बोटबाटै बाइस लाखको सुन्तला बिक्री

बोटबाटै बाइस लाखको सुन्तला बिक्री

लोकसंवाद संवाददाता  |  कारोबार  |  फागुन २०, २०७५

स्याङ्जा । गल्याङ नगरपालिका–७ सिरौंसाका एक किसानले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । 

किसान भूपराज भण्डारीले यस वर्ष बोटैबाट ३० टन सुन्तला बेचेर उक्त रकम आम्दानी गर्नुभएको हो । 

भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् । बगैँचाका झण्डै ९०० बोटमा फल लागेको उहाँले जानकारी दिनुभयो । गत शुक्रबार मात्रै बोटबाट सुन्तला बिक्री गरेर सक्नुभएका भण्डारीले सुन्तला बगैँचाबाटै ४० देखि ९० रूपैयाँ प्रतिकिलोमा सुन्तला बिक्री गरेको बताउनुभयो ।

‘प्रायःजसो अन्यत्र सुन्तला बिक्री गरेर सकिएपछि मात्रै म सुन्तला बिक्री गर्न सुरु गर्छु,’ भण्डारीले भन्नुभयो, ‘पहिला बिक्री गर्दा बजार मूल्य सस्तो हुने भएकाले मैले प्रत्येक वर्ष ढिलो सुन्तला बिक्री गर्ने गरेको छु ।’ 

भण्डारीले सुन्तला बिक्रीबाट दुई वर्षअगाडि २२ लाख रूपैयाँ आम्दानी गर्नुभएको थियो । गत वर्ष भने १७ लाख रूपैयाँ मात्र आम्दानी गरेको उहाँले बताउनुभयो । 

‘बुबाले ४५ वर्षअघि देखि थाल्नुभएको सुन्तला खेतीलाई हामीले थप गरी व्यावसायिकरुपमा अगाडि बढायौँ,’ भण्डारीले भन्नुभयो, ‘अहिले हाम्रो परिवारको मुख्य आम्दानीको स्रोत नै सुन्तला हो ।’ 

स्याङजामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुने गर्छ । यहाँको सुन्तला गोर्खा, तनहुँ, स्याङजा लगायतका जिल्लाका बिक्री हुने गरेको छ । यस क्षेत्रमा सुन्तला किन्न बुटवल, पोखरा, नवलपरासी, नारायणगढका व्यापारी आउने गरेको खबर राससमा छ ।