मनुष्यहरूको ज्ञान, भक्ति र सिद्धि प्राप्तीकाे बाटो

मनुष्यहरूको ज्ञान,  भक्ति र सिद्धि प्राप्तीकाे बाटो

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  फागुन २४, २०७६

सप्तोमोऽध्यायः


श्री भगवानुवाच –

    मय्यासक्तमनाः पार्थ योगं युञ्जन्मदाश्रयः ।
असंशयं समग्रं मां यथा ज्ञास्यसि तच्छृणु ।। १ ।।

अन्वय र अर्थ – श्री भगवानुवाच = भगवान् श्री कृष्णले भन्नु भयो, पार्थ = हे पार्थ ? मयि = ममा, आसक्तमनाः (सन्) = आसक्तमन भएको छँदो, योगं = योग, युञ्जन् = अभ्यास गर्दै, मदाश्रयः = मलाई मात्र आश्रय पाएर, (त्वं = तिमी), यथा = जुन प्रकाले, समग्र = विभूति, बल, शक्ति, ऐश्वर्यादि समस्त गुणहरूले सम्पन्न, मां = परमात्मालाई, असंशयं = संशय रहित, ज्ञास्यसि = जान्नेछौ, तत् = त्यो कुरा, श्रृणु = श्रवण गर ।

भावार्थ – हे पार्थ ? ममा आसक्त मनवाला बनेर योगको अभ्यास गर्दै गर्दै मलाई आश्रय पाएर जसरी मलाई समग्र भावले सम्पन्न संशय रहित भएको  जान्ने छौ, त्यो सुन ।

विशिष्टार्थ – मयि आसक्तमना भएर अर्थात् मनलाई आत्ममन्त्रका साथ एक मात्र आत्मामा –तत् पदमा संयुक्त गरेर योगाभ्यास (ब्रम्हनाडीमा प्राण चालन) गर्नु नै  कर्म – साधन मार्गको पहिलो क्रम हो । यस कर्मका सम्बन्धमा जे  जे भन्नुथ्यो त्यसलाई पूर्व अध्यायमा भनेर कृष्ण भगवान्ले छैठौं अध्यायको अन्तिम श्लोकमा–कर्म भक्तिमिश्रित भएमा नै कर्मको चरम फल जुन युक्ततम अवस्था हो त्यसको प्राप्ति हुन्छ भन्ने कुरा देखाउनु भएको छ । किन कि 'मयि आसक्तमनाः' भएर योगको अभ्यास गर्दा गर्दा नै  'मदाश्रय'(आफै आफ्नो नो आश्रय) हुनु हो । अर्थात् साधकको आफ्नो  हराएको सम्पत्ति परमात्माको आश्रय रूपले प्राप्त हुनु हो । यसको अर्थ हो – प्राण क्रिया शान्त हुनु भन्दा पहिले जुन सर्वशक्ति कारण कूटस्थ पुरुष रूपले टाढा देखिनु हुन्थ्यो, अब प्राणक्रिया स्थिर भैदिंदा त्यो पुरुष समीपवर्ती हुनुहुन्छ, साधकको चैतन्य सत्वा अवाधतः उहांमा नै स्थिर हुन्छ, उहां नै एक मात्र आश्रय हुनुहुन्छ ।

पञ्चमहाभूत, पञ्चतन्मात्रा, दश इन्द्रियहरू, चार अन्तःकरण यी चौवीस तत्वमा विभक्त छ । अव्यक्तबाट नै यी चौवीसैको उत्पत्ति भएका कारण अव्यक्तलाई छुटृै तत्व मानिदैन, कसै कसैले मान्छन् पनि । यसो हुँदा अव्यक्त पच्चीस तथा पुरुष छव्वीस हुन्छ, नत्र भने पुरुष नै पच्चीस हो ।

