गल्छी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

गल्छी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

लोकसंवाद संवाददाता  |  कारोबार  |  फागुन २०, २०७५

रसुवा । राजमार्ग निर्माण भएको ११ महिना बित्न लाग्दा पनि गल्छी–केरूङ अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । धादिङको गल्छीदेखि त्रिशुली, मैलुङ स्याफ्रुबेँसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा नआएको हो । 

नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत् गत वर्ष निर्माण भएको मैलुङ–स्याफ्रुबेँसी खण्डको १७ किलोमिटर दोहोरो लेन सडकको नयाँ ट्रयाक खोलिएको थियो । तर, सडक प्राविधिकको वेवास्ताले राजमार्ग सञ्चालन नभएको स्थानीयले बताएका छन् । सेनाले २०७५ वैशाख ६ गते राजमार्ग सडक विभागलाई हस्तान्तरण गरिएको थियो । 

गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाका आयोजना प्रमुख सुवोद देवकोटाले तत्कालीन समयमा सुरक्षा जाँच चौकीको अभावमा यातायात चलाउन रोक लागि वर्षायामको पहिरोले अधिकांश भाग क्षति पु¥याएको र गल्छीदेखि नै त्रिशुली नदी किनारको अन्तर्राष्ट्रिय राजमार्ग स्तरोन्नति एवं कालोपत्रे टेवा पर्खाल लगाई दिगो व्यवस्थापन गर्ने कार्य नीतिअनुरूप नयाँ ट्र्याक खोलिएको मैलुङ सडकको डिपिआरसहित बोलपत्र प्रक्रिया अगाडि बढिरहेकाले नीतिगत रूपमा काम गर्न केही ढिलाइ भएको जानकारी दिनुभयो । 

पहिरोले सडकमा ल्याएको ढुङ्गा फुटाउन एउटा ढुङ्गामा ३० वटाभन्दा बढी प्वाल पारेर राखिएको छ । मङ्गलबारदेखि नेपाली सेनाबाट हुने विष्फोटनपछि मैलुङ–स्याफ्रुबेँसी खण्डको सडक फागुनभर सिंगल लेनको ट्रयाक खुलाउने लक्ष्य लिइएको समेत प्रमुख देवकोटाले जानकारी दिनुभयो । 

गल्छीदेखि त्रिशुली, बेत्रावती, कालिकास्थान, धुञ्चे, स्याफ्रुबेँसीतर्फको सञ्चालित १०५ किमी राजमार्गभन्दा गल्छी, त्रिशुली, बेत्रावती मैलुङ–स्याफ्रुबेसीबाट रसुवागढीसम्म ८३ किलोमिटरको छोटो दूरी भएको र धुम्तीमोड कमी भएका कारण सवारीसाधन गुडाउन सहज भएकाले छिटोभन्दा छिटो मैलुङतर्फको राजमार्ग सञ्चालन गरी दिन नेपाल–केरूङ ओहरदोहोर गर्ने मालवाहक सवारी साधनका चालकले आग्रह गरेको खबर राससमा छ ।