परेर, पढेर तथा घुसेर बनेकाहरुको चेतना र कार्यशैलीः सामाजिक सञ्जालहरुमा कम्युनिस्टको खोजी

परेर, पढेर तथा घुसेर बनेकाहरुको चेतना र कार्यशैलीः सामाजिक सञ्जालहरुमा  कम्युनिस्टको खोजी

पर्वत भट्टराई  |  दृष्टिकोण  |  चैत २६, २०७६

नेपालमा धेरै मानिसहरू वामपन्थी विचारधाराका किताबहरू पढेर कम्युनिस्ट भएका छन्। उनीहरू सच्चा कम्युनिस्ट हुन् होइनन् त्यो अलग कुरा हो।  पच्चिसदेखि तीस सालको अवधिमा झापामा भएको सशस्त्र विद्रोह, सतचालिस अठ्चालीस सालको वाम-प्रजातान्त्रिक आन्दोलन र बाउन्नदेखि बैसठ्ठी सालको जनयुद्धसम्म आई पुग्दा किताब पढेर कम्यूनिस्टहुनेहरू देशैभरि छ्यापछ्याप्ती रहेको पाइन्छ ।

 एक थरी छन् कलिलै उमेरमा किताब पढेर कम्युनिस्ट भएका र अर्को थरी छन् परेर कम्युनिस्ट भएका । कोही किताब पढ्ने कै सङ्गतले कम्युनिस्ट भएकाहरू पनि  ठुलै समूह छन्। नेपालमा कम्युनिस्ट हुनलाई कुनै खास आचरण, योग्यता र विशेषता चाहिँदैन । रातारात कर्पोरेट, दलाल, नोकर शाही, पुँजीपति र श्रम शोषकहरू सबै एक से एक कम्युनिस्ट हुने छुट छ यहाँ । 

हिजोआज शिक्षा, स्वास्थ्य, यातायात, वैदेशिक रोजगार, ठेक्कापट्टा र कृषि उत्पादन तथा प्राकृतिक स्रोतका बिचौलियाहरू सबका सब बिल्लाधारीहरु कम्युनिस्ट बनिरहेका छन्। आफू परियो अरूले किताब पढाएर–पढेर बनेको कम्युनिस्ट । कलिलै उमेरमा राजनीति, साहित्य, कला र दर्शनका किताबहरू पढ्न लगाएर बनेको कम्युनिस्ट । आफू कम्युनिस्ट जस्तो भएको कुरा पनि अलिक उमेर छिप्पिए पछि मात्र थाहा पाएको ।

 

झापा विद्रोह पछि अधुरा सपना बोकेर विद्रोहीहरू जेल, भूमिगत जीवन, पलायन र अन्य पेसा खोज्दै देशका विभिन्न भागतिर भौतिरदै हिँडेका थिए। सायद, त्यो बेला मैले प्राथमिक तहको अध्ययन सक्नै लागेको थिएँ। त्यसै बेला गणेशप्रसाद अधिकारी हाम्रो विद्यालयमा शिक्षकको रूपमा आउनु भएको थियो। उहाँ पनि झापाली विद्रोही मध्येको एक हुनुहुँदो रहेछ। नातामा उहाँ हाम्रो भानिज दाजु समेत हुनुहुन्थ्यो। मैलै उहाँलाई पहिलो पटक देखेको थिएँ। उहाँको तालुमा कमै मात्र कपाल थियो र अनुहार गोरो थियो। मलाई उहाँको रूप रङ विदेशीको जस्तो लागेको थियो। चिनजान नभएकोले हामी केटाकेटीहरू कोही नजिक जाँदैनथ्यौँ । मेरो मनमा एउटा सोच थियो कि उहाँ एक सम्भ्रान्त, पढे लेखेको र विद्वान मान्छे होला। एक दिन उहाँले मलाई केही किताबहरू देखाएर- हेर केटा- यस्ता किताबहरू पढ्नु पर्छु भन्नु भएको थियो। तर उहाँले किन त्यसो भन्नु भएको थियो भनेर मैले बुझ्न सकिन त्यस बेला अर्थात् धेरै समयपछि मात्र  बुझेको थिएँ । 

