लोकबाजासँग नेपाली सेनाको परंपरागत सम्बन्ध

लोकबाजासँग नेपाली सेनाको परंपरागत सम्बन्ध

रामप्रसाद कँडेल  |  लोकरञ्जन  |  फागुन २३, २०७६

नेपाली सेनाले स्थापनाकालदेखि नै विभिन्न बाजा, धून, संगीत र नाचलाई आफ्नो संगठनको अभिन्न अंग बनाउँदै आएको विषयमा यस लोकासंवाद डटकममा २०७६ फागुन १६ गते शुक्रबार लोकबाजा र सेनाको सम्बन्धः नयाँ पुस्ता सैनिकलाई ‘जनाउ’ बाजा, धून, संगीतको बारेमा अनभिज्ञता ! शीर्षकमा प्रकाशन भइसकेको छ ।  

अन्य कुन सन्दर्भमा कुन बाजा नेपाली सेनाले उपयोग गर्छ त ? धेरै लोकबाजा नेपाली सेनाले उपयोग गर्न छाडिसकेको छ । अन्य लोकबाजा जस्तै कुन बाजा नेपाली सेनाका अभिन्न अंग कसरी बने र बनिरहेका छन् ? यसबारे यस लेखमा प्रस्तुत गरिएको छ ।

ईन्द्रढोल 

शुभसाइत निकाली कटान गरिएको सतिसालको काठबाट ईन्द्रढोल बनाइन्छ । पौराणिककालमा दलबलसहित काठमाडौंको मगमग बास आउने चित्ताकर्षक फूल टिप्न आएका महाराज ईन्द्रलाई स्थानीयसँग नसोधी फूल टिपेकाले चोरका रूपमा पक्राउ गरी पाता कसेर काष्ठमण्डपअघि बाँधेर राखिएको जनश्रुति रहिआएको पाइन्छ । उनै ईन्द्रलाई उनका फौजसहित लडाइँमा पराजित गरी उनको ढोल बजाएर शहर परिक्रमा गराउँदा ईन्द्रको ढोलको आवाजले उनकी आमा यहाँ आई हेर्दा छोरालाई पाता कसी राखिएको र उनको ढोल बजाउ‘दै शहरको गल्ली गल्ली घुमेर ईन्द्रलाई पक्राउ गरिएको सूचना बाँडिरहेको फेला पारेपछि उनकी आमाले जमानी बसेर हरेक वर्ष आठदिन काठमाडौं आउने बाचा गराई ईन्द्रलाई मुक्त गरिएको र हरेक वर्ष ईन्द्रजात्रा मनाउ‘दै आइएको छ ।  नेपाली सेनाको शार्दूलजङ गुल्मले ईन्द्रजात्रामा ईन्द्रढोल बजाउँदै आएको छ । 

महाशंख

यो शंख नेपाल एकीकरण अभियानको लामो समयसम्म तत्कालीन शाही नेपाली सेनाले युद्ध कार्यमा प्रयोग गरेको पाइन्छ । जेठी तरबार बोक्ने सरदारहरूले मात्रै जेठी शंख बोक्न पाउँथे । जेठी शंख फौज प्रमुखले युद्धघोषको रूपमा बजाइन्थ्यो भने पछि ठूला उत्सव या कार्यक्रममो शुभारम्भ यसै शंखको वादनबाट गर्ने गरिन्थ्यो । 

फामुक

शुभसाइत निकाली विशेष अनुष्ठान गरी काटिएको बाँसबाट यो बाजा तयार गरिन्छ । यो तयार गर्दा तीनवटा ढुंग्रालाई एकैसाथ राखिन्छ । विभिन्न चराको आवाज निकाली कोड भाषाबाट सूचना आदानप्रदान गर्न पुरानो समयमा सेनाले यो बाजा प्रयोग गरेको पाइन्छ । बन दुर्गामा बस्ने तिलङ्गाहरूले कोड भाषाअनुसार यो बाजा बजाउने गर्थे । 

