यमबहादुर दुरा | लोकरञ्जन | फागुन १७, २०७५
गीत–सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा धेरै व्यक्ति ‘सेलिब्रिटी’ बन्छन् । सार्वजनिक जीवनमा छाउँछन्, चर्चा बटुल्छन् । त्यस्ता ‘सेलिब्रिटी’को नाम घरघरमा उच्चारण गरिन्छन् । अंग्रेजी लवजमा भन्दा उनीहरू ‘हाउसहोल्ड नेम’ बन्न पुग्छन् । तर, त्यही गीत–सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा यस्ता गुमनाम व्यक्ति पनि हुन्छन्, जसको भूमिका ठूलो भएर पनि चर्चा हुँदैन ।
सङ्गीत संयोजक एउटा यस्तै प्राणी हुन्, जसले गीतको मुड सुहाउँदो सङ्गीत संयोजन गर्ने र उपयुक्त ‘म्युजिक पिस’हरूलाई जोडेर गीतलाई सिंगारपटार गर्छन् । र, गीतलाई सङ्गीतको मिठास थपेर श्रुतिमधुर बनाउँछ । यति मात्र होइन, उसले गायक–गायिकालाई मार्गनिर्देश गरेर गीतमा मधुरभाव थप्न सहयोग गर्छ । तर, ऊ सधैंभरि छायामा पर्छ । संक्षेपमा भन्ने हो भने सङ्गीत संयोजकको भूमिका नम्बरीलाई सुनलाई पिटेर आकर्षक गहना बनाउने व्यक्तिको जस्तै हुन्छ ।
यति भएर पनि सङ्गीत संयोजक (म्युजिक अरेञ्जर)हरू गुमनाम जिन्दगी बिताउँछन् । उनीहरू ‘बत्तीमुनिको अँध्यारो’ बन्न पुग्छन् । गीत–सङ्गीतको चमकधमकपूर्ण दुनियाँमा रहेर पनि यस्तै भोगिरहेका व्यक्तिहरूमा जुजु गुरुङको नाम पनि पर्छ । चर्चा पाउनु वा नपाउनु अलग कुरा हो । तर, नेपालका चर्चित सङ्गीत संयोजकहरूमा उनको नाम पनि आउँछ ।
बुबा कुलबहादुर गुरुङ (वि.सं. १९८५–२०५५) सङ्गीतप्रेमी थिए । उनी घरमा जोरमादल राख्थे । बाजागाजा र नाचगानमा मन दिन्थे । चुनीमाया, यानीमाया भाका गीत गाउँथे । सोेरठी र कृष्णचरित्रको गीत पनि गाउँथे । दोस्रो विश्वयुद्ध लडेका कुलबहादुर गुरुङ गाउँका जिम्मुवाल पनि थिए । गाउँहरूले उनको घरमा नाचगान र रामरमिताका लागि भेला हुन्थे ।
यसप्रकारको साङ्गीतिक माहोललाई सूक्ष्म किसिमबाट नियालिरहेका जुजुको सङ्गीतप्रतिको रुझान बढ्दै गयो । बुबा पदचाप पछ्याउँदै अघि बढेका जुजुले वाद्ययन्त्रहरू बजाउन सिक्दै गए । थाहै नपाई उनका औंलाहरू वाद्ययन्त्रहरूमा अभ्यस्त भइसकेका थिए । सानै छँदा हरप्रकारका वाद्ययन्त्र बजाएर उनले चमत्कार देखाइसकेका थिए ।
आमासँग सुतिरहेको जुजुलाई ओछ्यानबाटै तानेर दिदीहरूले लैजान्थे र मादल बजाउन लगाउँथे । किशोरवयमा प्रवेश गर्दा नगर्दै उनी स्थानीय साङ्गीतिक कार्यक्रमहरूको हिस्सा बनिसकेका थिए । त्यहाँको साङ्गीतिक माहोललाई रौनकपूर्ण बनाउन उनको उपस्थिति अपरिहार्य मानिन्थ्यो । उनी सानै उमेरमा बाच्छेबाजा (माउथ हार्मोनियम), हार्मोनियम, मादल, खैंजडी आदि बजाएर दुनियाँको मन भुलाउन खप्पिस भइसकेका थिए । कक्षा ९ मा पुग्दा उनी सारङ्गी बजाउन पनि पारङ्गत भइसकेका थिए । विद्यालयमा हुने साङ्गीतिक कार्यक्रममा उनले पुरस्कार थापिरहन्थे ।
