गुरु मैनाली | दृष्टिकोण | चैत ०४, २०७६
अहिले संसारभरी कोभिड-१९ के महामारीको रुपमा फैलिसकेको छ। विश्वका १६२ देश यस महामारीको चपेटामा परिसकेका छन्। संसारभरका १लाख ८२ हजार व्यक्तिहरुमा यो भाइरस संक्रमित भैसकेको छ। हालसम्म मृतकको संख्या ७१५४ पुगेको छ। विश्व स्वास्थ्य संगठनले समेत यस संक्रमणलाई महामारी घोषित गरिसकेको छ। घण्टैपिच्छे संक्रमितको संख्या वृद्धिका समाचार आइराखेका छन्। चिकित्सकहरुले यसलाई नोवल कोरोना भाइरसको संज्ञा दिएका छन् ।
के हो नोवल कोरोना भाइरस ?
नोवल कोरोना भाइरस कोरोना भाइरसकै एक नयाँ प्रजाति हो। कोरोना भाइरस भित्र थुप्रै प्रजाति रहने गर्दछन्। खासगरी मानिसमा पहिल्यै देखि कोरोना भाइरसको संक्रमण भइरहेकाे थियाे ।ती भाइरसहरुले हामीलाई बेलाबखतमा रुघाखोकी जस्ता मौसमी रुपमा संक्रमणहरु देखा पर्ने गरिरहेका छन्। यो मानिसमा विद्यमान कोरोना भाइरस नै हो। त्यस्तै जनावरहरुमा पनि कोरोना भाइरस हुन्छ जसलाई वेटा कोरोना भनिन्छ। जब बेटा कोरोना पशुपंक्षीबाट मानिसमा सर्छ त्यसले महामारीको रुप लिन्छ। यस अघि २००३ मा फैलिएको सार्स (Severe Acute Respiratory Syndrome) र २०१२ मा फैलिएको मर्स (Middle East Respiratory Syndrome) यस्तै खालका भाइरस थिए ।
पशुबाट मानिसमा फैलिने भाइरसलाई 'जुनेटिक भाइरस' भनिन्छ।सार्स चमेरोबाट जंगली विरालो (Caveat Cat) मा र त्यसपछि मानिसमा सरेको मानिन्छ। त्यस्तै मर्स चमेरोबाट उँटमा र उँटबाट मानिसमा सरेको भनिएको छ।हाल देखा परेको नयाँ कोरोना भाइरस शुरुमा नोवल कोरोना भाइरस र पछि आएर SARS CoV 2 नामाकरण गरिएको यो भाइरस पनि जंगली जनावरबाटै सरेको हुनुपर्छ भन्ने अनुमान गरिएको छ ।यो भाइरस चमेरोबाटा पेङ्गोलियन र त्यसपछि मानिसमा सरेको हुनुपर्छ भन्ने अनुमान गरिएको छ।अनि अहिले मानिसबाट मानिसमा व्यापक रुपमा संक्रमित हुँदै गईरहेको छ।
कोरोना भाइरसले सास नलीको तल्लो भागमा संक्रमण गर्ने गर्छ।यस्तो बेला श्वास प्रश्वासका समस्या भएका बेलामा सेवन गर्ने गरेका परम्परागत विधिले भने फाइदै पुर्याउँछन्। नून पानीले कुल्ला गर्ने, बेसार पानी वा अदुवाको सेवनले केही हदसम्म फाइदै पुर्याउने अनुमान गर्न सकिन्छ। कोरोना नयाँ भाइरस भएकोले यसका बारेमा त्यति जानकारी छैन । त्यसैले हाम्रा घरेलु औषधीले के कति फाइदा पुर्याउँछन् एक्किन गरेर भन्न भने सकिन्न।
संक्रमण कसरी हुन्छ ?