एक दिन मेलै आमालाई स्कुलको होइन अरू नै किताब चाहिएको छ भनेँ। कसले सिकायो अरू नै किताब पढ्नु पर्छ भनेर ?  एउटा स्वाभाविक प्रश्न आमाले सोध्नु भएको थियो । मैले जसले सिकाएको थियो, उहाँकै नाम लिएँ । आमा रिसाउनु भयो र मलाई सम्झाउने गरी भन्नु भयो-   'हेर  बाबु ! आजभोलि तराईतिर रातिराति मान्छे काट्नेहरू निस्केका छन् रे !  अब ती पहाडतिर पनि आउँछन् र मान्छेको टाउको काट्छन्। जे पायो त्यही किताब पढ्नु हुँदैन,  बरु स्कुलको किताब मात्र पढ्नु पर्छ।' सायद, आमाले त्यो बेलाको राजनीतिको बारेमा निकै भेउ पाई सक्नु भएको रहेछ। त्यसबेला बुवाले उहाँलाई केही भनेको हुनुपर्दछ। बुवा राजनीतिको बारेमा जानकारी राख्नु हुन्थ्यो। तर मेरो कलिलो दिमागमा किताब चाहिँ पढ्नै पर्ने रहेछ भन्ने थाहै नपाइ  घुस्यो। म आफ्नो उमेर, समय, उद्देश्य, काम र हैसियत बिना यस कुरामा बिस्तारै  फसिरहेको थिए । 

त्यसपछि म एउटा ठुलो फसाद भित्र परेँ। कलिलो दिमागमा एउटै कुरा हुरिझै चल्न थाल्यो। किताब पढ्नु पर्छ हुटहुटी चलिरहयो । तर कहाँबाट ल्याउने ? कोसँग माग्ने ?कस्तो किताब चाहियो भन्ने ?  र गाली गरेमा के गर्ने ? भन्ने कुराले  मलाई औडाहको छटपटी भइरहन्थ्यो ।

 केटाकेटीहरु जुन जिद्धि र औडाह हुन्छ त्यो पूरा नभएसम्म खान पनि मन लाग्दैन। मलाई पनि त्यस्तै भइरह्यो ।  तर मसँग केही उपाय थिएन। म निकै दिनसम्म भैतारिएँ। घरमा स्वस्थानी, चण्डी पुराण, गुणरत्नमाला र केही धार्मिक किताब त थिए ।  तर ती किताब किताबै हुन् जस्तो लाग्दैनथ्यो किन किन !  गाउँमा न कुनै किताब पसल थियो न कुनै पुस्तकालय। त्यस्तो बेलामा किताब पढ्ने सल्लाह दिनेसँग मलाई खुब रिस समेत उठेको थियो। 

त्यसपछि जसको घरमा गए पनि पहिला मेरो आँखा किताब खोज्न थाल्थे। तर कुनै किताब भेट्न सकेको थिइनँ। सायद ! केटाकेटी नै भएकोले जसको घरमा किताब थिए म त्यहाँ जान्न पाउदिनथेँ होला। तर म पनि के कम 'मोही माग्ने ढुङ्ग्रो किन लुकाउने ?'  गर्नु भनेर एक दिन ठुलो साहस गरेर किताब पढ्न सल्लाह दिनेसँगै गएर भनेँ मलाई कुनै किताब दिनुस्, म पढ्छु। उहाँ एकिछन् त अलमलिनु भयो ।  यसलाई कुन किताब दिने भनेर । किनकि  उहाँ हाम्रो घरको र विद्यालयको पनि शिक्षक हुनुहुन्थ्यो । पाठ्यपुस्तक दिऊँ, आफ्नो उद्देश्य पूरा नहुने ।  आफूले चाहेको किताब दिऊँ भने राजनीतिक अप्ठेरो पर्ला भन्ने डर।

तर पनि धेरै समय लगाएर एउटा किताब उहाँले धेरै सोचेर दिनु भयो। त्यो किताब नितान्त राजनीतिक विषयको थियो। मैले लुकाएर घरमा ल्याएँ र अरूको आँखा छलेर पढ्न थालेँ। तर त्यो किताब मेरो लागि 'कालो अक्षर भैँसी बराबर' भयो । केही  गर्दा पनि बुझिनँ। दोहोर्‍याएर पढेँ तर पनि बुझिनँ। मैले किताबको केही कुरा पनि बुझिनँ भनेर उहाँलाई सुनाएँ। बिस्तारै बुझिन्छ नि केटा !  भनेर त्यसै टार्नु भयो। तर किताब पढ्ने भोक मेराे मेटिनु त कता हो कता झन् बढेर गइरहेकाे  थियाे । त्यस्ता किताब स्कुलमा पढ्ने किताबभन्दा धेरै फरक भएर होला मलाई अझ खुलदुली भने पैदा भयो । 

त्यसपछि सजिला किताब खोज्न थालेँ। दाजुहरूले ल्याएका दार्जिलिङका लेखक प्रकाश कोविदको दिल्लगी र भरोसा नामका दुई वटा उपन्यास फेला पारेर राम्ररी पढेँ। ती उपन्यासहरू राम्रोसँग बुझेको हुनाले मलाई  खुब मन परेको थियो । त्यसपछि लाग्यो कि अब म कुनै पनि किताब पढेर बुझ्न सक्छु। यही मोडमा आएर किताब पढ्ने एउटा जबरजस्तीको शृङ्खला सुरु गरेको थिए । गणेश दाजुसँग मागेर कहिले बारीको कान्ला मुनि, कहिले टुँडिखेल मुनिको झाडी भित्र र कहिले दिशा गर्ने निहुँमा जङ्गल नजिक गएर लुकीछिपी गर्दै पढ्न थालेँ। यसरी पढ्न जाँदा सर्टले छोपेर कम्मर पछाडि किताब भिरेर जान्थेँ। कसैले थाहा पाउँदैनथे। मेरो पढाइ बिना लक्ष्य र उद्देश्य भूमिगत रूपमा अघि बढ्दै गयो।

