लोकसंवाद संवाददाता | समाचार | फागुन २१, २०७६
काठमाडौं । महोत्तरी र मोरङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
महोत्तरी, पिपरा गाउँपालिका–४ हनुमान मन्दिरस्थित सडकमा ना.१ क ५८२६ नम्बरको टिपरले बीआर ३० एक्स ७७०२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने ३५ वर्षीय कालिचरण यादवको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीया सुधा यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, बिराटनगर महानगरपालिका–१९ मिलन चोकस्थित सडकमा को–१ ख २९१७ नम्बरको टिपरले प्रदेश १–००२ ह ८६०६ नम्बरको टेम्पोलाई मंगलबार राति ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अटो चालक ग्रामथान–२ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनकै नातिनी ६ वर्षीया सबिता सरदार रहेका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।