सुत्ने समयकाे अभावमा बालबालिकाः बसमा निदाउने, बर्बराउने र ‘डिप्रेसन’को  समस्यामा

सुत्ने समयकाे अभावमा बालबालिकाः  बसमा निदाउने, बर्बराउने र ‘डिप्रेसन’को  समस्यामा

इन्दु शर्मा  |  दृष्टिकोण  |  फागुन २२, २०७६

काठमाडौंको सडकमा पैदल वा यातायातका साधनमा यात्रा गर्ने अधिकांश मानसिले देखेको कुरा हो– विभिन्न स्कुल बसमा बालबालिकाहरू निदाइरहेका हुन्छन् । यसरी  किन बालबालिकाहरू निदाइरहेका छन् ? भन्यो भने सहज जवाफ पाइन्छ–‘वास्तवमै बालबालिकालाई चैनको सास फेर्ने फुर्सदसम्म छैन ।’

यसको प्रमुख कारण हो– थकान ।

अभिभावक बिहान उठ्नासाथ सुतिरहेका बालबालिकालाई जबर्जस्ती उठाउँछन् । आफू बसेको समुदायमा रवाफ देखाउन आफ्ना छोराछोरी प्रतिष्ठित स्कुलमा पढाएको छु भनेर महँगा र टाढाको विद्यालयमा भर्ना गर्ने कुरालाई अभिभावकहरूले सामाजिक प्रतिष्ठाको विषय बनाउने गरेको छन् । 

कतिपय सन्दर्भमा भनसुनै गरेर आफ्ना बालबालिका भर्ना गर्ने गरेको पाइन्छ । त्यस्ता विद्यालयले बिहान ७ बज्दा नबज्दै घर अगाडि बस आउने भएका कारण पनि बच्चलाई पूरा समय सुत्न नदिई बालबालिकालाई उठाउनु अभिभावक पनि बाध्य हुने गरेका छन् । 

बालबालिकामाथि कतिसम्म अन्याय भइरहेको छ भने बिहान दुई घण्टा रुटको बसमा र बेलुका दुई घण्टासम्म बसमा बिताउनु त छँदैछ । आफैमा ३,४ घण्टाको यात्राका कारण थकाई लाग्नु स्वभाविक हो ।  दिनभर कक्षा कोठामा पढाइको बोझ, स्कुल, ट्युसन र फेरि शिक्षकले दिएको गृहकार्य जो जसरी पनि सक्नुपर्ने बाध्यता छ । 

एकतर्फ काठमाडौं उपत्यका जस्तो यातायातका साधनको अधिक जाममा थकान, विद्यालयमा शिक्षक र घरमा अभिभावकको पढाइको अति दबाबका कारण धेरै बालबालिका सुतिरहेको समयमा बर्बराउने समस्याबाट पीडित हुने गरेका छन् । 

धेरै बालबालिकालाई आराम नपुगेका कारण विद्यालयको बस चढ्नासाथ निदाउने गरेका छन् । यसो हुनुमा घर र विद्यालयको समय दबाब र त्रासमा बिताउनु परेको हुँदा पनि उनीहरूले दबाब महसुस नभएको ठाउँ नै बस भएका कारण पनि अधिकांश बालबालिका बसमा निदाइरहने गरेका हुन् । 

यस्ता बालबालिकाहरू अर्धनिद्राको सिकार मात्र होइन, सामान्य खेल खेल्नेसम्म अवसर दिइरहेका हुँदैनन् । सामान्यतया विद्यालयको समय तालिका र घरको समय तालिका नमिल्दा पनि धेरै बालबालिका मनोसमाजिक समस्याको सिकार भइरहेका छन् । 

बालबालिकाहरूलाई विद्यालयमा छिटो पुर्‍याउनुपर्ने बाध्यताका कारण पनि उनीहरूको निद्रा पुग्दैन । विद्यालयले बालबालिकाहरूलाई बिहानैदेखि राख्नुले उनीहरूलाई बिहान छिटो उठ्नुपर्ने बाध्यता हुन्छ ।यसमा विद्यालयको मात्र दोष पनि होइन, अविभावकहरूको सजिलोका लागि पनि यो सबै गरिइरहेको देखिन्छ । 

अतः सबैभन्दा बढी हामी अभिभावकले महँगो स्कुलमा पढाएको छु भन्दा आफ्ना बालबालिको समय तालिकाका बारेमा ख्याल नगरेर ठूलै अन्याय त गरिरहेका छैनौँ । 

