कृतिम बौद्धिकताको संसारः म्याट्रिक्स फिल्मबारे एक चर्चा

कृतिम बौद्धिकताको संसारः म्याट्रिक्स फिल्मबारे एक चर्चा

सरोज ज्ञवाली  |  लोकरञ्जन  |  फागुन २२, २०७५

अर्को विज्ञान श्रृंखला – विज्ञान विषयक सामाग्री प्रस्तुत गर्ने क्रममा लोकसंवाद उत्कृष्ट ‘साइन्स फिक्शन’ मुभी बारे आफ्ना पाठकहरूलाई नियमित जानकारी गराउन गइरहेको छ । यसै क्रममा पहिलो प्रस्तुति फिल्म म्याट्रिक्सबारे समीक्षात्मक टिप्पणी 

सन् १९९९ मा प्रदर्शित हलिउड सिनेमा दि म्याट्रिक्स (The Matrix) गजबको कल्पनामा आधारित छ । यो सिनेमालाई सम्पूर्ण रूपले बुझ्न यसै श्रृंखलाका दुई फिल्म दि म्याट्रिक्स रिलोडेड(The Matrix Reloaded) र दि म्याट्रिक्स रिभोलेशन (The Matrix Revolution) पनि हेर्नु जरुरी छ । यी सिनेमाहरूलाई उत्कृष्ट  साइन्स फिक्सनको रूपमा लिन सकिन्छ । यस सिनेमाका लेखक र निर्देशक एण्डी -Andy) र ल्यारी वैकोस्की -Lary Wackowski) हुन् र यसका मुख्य कलाकारहरू किआनु रीभेश -Keanu Reeves), लोरेन्स फिशवुम -(Laurence Fishbume), क्रोन ऐन्ने मोस Corne-Anne Moss ःयकक, फ्लुगो वेभिगं Flugo Weaving रहेका थिए । तिन वटै सिनेमाको लागत खर्च झन्डै ३६३ मिलियन डलर रहेको थियो र यसको बक्स अफिस कलेक्शन-Box-office collection) झन्डै ६७० मिलियन डलर रहेको थियो । यी सिनेमाहरूले विभिन्न विधामा एकेडमी  -Academy) तथा ओस्कार पुरस्कार / -Oscar Awards) जितेका थिए । 
 

म्याट्रिक्स फिल्मले उत्कृष्ट रूपमा भविष्यको कृतिम वौद्धिकता -Artificial Intelligence) को संसार, उत्कृष्ट चाइनिज ‘मार्शल आर्ट’ तथा दार्शनिक रूपमा हिन्दु तथा बौद्ध दर्शनलाई पछ्याएको थियो । मूलभूत रूपले यस सिनेमाले १७ औँ शताब्दीका फ्रेन्च दार्शनिक तथा गणितज्ञ रेने डेकार्टस (-Rene Descartes) को विचारधारालाई पछ्याएको थियो  । रेने को भनाई अनुसार, ‘हामीले जुन अनुभव तथा ज्ञान, ज्ञानेन्द्रियको आधारमा प्राप्त गरिरहेका छौँ, त्यो सम्पूर्ण रूपले सत्य हुन सक्दैन । कुनै सत्य तथ्यमा पुग्नु छ भने, हामीले आफ्नो चेतना र मस्तिष्कलाई खुल्ला राख्नु पर्छ । यसले मात्र हामीलाई परम सत्यको अनुभव गराउँन सक्छ ।’ 

सिनेमाको पृष्ठभूमि, नायक नियो -Neo) बाट सुरु हुन्छ, नियो दुई थरीको जिन्दगी बाँची राखेका हुन्छ । एउटा जीवनमा उनी एक सफल कम्प्युटर प्रोग्रामरको रूपमा एउटा कम्पनीमा काम गरीरहेका हुन्छन् भने अर्को रूपमा उनी एउटा ह्याकको कार्य गरिरहेका हुन्छन् । बेलामौकामा उनलाई आफ्नो जीवनमा केही गडबडी रहेको महसुस हुन्छ । यसको रहस्य बुझ्नका उनी लागि मार्फेसस नामक व्यक्तिसँग सम्पर्क राख्न खोज्दछन् र सिनेमाको नायिका टिनिटी मार्फत उनको मार्फेसस भेट हुन्छ । मार्फेससले उनलाई बताउँछन कि, हालको जुन मनुष्य जीवन, हामी बाँची राखेका छौ, त्यो वास्तविक होइन यो एउटा भ्रम जाल मात्र हो । यो भ्रमपूर्ण माया जाल कृतिम बौद्धिकता अथवा मेसिनबाट निर्मित गराइएको छ । तिमी जति मानिसलाई क्लबमा, गाडीमा, घरमा, अफिसमा खुसीसाथ घुमी रहेको देख्छौ,  यो सब एउटा माया जाल मात्र   हो । 

