लोकसंवाद संवाददाता | स्वास्थ्य | फागुन २९, २०७६
पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ ।
‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो ।
नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पु¥याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिनुभयो ।
अभियानबाट गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जानेको सङ्ख्या बढ्न थालेको पाइएको छ । संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ । यस कार्यक्रमको लागि गाउँपालिकाले चार लाख रूपैयाँ रकम विनियोजन गरेको जनाइएको छ । महिला स्वास्थ्य संस्थामा जान नचाहाने महिलाहरूलाइ नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउने बानी होस भन्ने उद्देश्यका साथ अण्डा उपहार कार्यक्रम ल्याएको गाँउपालिकाले जनाएको छ ।
गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ । गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परीक्षणका लागि पुगेपछि ३५० रुपैयाँ बराबरको अण्डा दिने र स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ रकम प्रोत्साहनस्वरुप दिने गरेको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले जानकारी दिनुभयो ।