हुड्को 

यो बाजा ताल बाजा हो । सेनाले दुश्मनको मान्छे चिनाउन, यही बाजाको तालमा नचाएर भुलाउन यो बाजा बजाएर नचाउने गरिन्थ्यो । अहिले मध्यपश्चिमाञ्चलमा महाभारत गाउँदा र अन्य पुराना साहित्य तथा गीत गाउँदा यो बाजा बजाइन्छ । यो बाजा झण्डैझण्डै डमरुसँग मिल्दोजुल्दो हुन्छ । यो एउटा हातमा लिने र अर्को हातले ताल दिई बजाइन्छ । 

जोर नगरा

दुश्मनको फौजलाई भयभीत बनाउन लडाइँकालमा प्रयोग गरिने गरिएको यो बाजा आफ्नो फौजको मनोबल बढाउनसमेत बजाइन्थ्यो । पछिल्लो समय तालिम सकिएका सिपाही तथा अधिकृतको मनोबल बढाउन यो बाजा बजाउने गरिए पनि हाल यो बाजा विलुप्त भएर गएको अवस्थामा रहेको छ । 

सेनाको हरेक गणका देवीहरूको उपासनामा यो बाजा बजाउने गरिन्थ्यो । त्रिशूल घण्ट काँसबाट बनेको हुन्छ । यो भगवान शिवलाई गुरु मानी पूजापाठ गर्ने वा आराधना गर्ने सैनिकहरूको  प्रिय  बाजा हो । 

तीनमुखे नरसिंहा 

यो बाजा पञ्चे बाजा समूहको बाजाभित्र पर्छ । यो बाजा तामाको पातलो पाताबाट बनेको हुन्छ । यो बाजा सर्प आकारको हुन्छ । यसलाई पुच्छरबाट फुकिन्छ । आकाश तत्त्वको प्रतीकको रूपमा यो बाजा बजाइन्छ । 

नेपालमा सबैभन्दा लामो तीनमुखे रणसिंहा कास्कीकोटमा थियो । यो बाजा बजाउँदा दुई जनाले बोकी दुश्मनतिर मुख फर्काएर एक जनाले बजाउने गरिन्थ्यो । कास्कीकोटमा पहिले त्यहाँको सेनाको तालिम र युद्धमा प्रयोग गर्न स्थापना गरिएको थियो । कास्की विजयपछि नेपाली सेनाले आफ्नो फौजको मनोबल बढाउन, तालिम दिन तथा तीन देवी महालक्ष्मी, महाकाली, महासरस्वतीको शक्ति प्रादुर्भाव गराई रण सर गर्न बजाउने गरिन्थ्यो । पृथ्वीनारायणकै पालामा नयाँ रण सर गर्नका लागि रण खोल्नुअघि गोरखाकालीकामा विशेष पूजा गरी यो बाजा बजाई फौज अघि बढाउने चलन थियो  । 

भेरी

यो बाजा युद्धभैरवीहरूलाई पूजा गर्दा सेनाले सलामी दिएर बजाउने गरिन्थ्यो । भेरी सेनाले प्रयोग गरेकामध्ये ज्यादै पुरानो बाजा पनि हो यो । यो बाजा नुवाकोटको भैरवी मन्दिरमा पूजा अर्चना गरी सेनाले बजाउने गरिन्थ्यो । 

पहिले पहिले दैनिक पूजामा बजाइने यो बाजा हाल आएर विशेष पूजाआजामा र पर्वमा  मात्र बजाइन्छ । यो तामाबाट बनाउने गरिन्छ । यो एक फन्को घुमेको हुन्छ ।

महाढोल

सेनामा फौजीलाई विभिन्न धूनका आधारमा तालिम दिन यो बाजा बजाउने गरिन्थ्यो । महाढोलको आकार मानिसको पूरै शरीर छिर्न सक्ने हुन्छ । यसबाट निकै ठूलो आवाज आउने भएकाले सेनाको ठूलो समूहलाई आवाजका आधारमा एकैसाथ तालिम दिन सकिने भएकाले अहिलेको जस्तो माइकको व्यवस्था नभएको पुरानो समयमा यो बाजा तालिमका लागि निकै महत्त्वपूर्ण मानिन्थ्यो । 

