वसन्त शर्मा | समाचार | चैत २१, २०७६
बाँके । खाना खान लाइन लागेर उभिएकाहरूको यो तस्बिर नेपाल भारत सिमाना पर्ने क्वारेन्टाइन स्थलको चौथो दिनको हो ।
क्वारेन्टाइन स्थलमा खानेपानीको धारा जोडीएकाछन् । नेपालगन्ज उपमहानगरपालिकाले क्वारेन्टाइन आवश्यक पर्ने सबै व्यवस्थापनको चाँजोपाँजो मिलाई रहेको छ ।
बिजुली बत्तीको लाइन पुर्याइएको छ । पिउने पानी, घुम्ती शौचालय २४ सै घण्टा उपलब्ध गराइएको छ । क्वारेन्टाइनमा बसेका एक युवक भन्छन् - 'अब मोबाइल चार्ज गर्ने व्यवस्था भए हामी घरपरिवारसँग सम्पर्क गरेर ढुक्कका साथ क्वारेन्टाइनमा बस्ने थियौँ ।'
यी युवाहरू रोजगारीको सिलसिलामा भारत त गएका तर कोरोना भाइरस सङ्क्रमणको त्रासले घर फर्किन बाध्य भएका मानिसहरू रहेका छन् । अहिले त्यसरी भारतबाट फर्केका १ सय ८१ जना नेपाल भारत सिमाको दशगजा नजिकै बनाइएको क्वनरेन्टाईनमा दिन कटाई रहेका छन् ।
भारतको नोयडा पुगेका यी केही युवाहरू काम ठप्प भएपछि अहिले घर फर्कने आशामा दशगजा छेउमा क्वारेन्टाइनमा दिन गन्दै बसिरहेका छन् । क्वारेन्टाइनमा बस्नेहरू भारतका विभिन्न सहर वाट फर्केका फरक फरक जिल्लाका नेपालीहरू रहेका छन् ।
घरपरिवार पाल्न रोजगारीका लागी भारत पुगेका नेपाली कोरोना सङ्क्रमणको त्रासले स्वदेश फर्किनु पर्ने त भयो तर घर पुग्नु पहिले नेपाल- भारत सिमाना क्वरेन्टाईनमा बस्नु पर्ने अवस्था सृजना भएको हो । यो स्वास्थ्यका दृष्टिकोणले सङ्क्रमण फैलन नदिन सुरक्षित उपायका रूपमा अपनाउँदै आइएको हो ।
बाँकेको दशगजामा ३ दिन सम्म देश फर्किन पाउँ भन्दै सङ्घर्ष गरेका उनीहरू तेस्रो दिनको साँझ नेपाली भूमिमा नेपाली सेनाले स्थापना गरेको अस्थायी क्वारेन्टाइन टेन्टमा सुत्न
पाएका हुन् । चौथो दिनको बिहान पहिलेका दिन भन्दा केही खुसी देखिन्थे उनीहरू । स्वास्थ्य परीक्षणमा अहिले सम्म स्थिति सन्तोषजनक रहेको बुझिएको छ । नेपाल भारत सिमाको दशगजामा ३ दिनसम्म देश फर्किन पाउँ भन्दै सङ्घर्ष गरेका उनीहरू चौथो दिनको बिहानदेखि मध्यान्ह सम्म पालै पालो एक आपसको दुरी कायम गर्दै लाइन लागेर खानाका लागि अनुशासित देखिन्थे ।
उक्त क्वारेन्टाईन टेन्टमा बसेका मानिसहरूमा सामान्य टाउको दुख्ने रुघाखोकी भए पनि ज्वरो आएका बिरामी कोही पनि नभएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य प्रमुख विभाग प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभएको छ ।