अहिले यसैगरी बिहान ७ बजे नै विद्यालयमा पठाउने बालबालिकाहरू ‘डिप्रेसन’को अधिक समस्यामा पर्ने गरेको विभिन्न आँकडाहरूले देखाउने गरेका छन् । कतिपय बालबालिकाहरू सानै उमेरमा दबाब र त्रास थेग्न नसकेर मानसिक रोगदेखि क्यान्सर जस्ता रोगहरूको सिकार हुने गरेका पाइन्छ । 

जब मानिस चैनसँग सुत्दैन वा सुत्न सक्दैन । तब उसको शारीरिक र मानसिक रोगहरूले आक्रमण गर्न थाल्छन् । बालबालिकाको हकमा पनि सोही लगू हुने हो । सुरुसुरुमा सानासाना बालबालिका स्कुलमा पढाइको विषयलाई लिएर अभिभावकसँगझगडा गर्ने, साथीहरूसँग मिल्न नसक्ने, चिडचिडापन देखाउन स्वभाव विकास हुन थाल्ने हुन्छ । सँगसँगै बालबालिको पढाइ प्रति राम्रोसँग ध्यान केन्द्रित गरिरहेको हुँदैन । 

कस्तो हुनुपर्छ बालबालिकाहरूको रुटिन ?

बालबालिकाहरूको निद्रा पूरा होस् भन्नका लागि यी उपाय गर्नु उत्तम हुनेछ ।

– राती सुत्नुभन्दा पहिला प्रत्येक दिनका लागि एउटा निश्चित समय निर्धारण गनुपर्ने हुन्छ । 

– बालबालिकाहरूलाई जंक फुडबाट टाढा राख्ने, महिनामा एक पटक मात्र बाहिरको खाना खानका लागि अनुमति दिने ।

– बालबालिकाको सुत्ने, खाने र पढ्ने समय तय गरिदिने ।

– दिनमा एक घण्टा बालबालिकालाई खेल्नका लागि बाहिर पठाउने । यसो गर्नुले बालबालिकाको मस्तिष्क सक्रिय बनाउने काम गर्छ ।

– बालबालिकाहरूलाई विद्युतीय चिजहरूबाट टाढा राख्ने । रातको समयमा यीे सबै चिजहरूको प्रयोग नगर्ने । 

यी कार्यहरू हामीले गर्न सक्यौँ भने बालबालिकाहरू समयमा सुत्न सक्ने हुन्छन् । जब बालबालिकाहरू समयमा सुत्न सक्छन् अनि मात्र उनीहरूको निद्रा पर्याप्त मात्रामा पुगेको हुन्छ र बिहान सजिलैसँग उठ्न सक्ने हुन्छन् ।

बालबालिकाहरूलाई विद्यालयमा छिटो पुर्‍याउनुपर्ने बाध्यताका कारण पनि उनीहरूको निद्रा पुग्दैन । विद्यालयले बालबालिकाहरूलाई बिहानैदेखि राख्नुले उनीहरूलाई बिहान छिटो उठ्नुपर्ने बाध्यता हुन्छ ।यसमा विद्यालयको मात्र दोष पनि होइन, अविभावकहरूको सजिलोका लागि पनि यो सबै गरिइरहेको देखिन्छ । 

बालबालिकाले राम्रोसँग निद्रा पूरा गर्न  नसक्नुको मुख्य जिम्मेवार परिवार  नै हो । अरूको देखासिकी र महँगो स्कुलमा पढाउँदा बालबालिकाहरूले राम्रोसँग पढ्न जान्ने हुन्छन् भन्ने गलत सोचका कारण बालबालिकाहरूलाई मह‌ंगा निजी विद्यालयमा राख्नु, टाढाको विद्यालयमा पढाउनु जस्ता कारणले गर्दा नै बालबालिकाहरूकाे मस्तिष्कमा गम्भिर खालकाे असर परिरहेको  ख्याल गरिरहेकाे हुँदैनाै । 

बालबालिका भविष्यका कर्णधार हुन्, उनीहरूलाई असल अभिभावकीय दायित्व दिनु हाम्रो कर्तव्य हो तर राम्रो गराउँछौँ भन्नेमा लाग्दा हामीले हाम्रा बालबालिकाहरूलाई दिइएको यो पीडा हामी मनन् गर्न सकेनौँ भने उनीहरूको भविष्य अन्योलमा पार्ने काम हामी आफैँबाट भइरहेको हुनेछ ।