दुई जना सिपाहीले मुस्किलले बोक्ने र अर्को व्यक्तिले बजाउने तथा साथसाथै नरसिंहा बजाउने प्रचलन पछ्याएर यो बाजा गोरखा दरबारमा बजाउँदा तनहुँ, धादिङसम्म सुनिने गरेको र त्यही आवाजले विरोधी सेना गोर्खाली फौजसँग डराउने गरेको जनश्रुति यद्यपि, कायमै छ । 

खुट् हान्ने नगरा 

टाढाटाढा कोटहरूमा फौजलाई सूचना पठाउन, संकेत–स्वर–धूनबाट समाचार आदान–प्रदान गर्न यो बाजा बजाइन्थ्यो । आधुनिक संचार नआउँदै यो बाजाले संचार सेटको कामसमेत गथ्र्यो । 

भातय

यो निकै पुरानो र लोप भइसकेको बाजा हो । यो बाजा पहिले पहिले लडाइँमा जानु पहिले उपत्यकाका राजाहरूले सैनिकहरूको विजयको कामना गर्दै बजाउँदै नाच्न लगाइन्थ्यो । योद्धाहरूलाई लडाइँ जित्न हौसला दिइन्थ्यो । 

यो बाजा फुक्दै विभिन्न विरहको प्रस्तुति गाउँदै अभिनयसमेत गरिन्थ्यो । लिच्छवीकालदेखि नै सेनाले लडाइँ, सैनिक पर्व र अभ्यासहरूमा बजाउने गथ्र्यो । 

त्रिशूल घण्ट

सेनाको हरेक गणका देवीहरूको उपासनामा यो बाजा बजाउने गरिन्थ्यो । त्रिशूल घण्ट काँसबाट बनेको हुन्छ । यो भगवान शिवलाई गुरु मानी पूजापाठ गर्ने वा आराधना गर्ने सैनिकहरूको  प्रिय  बाजा हो । 

यो घण्टको  माथिल्लो  भागमा  त्रिशूल बनाइएको हुन्छ । यो विभिन्न पूजाआजा तथा सैनिक उत्सव, महोत्सव, दिवसहरूमा बजाइन्छ । 

शंख

समुद्रमा पाइने शंखे कीराबाट शंख बनेको हो । हुनत नेपालका ठूला नदीका किनारहरूमा पनि शंखे कीरा पाइन्छ तर अलिक सानो र सफा सेतो नहुनाले प्रयोग गरिँदैन । 

समुद्रमा पाइने हुनाले शंखलाई पवित्र मानिन्छ । नेपाली समाजमा यो बाजा कहिलेदेखि सुरु भयो भन्न कठिन छ । हिन्दु देवता विष्णुका चार हातमा सबभन्दा माथि दाहिने हातमा शंख रहेको हामी पौवा तथा मूर्तिकलामा देख्छौँ । शंख नेपाली  समाजमा अविच्छिन्न प्रयोग भइरहेको बाजा हो ।  

शंखलाई विशेषतः ब्राह्मण तथा क्षत्रीहरूको घरको शोभाका रूपमा पनि लिइन्छ । पञ्चायन पूजा, सन्ध्या, आरती गर्दा यो बजाउनै पर्छ । मंगल उत्सव, पूजा, अर्चना, यज्ञ आदिमा स्वर फिराएर ३–५ को स्वरमा बजाइन्छ । यस्तै, विवाह ब्रतबन्धमा समेत बजाउनु अनिवार्य छ । मृत्यु संस्कार गर्दा शवयात्रामा मलामीहरूले शवको अघिअघि दोबाटो दोबाटोमा जहाँजहाँ बुर्की छरिन्छ । 

त्यहाँ १–१ पटक बजाउनुपर्छ एकोहोरो स्वरमा । दागबत्ती दिँदा तथा सोलामा शवलाई ३ पटक घुमाउँदा लामो स्वरमा एकोहोरो बजाएर आत्मालाई बिदाई गरिन्छ । 