यसलाई अझै प्रस्ट बनाउँदै मार्फेसस भन्छन्, २१ औँ शताब्दीको अन्तमा, जब मनुष्य सभ्यता विकासको उच्चतम अवस्थामा पुग्छ र मनुष्य निर्मित कृतिम बौद्धिकताले मनुष्यलाई धोका दिएर मनुष्यमाथि नै शासन गर्ने प्रयास प्रारम्भ गर्छ । मनुष्य र मेसिन बिच सङ्घर्ष हुन्छ र मनुष्यले मेसिनलाई आवश्यक पर्ने सौर्य ऊर्जाको आपूर्ति बन्द गर्न धुवाँ र तुवाँलोले सम्पूर्ण पृथ्वीलाई ढाकी दिन्छन् । मेसिनले वैकल्पिक ऊर्जाको निम्ति, मनुष्यमा रहेको जैविक तथा थर्मल इनर्जी प्रयोग गर्ने तरिका विकाश गर्छ । मनुष्यलाई एउटा कफिन जस्तो बक्सामा बन्द गरेर, मनुष्यमा रहेको  एनर्जी सोस्ने प्रविधि विकास गर्छ र मनुष्यलाई मूर्छित अवस्थामा जीवित राख्न कृत्रिम संसार विकसित गरिदिन्छ । जसलाई म्यट्रिक्स -Matrix) भनिन्छ । मार्फेसस नियोलाई सम्झाउँछ, अहिले सम्पूर्ण  पृथ्वीभरी मनुष्यको अस्तित्व छैन मात्र ल्याबमा राखिएका मनुष्यहरूका शरीर छन् । जुन मेसिनले बनाएको म्यट्रिक्समा आफ्ना सारा गतिविधि गरी रहेका छन् ।

यसको रहस्य थाहा पाउन मार्फेसिसल नियोलाई निलो र रातो रङ्गको दुईवटा  ट्याबलेट दिन्छ र भन्छ, यदि तिमी काल्पनिक संसारमा रमाउन चाहन्छौ भने निलो ट्याबलेट खाऊ यदि जीवनको रहस्य थाहा पाउन चाहन्छौ भने रातो ट्याबलेट । नियो द्धिविधामा रातो ट्याबलेट  खान्छ र त्यसपछि आफ्नो सक्कली स्वरूप मेसिनबाट सिर्जित ल्याबमा रहेको देख्छ । उसले मेसिन निर्मित म्यट्रिक्सको रहस्य थाहा पाउँछ । 

मेसिन र मनुष्यको बिचको युद्धको समयमा, केही जमात मानिसहरू भागेर पृथ्वीको केन्द्रमा रहेको जायन सहरमा बस्न पुग्छन्, जुन जमिन भन्दा धेरै मुनि रहेको हुन्छ । जायन सहरका, केही व्यक्तिहरूलाई काल्पनिक र वास्तविकताको दुनियाँको रहस्य थाहा हुन्छ र उनीहरू मेसिनलाई झुक्याउँदै वास्तविक तथा काल्पनिक दुनियाँमा भ्रमण गरिरहन्छन् । यस काल्पनिक दुनियाँमा ओरेकल लेडि भन्ने एउटी पात्र हुन्छिन्, यिनीसँगे भविष्यवाणी गर्ने क्षमता रहेको हुन्छ ।  ओरेकल लेडिले चाहिँ मनुष्य र मेसिन बिच शान्ति स्थापना होस् भन्ने मान्यता राख्छिन् र उनको  भविष्यवाणी अनुसार नियोले नै यो कार्य सफल बनाउने क्षमता  राख्छ । 

नियोले म्यट्रिक्सको रहस्य बुझेपछि काल्पनिक दुनियाँमा एउटा शक्तिशाली र अविनाशी पात्रको रूपमा आफूलाई विकसित गर्छ । सिनेमामा, खल पात्र एजेन्ट स्मिथ छन् ।  जो काल्पनिक दुनियाँको रक्षा गर्न तल्लिन हुन्छन् । र उसलाई यसैका लागि निर्मित गरिएको हुन्छ । तर एजेन्ट स्मिथ अति महत्वकांक्षी भई कुनै रूपमा भए पनि वास्तविक दुनियाँमा छिरेर त्यसलाई नष्ट गर्न कोसिसमा लागेको हुन्छन् । सिनेमामा नियो र स्मिथको सङ्घर्षलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ र अन्तमा नियोले एजेन्ट स्मिथलाई पराजित गरी केही समयका लागि मेसिनको संसार र जायन सहर बिच शान्ति स्थापना गर्ने सफलता पाउँछन्   र यसै क्रममा नियोको भौतिक शरीर पनि अन्त हुन्छ । 

समग्रमा हेर्दा, म्याट्रिक्स एउटा जटिल कथा वस्तुमा आधारित साइन्स फिक्शन फिल्म हो । धर्म, दर्शन र विज्ञानलाई केही हदसम्म बुझेका व्यक्तिले मात्र यसलाई सजिलै  बुझ्न सक्छन् । साधारण मानिसहरूलाई यसको भिजुअल इफेक्ट तथा द्धन्द्धका दृश्यले यथोचित मनोरञ्जन प्रदान गर्छ  । मुख्य रूपले, यस सिनेमाले कृतिम बौघिक्ताको नकारात्मक पक्षलाई उजागर गरेको छ । सँगसँगै यसले हिन्दु धर्ममा रहेको स्थूल शरीर र सूक्ष्म शरीरको अवस्थालाई चित्रण गर्न खोजेको छ । यसले जीवनको अस्तित्वका साथै, मनुष्यको चिन्तन तथा समाजको अस्तित्व बारे व्याख्या गर्ने प्रयास गरेको छ । यस सिनेमाले ज्ञानेन्द्रीयबाट प्राप्त अनुभवलाई मात्र सत्य मान्ने हो भने त्यो अपूर्ण हुन सक्छ भन्ने सन्देश प्रवाहित गरेको छ । हामीले आफूभित्र रहेको ‘अहम’ तत्त्वलाई पहिचान गर्न सकेमा मात्र वास्तविकता तथा भ्रमलाई चिर्न सक्छौँ । यसको निम्ति चेतनाको संसारमा ठुलो जोखिम साथ छलाङ लगाउनु पर्छ । अन्तमा  म्याट्रिक्स एउटा उत्कृष्ट एक्सन, एडभेन्चरयुक्त साइन्स मुभी हो भन्नुमा अन्यथा हुन्न ।