प्रा.डा.सुदर्शन नरसिंह प्रधान | दृष्टिकोण | फागुन २३, २०७६
मानिसलाई ‘डिप्रेसन’ किन हुन्छ ? ‘डिप्रेसन’का लक्षणहरू केके हुन् ? मानिसलाई ‘डिप्रेसन’ धेरैवटा कारणहरूले हुन सक्छ । धेरैवटामध्ये एउटा र महत्त्वपूर्ण कारण हो– सामाजिक कारण ।
सामाजिक कारणमा पनि धेरै कुराहरू हुन सक्छन् । ‘डिप्रेसन’मा जान लागेको मानिस प्रायः कुरा गर्दा मन खिन्न पार्ने, उदास भइराख्ने, शरीरमा फुर्ती नहुने, आलश्यपना धेरै हुने, निद्रा नपर्ने र कुनै पनि रमाइलो कुरातर्फ ध्यान नजाने हुन्छ ।
मनमा प्रायः नकारात्मक कुराहरू मात्रै गरिरहने र कुनै न कुनै रूपमा मर्न मन लाग्ने गरेको विचारहरू व्यक्त गरिरहेको हुन्छ । यो हामी समान्यतया ख्याल गरिरहेका हुँदैनौँ । यी सबै ‘डिप्रेसन’का लक्षणहरू हुन् ।
यी लक्षणहरू कसरी थाहा पाउने भन्ने कुुरा चिकित्सकले पनि कुनै जाँच गरेर, ब्लड टेस्ट गरेर, एक्सरे गरेर, सिटी स्क्यान गरेर पत्ता लगाउने कुरा होइनन् । हामी यसलाई ‘सिन्रोमल डायग्नोसिस’ भन्ने गर्छौं । यी लक्षण र लक्षणहरूको विश्लेषणका आधारमा ‘डिप्रेसन’को पहिचान गर्ने हो । बिरामी आफूले नै भनेको र बताएको आधारमा निष्कर्षमा पुग्ने हो ।
‘डिप्रेसन’मा जाने धेरै कारणहरू रहेका पाइन्छ । मुख्यतया ‘बायोलोजिकल कज’, ‘साइकोलोजिकल कज’ र ‘सोसल कज’ हुने गर्छन् । यहाँ ‘सोसल कज’का बारेमा चर्चा गर्ने जमर्को गरिएको छ ।
त्यसका लागि ‘एक्स्ट्रा क्लास’ लिने, ‘एक्स्ट्रा एक्जाम’हरू लिने भनेर उनीहरू भौँतारिइरहेका हुन्छन् । बिहानदेखि बेलुकासम्म खालि एउटै ठाउँमा राखेर पढाएपछि त कहाँ दिमागमा आउँछ त ? आउँदैन नि !
सामाजिक कारणले पनि धेरै मानिसहरू ‘डिप्रेसन’को सिकार हुने गरेका पाइन्छ । यसलाई उदाहरणको माध्यमबाट हेरौँ । एउटा परिवारमा रहेका श्रीमान–श्रीमती, बाजे–बज्यै सबै जनालाई छोरा जन्मियोस् भन्ने अधिक चाहना हुन्छ । परिवारका सदस्यहरू छोेरा जन्मियो भने खुसी हुने तर छोरी जन्मिएमा भने अलिकति मन दुःखी बनाउने चलन छ । हाम्रो सामाजिक वातावरणमा छोरा पाउने र छोरी पाउनेलाई हेर्ने दृष्टि नै फरक छ ।
हाम्रो समाजमा अहिलेसम्म पनि छोराले मलाई बुढेसकालमा हेर्छ, यसले मलाई पाल्छ, छोरा भनेको साँच्चैको मेरो सम्पति हो भन्ने एक किसिमको सोचाइ रहिरहेको पाउँछौँ ।
छोरी पाएर के गर्नु, यो बाहिर जाने हो । यो अर्काको घरमा जाने हो, यसले कुनै पनि किसिमको सहयोग गर्दिन भन्ने खालको मानसिक्ता पालिरहेको हामीले पाउँछौँ । घरपरिवार र सामाजिक मानसिकता त्यस्तो हुन्छ ।
यसका कारण खासगरी आमाबुबाको छोराप्रति ‘हाई एस्पेक्टेसन’ हुन्छ । जब छोरा जिम्मेवार हुन्छ, त्यसपछि उसका आफ्नै किसिमको काम र कर्तव्य हुने नै भए । श्रीमती हुने भए बालबच्चा होला, नोकरी, व्यवसायमा राम्रो/नराम्रो पनि होला । यी सबै कारणहरूले गर्दा उसले आफ्ना आमाबुबालाई पर्याप्त समय दिन नसक्ने अवस्था आउन सक्छ ।