दिव्य घण्ट

यो बाजा मन्दिरहरूमा राखिन्छ । कुनै पनि नयाँ मन्दिर स्थापना गर्दा त्यस मन्दिरमा जुन देवता छन्, सोही देवताको मन्त्रले अभिमन्त्रित गरी दिव्य घण्ट बनाइएको हुन्छ । दिव्य घण्ट स्थापना गर्दा जोर स्थापना गर्नुपर्छ तर कतैकतै एउटा मात्र पनि स्थापना गरेको पाइन्छ । 

दिव्य नगरा

मंदिर, शिवालय, पिठ, मठले भरिएको नेपालमा अनेक प्रकारका नगराहरूको प्रचलन छ । एउटादेखि ३६ वटासम्म बजाउन मिल्ने नगराहरू छन् । देव नगराहरू शिवालय तथा नाथहरूको मठमा चढाइएको हुन्छ । 

तामाका ठूलाठूला नगरालाई तोकिएको तालमा दुई–दुईवटा ठूला लामा गजोले ठोकेर बजाइन्छ । सन्ध्या आरतीको बेलामा यो बाजा नबजाई हँुदैन । मंदिरहरूमा देव नगरा बजाउन अलग्गै गुठीको व्यवस्था गरिएको हुन्छ । 

हालका केही वर्षहरूमा गुठीहरू नासिँदै गएकाले हाम्रा पवित्र देवस्थलहरूमा देव नगराहरू बज्न छाडेका छन् । पुरानो पुस्ता र नयाँ पुस्ताबीचको संस्कृति समन्वयको अभावले यस्ता बाजा बजाउने ताल बोलहरूको पनि अभिलेख पाउन मुस्किल भए तापनि केही लोकबाजा अनुसन्धानकर्ताहरूको पहलमा केही संरक्षण र प्रकाशन भएका छन् । 

नगरा

नगरा नेपालको ज्यादै पुरानो र प्रख्यात बाजा हो । विजय उत्सव होस् या विभिन्न चाड पर्वमा पहिले पहिले यो बाजा बजेको सुन्न सकिन्थ्यो । तर, हाल आएर यो बाजा ज्यादै कम मात्रामा बजेको पाइन्छ । यो तामाबाट बनेको हुन्छ । मुखमा छाला मोडी बनाइन्छ । यो बजाउँदा दुईवटा गजोले ताल मिलाई ठोकिन्छ । 

दिव्य डमरु 

डमरु पौराणिक बाजा हो । भगवान् शिवको प्रिय बाजा डमरु नेपाली लोक जीवनमा प्रचलित छ । धेरैजसो देवी देवताको हातमा डमरु लिएको पौवा तथा भित्ते चित्र अनि पाषाण, धातु मूर्तिकलामा देख्न पाइन्छ । 

बौद्ध तथा हिन्दु दुवै समुदायका देवी देवताकाे पुजाआजाका लागि यो बाजा प्रचलित छ । एक कुरेत चौडा तथा एक बित्ता लामो काठलाई बीचमा सानो पारेर समात्न सजिलो हुने गरी बनाइन्छ । दुवैतर्फबाट खोपेर प्वाल पारेपछि मृगको वा बोकाको छालाले टम्म हुने गरी दुवै मुख छोपिन्छ । दुवैतर्फको मुख तन्काउनलाई छालाको मसिनो तनाले ११ पटक कसिन्छ । फेरि उक्त तनालाई बीचमा कम्मरमा पटुकी कसेजस्तै कसिन्छ । 

अनेकौँ ताल तथा बोलहरू बजाउन सकिने यो बाजाबाट हामीले बोल्ने स्वर तथा व्यञ्जन अक्षरहरू निस्केको भनेर भन्ने गरिन्छ । पटुकीको दुई भागमा लामो तना हुन्छ र उक्त तनाको टुप्पोमा धागो वा कपडाको गाँठो पारिन्छ । दुवै हातमा लिएर दायाँबायाँ हल्लाउँदा यो बाजाको मीठो धून निस्कन्छ । डमडम, डिमीडिमी यो डमरुको बोल हो ।

