रतन तिरुवा, प्रचण्ड र नक्कली वर्ग संर्घषको कुरा

रतन तिरुवा, प्रचण्ड र नक्कली वर्ग संर्घषको कुरा

निर्जला कक्षपति  |  दृष्टिकोण  |  फागुन २०, २०७६

नेताले जनताको लाठी, ढुंगामुढा र जुत्ताको हिर्काइ खानु अवश्य पनि राम्रो कुरा भने अवश्य होइन । नेताले राम्रो काम गरे ताली पाउनु र जनतालाई ढाँट्ने र  भनेको  काम नगर्दा भने जनताबाटै लात खानुलाई भने स्वाभाविक रूपमा लिइन्छ ।  हाम्रो देशमा मात्र होइन प्रजातान्त्रिक मुलुकमा नेतालाई सजाय दिने अधिकार जनतालाई हुन्छ र हुने गर्दछ ।

 अन्य देशमा पनि नेताले काम गरेनन् भने भ्रष्ट्राचार गरे भने सडकमा नांगेझार बनाएर जनताले नै लात हानी रहेको दृश्य समयमयमा  सामाजिक सञ्जालमार्फत देख्न पाइने गरेको छ । काठमाडौँमा भएको एक कार्यक्रममा  केही दिन पहिले कार्यक्रम स्थलमा जुम्लाका रतन तिरुवाले नेकपाका नेता प्रचण्डलाई जुत्ता प्रहार गरेको  घट्न अहिले चर्चाको शिखरमा रहेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वर्ग संर्घषको कुरा गरेपछि प्रचण्डले बोलेको कुरा र यथार्थमा समानता नपाएको उक्त कुरा सहन नसकी  जुत्ता प्रहार  गरेको रतन तिरुवाले बताएको कुरा समाचार माध्यमहरूमा छाएको छ । 

यो घटना हुनु केही दिनअघि प्रचण्डकै पार्टीमासंगै रहेर जनयुद्ध गरेका डा. बाबुराम भट्टराईले संसद्मा कडकीदै आफैं भनेका थिए, हिजो बुकुरो घर हुने नेताको कसरी अहिले काठमाण्डौंमा आलिसान घर बन्यो ? हिजो साथीको जडौली लुगा मागेर र चप्पल पड्काएर हिँड्ने हामी नेताहरू अहिले कसरी सुदृढ र सम्पन्न भएका छौँ ? गाउँमा भएको बुकुरो घरले कसरी काठमाण्डौंमा आलीसन महल बन्छ ? सम्पत्ति छानबिन गरौँ भनी आफै मुख खोलेर सर्वसाधारणबाट प्रशंसा बटुलेका थिए । ढिलै भए पनि डा. भट्टराईले साँचो र जनस्तरमा बराबर उठ्ने गरेको बोली संसद्मा नै राखेका थिए । 

हुन पनि हामी सहजै अनुमान गर्न सक्छौ हाम्रै आँखा अगाडि नेताहरूको जीवनशैली नाटकीय हिसाबले परिवर्तन भएको छ । डा. बाबुराम भट्टराइले भने जस्तै नेताहरूको राजसी जीवन कसरी सम्भव भयो ? ०६२/०६३ पछि नेता भएकाहरूको पनि जीवनशैली अचाक्ली रूपले परिवर्तन भएको पाइन्छ । नेता त शक्तिमा बसे र त्यसको दुरुपयोग गरेर  जीवनशैली परिवर्तन गरे भन्ने मान्ने हो भने कुनै ओहदामा नपुगेको युवा तथा विद्यार्थी नेताको जीवनशैली समेत नाटकीय रूपमा परिवर्तन भइरहेको छ । यो कसरी सम्भव भयो वा भइरहेको छ । 

