लोकसंवाद संवाददाता | समाचार | चैत २३, २०७६
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् ।
अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । सँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताउनुभएको छ । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ ।
अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताउनुभयो । भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताउनुहुन्छ । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको बताउनुहुन्छ । सङ्घीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उहाँले बताउनुभयो । भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहनुभएको छ । यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहनुभएका डा केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको बताउनुहुन्छ । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैँ क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ । पौडेलले भन्नुभयो, “अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ । पौडेलका अनुसार करिब ५०० नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आउनुभएका अनिल लिम्बूको गत साता निधन भएको थियो ।