लोकसंवाद संवाददाता | समाज | फागुन ३०, २०७६
काठमाडौं । सर्लाही, दाङ, कञ्चनपुर र सुनसरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
सर्लाही, बरहथवा नगरपालिका–५ चोर्निया पुलस्थित सडकमा बीआर ३० एल ७६७३ नम्बरको मोटरसाइकल बिहीबार दिउँसो अनियन्त्रित भई पुल मुनि खस्दा मोटरसाइकल चालक सर्लाही चन्द्रनगर गाउँपालिका–४ बस्ने २३ वर्षीय सुनिल साहको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको बरहथवा एडभान्स सन्जिवनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दाङ, राप्ती गाउँपालिका–१ पाखापानीस्थित सडकमा रा.१ ख ६०० नम्बरको माईक्रो बसले रा.३ प ९००५ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार तुलसीपुर उपमहानगरपालिका–१० बस्ने २७ वर्षीय अर्जुन केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मर्सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । माईक्रो बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–७ हल्दुखालस्थित सडकमा म.१ प ९५८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक बर्दिया घर भई हाल भिमदत्त नगरपालिका–७ बस्ने २१ वर्षीय दिनेश चन्द र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय सुरज धामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका–५ राजधामी चोकस्थित सडकमा को.१ ख ५७६५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँ बस्ने मन्जु राजधामीको ५ वर्षीय छोरा सुजन राजधामीको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनलाई धरान घोपा हुँदै थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।