प्रा.डा. विद्यानाथ कोइराला | शिक्षा | फागुन २५, २०७६
शिक्षण कला फेर्नै पर्छ । मैले खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा सबै शिक्षक साथीहरूलाई सोधेँ, ‘तपाईंको टाउकोमा कतिवटा रौँ हुन्छन् ?’
कसैले पनि उत्तर दिनुभएन । उहाँहरूले गन्नुभएकै थिएन । एकअर्काको जुम्रा हेरेकाले पनि कपालको रौँ भने गनेका थिएनन् ।
रौँ गन्नलाई त टाउकोभरीको नाप थाहा पाउनुपर्छ । दुईले भाग गर्नेवित्तिकै आधा टाउकाको नाप स्वतः थाहा हुन्छ । त्यही प्रक्रियाले बाँड्दै जाने हो भने टाउकोको सानो एकाईको नाप थाहा पाइन्थ्यो । अर्थात् त्यही टाउकोलाई ४, ५, ६, ७ पटक बाँडेर एक ठाउँको रौँ गनेर निश्चित भागले गुनेको भए त नाप आउँथ्यो । तर, गणित पढाउने शिक्षकले पनि गरेनछन् ।
विद्यार्थीले विस्तारै त्यस्तो कुरा खोज्न थालेछन् । परिणामतः विद्यार्थीले व्यास पनि थाहा पाए । अर्धव्यास पनि थाहा पाए । त्यसलाई वर्गीकरण गर्ने तरिका पनि थाहा पाए । नमुना पनि थाहा पाए । नमुना पछि गएर उनीहरूले गन्न पनि थाहा पाए ।
गनेपछि गुन्न पनि थाहा पाए । यसरी पढाए पो जनवादी बन्छ ! व्यावहारिक बन्छ !! वैज्ञानिक बन्छ !!! त्यो एउटा शिक्षणको अभ्यास हो । एउटा बाटो हो । यस्तै बाटोबाट हामी विद्यार्थीहरूलाई जसरी पनि पढ्न सकिन्छ है भन्ने सन्देश दिन सक्छौँ ।
पढ्ने भनेको एउटै वस्तुलाई धेरैवटा दृष्टिकोणले हेर्ने हो । केटाकेटीहरूले त्यो काम कम्प्युटरमा गर्छन् । उदाहरणका लागि, सगरमाथाका बारेमा उनीहरूले पढ्नुपर्यो भनेदेखि त्यसका बारेमा कसले के लेख्यो ? गुगलमा खोज्छन् । त्यसो गर्नेवित्तिकै सगरमाथाका बारेमा कतिवटा लेख छन् ? स्वदेशीले के लेख्यो ? विदेशीले के लेख्यो ? त्यो सबै थाहा पाउँछन् ।
कसैले उचाइका बारेमा, कसैले गहिराइका बारेमा, कसैले त्यहाँ जाँदाको रोमान्सको बारेमा, कसैले माटोको बारेमा थाहा पाउँछद् । कसैले त्यसको हिउँ पग्लेर जात्रा भयो भन्नेबारेमा, कसैले त्यहाँ फोहोर भयो भन्नेबारेमा । कसैले भोलिको संभावनाका बारेमा र कसैले विश्वको दोस्रो अग्लो पो हुने हो कि भन्नेबारेमा खोज्छन् र थाहा पाउँछन् ।
यस्तो खालको कुरा विद्यार्थीले गुगलमा खोज्छ । मैले गुगल भनेँ, अरूअरू वेबसाइटहरू पनि हुन सक्छन् । यसरी आर्जित कुराहरू विद्यार्थीलाई प्रस्तुत गर्न लगाउने । तिमीले के देख्यौ ? भनेर सोधेपछि उसले आफूले ल्याएको कुरा गर्वसाथ भन्छ अनि शिक्षकको काम भनेको ४ वटा विद्यार्थीले ल्याएको प्रस्तुतिबाट मैले साझा कुरा यो भेट्टाएँ, तिमीहरूलाई स्याब्बास भनिदियो भने विद्यार्थी त शिक्षक नभएका बेलामा पनि पढिरहने हुन्छन् ।
शिक्षकलाई तालिम दिने काम बन्द गरिदिनुपर्छ । त्यसको सट्टा उनीहरूलाई भोलिका चुनौती तपाईंहरू कसरी सामना गर्नुहुन्छ ? मोबाइल हेरेर केटाकेटीलाई कसरी पढाउनुहुन्छ ? तपाईंले किताब हेरेर पढाउने अनि विद्यार्थी मोबाइल हेरेर पढ्नेको सम्झौता कसरी गर्नुहुन्छ ? यी र यस्ता प्रश्नहरू सोध्नेवित्तिकै शिक्षकले पनि सोच्न थाल्छ ।
विद्यार्थीलाई हरपल (विपश्यना केन्द्रहरूले हरपल सचेत रहो भनेर भन्ने गर्छन्) सचेत भइरहने तरिका सिकाउनुपर्छ । हरपल खोजिरहने किसिमको ढंग विद्यार्थीमा जगाइदिनुपर्छ । त्यो भनेको के हो भने एउटा प्लाई भेट्यो भने उसले त्यो प्लाइउड हेरोस्, त्यो प्लाइउड हेर्नेवित्तिकै त्यसमा तहतह देख्छ । काटेको काठमा हेर्दा त्यस्तो तहतह देख्दैन । त्यसो भए यो तहतह के हो त ? यसमा किन भएन ? तहतह नभएकालाई के गरी तहवाला बनाउन सकिन्छ ?