त्यसले गर्दा आमाबुबाले छोराले मलाई हेरेन, मलाई माया गरेन, मलाई हेप्यो भन्ने खालको कुरा खेलाउन थाल्ने हुन्छ । त्यसले गर्दा विस्तारै आमाबुबा र छोराबीच फाटो हुन्छ र दूरी बढेर जाने गर्छ ।
उता, छोरी त बिहे गरेर गइसकेकी हुन्छे । ऊ आफ्नो घर जाने नै भई । अनि छोरी कहिलेकाहीँ आउँदा एक–दुई शब्द राम्रोसँग कुरा गरिदिन्छे । छोराले नगरेको व्यवहार छोरीले गरेको जस्तो गर्दा छोराको भन्दा राम्रो लाग्छ र छोरीपट्टि अलिकति बढी ढल्केको हो कि भन्नेजस्तो आभास मिल्न थाल्छ ।
त्यसपछि यता छोराले पनि मलाई आमाबुबाले बेवास्ता गरेको भन्ने महसुस गर्न थाल्छ । यसरी आमाबुबा र छोराबीच ‘मिसअन्डरस्ट्यान्डिङ’ सिर्जना हुँदैहुँदै जान्छ ।
यसरी वातावरण घुम्दैघुम्दै गइरहेको हुन्छ । यस्तो बुझाइका कारण घरमा एक किसिमको मनमुटावको वातावरण सिर्जना भइरहेको हुन्छ । यस्तो भइदिएपछि त्यसले विस्तारै बुढाबुढीमा एक जनाको मृत्यु भने झनै समस्या सुरु हुन्छ । एक्लो भएपछि अब हेर्ने मान्छे को ? के गर्ने ? भन्ने समस्याले पिरोल्न थाल्दछ ।
यस्तो अवस्थामा फेरि मन खिन्न भइरहने, उदास भइरहने, विस्तारै विकास हुन थाल्छ । फेरि बोल्ने मान्छे पनि हुँदैन । आजकल संयुक्त परिवारबाट एकल परिवारमा आइसकेको अवस्था छ । घरमा कुराकानी गर्ने कोही पनि हँुदैनन् ।
छोरा, बुहारी सबै जना काममा जान्छन् । बच्चाहरू स्कुल जान्छन् । बुढाबुढीमध्ये घरमा एक जना बितिसकेका हुन्छन् अनि एक्लो हुनु र महसुस गर्नु स्वाभाविक हो ।
बिहानदेखि बेलुकासम्म काम गरेर बसेको हुन्छ । उसले दिनभर के गरेर बस्ने त ? कहाँ गएर बस्ने ? कोही हुँदैन । घरमा एक्लै बसेपछि अनेकथरीका मनमा कुराहरू आउँछन् । त्यसले गर्दा उसमा ‘डिप्रेसन’ हुने गरेको पाइएको छ । यस्तो अवस्थाका मानिस बढी नै यो समस्यामा रहेका पाइन्छ ।
यो एउटा परिस्थिति अहिले प्रायः परिवारमा देखिएको छ । अहिले हाम्रो देशमा छोराछोरीहरू कामकाजको खोजीमा विदेश जाने कुरा एकदमै बढेको छ । कोही अमेरिका, कोही अस्ट्रेलिया जाने चलन बढेको छ । यहाँ नेपालमा आमा र बुबा मात्र रहने अवस्था छ ।
छोराछोरी कहिलेकाहीँ उनीहरूलाई बोलाउँछन् त्यहाँबाट र उतै लैजाने गर्छन् । प्रायः बच्चाहरू जन्मिन्छन् र ती बच्चाहरूको हेरचाहका लागि बोलाएका हुन्छन् । त्यहाँ बच्चाहरू हेर्दा उनीहरू बिजी पनि हुन्छन् अनि फर्किसकेपछि फेरि न्यास्रो लाग्न थाल्छ । त्यसपछि के गर्ने र कसो गर्ने भन्ने कुरा हुन्छ ।
एक खालका यस्ता मानिसहरू ‘डिप्रेसन’मा जाने गरेका छन् । यो नेपाल पर्किएकाको अवस्था देखिन्छ भने अर्को विदेशमा जाँदा पनि त्यहाँ पनि त्यस्तै समस्यामा पर्ने गरेका छन् । छोराछोरी दिनभर कममा जान्छन् र आमाबुबा त्यहाँ एक्लै बस्नुपर्ने हुन्छ ।
त्यहाँ बस्दा के गरेर बस्ने त ? आफूलाई भाषा आउँदैन, टीभी हेर्दा रमाइलो पनि हुँदैन । साथीभाइ कोही पनि हुँदैन र आफ्नो भाषामा कुरा गर्न सकिँदैन । बाहिर कतै जाँदा भने हराउने डर हुने भयो । यसले गर्दा त्यहाँ बसेर मनमा कुरा खेलाएर बस्ने धेरै बाआमाहरूमा पनि ‘डिप्रेसन’को समस्या देखिने गरेको छ, जुन कुरा देखिरहेको र भोगिरहेको कुरा हो ।
