जग हँसाउने काम नेपालको राजनीतिक वृत्तले लामो समयदेखि गर्दै आएको छ, त्यसैले जनतामा थेत्तरो हुनु र नियम तोड्नु बडो सामान्य र सही हो भन्ने बुझाइको विकास भइरहेको छ । यसले समाजलाई अगाडि लैजानुको साटो झनझन् पछाडि धकेल्दै लैजाने निश्चित छ ।
कुनै पनि सभ्य राजनीतिक संस्कार भएको मुलुकमा आमजनताले गोठाले शैलीमा हप्की खाने कल्पना गर्दैन । वास्तवमा आमजनता सही नीतिबाट निर्देशित भएर आफ्ना गाँस, वास र कपासका लागि स्वतन्त्र काम गर्न चाहन्छ । त्यसमा राज्य अभिभावक बनोस् वा सहयोगी भूमिकामा रहोस् भन्ने नै आमजनताको चाहना हुन्छ । तर, नेपाली राजनीति त्यस्तो छैन । यो विकृत बनेको छ । सरकारमा जानासाथ हरेक नेताले आफूलाई राजा, महाराजा भएको परिकल्पना गर्न थाल्छ भन्ने बारबार देखिएको छ ।
जनता जनउत्तरदायी राजनीति चाहन्छ, राज्यको अभिभावकीय भूमिका चाहन्छ तर वर्तमान नेताहरू तथा राजनीति आश्रितहरूको रवैया हेर्दा जनउत्तरदायी राजनीति तत्काललाई संभव छैन । यो संभव हुन नेताहरूले गोठाले राजनीतिको कखरा छिचोल्नु र त्यसबाट पाठ सिक्दै अघि बढ्नु आवश्यक छ ।
व्यक्तिले बोल्ने भाषाले उसको वरिपरिको भौतिक वातावरणलाई देखाउँछ र समग्रमा त्यसले उसको संस्कृति र संस्कारलाई बिम्बित गर्छ । राजनीतिक वृत्तमा रहेका मान्छेहरूको भाषा प्रयोगलाई हेर्दा हाम्रो राजनीतिक संस्कृति अति साना कुरामा, व्यक्तिगत तहमा, नेताको अहम् तुष्टिमा मात्र केन्द्रित छ भन्ने देखिन्छ । व्यक्तिबाट उठेर देशका लागि, आममान्छेका लागि सोच्नु तत्कालका लागि संभवव देखिँदैन ।
संसदीय राजनीतिको अभ्यास हुन थालेको यति लामो समयसम्म पनि राजनीति निम्न र व्यक्तिगत स्तरमा रहनु र राजनीतिक नेताहरूले जनउत्तरदायी राजनीति नसिक्नुले जनतालाई आशाभन्दा निराशा बढी दिएको छ ।