 राजनीति गर्नु वा नेता हुनु भनेको त विशुद्ध जनताको सेवा गर्नु हो कि राजनीतिलाई दुरुपयोग गरेर धन अर्जन गर्नु  हो ? भन्ने विषय छुट्ट्याउन गाह्रो हुने अवस्था सृजना भएको छ । राजनेता भएपछि सम्पत्ति जोड्न कोही पनि नेता लाग्दैनन् तर हाम्रा देशका नेता भने ‘राजनेता’ भएपछि मोज गर्ने, जीवनमा गर्न नहुने सबै  कुरा गर्ने, अथाह सम्पत्ति कुम्ल्याउने, भ्रष्ट्राचार गर्ने, विलासीताका सामानहरू उपभोग गर्ने, डेढ लाखको पलङमा सुत्ने ‘राजश्री’ सुखानुभूति प्राथमिकतामा पर्ने गरेको छ ।  

मुलुकमा संसदीय अभ्यासबाट देश बन्दैन भनेर गाउँका सोझा र इमानदार जनतालाई जुरुक्क उचाली जनयुद्ध सुरु गरेका माओवादीको व्यवहार पनि अन्य पार्टी भन्दा रत्तीभर फरक भएन वा फरक देखाउन सकेन । ‘जनयुद्ध’लाई उचाइ दिने सिलसिलामा प्रचण्डले जनता सामु झुटा आश्वासन दिएका थिए भन्ने कुरा धेरै वटा तथ्यबाट प्रस्ट भइसकेको कुरा हो  ।

 त्यतिबेला धेरै बालबालिकाले पढ्न पाएनन् । शिक्षा जस्तो अनिवार्य र आवश्यक रहेको कुरालाई समेत यिनले र यिनको पार्टीले बुर्जुवा शिक्षा पढेर केही फाइदा छैन भन्दै हौवा फिँजाउँदै ‘युद्ध’मा होमे जसले गर्दा धेरै बालबालिकाले पढ्ने अवसरबाट बञ्चिात हुनु पर्‍यो ।  कापी किताब र कलम समाउनु पर्ने कलिला हातलाई बन्दुक थमाइयो ।  

बुर्जुवा शिक्षा भन्ने यिनै नेताहरूले आफ्ना छोराछोरीलाई भने सुविधा सम्पन्न निजी विद्यालय विदेशमासम्म पढाउन भ्याए । युद्धमा लागेपछि कलिला कतिपय ती बालबालिकाहरूको हत्या भयो । कतिपयले बाबुआमा गुमाए, कतिले छोराछोरी गुमाए, आफ्ना सन्तान, आफ्ना अभिभावक गुमाएको पिडा कहाँ सजिलै भुल्न सकिन्छ र ? त्यतीमात्र हाेइन आफु सत्तामा पुगेपछि भने तीनै नेताले त्यही बुर्जुवा शिक्षा  लिएकाे प्रमाण पत्र भए मात्र राेजगरी र अब्सर पाइने बताएर अर्काे ठुलाे बेइमानी गरेका  छन् । 

तैपनि देशमा केही परिवर्तन हुन्छ कि ! जनताले केही भए पनि सुख वा  राहत  पाउँछन् कि ! भनेर जनताले सहेरै बसे तर आज गणतन्त्र प्राप्त भएको १३ वर्ष हुँदा समेत जनताको स्थिति झन् दयनीय बन्दै गइरहेको छ । 

न्याय पाउन पार्टीमा लागेको हुनुपर्ने, जागिर पाउन पार्टीमा लागेको हुनुपर्ने, कार्यालयमामा गएर केही काम गर्दा म फलानो पार्टीको भनेपछि काम बन्ने, जुनसुकै पेसा गरेको पनि म फलानो पार्टीको, फलानो नेता मेरो मान्छे हो भने पछि इज्जत बढ्ने स्थितिबाट जनता पीडित भइरहेका छन्  ।  यस्तो अवस्थामा नेताहरूले के बुझ्नु जरुरी छ भने मलाई विपक्षीबाट यस्तो भनियो अथवा पूर्व माओवादी युद्धमा मारिएका भएर रिसले गर्दा जुत्ता प्रहार गरेको भनी सोच्नु निकै नै गलत हुन जान्छ ।