त्यतिको चिन्तन गराइदियो भने विद्यार्थीले प्लाइउड कसरी बनाउने रहेछ भनेर खोज्दै जान्छ । अर्थात् हाम्रो उडबाट प्लाइउड बनाउन सक्ने संभावना छ कि छैन ? भनेर बुझ्छ । सानासाना स्लाइस बनाएर जोड्ने कुरा सिक्छ ।
त्यस्ता ज्ञान खोज्न विद्यार्थीलाई अन्त पनि जानुपरेन । उसले के गर्ने भयो भने भेट्टाएको मूलालाई ससाना चाना बनाउँछ । ती चानालाई ठड्याएर लठ्ठीमा उन्यो भने सिंगो मूला भयो भन्ने बुझ्छ । लठ्ठी झिकिदियो भने चाना भयो भन्ने बुझ्छ । यसरी उसले स्लाइस र प्लाइको सम्बन्ध थाहा पाउँछ ।
विद्यार्थीले के पनि थाहा पाउँछ भने मूलाको स्लाइस काट्नु भनेको वर्ग सिकाउनु हो । वस्तुहरूलाई वर्गमा परिणत गर्ने तरिकाहरू सिकाउने हो । त्यसरी त्यसको अणु सिकाए पनि भयो, परमाणु सिकाए पनि भयो । त्यति भएपछि विद्यार्थीहरूले के थाहा पाए भने मैले मूला काट्दाखेरि त परमाणुशास्त्र पो पढिरहेको रहेछु । मैले गणितको फ्याटराइजेसन पो पढिरहेको रहेछु भन्ने किसिमको चिन्तन गर्छ ।
कहिलेकाहीँ उसले यसभित्र के हुन सक्ला भन्ने कल्पना पनि गर्छ । त्यस्तो कल्पना गर्न सक्ने विद्यार्थीलाई हामी कल्पना गर्नै दिँदैनौँ किनभने उसले कल्पना गरेको कुरा हाम्रो चिन्तनसँग मिल्दैन । त्यो हाम्रो खराबी हो ।
कल्पना गराउन त प्रश्न चाहिन्छ । तिमीले बसेको ठाउँ भोलि कस्तो होला ? बस्ने सिट कस्तो होला ? यसो छोएपछि जुरुक्क उठ्ने र छोएपछि बस्ने जापानीहरूको ट्वाइलेट जस्तो ? एउटै कोठामा भान्सा पनि ट्वाइलेट पनि र सुत्ने ठाउँ पनि बनाउने विधि जस्तो ? एउटा बटन थिचेपछि कमोड उठेर आउँछ । अर्काे बटन थिच्दा ओछ्यान बन्छ । अर्को थिच्दा भान्सा बन्छ । जापानीहरूले ठाउँको व्यवस्थापन यसरी गरे, तिमी कसो गर्छाै ? भनिदिए के हुन्छ ?