२०४६ सालमा एसएलसी पास गरेका उनी एक वर्ष गाउँतिरै अल्मलिए । त्यो एक वर्ष गाउँको प्राथमिक विद्यालयमा ज्ञान बाँडेर बिताए । त्यसबेला पनि उनको साङ्गीतिक गतिविधि जारी नै रह्यो । शिक्षण–कर्मको छोटो अनुभव सँगालेपछि उच्च शिक्षा अध्ययनका लागि आफ्नो घर लमजुङको भोटेओडार छाडेर राजधानीतर्फ पाइला लम्काए ।
राजधानी छिरेपछि उनले आफ्नो स्वभाव र रुचि अनुसारको संगत मिल्दै गयो । यस्तैमा एउटा सांस्कृतिक टोलीसँग उनको सम्पर्क बढ्यो । त्यो टोली मयुर नाच, चौंरी नृत्य, शेर्पा नित्यजस्ता परम्परागत नृत्य प्रस्तुत गर्दै हिँड्थ्यो । उनी त्यही टोलीमा सामेल भए । उनी वाद्यवादनमा संलग्न हुन्थे । त्यस सांस्कृतिक टोलीसँगको उठबसले उनमा अन्तरनिहित प्रतिभा माझिँदै गयो । देश र दुनियाँलाई हेर्ने साङ्गीतिक नजर फराकिलो हुँदै गयो ।
उनको साङ्गीतिक नाता–सम्बन्धको जालो विस्तार हुँदै गयो ।
२०४८ सालतिर उनलाई एक साथीले रोचक कुरा सुनाए । त्यो साथीले उनलाई एउटा यस्तो ठाउँबारे बताए, जहाँ हरप्रकारका बाजा उपलब्ध थिए । जुजुलाई त्यस ठाउँमा पुगौं–पुगौं लाग्यो । र, साथीको पछि लागेर उनी त्यहाँ पुगे ।
हुन पनि साथीले जुन कुरा भनेका थिए, त्यही कुरा दुरुस्त पाए । त्यहाँ उनले जीवनमा छुन नपाएका र देख्न नपाएका हरप्रकारका बाजा थिए । उनले ती बाजालाई सूक्ष्म किसिमले अवलोकन गरे ।
त्यहाँ लिएर जाने साथीले त्यहाँको साङ्गीतिक दस्तासँग उनको परिचय गराइदियो । सँगै जाने साथीले नवआगन्तुक रूपमा पुगेका जुजुले हरप्रकारका बाजा बजाउन सक्छ भन्ने पनि बताइदियो । उनीहरूले केही बाजा बजाउन लगाए । उनले सारङ्गी लगायतका केही बाजा बजाएर आफ्नो प्रतिभाको परिचय दिए । उनको कलाकौशल देखेर साङ्गीतिक दस्ताको नेतृत्व पंक्ति प्रभावित भयो र आउँदै गर्न आग्रह गरे ।
त्यसपछि त्यस साङ्गीतिक दस्तासँग उनको आउजाउ बढ्यो । तिनीहरूले उनलाई माया मान्न थाले । तिनले पकेट खर्च दिन थाले, गाह्रोसाह्रोमा सघाउन थाले । विद्यार्थी जीवनमा यसप्रकारको सहयोगी हात पाउनु उनको लागि ठूलो कुरा थियो । वास्तवमा त्यो साङ्गीतिक दस्ता कुनै राजनीतिक दलको सांस्कृतिक विभाग थियो । त्यस साङ्गीतिक दस्ताको सम्पर्क र समन्वयमा काम गर्दा उनले ध्रुव ज्ञवाली र धनकाजी गुरुङबाट सङ्गीतबारे धेरै ज्ञान पाए ।
उनको जीवनका सम्बन्धहरू फेरिँदै गए । त्यो साङ्गीतिक दस्तासँगको जम्काभेट जुजुका लागि जीवनको एउटा मोडमात्र थियो । उनी साङ्गीतिक प्राणी थिए, राजनीतिक प्राणी थिएनन् । राजनीतिसँग कुनै लेनादेना थिएन । उनको साङ्गीतिक यात्रा निरन्तर अघि बढिरह्यो ।
साङ्गीतिक कार्यक्रमहरूमा हिँड्दा २०५४ सालमा गायक तथा सङ्गीतकार नारायण रायमाझीसँग उनको भेट भयो । रायमाझीले एकाध भेटघाटमै जुजुको प्रतिभा पहिचान गरिहाले । यो भेटको उनको जीवनमा अर्को महत्वपूर्ण मोड थियो । नारायण रायमाझीले उनलाई आफ्नो म्युजिक कम्पनी रिमा रेकर्डिङमा वाद्यवादक बन्न आग्रह गरे । उनले त्यसलाई सहर्ष र सप्रेम स्वीकारे । त्यसपछि उनी केही वर्ष त्यही कार्यरत रहे । उनले आपूmलाई खार्दै लगे ।