यो भाइरसको संक्रमण दुई तरिकाले हुन्छ।
पहिलोः संक्रमित व्यक्तिले बोल्दा, खोक्दा वा हाछिउँ गर्दा मुख वा नाकबाट निस्कने सिंगान वा खकारका छिटाहरु नजिकै बसेको मानिसले सास फेर्दा हावाको माध्यमबाट मानिसको नाक वा मुखको माध्यमबाट भित्र पस्छ।
दोस्रोः संक्रमित व्यक्तिले खोक्दा वा हाछिउँ गर्दा उछिट्टिएको छिटा जमिन वा अन्य सामानहरुमा पर्छ। जब हामीहरु त्यसलाई हातले छुन्छौ र त्यही भाइरस संक्रमित हातले मुख,नाक वा आँखा छुन्छौ भने छोइएको मुख नाक वा आँखाको माध्यमबाट हाम्रो श्वास प्रश्वासमा नलीमा पुग्छ र संक्रमण गर्दछ।
संक्रमित भएकाे लक्षणहरु
नोवल कोरोना भाइरसका लक्षणहरु २ देखि १४ दिनभित्रमा देखा पर्ने गर्छन्। कसैकसैमा सो भन्दापछि पनि यसका लक्षणहरु देखा परेका छन्। यसका लक्षणहरुमा ज्वरो आउने, खोकी लाग्ने हुन्छ। ज्वरो १००.४ डिग्री भन्दा बढी र खोकी रातको समयमा ज्यादा लाग्छ। रोग बढ्दै गएपछि थकाई लाग्ने, सास फेर्न कठिन हुने, जीउ दुख्ने तथा निमोनिया हुने हुन्छ।
संक्रमित व्यक्ति मध्ये ९८ प्रतिशतमा ज्वरो, ७० प्रतिशतमा थकाई र ४४ प्रतिशतमा जीउ दुख्ने लक्षणहरु देखा पर्दछन्। त्यसो त सबै संक्रमित व्यक्तिहरुमा यी सबै लक्षणहरु देखा पर्छन् भन्ने छैन। संक्रमित व्यक्तिहरुमध्ये ८१ प्रतिशत हल्का विरामी भए। १४ प्रतिशतमा जटिलता पैदा भयो भने ५ प्रतिशत विरामीहरु सिकिस्त भएकाे आँकडा रहेकाे छ ।
कोरोना भाइरसको चपेटामा बुढापाका तथा दीर्घरोगीहरु ज्यादा परेका छन्।त्यसैले यो बेला उनीहरुलाई संक्रमण नहोस् भनेर विशेष ध्यान दिनुपर्छ।बुढापाका, दम, मुटु, उच्च रक्तचाप तथा मधुमेहका दीर्धरोगीहरुले भिडभाडमा नजाने, नियमित शारीरिक व्यायमहरु गर्ने सुझाव विज्ञहरुले दिने गरेका छन्।
बच्ने उपायः
जति सजिलैसँग यो भाइरस सर्छ। यसको बच्ने तरिका पनि उत्तिकै सजिलो रहेकाे छ।
पहिलो तरिकाः
संक्रमित व्यक्तिको निकट नजाने। रुघा खोकी लाग्दैमा कुनै व्यक्तिलाई कोरोना संक्रमण छ भन्न मिल्दैन।तर रुघाखोकीको समेत संक्रमणबाट बचिने हुँदा रुघाखोकी लागेको व्यक्ति तथा अन्य व्यक्तिसँग कम्तिमा ६ फुटभन्दा टाढा बस्ने। भिडभाड हुने ठाउँ जस्तैः सिनेमा घर, मल, सुपर मार्केट, सभा सम्मेलन, भोज भतेरमा सामेल नहुने। रेष्टुरा, होटल, जिममा नजाने। जति कम मानिसको सम्पर्कमा आयो संक्रमणको संभावना उती कम हुन्छ।
कतिपय समुदायमा अभिवादन गर्दा हात मिलाउनु, अंकमाल गर्नु वा चुम्बन संस्कृतिका अभिन्न अङ्गका रुपमा लिइन्छ । यी कार्यलाई केही समय स्थगित गरौं।। अभिवादन गर्ने पूर्वीय परम्परा नमस्तेलाई अपनाउ। हामीहरु पनि साथीभाइहरुसँग भेट्दा हात मिलाउने गर्छौ। भेट हुँदा हात मिलाउनुको सट्टा नमस्ते गरौं।