यसरी समीपवर्ती हुनुको नाम उपासना हो । त्यसकारण  छैठौं अध्यायमा कर्मशेष हुनाले नै सातौं अध्यायमा यस उपासनाको प्रारम्भ भएको छ । उपासना नै साधन मार्गको दोस्रो क्रम हो ।  यस उपासनाद्वारा नै परमेश्वरको  विभूति, बल, शक्ति,ऐश्वर्य प्रभृति समग्र गुण निः संशय रूपले जानिन्छ, प्राप्त पनि हुन्छ, अति मिलन भएर फलाममा अग्निको संक्रम जस्तै हुन्छ । जुन प्रकारले जान्न सकिन्छ त्यही कुरा भगवान्ले यस अध्यायमा उपदेश गर्नु हुन्छ । अर्जुन (साधक) अव सोही उपदेशलाई सुन्नका लागि अधिकारी भएका छन् र त्यसलाई ग्रहण गर्न पनि समर्थ छन् । त्यही संझाउनका लागि भगवान्ले उनलाई पार्थ भनेर सम्बोधन गर्नु भएको छ अर्थात् अर्जुन जो मातृस्वभाव गुणले आकर्षण  शक्ति बलले इच्छानुसार एक भावलाई त्याग गरेर अर्को भाव ग्रहण गर्न समर्थ छन्, यसलाई संकेत रूपमा यत्ति नै संझाइएको छ ।

    ज्ञानं तेऽहं सविज्ञानमिदं वक्ष्याम्यशेषतः ।
    यज्ज्ञात्वा नेह भूयोऽन्यज्ज्ञातव्यमवशिष्यते ।। २ ।।

अन्वय र अर्थ – अहं = म, ते (तुम्यं) = तिमीलाई, इदं = यो, सविज्ञानं = विज्ञानले सहित, ज्ञानं = ज्ञान, अशेषतः = केही वांकी नराखिकन, बक्ष्यामि = बताउने छु । यत् = जुन ज्ञान, ज्ञात्वा = जानेर, इह = यस संसारमा, भूयः = फेरि, अन्यत् = अरू, ज्ञातव्यं = पुरुषार्थ साधन जान्नु पर्ने, न अवशिष्यते = वांकी रहने छैन ।

भावार्थ – म तिमीलाई विज्ञानका साथ यो ज्ञान अशेषरूपले बताउने छु, जसलाई जानेपछि यस जगत्मा अरू केही जान्नु पर्ने वांकी रहने छैन ।

विशिष्टार्थ – कर्मलाई अतिक्रम गरेर उपासनामा प्रवृत्त भएपछि अपरोक्षानुभूतिमा (निजबोध गरेर) ज्ञान र विज्ञानलाई जानिन्छ, यो जानिसकेपछि जान्नु पर्ने अरू कुनै वांकी रहदैन । साधक अव सोही उपासनामा प्रवृत्त छन्, अतः जान्नु पर्ने जे जति छ त्यो सबै श्रीगुरुको उपदेशबाट उसलाई अवगत हुन्छ, केही वांकी रहदैन ।

    मनुष्ययाणां सहस्रेषु कश्चिद् यतति सिद्धये ।
    यततामपि सिद्धानां कश्चिन्मां वेत्ति तत्वतः ।। ३ ।।

अन्वय र अर्थ – मनुष्याणां सहस्रेषु = असंख्य मनुष्यहरू मध्ये, कश्चित् = कुनैकुनैले मात्र, सिद्धये = मोमक्षरूप  सिद्धिका निमित्त, यतति = प्रयत्न गर्दछ, यततां = प्रयत्न गर्ने, सिद्धानां अपि = सिद्धहरू मध्ये पनि, कश्चित् = कुनै एक, मां = परमात्मालाई, तत्वतः = यथार्थरूपले, वेत्ति = जान्दछ ।

भावार्थ – हजारौं मानिसहरूका वीचमा कुनै एक महापुरुष सिद्धिका लागि प्रयत्न गर्दछन्, फेरि सिद्धगण प्रयत्नशील भएर पनि तिनीहरू मध्ये कुनै एक महापुरुषले  यथार्थरूपले म (परमात्मा) लाई जान्न सक्दछन् ।