नादी

नादी नाथ सम्प्रदायमा प्रचलित बाजा हो । नाथ सम्प्रदायमा पनि दीक्षा पूर्ण गरेपछि मात्र यो बाजा बजाउन पाइन्छ । यो कृष्ण सागरको सिङबाट बन्छ । नाथ योगीहरूले यो बाजा घाँटीमा लगाई गरु आराधना गर्दा विभिन्न प्रदर्शन गरी बजाउँछन् । सबै नाथ योगीहरूको घाँटीमा यो बाजा हुनुपर्छ भन्ने विश्वास गरिन्छ । 

तासा

यो प्राचीन बाजा हो । हाल पनि यो बाजालाई सैनिकहरूले आफ्ना विभिन्न कार्यक्रमहरूमा बजाउने चलन रहेको छ । कपिलवस्तु क्षेत्रतिर पनि अनेकौँ साँस्कृतिक समारोहहरूमा यो बाजा बजाउने गरिन्छ । 

यो भुस्याहा उपत्यकाको प्रचलित लोकबाजा हो । यो धिमे बाजाको सहायक बाजा हो । काँसबाट बनेको यो बाजा मध्यम आकारको हुन्छ र ठूलो स्वर आउँछ । यो ज्यापु जातिको ताल बाजा पनि हो ।


यो बाजाको प्रयोग ज्यादै पहिलेदेखि नै हुँदै आए तापनि हाल यो बाजा लोप जस्तै भइसकेको छ । यो बाजा पहिले पहिले सैनिकहरूलाई कवाज खेलाउँदा ठोकेर बजाइन्थ्यो । यो छालाले मोडेको ताल बाजा हो । मार्फा

झ्याली

मध्यम प्रकारको काँसको बाजा झ्याली नेपालमा धेरै ठाउँमा प्रचलित छ । लोकबाजाहरू केही निश्चित जातिमा सीमित क्षेत्रमा मात्र प्रयोग भइरहेको छ भने केही लोकबाजाहरूले जाति समुदायभन्दा सम्पूर्ण राष्ट्रलाई ओगटेका छन् । 

झ्याली पिट्नुको कथा हाम्रो समाजमा मान्छेलाई कुनै विशेष समाचार वा सार्वजनिक सूचना जारी गराउनु हो । त्यस्ता राम्रा तथा नराम्रा सुखको वा दुःखको प्रतिनिधित्व गर्ने तर सबैले थाहा पाउनुपर्ने खबरलाई झ्याली पिटेर मान्छेको ध्यान आकर्षित गरिन्छ र सुनाइन्छ । आज त्यो प्रचलन विलकुलै बन्द जस्तै छ तर भजन, कीर्तन तथा मेलामा यो बाजाको सुमधुर ध्वनि सुनिँदै आएको छ । 

८ अंगुल अर्धव्यासको पातलो काँसको पातालाई बाहिरी गोलोमा उठेको र भित्री भाग दबेको बनाइन्छ । बीचमा सानो प्वाल पारी तुनाले दुईवटा झ्याली पत्रलाई बाँधिन्छ । बजाउँदा दुवै हातले ताल मिलाएर ठोकी आवश्यकताअनुसारको ध्वनि निकालिन्छ । 

यो भुस्याहा उपत्यकाको प्रचलित लोकबाजा हो । यो धिमे बाजाको सहायक बाजा हो । काँसबाट बनेको यो बाजा मध्यम आकारको हुन्छ र ठूलो स्वर आउँछ । यो ज्यापु जातिको ताल बाजा पनि हो ।

बानो

यो बाजा अर्धचन्द्राकारको हुन्छ र तामाबाट बनेको हुन्छ । बौद्ध पूजामा गुरुहरूले यसलाई बजाउने गर्छन् । यो मुखले फुकेर बजाइने सुसिर बाजा हो । यो एक मुडी हात लामो हुन्छ र अनेकौँ कलात्मक बुट्टा बनाइएको हुन्छ । 

