सुरेश हाचेकाली | साहित्य | चैत ०१, २०७६
निर्बन्ध महासागरमा पौडिने
समुद्र–सम्राट ह्वेल
सर्वोपरि श्रीपेच खोसिएको
भूतपूर्व श्री ५ जस्तो
दूरगामी खुट्टा कुँजिएर
असामयिक अवसान हुँदो हो
ठडिए भने
समुद्रको बेरोकतोक जलराशिमा
विभाजनकारी पर्खालका तरेलीहरू ।
अन्तर्राष्ट्रिय बजेटको भीमकाय हिस्सा
खन्याए भने महामहिमहरूले समुद्रमा
ठडिँदा हुन् रातारात
अहङ्कारले परिपुष्ट शिवलिङ्ग जस्तै
गोत्रलौरी पर्खालका शृङ्खलाहरू ।
हिन्द महासागरको गोही
आन्ध्रमहासागरको प्रेमिका भेट्न नपाएर
उनीहरूको सामुद्रिक प्रेम
युगयुगका लागि पूर्ण विराम लाग्दो हो
त्यही मुहूर्तबाट
मत्स्यप्रेमको इतिहासमा
कालो सम्वत्सर प्रारम्भ हुँदो हो ।
कालिबानलाई
कोर्काली भनेर गाली गरिरहेको
सेक्सपियरको प्रोस्पेरोलाई फिर्ता लिन
जङ्गला मुलुक टापुमा
उपनिवेशवादी झण्डा फहराउँदै
कुनै खैरो पानीजहाज आउँदैन होला ।
तातो पानीमा
‘उलन स्वेटर’ खुम्चिएजस्तो
अंशबण्डाको खण्डीकरणले
निम्न मध्यमवर्गीय किसानको बारी टुक्रिएजस्तो
समुद्रपारीको व्यायाम मैदान साँघुरिँदो हो
आँखाले हेरेर भ्याइनसक्नु समुद्रको
जग्गा दलालीमा जस्तै
चरणबद्ध ‘प्लटिङ’ सुरु हुँदो हो ।
अर्बौँ माछाहरूको
पुर्ख्यौली समुद्र–स्वच्छन्दतालाई चुनौती दिँदै
भन्सार र नाकामा सोधिँदो हो उनीहरूको
नश्ल
धर्म
आदिम भूमि
र, रक्तसञ्चारमा घुलेको मातृभाषा ।
कुन भौगोलिक राज्यको
कुन खोलाबाट बगिआएको भनेर
पानीको वंशावली सोधिँदो हो ।
पानी–भगवान् !
निजी मुट्ठी
र राष्ट्रियताको अँगालोमा
नबाँधियोस् समुद्रको नीलो विस्तार ।