बच्चा, वृद्ध र युवा माझ लाेकप्रिय, उत्साह र सद्भावकाे हाेली पर्व

बच्चा, वृद्ध र युवा माझ लाेकप्रिय, उत्साह र सद्भावकाे हाेली पर्व

इन्दु शर्मा  |  समाज  |  फागुन २६, २०७६


हिन्दु धर्ममा एक पवित्र पर्वको रूपमा होलीलाई हेर्ने गरेको पाइन्छ । तिहारको समयमा रमाए जसरी होलीको दिनमा पनि सबै जनाले खुसी साटासाट गरेर उत्सव मनाइरहेका हुन्छन् । 

फागुन मासको पूर्णिमाको दिन मनाइने होली २ दिनसम्म मनाइन्छ । नेपालीहरूलाई रमाइलो साथै प्यारो लाग्ने पर्व होली अर्थात् फागु पूर्णिमा परापूर्वकालदेखि मनाइँदै आएको पाइन्छ । उक्त दिन विभिन्न रङहरूले रङ्गिएका सबैको मुहारमा उज्यालो थपिदिने साथै हर्ष र उमङ्गले सबैको मनमा उज्यालोको छाया देखिने गर्छ । वसन्त ऋतुको समयमा मनाइने यस पर्वलाई इतिहासले पनि वर्णन गरेको पाइन्छ ।

काठमाडौंको वसन्तपुरमा रहेको हनुमानढोकाको गद्दी बैठकमा तीन तले चिर ठड्याएर विधिवत् रूपमा होलीको सुरुवात हुन्छ । असत्यमाथि सत्यको जीत भएको मान्यताको आधारमा उक्त चिर ठड्याउने चलन रहेको छ । विधिवत रूपमा ठड्याइएको उक्त चिरलाई टुँडिखेलमा लगेर जलाई विर्सजन गर्ने चलन रहिआएको छ । जलेको चिरको खरानीलाई शुभ मानेर सबैले आआफ्नो घरघरमा लैजाने चलन पनि रहेको छ ।

थरीथरीका रङहरू साटासाट गरेर मनाइने होली पर्व दुई दिनसम्म मनाउने गरिन्छ । पहिलो दिन अर्थात् पूर्णिमाको दिनमा उपत्यकालगायतका पहाडी स्थानहरूमा र दोस्रो दिन तराईमा गरेर दुई दिनसम्म मनाइने यो पर्व मनाउने आफ्नाआफ्ना तरिकाहरू रहेका पनि पाइन्छ । 

त्रेता युगमा आगोले जलेर नमर्ने वरदान पाएकी हिरण्य कश्यपकी बहीनी होलिकाले हिरण्य कश्यपका छोरा प्रह्लादलाई आगोमा भष्म पार्न भनेर आगोको ज्वालामाथि लिएर बस्दा उनी स्वयं त्यो आगोमा जलेर भष्म भइन् भने प्रह्लादलाई त्यो आगोले केही पनि गर्न सकेन । 

त्यसपछि असत्यमाथि सत्यको जीत भएको मान्यतासँगै खुसीयाली स्वरूप होली मनाएको किम्वदन्ती छ । साथै विष्णुको नरसिंह अवतारको उत्पत्ति, भगवान् कृष्णलाई दूध खुवाई मार्न आएकी राक्षसनी पुतनालाई भगवान् कृष्णले बध गरेको र त्यसपछि गोपालवासीहरूले जयजयकार गरी त्यस दिनलाई रङ्गिन महोत्सवको स्वरूप मानेको इतिहासमा भेट्न सकिन्छ ।

थरीथरीका रङहरू साटासाट गरेर मनाइने होली पर्व दुई दिनसम्म मनाउने गरिन्छ । पहिलो दिन अर्थात् पूर्णिमाको दिनमा उपत्यकालगायतका पहाडी स्थानहरूमा र दोस्रो दिन तराईमा गरेर दुई दिनसम्म मनाइने यो पर्व मनाउने आफ्नाआफ्ना तरिकाहरू रहेका पनि पाइन्छ । 

अनेकथरी रङहरूले मानिस–मानिसबीच उत्साह सद्भावको रूपमा व्यक्त गरेको हुन्छ । बालबालिका, वृद्ध र युवा अवस्थाका सबैमा होलीले निकै खुसीयाली थपिदिएको पाइन्छ । हरेक किसिमका धर्म, समुदाय भएका सबै जनालाई एकै स्थानमा भेला हुने अवसर प्राप्त हुने यस पर्वको छुट्टै प्रकारको उत्साह थपिएको देखिन्छ । 

बच्चा, वृद्ध र युवा सबैलाई मनपर्ने होली अर्थात् खुसीयाली साटासाट गर्ने दिनमा कालो रङको प्रयोग गर्नु त्यति उचित मानिँदैन । अझ पुरानो मान्यतालाई वरण गर्नेहो भने त कालो रङलाई अशुभ रङको रूपमा लिने गरेको पनि पाइन्छ । होली खेल्नका लागि रातो, पहेँलो, नीलो, हरियो, गुलाबी, वैजनी जस्ता रङहरूको प्रयोग गर्दा शुभ हुने जनविश्वास पनि रहिआएको छ ।

विभिन्न जात, धर्म र लिङ्ग सबैले उत्सवको रूपमा मनाउने होलीले सबैलाई उत्साह र उमङ्गले ढकमक्क पारोस्, शुभकामना ।