दोस्रो तरिकाः
भाइरस संक्रमणको दोस्रो तरिका हो- सार्वजनिक वस्तु नछुने नसमाउने। आवश्यक कामले घर बाहिर जाँदा भरसक सार्वजनिक स्थलहरुमा हातले नछुने वा नसमाउने।किनकी सार्वजनिक ठाउँमा संक्रमित व्यक्तिले खोक्दा हाछिउँ गर्दा वा हातले समाउँदा ती ठाउँहरु संक्रमित भएका हुन्छन्। भाइरसका किटाणुहरु, फलाम, सीसा वा धातुहरुमा लामो समयसम्म जीवित रहने गरेकाे प्रमाणित भइसकेको छ । तर कतिपय अवस्थामा यो संभव नहुन पनि सक्छ। त्यसैले कही छोइयो वा समातियो भन्दैमा डराउनु भने पर्दैन।
हातले छुँदैमा कोरोना भाइरस संक्रमण हुँदैन किनकी कोरोना भाइरस छालाको माध्यमबाट सर्दैन। संक्रमित हातले नाक मुख वा आँखा छोइयो भने मात्र यो भाइरसको संक्रमण हुन्छ। यस्तो बेला छोए पछि वा समाते पछि स्यानिटाइजर वा ह्याण्ड रव हातमा दल्नुपर्छ र सुक्न दिनुपर्छ। स्यानिटाइजर वा ह्याण्ड रवमा अल्कोहलको मात्रा ६० प्रतिशत भन्दा बढी हुनुपर्छ।
सवैभन्दा सरल तरिका आफ्नो हातलाई अनुहारमा लानबाट आफैंलाई रोक्नु उत्तम उपाय हो । तर यो काम त्यति सजिलो भने छैन। सामान्यतया मानिसले अनुहारमा हात एक घण्टामा २३ पटक सम्म पुर्याउने अध्ययनहरुले देखाएको छ। त्यसैले कुनै शंकास्पद ठाउँ छोए पछि वा कुनै शंकास्पद बस्तु समातेपछि तुरुन्तै सावुनपानीले हात धुनुपर्छ।
संक्रमणबाट बच्ने सजिलो उपाय हो सावुन पानीले हात धुनु। घरमा फर्कने वित्तिकै हातलाई सफा पानीले भिजाउने र सावुन लगाउने। सावुन लगाइसकेपछि हत्केला, हातको पछाडि औलाका कापहरु नङहरु राम्रोसँग मिचीमिची धुनुपर्छ। यसरी धुँदा २० सेकेण्ड भन्दा बढी हातलाई मिच्नु पर्छ र राम्रोसँग सफा पानीले पखाल्नु पर्छ।
अर्को कुरा व्यक्तिगत सरसफाइको पनि यसमा ज्यादै ठूलो महत्व छ।सामान्यतया बाहिरबाट घर आउने वित्तिकै, खाना खानु अघि, खाना खाइसकेपछि, शौचालय गएर आएपछि सावुन पानीले हात धुन सिफारिश गरिएको छ।
घरमा सबै भन्दा बढी संक्रमित हुने ठाउँ भनेको ढोकाको चुकुल, टेवल, कुर्सी वा किचन नै हुन्। यस्तो बेलामा ती ठाउँहरुलाई 'डिसइन्फेकेन्ट' को प्रयोग गरी संक्रमण रहित बनाउनु पर्छ । खास गरी व्लिचिङ, फिनेल वा सावुन पानीले समेत संक्रमण रहित बनाउन सकिन्छ।यसो गर्दा हातमा पञ्जाको प्रयोग गर्नु उपयुक्त हुन्छ । सफाई गरिसकेपछि पञ्जालाई डष्टबीनमा फाल्नुपर्छ। पञ्जा फालिसकेपछि हात सावुन पानीले राम्रोसँग धुनुपर्छ।
