विश्वकप छनोटको खेल स्थगित

विश्वकप छनोटको खेल स्थगित

लोकसंवाद संवाददाता  |  खेलकुद  |  फागुन २३, २०७६

काठमाडाैँ । विश्वव्यापीकरण फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित हुने भएको छन ।

 विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले तत्कालका लागि एसियामा तय भएको खेल स्थगित गर्ने निर्णय गरेको हो । 

 बैठकले फिफामा आबद्ध सबै व्यक्तिको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै तत्कालको लागि खेल स्थगित गरिएको जनाएको छ । फिफाको निर्णयसँगै बिहीबार युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बच्न खेलकुद प्रतियोगितालगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभसम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो । 

फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटअन्तर्गत समूह बी मा छैटौँ र सातौँ चरणको खेल नेपालमा हुने तय भएको थियो । जसमा नेपालले चाइनिज ताइपेयसँग चैत १३ र अस्ट्रेलियासँग चैत १८ गते खेल्ने तय भएको थियो । 

छनोट खेलअन्तर्गत पाँच खेल खेलेको नेपालले तीन अङ्क मात्र जोडेको छ । चाइनिज ताइपेयलाई पराजित गरेको नेपाल चौथो स्थानमा छ । त्यस्तै १२ अङ्क जोडेको अस्ट्रेलिया शीर्ष स्थानमा छ भने १० अङ्क जोडेको कुवेत दोस्रो स्थानमा छ । त्यसै गरी समान १० अङ्क जोडेको जोर्डन तेस्रो स्थानमा छ भने अङ्कविहीन रहेको चाइनिज ताइपेय अन्तिम स्थानमा छ ।