नेपाली समाजमा ‘डिप्रेसन’ बढ्ने ठूलै समस्या सिर्जना गर्ने गरेको छ वैदेशिक रोजगारीमा रहेका श्रीमान् र श्रीमतीबीचमा उत्पन्न भएको दरारले ।
श्रीमान् बाहिर गएर काम गरेको हुन्छ । यहाँ श्रीमती घरमा बस्ने, बच्चा पनि हेर, आफ्नो काम पनि गर, उताबाट अलिअलि पठाएको पैसाले सबै कुराको ‘म्यानेज’ गर्नुपर्ने हुन्छ । त्यसले गर्दा घरमा अभाव सिर्जना हुन्छ । यहाँ सासू, ससुरा हुन्छन् । कहिलेकाहीँ अरू पनि खटपटहरू भइरहेका हुन्छन् । के हुन्छ, कसो हुन्छ । उसको मनोभावका कुराहरू गर्ने र उसले कसैसँग ‘एक्सप्रेस’ गर्ने केही पनि भएको हुँदैन । यसले गर्दा खटपटहरू बढिरहेका हुन्छन् ।
विदेशमा श्रीमानहरूलाई मनमा आफ्नी श्रीमती अरू केटाहरूसँग लागी कि ! अरूसँग भागी कि ! भन्ने मानसिकता हुन्छ । अनि उसले उताबाट ‘कन्ट्रोल’ गर्ने हुन्छ । तँ आज कहाँ गइस्, कोसँग गइस् भन्नेजस्ता कुरा गर्न थाल्छ । कहाँ र के गरिस् भन्नेदेखि अलिक बढी नै चियो चर्चा गरिराखेको हुन्छ । यसले गर्दा श्रीमतीलाई दिक्क लाग्न थाल्छ ।
सबै श्रीमती अरू केटासँग गएका हुुँदैनन्, अपवाद मात्र जाने हुन् । एक–दुई जना गए भनेर सबै जान्छन् भन्ने त हुँदैन । सबैलाई एउटै तराजुमा राख्न पनि हुँदैन । ती नगएका श्रीमतीलाई यस्ता आशंका र प्रश्नहरूले झन् तनाव महसुस भइरहेको हुन्छ । यो तनावले गर्दा एकथरी महिलाहरूलाई ‘डिप्रेसन’मा लैजानका लागि थप मलजल गर्ने हुन्छ ।
प्रायः उसलाई मनको कुरा ‘एक्सप्रेस’ गर्ने ठाउँ हुँदैन । कहाँ के गर्ने भन्ने थाहा हुँदैन ।
अर्को कुरा, पैसा नभएका कारण मानिस ‘डिप्रेसन’मा गइरहेको हुन सक्छ । अफिसमा लोड बढी भएका कारण, आर्थिक अभावका कारण विदेश जानुपर्ने आदिले गर्दा र आफूले गर्न खोजेका कुराहरू गर्न सकेन भने, बच्चाहरूको स्कुलको फी समयमा तिर्न नसकेका कारण मानिस तनाव झेलिरहेको हुन सक्छ ।
साथसाथै उसका ‘डिमाण्ड’हरू पनि त्यस्तै हुन्छन् । हरेकका आफ्नाआफ्ना किसिमका डिमाण्डहरू आफूले पूरा गर्न सक्दैनन्, उनीहरूको ‘इनकम’अनुसार, जुन कारण हीन भावना आउने हुन्छ । यति पनि गर्न सकिनँ भन्ने भावना विकास हुने गर्छ ।
आजकल जमाना फरक छ । अर्को एउटा पक्ष के छ भने, जुन एसईई परीक्षाका कुराहरू आइरहेको छ, अहिले बच्चाहरूलाई एसईईको जाँचमा उसले पढाइमा राम्रो गर्नुपर्ने अभिभावक र शिक्षकको ‘हाई एस्पेक्टेसन’ हुने गरेको छ । कतिपय स्कुलमा कतिसम्म छ भने, बिहानको ६ बजेदेखि बेलुकाको ६–७ बजेसम्म अर्थात् १२ घण्टा नै त्यही राख्नेसमेत गरिन्छ ।
त्यसका लागि ‘एक्स्ट्रा क्लास’ लिने, ‘एक्स्ट्रा एक्जाम’हरू लिने भनेर उनीहरू भौँतारिइरहेका हुन्छन् । बिहानदेखि बेलुकासम्म खालि एउटै ठाउँमा राखेर पढाएपछि त कहाँ दिमागमा आउँछ त ? आउँदैन नि !