विशिष्टार्थ – ज्ञान अति दुर्लभ विषय हो, भक्ति नभै प्राप्त हुँदैन । मनुष्य बाहेक अरू कुनै जीवले ज्ञान पाउँदैन । मनुष्यहरूमध्ये पनि ज्यादै कम, हजारौं व्यक्ति मध्ये कुनै एकले सिद्धि प्राप्त गर्ने चेष्टा गर्दछ, अर्थात् ज्ञान लाभ गर्न प्राणायामद्वारा प्राणलाई जित्ने प्रयत्न गर्दछ । प्राणायामको अभ्यासद्वारा ब्रम्हनाडीलाई अवलम्बन गरेर आज्ञामा स्थिर हुनु नै सिद्धि हो । यो सिद्धि नै कर्मकाण्डको शेष हो ।

कर्ममा सिद्धि लाभ गर्नासाथ तुरुन्त ज्ञान लाभ हुँदैन, उपासना चाहिन्छ । सिद्ध भएर उपासनामा यत्नशील नभएमा मायाको विपाकमा त पर्नु नै पर्छ, परन्तु यत्न शील हुनाले जुन ज्ञान लाभ अर्थात् परमात्मतत्व वा विष्णुपद प्राप्त हुन्छ त्यो पनि हुँदैन, किन कि चित्त लय नहुँदासम्म मायाले मोह जाल विस्तार गरेर साधकलाई मोहित गर्नका लागि चेष्टा गरिरहन्छे ।

त्यो मोहिनी शक्तिलाई अतिक्रमण गर्नका लागि उपयुक्त तीव्र वैराग्य वेग नरहनाले नै पतन हुन्छ । त्यसैले अत्यन्त कम मनुष्य नै आत्मालाई  'तत्वतः' जान्न सक्छन्, अर्थात् चौवीस तत्वभन्दा पृथक् तत्वातीत निरञ्जन पुरुष जो 'म' सोही 'म' को (मेरो) स्वरूपलाई अवगत गर्दछन्, उसैमा मिलेर 'सदसत् तत्परं यत्', उही बन्छन् । किन्तु गुरुपदमा वासुदेवमा आत्म समर्पण गर्नाले, भक्त बन्नाले मायाको मोहिनी शक्ति स्वतः नष्ट हुन्छ, मायाको अतिक्रम पनि हुन्छ । अर्जुनरूपी साधक आज भक्त तथा सखा भएकाछन, ('भक्तोऽसि मे सखाचेति'), कर्मलाई अतिक्रमण गरेर उपासनामा प्रवृत भएका छन् । अतः श्री गुरुदेव कूटस्थ चैतन्यरूपले उनका नजिक सन्मुखमा  उनका चालक (सारथी) बनेर उपस्थित हुनु भएको छ, शिष्यका सम्पूर्ण  संशयहरू हटाई दिनुहुन्छ, स्वयं आप्mनो मायालाई हटाइदिनुहुन्छ, मायिक आवरणद्वारा साधकको गतिरोध हुन दिनुहुन्न, शिष्यको अन्तःकरणमा शक्ति संचार गरेर ज्ञान र विज्ञान दुबैको एकैसाथ प्रकाश गरि दिनुहुन्छ । अहो ! धन्य तिनी हुन् जसलाई यो अवस्था प्राप्त भएको छ, तिनैको जीवन सार्थक छ । 

    भूमिराथोऽनलो वायुः खं मनो बुद्धिरेव च ।
    अहंकार इतीयं मे भिन्ना प्रकृति रष्टधा ।। ४ ।।

अन्वय र अर्थ – भूमिः = पृथ्वीतत्व (तन्मात्रा), आपः = जलतत्व, अनलः = तेजतत्व, वायुः = स्पर्शतत्व, खं = आकाशतत्व, च = अनि, मनः = मनको कारण अहंकारतत्व, एव = त्यस्तै, बुद्धिः = अहंकारको कारण महतत्व, अहंकारः = अविद्यायुक्त अव्यक्त – मूल प्रकृति, इति इयं = यस प्रकारको उपर्युक्त प्रकृतिको, मे = मेरो, प्रकृतिः = माया शक्ति, अष्टधा = आठ प्रकारल, भिन्ना = विभागमा प्राप्त भएको छ ।