यसरी सोध्ने हो भने केटाकेटीहरूले सोच्न थाल्छन् । अनेकन कल्पना गर्छन् । सपना देख्छन् । यी र यस्ता सपना देख्न थालेपछि तिनलाई बेच्ने कुरा ल्याउँछन् । यसले के हुन्छ भने शिक्षक नभएका बेलामा पनि विद्यार्थीले सपना देखिरहेको हुन्छ ।
‘डे ड्रिमिङ’ होइन कि सिर्जनशील सपना । तिनै सपनालाई संकलित गरेर प्रतिभा चिन्न सकिन्छ । प्रतिभा विकासका लागि लविङ गर्ने हो भने अनेकन काम गर्न सकिन्छ ।
त्यसरी काम गरेर देखाउनेवित्तिकै विद्यार्थीहरूमा जाँगर आउँछ । कसैलाई किताबलाई विश्लेषण गर्ने रहर हुन्छ । यस्तो रहरले किताब पढिरहने मात्र जान्यो भने एउटा काम गर्छ । विश्लेषण अर्कैले गर्छ । अर्काेले पत्याउन मात्र जन्दछ । त्यसले आलोचना गर्दैन ।
अर्थात् कसैले किताबलाई आलोचना गरोस् । त्यो आलोचना गर्नेले म भए यो किताब कसरी लेख्थेँ होला भन्ने सोच्छ । कसैले ‘क’बाट कपन लेख्ला । कसैले ‘ख’बाट खतरा लेख्ला । यो सबै ठीक हो । अर्काेले ‘क’देखि ‘ज्ञ’सम्म नैतिक शिक्षा दिने गरी लेखेको रहेछ । त्यो पनि ठीक हो ।
त्यस्ता ठीकहरूले ‘क’बाट कमिला भन्ने परंपरागत चिन्तन त उल्ट्याइदिए नि ! त्यस्ता सिर्जनशील चिन्तनहरू आउँछन् केटाकेटीहरूबाट । यस्ता सर्जक केटाकेटीहरूलाई पालिकाले पुरस्कृत गर्ने तरिका अपनाए राम्रो हुन्छ । यसो गर्ने हो भने भोलिको केटाकेटी विश्लेषक बन्छ ।
वसन्त महर्जन समालोचकीय लेख लेख्छन् । उनले लेखे– बुद्धको अनुहार यसरी लेखिएको छ, यो कुरा मिल्दैन । त्यस्ता लेखनहरूले अरू खालका चिन्तन जन्माउँछन् । यो मूर्ति यसरी देखाएको छ, यसले त अर्कै सन्देश दिन्छ भन्न सक्छन् । यो कुरा काम लाग्दैन भन्न सक्छन् । त्यस्ता खालका तागतिला विद्यार्थीहरू विस्तारै जन्मिन्छन् । परिणामतः शिक्षणशैलीमा एकदमै परिवर्तन भएर आउँछ ।
हाम्रो भाषणीय शिक्षणशैलीलाई घटाउनका लागि पनि उपाय जन्मिन्छ । शिक्षकले ५–१० मिनेटसम्म कुरा गर्छन् । त्यसमा तपाईंहरू सोच्नुहोस् भन्छन् । खोज्नुुहोस् भन्छन् अनि मलाई भन्नुहोस् भन्छन् । तपाईंहरूको प्रस्तुति र मेरो विचारबारे संवाद गरौँ भन्छन् । तपाईंहरूको दृष्टिकोण राख्नुहोस्, म मेरो राख्छु भन्न थाल्छन् ।
यस किसिमको संस्कार हामीले सिर्जना गर्न सक्यौँ भने पढाउने र पढ्ने शैली दुवै ठीक हुन्छन् । विचारमा नवीनता आउँछ । त्यही नवीनतामा पुरस्कार दिने हो भने शिक्षणशैली बदलिन्छ । प्रश्न सोध्ने पनि कला पनि बदलिन्छ । उत्तर दिने कला पनि बदलिन्छ ।
विद्यार्थीहरूले प्रस्तुतिका नयाँ तरिका जान्दछन् । पठनपाठनका नयाँ तरिका जान्दछन् । पढाउने नयाँ तरिका जान्दछन् । सिक्ने नयाँ तरिका जान्दछन् । चिन्तनका नयाँ तरिका जान्दछन् । अहिले त हामी चिन्तन नै गर्दैनौँ । सबै रेडिमेड भएपछि त चिन्तन हरायो । त्यो कुराबाट पनि बचाउनुपर्छ ।
शिक्षकलाई तालिम दिने काम बन्द गरिदिनुपर्छ । त्यसको सट्टा उनीहरूलाई भोलिका चुनौती तपाईंहरू कसरी सामना गर्नुहुन्छ ? मोबाइल हेरेर केटाकेटीलाई कसरी पढाउनुहुन्छ ? तपाईंले किताब हेरेर पढाउने अनि विद्यार्थी मोबाइल हेरेर पढ्नेको सम्झौता कसरी गर्नुहुन्छ ? यी र यस्ता प्रश्नहरू सोध्नेवित्तिकै शिक्षकले पनि सोच्न थाल्छ ।
यसरी शिक्षकलाई तिख्याउने तथा इख्याउने हो भने भोलिको शिक्षण तथा सिकाइशैली एकदमै परिवर्तन हुन्छ । गर्न पनि सकिन्छ । प्रत्येक पालिकाले शिक्षकलाई यसरी पुनःअभिमुखीकरण गर्ने हो भने त्यसले नयाँ बाटोमा लैजान सक्छ भन्ने मलाई विश्वास छ । आगे निर्णायकको मर्जी ।