काहाल

काहाल तामाबाट बनेको झण्डैझण्डै दुई हातजति लामो अर्धचन्द्राकार हुन्छ । यो मुखले फुकेर बजाइन्छ । यो बाजा पुराना पुराना देव पिठ तथा मन्दिरतिर देख्न पाइन्छ । गोरखा दरबारमा पनि बजाएको देख्न पाइन्छ । यो ज्यादै पुरानो बाजा मानिन्छ । 

कर्णाल

यो बाजा तामाबाट बनेको हुन्छ । यो ज्यादै ठूलो स्वर आउने बाजा हो । यो बाजा नौमती बाजाअन्तर्गत पर्छ । शिरमा तामाको पाथी राखिएको हुन्छ र यसलाई तलबाट फुकेर बजाइन्छ । यस बाजालाई दुई टुक्रामा विभाजन गरेर राख्न सकिन्छ । यो बाजा पूर्वी नेपाल र पश्चिम नेपालमा भिन्नाभिन्नै प्रकारको हुन्छ । 

शिखर

गोरखातिर प्रचलित यो बाजा तामाबाट बनाइन्छ । मुखले फुकेर बजाइने यो बाजाको आवाज आउने मुख गोलो हुन्छ । झण्डैझण्डै दुई हातजति लामो यो बाजा घुमाउरो मोडिएको हुन्छ । 

दमाहा

यो पञ्चे बाजा समूहको एक बाजा हो । यो छालाले मोडेको हुन्छ र एउटा सानो गजोले ठोकेर बजाइन्छ । यो दमार्इं जातिको बाजा भनेर परिचित छ ।  पानीले दुई–तीन दिनसम्म भिजाएको दमाहा राम्रो बज्छ भनिन्छ । 

ट्याम्को 

नौमती वा पञ्चे बाजा समूहको सानो बाजा ट्याम्को ज्यादै रमाइलो बाजा हो । ससानो काठको आरी जस्तोमा टम्म पारेर छालाले मोडिन्छ । गाईको छाला ज्यादै राम्रो मानिन्छ यसका लागि । छोपेको छालालाई छालाकै तनाले तन्काई पुछारमा बिँड जस्तो बनाई फर्काइन्छ । यस प्रकार दमाहा जस्तै गरेर तनै तनाले कसेको ट्याम्कोलाई बजाउँदा एक्लै बजाइन्न । 

ढोलकी दमाहाको तालमा ताल दिँदै दुवै हातको चोरी औँला र बुढी औँलाले गजो समाइन्छ । ज्यादै छरितो चालले ट्याम्कोको बोललाई बतै पुल्टुङ पुल्टुङ पनि भनिन्छ । बिहेमा बजाउँदा रमाइलो गरेर बाजाको स्वरलाई भन्दा नरसिंहाले भात कहाँ पकाको छ भन्छ, ट्याम्कोले कान्लामुनि कान्लामुनि भन्छ भन्ने उखानसमेत प्रचलित छ । 

घोर सहने

यो पञ्चे बाजा समूहको महत्त्वपूर्ण स्वरबाजा हो । यो ढोडे सहनेको विशेषता भनेको बजाउँदा अलिक ठूलो स्वर आउनु नै हो । यो लमजुङ तथा गोर्खातिर बजाइन्छ । यो दमाईं जातिको बाजा हो । यो बाजा बजाउँदा एक्लै नबजाई जोर रूपमा बजाउने चलन छ वा बजाउनुपर्छ । 

रासा

गोरखाकी प्रसिद्ध देवी मनकामनाको मन्दिरमा पूजा गर्दा यो बाजा बजाइन्छ । यो फुकेर बजाइने सुर बाजा हो । झट्ट हेर्दा सहनाइँ जस्तै अर्ध ॐ कारको आकारको यो बाजा दैनिक आरतीहरूमा बजाइन्छ । 

५ मुखे नरसिंहा

यो बाजा पञ्चे बाजा समूहको बाजा हो । यो बाजा तामाको पातलो पाताबाट बनेको हुन्छ । यो बाजा झण्डै अर्धचन्द्र आकारको हुन्छ र स्वर आउने भाग ठूलो र फुक्ने ठाउँ सानो हुन्छ । यो दमाईं जातिको बाजा हो । 