२०५० को दशकको मध्यदेखि वाद्यवादन छाडेर सङ्गीत संयोजनमा लागे । उनले विभिन्न रेकर्डिङ स्टुडियोमा सङ्गीत संयोजनको काम गरे । उनले राम्रो ‘पर्फमेन्स’ देखाउँदै गए । यसपछि उनले निरन्तर प्रगति गर्दै गए । उनलाई साङ्गीतिक क्षेत्रका धेरै मानिसहरूले खोज्न थाले । काम ह्वारह्वाहर्ती आउन थाल्यो । उनलाई सङ्गीत संयोजनमा धेरै काम आउन थाल्यो । उनको प्रसिद्धि बढ्दै गयो ।
पहिले उनी दिनमा पाँच–छ अडियो अल्बममा सङ्गीत संयोजन गर्थे । उनी दिनभर व्यस्त रहन्थे । उनले ‘मिर्मिरेमा भाले बासेको...’, ‘छिनको छिनैमा...’, ‘यो मायाको संसार विचित्र...’, ‘ससुरालीमा...’, ‘खैरेनीमा गेट...’, ‘हङकङ आइडीले...’, ‘फूलमा भमरा...’, ‘वनको काफल वनको चरीलाई...’, ‘जम्मू–काश्मिरमा...’, ‘भरिया दाइले बिसाउने भारी...’, ‘...माया बढ्यो झन्’ लगायतका चर्चित गीतको सङ्गीत संयोजन
गरिसकेका छन् ।
उनले सङ्गीत संयोजन गरेको गीतका कारण धेरैले चर्चा बटुले । उनीहरू सेलिब्रिटी बने । यही भएर होला, बजारमा चर्चा बटुलेका कतिपय कलकारहरू ठुल्ठूला साङ्गीतिक जमघटमा उनलाई देखेर नतमस्तक हुन पुग्छन् ।
उनले असंख्य गीतमा सङ्गीत संयोजन गरेका छन् । तर, अहिलेसम्म आफूले सङ्गीत संयोजन गरेको गीतको यथार्थ अभिलेख छैन । उनी आफूले हालसम्म २० हजार जति गीतमा सङ्गीत संयोजन गरेको अनुमान गर्छन् । यतिबेला महिनामा २०/२२ वटासम्म गीतको सङ्गीत संयोजन गर्छन् ।
सङ्गीत संयोजकबाहेक उनको अर्को परिचय पनि छ । उनी गायक पनि हुन् । ‘काठेपुलैमा...’, ‘धादिङ सल्यानटार...’, ‘दुवाली थुनेको...’ आदि उनले स्वर दिएका गीत हुन् ।
उनले इन्दिरा कलानिधि विद्यालयबाट सङ्गीतसम्बन्धी शिक्षा लिएका हुन् । सङ्गीत अनुरागी र सङ्गीतिक वृत्तमा रहेकाहरूका दृष्टिमा जुजु गहिरो सङ्गीत चेत भएका प्रतिभाशाली व्यक्ति हुन् । तर, उनी आफूलाई कम आँक्छन् र सङ्गीतको अथाह दुनियाँमा आफूले धेरै सिक्न बाँकी भएको बताउँछन् । उनी शिलाबहादुर मोक्तान, पूर्ण गुरुङ, भूपेन्द्र रायमाझी, सचिन सिंह, जुगल डंगोललाई प्रेरणास्रोतका रूपमा लिने गर्छन् ।
उनी चुपचाप आफ्नो कर्मक्षेत्रमा होम्मिन रुचाउने कर्मजीवी हुन् । उनी विज्ञापन गर्न रुचाउँदैनन् । आफूले अँगालेको पेशाका कारण पनि उनी ओझेलमा छन् । उनको स्वभाव पनि हाइफाइ जीवनभन्दा परै रहन मन पराउने किसिमको छ । अभिनन्दन, सम्मान, पुरस्कार आदि उनलाई झर्को लाग्ने विषय हुन् । समय–समयमा उनको नाममा पनि पुरस्कार र सम्मान उद्घोष भइरन्छन् ।
उनी यस्ता कार्यक्रमहरू सकेसम्म छल्न खोज्छन् । उनी धेरैजसो पुरस्कार वितरण समारोहमा उपस्थित हुँदैनन् । आफ्नो घोषणा गरिएको पुरस्कारको थुप्रो उठाउनै बाँकी छ । उनी भने सब कुरा छाडेर सङ्गीत साधनामा एकोहोरो तल्लीन रहन मन पराउँछन् । पेशा र स्वाभावले उनी चमकधमकपूर्ण दुनियाँबाट पर छन् ।