त्यसैले गर्दा उसलाई कुण्ठा, त्रास जस्तो हुन्छ । त्यही कारणले गर्दा कतिपय बेहोस हुने, मनमा कुरा खेलाउने, राती ननिदाउने जस्ता समस्या भएका बिरामीहरू आउने क्रम बढ्दो छ ।
यो सबै किन भयो त भन्दा हामीमा ‘एक्स्पेक्टेसन हाई’ भएर हो । उसको क्षमताअनुसार उसले पढ्ने हो । विद्यार्थीहरूले खालि पढ्ने मात्र भनेर पनि हुँदैन, उनीहरूलाई खेलकुदमा पनि जाने मन भएको हुन्छ । उनीहरूलाई ‘सोसलाइज’ गर्नुपर्ने पनि हुन्छ ।
‘आउट नलेज’का कुराहरूमा पनि जानुपर्ने हुन्छ । खालि पढेर मात्र पनि हुँदैन । नलेज भएपछि उसमा अझै बढी विश्वास बढ्छ र उसले राम्रोसँग गर्न सक्ने हुन्छ । यो चिजमा हामीले ध्यान दिनुपर्ने हुन्छ ।
प्रायजसो स्कुलहरूमा यही नै समस्या रहेको छ । यी कुरालाई हामी आफैँले ‘इस्पिडली’ निम्त्याएका हौँ । यो ‘डिप्रेसन’लाई निम्त्याउनलाई मलजल गर्ने यी थप कारण हुन् ।
अहिले जुन विवाह, भोज–भतेर भन्ने कुराहरू छन्, अहिले सबै जनाको तडक–भडकले खर्च गर्ने ‘प्याटर्न’ विकास भएको छ । त्यो सबैले गर्नै पर्छ भन्ने छैन । सबैको आर्थिक अवस्था सबल हुन्छ भन्ने पनि छैन । सबैले आआफ्नो किसिमको क्षमताअनुसार गर्ने हो ।
उसले एउटा गरर्यो, मैले गर्न सकिनँ, हामीले कसरी गर्ने ? ऋण झिकेर भए पनि गर्ने भन्ने कुराहरू गर्न थाल्यो भने त्यो ऋणलाई के गर्ने ? कस्तो गर्ने ? भन्ने अर्को छुट्टै समस्या हुने गरेको छ । त्यस कारण के हुन्छ भन्दा ‘डिप्रेसन’ नै आउन सक्ने संभावना हुन्छ । यो सबै कुराले गर्दा अहिलेको तडक–भडकले गर्दा गर्न नसक्नेहरूलाई गाह्रो बनाइदिन्छ ।
साथसाथै अहिले कोरोना भाइरसकै कुरा गर्ने हो भने यो कुराले पनि त्रास निम्त्याइरहेको छ मान्छेलाई । के गर्ने ? कसो गर्ने ? भनेर । मास्क लगाउने कि नलगाउने ? के ‘इन्फर्मेसन’ हो ? के हो, कसो हो ? के छ ? भन्ने छ ।
यसले मान्छेहरूलाई त्रास निम्त्याएको छ । अब के गर्ने भन्ने कुरा अन्योल भएको छ । राम्रोसँग उनीहरूलाई सूचना प्रवाह गर्न सकेको छैन जस्तो लाग्छ । सरकारले पनि मानिसलाई कहाँनेर के गर्ने ? राम्रोसँग के गर्ने भन्ने कुराहरू पनि गर्न सकिरहेको छैन ।
यसले गर्दा आजकल मान्छेहरूलाई यो कोरोना भाइरसको त्रासले गर्दा राती निद्रा नपर्ने, आफूलाई पनि कोरोना लाग्यो भने के गर्ने ? मेरा बालबच्चालाई पनि सर्छ, मेरी श्रीमतीलाई पनि सछ्र्र । हामी सबै मर्छौं भन्ने त्रास लिएर पनि मेरोमा एक–दुई जना बिरामी आइसकेका छन् । यो सबै भनेको सामाजिक वातावरणीय त्रासले गर्दा आउने कुरा
हो ।