आकाश तत्त्वको प्रतीकको रूपमा यो बाजा बजाइन्छ । यो पाँच मुखदेखि सात मुखसम्मको हुन्छ । नेपालमा सबैभन्दा लामो नरसिंहा कास्कीकोटमा छ ।

बिजुली बाना

यो बाजा तामाबाट बनेको हुन्छ । यस बाजाको मुख भागमा मल ः (ड्रागन)को जस्तो मूर्ति अंकित गरिएको हुन्छ । यसलाई मुखले फुकेर बजाइन्छ । यो बाजा गोरखामा प्रचलित छ । 

फामुक 

यो बाजा बाँसका ३ टुक्रालाई लहरै मिलाएर बनाइन्छ । यो बाजा लिम्बूवानमा बजाइने पुरानो बाजा हो । यो बाजा विभिन्न चराचुरुङ्गीका आवाज निकाली बजाइन्छ, जसबाट अनेक संकेत तथा गुप्त सन्देश दिन मिल्छ । 

ढोडे सारंगी

ढोडे सारंगी गाइने जातिको प्रमुख बाजा हो । पाटे सिउँडीको काठलाई राम्रोसँग सुकाएर यो बाजा बजाउनुपर्छ । हलुंगो तथा नरम काठ धेरै प्रकारका लोकबाजामा प्रयोग हुन्छ । यसमा विभिन्न अंग हुन्छ । तार कस्नलाई असुरोको मुर्रा भन्छन् । 

माथिका चारवटा तार छुट्याउने श्रीखण्ड काठको सुन्दरी हुन्छ । तल पेटमा कसेको छाला बाँदरको हुनुपर्छ । तार सिकार गर्दा मारेको रतुवा मृगको वा हरिणको आन्द्राबाट बनाउनुपर्छ । तल चारवटा तार मिलाउन विजयसालको घोडी चाहिन्छ । सारंगी रेट्न घोडाको पुच्छरयुक्त धनो चाहिन्छ र त्यसको टुप्पोमा तीन वा पाँचवटा काँसका झुम्का राखिन्छ । स्वर निकाल्न सल्लाको पकाएको खोटो चाहिन्छ । कर्रा, सवाई र अनेकन लोकगीत गाउन यो प्रमुख बाजा हो । चारवटा तार एडीडीएमा मिलाइन्छ ।              

त्रिशूल घण्ट

नेपाली जनजीवनमा चलेको लोक वाद्य परंपरा अचम्मको छ । अनेकन जाति, जनजाति तथा धर्म र संप्रदायका देव देवीका छुट्टाछुट्टै बाजाहरू छन् । त्यस्तै, शैव त्रिशूल घण्ट पनि एक हो । ११ अंगुल लामो र पाँच अंगुल अर्धव्यास भएको शैव घण्टमा काँसको भाग अलिक कम हुन्छ । शिरमा त्रिशूलको आकार भएर नै होला शैव त्रिशूल घण्ट भनिएको । यो घण्ट विशेषतः शैव संप्रदायमा प्रचलित छ । ११ अंगुल लामोको अर्थ एकादश रुद्रसँग जोडिएको हुन सक्छ । शिवको एकादश रुद्र नेपाली शैव संप्रदायमा अति नै प्रचलित रहेको छ । 

पाँच अमलको अर्धव्यासको भगवान् अर्थ शिवका पाँच मुख इसान, अघोर, सद्योजात, वामदेव, तत्पुरुष आदि हुन् । साथसाथै मानवमा भएका पाँच तत्त्व पृथ्वी, जल, अग्नि, वायु, आकाश तत्त्व शुद्ध गर्नसमेत यसको प्रयोग भएको हुन सक्छ । यसबाट प स्वर निस्कन्छ । 