ल्यापटप, स्मार्टफोन, कम्प्यूटरको किवोर्ड तथा मनिटर पनि धेरै छोइने सामग्रीहरुमा पर्ने गर्दछन् हिजाेआज। यी सामग्रीहरु सफा गर्न ब्लीचिङ वा अन्य सामग्रीको प्रयोग गर्न हुँदैन। यस्ता सामग्रीहरुलाई ७० प्रतिशत 'आइसोप्रोपाइल अक्लोहल' ले पुछ्नु उपयुक्त हुन्छ ।
अहिले मास्कको हाहाकार छ। तर संक्रमण नभएका व्यक्तिहरुलाई मास्कको जरुरत नपर्ने विचार स्वास्थ्यकर्मीहरुको छ। निरोगी व्यक्तिले मास्कको प्रयोग गर्दा आपतकालिन अवस्थामा काम गर्ने मानिसहरु, स्वास्थ्यकर्मीहरु, विरामी कुरुवाहरु र विरामीहरुमा मास्कको अभाव हुन्छ। स्वास्थकर्मीहरुलाई आवश्यक मास्क उपलब्ध नभए सेवा पुर्याउन कठिन हुन्छ। विरामीको हेरविचार गर्ने व्यक्तिले वा रुघा खोकी लागेको बेलामा मात्र मास्कको प्रयोग गर्न उपयुक्त हुन्छ। खास गरी सर्जिकल मास्कहरु लगाउ र मिल्काउ सिद्धान्तमा आधारित हुन्छन्। सर्जिकल मास्कलाई पटक पटक प्रयोग गर्न मिल्दैन। सामान्य किसिमका मास्कहरुले कोरोना भाइरसलाई छेक्दैनन्। फेरि मास्क लगाउने सही तरिका अवलम्बन गरिएन भने यसले फाइदा भन्दा वेफाइदा गर्छ।
यसरी मास्क भेला गर्नु भन्दा कम्तिमा महिना दिनका लागि खाद्य सामग्री तथा औषधि किन्न विज्ञहरु सल्लाह दिन्छन्।तयारी अवस्थामा बसियो भने परिवार र अन्यलाई सुरक्षा प्रदान गर्न सकिन्छ।
महामारीका समयमा नानाथरिका हल्लाहरु फैलिने गर्छन्। सबैभन्दा ठूलो कुरा नचाहिने हल्लाबाट हुने आतंकबाट बच्नु अति आवश्यक छ । अहिले सामाजिक सञ्जालमा थरिथरिका सामग्रीहरु राखिएका छन्। चीनमा लसुनले कोरोना संक्रमण रोक्छ भन्ने हल्लाका पछि लाग्दा एक महिला सिकिस्त विरामी भएको समाचार प्रकाशमा आएको छ। त्यस्तै दक्षिण कोरियाका एक पादरीले नून पानीले कोरोना मार्छ भनी नूनपानी खुवाउँदा संक्रमित भएका समाचार समेत आएका छन्। भारतमा गौमुत्रको भोजको आयोजना गरी गौमुत्र खाएको तथा गोवरले कोरोना नियन्त्रण गर्छ भनी यूट्यूवमा भिडियो समेत राखिरहेको अवस्था छ ।
कोरोना भाइरसको अहिलेसम्म कुनै औषधि वा खोप तयार भैसकेको छैन।कोरोना भाइरसले सास नलीको तल्लो भागमा संक्रमण गर्ने गर्छ।यस्तो बेला श्वास प्रश्वासका समस्या भएका बेलामा सेवन गर्ने गरेका परम्परागत विधिले भने फाइदै पुर्याउँछन्। नून पानीले कुल्ला गर्ने, बेसार पानी वा अदुवाको सेवनले केही हदसम्म फाइदै पुर्याउने अनुमान गर्न सकिन्छ। कोरोना नयाँ भाइरस भएकोले यसका बारेमा त्यति जानकारी छैन । त्यसैले हाम्रा घरेलु औषधीले के कति फाइदा पुर्याउँछन् एक्किन गरेर भन्न भने सकिन्न।