भावार्थ – पृथ्वी, जल, अग्नि, वायु, आकाश र मन, बुद्धि, अहंकार गरी यस रूपले मेरो प्रकृति यी आठ भागमा विभक्त छ ।

विशिष्टार्थ – अव्यक्त वा मूलप्रकृति – पञ्चमहाभूत, पञ्चतन्मात्रा, दश इन्द्रियहरू, चार अन्तःकरण यी चौवीस तत्वमा विभक्त छ । अव्यक्तबाट नै यी चौवीसैको उत्पत्ति भएका कारण अव्यक्तलाई छुटृै तत्व मानिदैन, कसै कसैले मान्छन् पनि । यसो हुँदा अव्यक्त पच्चीस तथा पुरुष छव्वीस हुन्छ, नत्र भने पुरुष नै पच्चीस हो । प्रकृतिलाई यी चौवीस तत्वहरूमा विभाग गरिए ता पनि यो यथार्थतः आठ भागमा नै विभक्त छ । विकार क्रियाद्वारा  सोही आठबाट अरू सोह्र तत्वहरूको उत्पत्ति हुनाले नै चौवीस तत्व हुन्छन् । यस श्लोकमा प्रकृतिको अविकृत आठ अंशको कुरा नै भनिएको छ । आठ भाग यस प्रकार छन् –

(१)    भूमि – पृथ्वीतत्व, यसको स्थान भूलाधार हो ।
(२)    आप – रसतत्व, यसको स्थान स्वाधिष्ठान हो ।
(३)    अनल – तेजस्तत्व, यसको स्थान मणिपुर हो ।
(४)    वायु – वायुतत्व, यसको स्थान अनाहत हो ।
(५)    खं – आकाश तत्व यसको स्थान विशुद्ध हो ।

(६)    मन – एकादश इन्द्रिय, दश इन्द्रियहरूको नेता, अतः मन शव्दबाट मनको कारण अहंकार एवं दश इन्द्रियहरूलाई पनि बुझिन्छ । मनको देवता चन्द्रमा र यसको स्थान आज्ञामा कूटस्थ भित्र पटिृ जहाँ चन्द्र मण्डलको विकिास छ ।

(७)    बुद्धि – बुद्धि शब्दले बुद्धिको कारण महतत्वलाई पनि बुझिन्छ, यसका देवता ब्रम्ह र स्थान आज्ञामा कूटस्थको बाहिर पटिृ, जहाँ विवश्वानको विकास भएको छ ।

(८)    अहङ्कार – अहङ्कार (आत्मा) शब्दद्वारा अविद्या संयुक्त अव्यक्त पनि बुझिन्छ, किन कि अहङ्कार नै सृष्टि बृद्धिको कारण हो, अतः मूलकारण अव्यक्तलाई यसै अवस्था अन्तर्गत लिइएको छ । यसको स्थान हो – आज्ञाभन्दा माथि 'दशाङ्गुल' र सहस्रार ।

साधक अब उपासनामा प्रवृत्त, कूटस्थ चैतन्यको समीपमा स्थित छन् । सबै उनले प्रत्यक्ष गर्दछन्, किञ्चित मात्र पनि अरू टाढा हुँदैन, सबै निकटमा हुन्छ । यस कारण भगवान् लक्ष्य गराएर देखाउनु हुन्छ   'इयं मे प्रकृति रष्टधा भिन्ना' – यो मेरो प्रकृति आठ भागमा विभक्त छ ।

    अपरेयमित स्त्वन्यां प्रकृतिं विद्धि मे पराम् ।
    जीवभूतां महाबाहो ययेदं धार्यते जगत् ।। ५ ।।

क्रमशः

आत्मच्युत चंचल मनलाई परित्याग गरी वशमा राख्ने उपाय

द्वितीय 'अहं', परमात्माले दिएको  'अहं'  र अद्वैतभाव

अभ्यास के हो ? वैराग्य के हो ?

योग भ्रष्टका प्रकार र लाभकाे अन्तरसम्बन्ध

चित्त शुद्धि भएर पनि ध्यान विना मुक्ति असम्भव