झुर्मा
झुर्मा पञ्चे बाजा, नौमती बाजा समूहको एक मुख्य ताल बाजा हो । यो काँसबाट बनेको हुन्छ । पञ्चेबाजा समूहमा प्रयोग गरिने झुर्मा मझौला आकारको हुन्छ । यो बाजा दुवै हातमा समातेर विभिन्न तालमा ठोकेर बजाइन्छ । यस बाजालाई अग्नि तत्त्वको प्रतीकका रूपमा हामीले चिन्छौँ । यो दमाईं जातिको बाजा हो । 

नाय् खिं

नाय् खिंको बोल र ताल सुनेर यो कुन अवसरमा बजाइएको हो भनेर काठमाडौंका स्थानीय वासिन्दाले थाहा पाउँछन् । सामान्य पञ्चे बाजाको ढोलकीको आकारको काठको हुन्छ नाय् खिं । सामान्यतया अन्य छालाले मोरेको जस्तै दुवैतर्पm चक्कालाई तनाले कसिन्छ । दायाँतर्पmको छाला बाक्लो र बलियो हुनुपर्छ । 

कथीले ठोक्दा राम्रो बज्न बलियो छाला चाहिने र देबे्रतर्पm हातैले बजाइन्छ तर देबे्रतर्पm खरी हुने ठाउँमा यो बाजामा विविध आवाज निकाल्न मैन पकाएर दल्ने गरिन्छ । त्यो मैन दलिएको ठाउँमा देब्रे हातको बीचको औँला रगडेर छुट्टै स्वर निकालिन्छ । 

शुभकार्य, जरुरी सूचना तथा शवयात्रामा समेत यो बाजा त्यतिकै प्रयोग गरिन्छ । नौ बाजा बजाउँदा तथा अन्य अवसरमा हामी लोकप्रिय नाय् खिं बाजा सुन्न सक्छौँ । जाति विशेषले मात्र सिक्न, बजाउन हुने भनेर भनिए तापनि आजभोलि काठमाडांै उपत्यकामा जाति, लिंग, संप्रदायभन्दा माथि उठेर यो बाजा सिक्ने गरिएको पनि पाइन थालिएको छ । 

छत्तीस नगरा

छत्तीस नगरा भेरी, सेती र कर्णाली अञ्चलमा ज्यादै प्रचलित छ । यो नगरै नगराको वाद्य समूह हो । यसमा १८ जोर वा ३६ वटा हुने भएकाले नै यसको नाम छत्तीस नगरा रहन गएको हो । यो बाजा एकैचोटि बजाइन्छ र बजाउँदा ध्वनि ज्यादै उल्लासपूर्ण हुन्छ । 

ढोल

ढोल ताल बाजा समूहअन्तर्गत पर्छ । यो बाजा झट्ट हेर्दा मादलको जस्तो एकातिर सानो र एकातिर ठूलो नभई बराबरका घार हुन्छन् । यो बाजा एकापट्टि गजो र अर्कोपट्टि हातले ताल दिएर बजाइन्छ । 

ढोलकी

यो बाजा पञ्चे बाजाअन्तर्गतको ताल बाजा हो । यो बाजा दुवैपट्टि छाला मोडी बनाइन्छ । दुवैपट्टि बराबर किनार भएको यो बाजा एकापट्टि हात र अर्कोपट्टि लौरोले हिर्काएर बजाइन्छ । छाला कस्दा हातले बजाउनेतर्फ पातलो र लौरोले बजाउनेतर्फ बाक्लो कसिएको हुन्छ । 

फाक्वा

यो लिम्बू जातिको बाजा हो । यो बाँसबाट बनेको हुन्छ । यो बाजा लिम्बू जातिले पितृकार्यमा बजाउँछन् । मुन्धुमको पाठसहित पितृ अर्चनामा अनिवार्य बजाइने यो बाजा बजाइसकेपछि मात्र पितृले प्रसाद स्वीकार गर्छन् भन्ने विश्वास गरिन्छ । 

याे पनि 

लोकबाजा र सेनाको सम्बन्धः नयाँ पुस्ता सैनिकलाई ‘जनाउ’ बाजा, धून, संगीतको बारेमा अनभिज्ञता !