कुरा गरौँ वर्ग संर्घषको । जनयुद्धका बेला जनतालाई जुरुक्क उठाउने हतियार थियो वर्ग संर्घषको कुरा  । माओवादीले वर्ग संर्घषको कुरा गरेर जनतालाई रनभुल्लमा पारेकै थियो  ।  वर्ग संर्घष केहो त ? मार्क्सवादी विचारधाराको प्रमुख तत्त्व हो वर्ग संर्घष । मार्क्स र फेडरिक एन्जलसले लेखेका छन्, अहिलेसम्म समाजको लिखित इतिहास नै वर्ग संर्घषको इतिहास हो । मार्क्सका अनुसार एउटा वर्गसँग उत्पादनका साधनको स्वामित्व हुन्छ अर्को वर्गसँग स्वामित्व हुँदैन,  खाली श्रम मात्र गर्दछ । उत्पादनको स्वामित्व हुनेले जहिले पनि श्रम गर्नेको शोषण मात्र गर्दछ । 

मार्क्सका अनुसार यी दुवै वर्ष एक आपसमा संर्घषरत हुन्छन् यी दुई बिच सम्झौता कहिल्यै हुन सक्दैन ।  प्रचण्डले मार्क्सवादी विचारधाराको यही कुरा गरेर जनतालाई रन्नभुल्लमा पारेका थिए । त्यही भएर जमिनदारको अन्न लुट्ने, धेरै सम्पत्तिहुनेहरुको सम्पत्ति लुट्ने अनि धेरै खेत बारी भएकाहरूलाई त्यहाँ खेती गर्न नदिएर खेतमा माओवादीको झन्डा गाड्ने काम गरे । 

धनी र गरिब बिच यसरी असमानता ल्याए की धनी भनेका सबै शोषक हुन्छन् भन्दै बर्ग दुश्मन करार गरे। यिनीहरूले गरिब जनतालाई कहिल्यै उकास्न दिँदैनन् भनी नकारात्मक कुराको भ्रम छरे । बिचरा जनताले यही कुरालाई पत्याएर उनको पछि लागे । गणतन्त्र स्थापना गरे तर जनताको जीवन उक्सिएन प्रचण्डले भने राजसी जीवन बिताए र विताउँदैछन् । अहिले उनी र उनको परिवार हेलिकप्टर शेयर र मोह जनताले नजिकबाट नियाली रहेका छन् ।  

अहिले आएर फेरि जनतासँग उही वर्ग संर्घषको कुरा गरेर जनताको मन जित्ने प्रयासमा रहेका प्रचण्डका कर्तुतहरू जनताले राम्ररी बुझिसकेका छन् । 

 नेतालाई ढुङ्गा प्रहार गर्नु, जुत्ता प्रहार गर्नु यो नौलो कुरा होइन ।  यस अघि २०६९ सालमा यिनकै कार्यकर्ताले  गालामा थप्पड मारेका थिए । यसै गरी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई संसद्को राष्ट्रिय सभामा गोल्छे सार्कीले थप्पड मारेका थिए । डा. बाबुराम भटराइैलाई पनि कायकर्ताले नै थप्पड हानेका सन्दर्भ छँदै छन् । झलनाथ खनालले पनि झापड खाइसकेका छन् । यसरी अन्य नेताले पनि झापड खाएका थिए भनेर यी नेताहरूले यो घटनालाई सामान्य रूपमा लिनु भनेको महाभूल हुन जान्छ । 
 जनताहरू नेतासँग किन आक्रोशित हुँदै गइरहेका छन् भन्ने कुरा बुझ्न ढिलो भइसकेको अवस्था छ । हैन भने नेताले बोलेका एक एक कुरा नेपाली जनताले  याद गरिरहेका हुन्छन् । । नेताहरूको जीवनशैली मात्र भड्किलो हुँदै जाने तर जनताको स्तर जस्ताको तस्तै रही रहने अनि फेरि आएर तिनै नेताले वर्ग संर्घषको कुरा गरी जनतामा भ्रम फैलाउने चेष्टा यदि नेताहरूले गरिरहने हो भने अझ कति नेताले जुत्ता र मुक्का हान्नेदेखि नेपाली जनताले नांगेझार बनाउने हुन त्यो समयले नै देखाउने छ ।