समय बित्दै जाँदा गणेश दाजु र नरनाथ सर मार्फत अनेक विषयका राजनीतिक किताबहरू पढ्दापढ्दै कम्युनिस्टको भूत थाहै नभई जागेको धेरै पछि थाहा पाएको थिए । मानौँ कि कुनै धामी झाँक्रीमाथि देउता चढे जस्तै । कम्युनिस्टका देउता अति नै जागे पछि कसले छुन सक्ने  'न आमाबुवाले, न स्कुलका शिक्षकले, न आफूभन्दा ठुला मानिसले'। त्यस पछि म एउटा तथाकथित कम्युनिस्ट बनी हालेँ । न कसैको डर न कसैको भर, म सर्वेसर्वा भई हालेँ। दाजुहरु (शिव, सागर, उत्तम) भाइ, (विशाल) साथीहरू (भगवती, तुलसी, कुलप्रसाद आदि) र अरू लाई पनि यो भूत राम्ररी चढ्दै गयो।

आफ्नै शिक्षक नरनाथ सर पनि यस्ता किताब दिने पङ्क्तिमा आए पछि अग्रजहरू, साथीहरू, म र भाइहरू लगायत धेरैमा कम्युनिस्टको भूत राम्ररी चढ्दै गइरहेको थियो। पाठ्य पुस्तक छाडेर अब कार्ल मार्क्स, एङ्गेल्स, लेनिन, माओ, मोदनाथ, पारिजात र अन्य लेखकका किताब खोजी खोजी पढ्न सुरु गरेका थियाैँ ।  अरूलाई के के भएको थियो थाहा छैन, तर मलाई भने एकै साथ दुई वटा भूत चढेका थिए। एउटा किताब पढेर कम्युनिस्टको बनेको भूत र अर्को पाएसम्म किताब पढ्ने भूत !  'पुरानो कोट लगाऊ, नयाँ किताब किन' भन्ने थोरोको भनाई कसैले सुनाई दिएका थिए। त्यो भनाइले मलाई झन् हौसला मिलिरहेको थियो। म जस्ता मात्र होइन देशै भरी यो पङ्क्ति धेरै ठुलै  बिस्तार भइरहेकाे  थियो । 

तर यथार्थमा कम्युनिस्ट हुनु निकै चुनौतीपूर्ण कुरा हो। नेपालमा को कम्युनिस्ट हो र को होइन भन्ने कुरा कसैले भन्न सकिरहेको अवस्था छैन । किनकि अहिले कम्युनिस्ट शब्द सुन्दै नसुनेका देखि कम्युनिस्ट विषयमा विद्यावारिधि गरेकासम्मले कम्युनिस्टको राजनीति गरी रहेका छन्। यहाँ एउटा ठुलो समूह छ जसले कम्युनिस्टको 'क' पनि बुझेको छैन  याे समूह आफुलाई सबैभन्दा ठूलाे र  चर्को स्वरमा कम्युनिस्ट बताइरहेको छ र अर्को समूह छ जसले यसको दर्शन र सिद्धान्त सबै बुझेको छ याे उसकाे स्वर दवि रहेको छ । जसले बुझेका छन् ती असली बन्न सकेका छैनन् र जसले बुझेका छैनन् ती असली कम्यनिस्ट बन्ने सम्भावना पनि छैन । कम्युनिस्ट व्यवहार र कार्यक्रमले बन्ने कुरा हो। तर जसको व्यवहार ठिक छ उसको कुनै कार्यक्रम छैन र जसको कार्यक्रम ठिक छ उसको कुनै व्यवहार असल छैन। परेर, पढेर तथा घुसेरका कम्युनिस्ट भएकाहरूको चेतना र कार्य शैली फरक फरक छ। म त आफूलाई कम्युनिस्ट होइन भन्छु। अनि तपाई नि ? 

आजभोलि पत्रिकाको मूल शीर्षक र सामाजिक सञ्जालको भित्तामा लेखिएको कुरामा अल्झाई दिने र अल्झिने कम्युनिस्टहरू यहाँ कति छन् कति ? परेका, पढेका र घुसेकाहरूको जमातमा अझै पनि मानिसहरू कम्युनिस्टलाई खोजी रहेका छन् । तर किन होला ?   सायद ? यसको जवाफ आज कार्ल मार्क्स भई दिएको भए सजिलै दिन्थे होलान्।