हरिविनोद अधिकारी | साहित्य | चैत ०१, २०७६
१. फूलहरू फुलून्
बास्ना पनि आओस्
ती फूलहरू त्यसै नझरून्
फल नलागीकन
फल पनि लटरम्मै लागून्
ती फलको बैँस आओस्
पाकून् र पुनरुत्पादन हुन सकून्
फेरि फूल फुलोस्
फेरि फल लागोस्
यो क्रम निरन्तर भइरहोस्
सृष्टिको यो क्रम
नखल्बलियोस्, अविरल यात्रा
चलिरहोस् चलिरहोस् ।
२. सृष्टिको अविराम गणित
चक्रवत् चक्रवत्
घुमिरहन्छ, घुमिरहन्छ फन्फनी
थाक्दैन कहिल्यै पनि अविरल
प्रकृति र प्राणी अन्योन्याश्रित
प्रकृति मौनताका साथ
प्राणीको रक्षा गर्छ
प्राणी सचेतताका साथ
प्रकृतिको दोहन गर्छ
अनि क्षतिपूर्तिका लागि
रक्षा गरेकै हुन्छ ।
३. प्रकृतिको गणित अकाट्य हुन्छ
मान्छेको गणितचाहिँँ बेलामौकामा
फेरिन्छ, फेरिइरहन्छ
सचेत प्राणी मान्छे
कहिले सहृदयी हुन्छ
कहिले स्वार्थी हुन्छ
तर मान्छेविनाको
यो मर्त्यलोकको
कल्पना कसरी हुन्छ र ?
४. होला कतै अर्को लोक
त्यो पनि त प्रकृतिभित्रै हो
त्यसैले प्रकृति र प्राणी पूरक
हुनै पर्छ र त सम्बन्ध रहेकै छ
तर पनि मानवताको एउटा बाटो
प्रकृतिप्रति बढी नै संवेदनशील छ
त्यही नै मौनता र कोलाहलका बीचको
अनौठो सन्तुलन बनेको छ प्रकृति र प्राणीको ।