प्रज्वल अधिकारी | साहित्य | चैत ०८, २०७६
यात्रा हो जिन्दगी भन्छ्यौ भने
हिँड्नु मन नथाकुन्जेल हिँड्नु
म बाटो बनेर छाती थापिदिनेछु ।
गन्तव्य हो जिन्दगी भन्छ्यौ भने
चुम्नु सफलताका हरेक शिखरहरू
म साहस बनेर उभिइदिनेछु ।
विश्राम हो जिन्दगी भन्छ्यौ भने
आऊ धित मरुन्जेल बस
म चौतारो बनिदिनेछु ।
म बाटो हुनु
म साहस हुनु
म चौतारो हुनु
र, तिमी नहुनु निरर्थक छ ।
समयको आँधीले उडाई ल्याएको
जिन्दगीको बाढीले बगाई ल्याएको
कयौं दोबाटोहरूमा देखेर पनि नबोलेका
हजारौँ बाटाहरूमा ठोक्किएर पनि नदेखिएका
तिमी र म आखिर हामी रहेछौँ ।
केही नमिलेर सबथोक मिल्छ हाम्रो
सबथोक मिलेर केही नमिलेको हुँदैन हाम्रो ।
तिमी फूल मनपराउँछ्यौ, म काँडा
म समथर मनपराउँछु, तिमी डाँडा
त्यसैले त हामी पूर्ण छौँ ।
हामीलाई गर्नु छैन रोमियो जुलियटको जस्तो प्रेम
हामीलाई बनाउनु छैन सम्झनाको ताज महल
हामीलाई खन्नु छैन वियोगमा कुनै पोखरी
बिछोडिएर अमर बाँच्ने कुनै रहर छैन हाम्रो ।
आऊ यस्तो प्रेम गरौँ दुनियाँलाई गर्व होस्
हाम्रो माया बसेको दिन भविष्यमा पर्व होस् ।