भरतराज पोखरेल | दृष्टिकोण | फागुन २०, २०७५
नेपाली राजनीतिमा नयाँ पुस्ताबाट आशा गरिएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको गत बुधबार निधन भएपछि देश नै शोकमा छ । विशेष गरी युवापुस्ताका लागि आशा र भरोसाका केन्द्र बन्न सफल अधिकारीको निधनले युवापंक्ति अझ बढी मर्माहत छ । उनका समकालीनहरू रेडियो तथा टिभीमा अश्रुपूर्ण प्रतिक्रिया दिइरहेका छन् । लाग्छ– उनीहरूका गला खुलेका छैनन् । यस्तो अवस्थामा अधिकारी परिवार के हालत होला, सहजै अनुमान गर्न सकिन्छ । तर, कतिपयलाई भने कास्की क्षेत्र नं ३ को उपचुनावको चर्चा गर्न हतारो भइसकेको छ । स्व. रविन्द्र अधिकारी पत्नी विद्या भट्टराईले टिकट पाउलिन् कि नपाउलिन् ? यसका हिसावकिताव सुरु भइसकेको छ । तर, विद्याको हालत के छ, उनी कुन मनोदशामा छिन् भन्नेतिर कसैको ध्यान गएको छैन । के राजनीति यति निर्दयी हुन्छ ?
पचासको उमेर पनि नकाटेको हंसमुख छोराले एक्कासी चटक्क छोडेर जाँदा बाबुआमाको मन कसरी बुझेको होला ? हुर्किनसकेका लालाबाला छोडेर बैंसमै पति अलाप भएपछि अर्धागिंनीको हालत के होला ? कल्पना पनि गर्न सकिन्न । परिवारले मन हलुको हुने गरी रुन पनि पाएको छैन । तर, यहाँ मान्छेहरूलाई उपचुनावको चस्का लागिसकेको छ । के राजनीति यति विवेकशून्य हुन्छ/हुन मिल्छ ?
हुँदाहुँदा राजनीतिका महत्वपूर्ण मोडमा अति निकट रहेर काम गरेका कारण भावुक भएर अन्तिम संस्कारमा पोखरा पुगेका नेकपाका नेता वामदेव गौतमलाई समेत निर्वाचन क्षेत्रमा आँखा लगाउन पुगेकोसम्म भन्न भ्याए । भावनाप्रधान वामदेव कुनै कालखण्डमा अत्यन्त निकट भएर काम गरेका रविन्द्र अधिकारी, योगेश भट्टराईहरूको सवालमा बग्दैनन् भन्न सकिन्न । करिव–करिव गुमनाम मृत्युवरण गरेका डिआर लामिछानेलाई खोज्दै वीर अस्पताल पुग्ने वामदेव रविन्द्र अधिकारीको अन्तिम संस्कारमा जानका लागि मन रोक्न नसक्नु नौलो कुरा होइन । विचरा वामदेवले पार्टीले निर्णय गरेछ भने पनि आफू स्व. रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा कुनै हालतमा चुनाव लड्न जाने छैन भनेर कायलनामा गरिसके । हुन त पछिल्लो निर्वाचनमा चिप्लिएपछि वामदेवका खुट्टा एक– दुई वटा काल्पनिक निर्वाचन क्षेत्रमा चिप्लिइसकेका छन् । अहिले त उनको यस्तो छवि बनाइएको छ कि गेरु बस्त्रधारी राजनीतिक सन्तहरूको बीचमा वामदेवमात्रै त्यस्तो भोगी हुन्, जो एक थान ससंदको लोगोको लागि जो कसैलाई पनि मार्न तयार छ । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा क्वाएँ क्वाएँ गर्छ’ भनेझैं वामदेव गौतमको स्पष्टीकरण बेलैमा आएको छ ।
‘राजा मरेर रजाइँ र काजी मरेर कज्याइँ’ रोकिँदैन भन्ने पुरानै उखान हो । लामो इतिहासतिर जानै पर्दैन, राजतन्त्रको बेला राजा वीरेन्द्रको वंशनाश हुँदा समेत राजगद्दी खाली भएन भने अहिले कास्कीको उपनिर्वाचन के कुरा हो र ? त्यो पनि समय क्रममा हुने कुरा हो । संवैधानिक प्रक्रियामा गएपछि त्यसले एउटा गति लिन्छ, नलिई सुखै छैन ।
हाम्रा राजनीतिक पार्टीको गतिमति हेर्दा यस्ता आकस्मिक रूपमा खाली भएका निर्वाचन क्षेत्रका बारेमा चुनावमुखी निर्णय गर्दा भावनाले नै प्राथमिकता पाउने गरेको छ । यस्तोमा ‘आँशुको खेती’ गर्न कुनै पनि राजनीतिक दल चुकेका छैनन् । यस पटक पनि त्यही प्रक्रिया दोहोरिए आश्चर्य हुने छैन । तर, यो उप निर्वाचनको आँकलन गर्ने बेला पटक्कै होइन । राजनीति जति कठोर हुन्छ भनिन्छ नि, त्योभन्दा बढी कठोर बनाउँदै लगिएको मात्रै हो । राजनीतिलाई यति निर्मम पनि नबनाउँ कि आफैलाई लाज र घृणा लागोस् ।
अहिले अधिकारी परिवारलाई धित मर्ने गरी रुनका लागि समयको खाँचो छ । देशले एक जना होनहार र आशलाग्दो राजनीतिज्ञ गुमाएको त हुदै हो । यसलाई परिवारको आँखाले हेर्दा बाबुआमाले बुढेशकालको सहारा, सन्तानले बलियो छहारी अनि अधागिंनीले बलियो साथ गुमाएका छन् । यस्तो बेला होस गुमाएर उपनिर्वाचनको ‘खेती’ नगरौं ।
bharatraj.pokharel@gmail.com