सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

लोकसंवाद संवाददाता  |  कारोबार  |  फागुन २१, २०७५

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सेयर बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.०६ विन्दुले बढेर एक हजार १०२.६४ विन्दुमा पुगेको छ । 

ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले बढेर २३४.२५ विन्दुमा पुगेको छ । कूल १७४ कम्पनीको सात लाख ३३ हजार ४ सय २२ कित्ता सेयर २२ करोड ५२ लाख ३१ हजार ४ सय ४३ रूपैयाँमा खरिद–बिक्री भए । 

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज दुईको सेयर ओरालो लागेको छ भने नौ उपसमूहको सेयर बढेको छ । व्यापार २.७ र अन्य उपसमूह ३.१५ विन्दुले घटेको छ । यस्तै बैंकिङ २.०४, होटल ४.४१, विकास बैंक १.१५, जलविद्युत् ४.९८, वित्त ३.०५, निर्जीवन बीमा ३.०१, उत्पादन २८.६१, लघुवित्त ५.२८ र जीवन बीमा १२.१४ विन्दुले बढेको छ । 

सामान्य बढेको बजारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.४४ प्रतिशत, सेन्ट्रल फाइनान्स ४.५९, गुर्खाज फाइनान्स लिमिटेड ३.८५ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.५३ प्रतिशतले कमाएका छन् । यस्तै, सिन्धु विकास बैंकका शेयरधनीले ७.९३, घलेम्दी हाइड्रोपावर लिमिटेड ४.९७, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ४.७६, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था ४.२२ र मिथिला लघुवित्त वित्तीय संस्था ३.४४ प्रतिशतले गुमाएका छन् । 

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड २६ लाख १६ हजार १ सय १४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको एक करोड ८७ लाख ५३ हजार ६ सय र एनआइसी एसिया बैंकको एक करोड २० लाख ८२ हजार ४ सय ४१ रूपैयाँ बराबरको कारोवार भएको छ । 

स्टकमा आज लाइफ इन्स्योरेन्स कम्पनी नेपालको मूल्य समायोजन भएको छ । कूल १२ प्रतिशत सेयर लाभांश प्रदान गरेपछि प्रतिकित्ता एक हजार ४ सय ३२ रूपैयाँमा मूल्य समायोजन भएको हो । सो कम्पनीको औसत सेयर मूल्य दुई हजार १ सय ३ रहेको छ । यसैगरी मेगा बैंक लिमिटेडको १० लाख ३० हजार ९ सय ४८ कित्ता सेयर लाभांश स्टकमा सूचीकृत भएको खबर राससमा छ ।