लकडाउन

लकडाउन

वियोगी बुढाथोकी  |  साहित्य  |  चैत २२, २०७६

छ दशक लामो  
निरर्थक जिन्दगीको
जोड-घटाउ
नाफा-नोक्सान
घाटा-पूर्ति 
असल-खराबबाट आर्जित
समयले दिएको कमाइको सम्पादनमा छु ।

अलिक टाढै बस याद, माद र साथहरू
भेट्नु-छुट्नु
देखिनु-छेकिनु
पाउनु-गुमाउनु
जोड्नु-तोड्नु
जित्नु-हार्नु
आवेग-संवेगसँग खेलिएको खेललाई
आफूभित्र रूपान्तरण गर्दै
जति सकिन्छ परिमार्जन गर्न बसेको छु ।

दिमागकाे चुकुल खाेल्दै
अँध्याराे-उज्यालाे
युद्ध-शान्ति
दुःख-सुख
संस्कार-कुसंस्कार
हाँसाे-राेदन
सम्पन्न-विपन्न
राेगी-निराेगी
गन्थन-मन्थन
सुगम-दुर्गम
उकाली-अाेराली बाेकेकाे 
जीवनकाे कठिन यात्रामा
भए गरेका सबै सबैलाई 
मस्तिष्ककाे फाँटमा छरपस्ट पार्दै
कमी कमजाेरी केलाएर 
अर्जाप्न र भर्ताल तिर्न सकिन्छ कि
काँचा सपनालाई पकाएर स्वादिलाे पार्न
एकान्तवास बसेकाे अवस्था हाे ।

पुन: पुनरुक्ति नहोस् कतै
‘लकडाउन’को नियम पालन गर्दै 
स्वयंलाई टेकिरहेकाे याे समय र विगतलाई 
साेही अवसर छाेपेर
नाङ्गाे, निर्बस्त्र र स्निग्ध 
बूढानीलकण्ठ जाने सडकमा
निर्धक्क सुकाइरहेको छु ।

कतै सम्पादन
कतिपयलाई परिमार्जन गर्न
फुर्सदको समय खर्चिंदै गर्दा
कृपया
हरायो, भाग्यो वा सिद्धियो भन्ने 
शंका-उपशंका नपाल्नु होला !