राजकुमार महर्जन | दृष्टिकोण | बैशाख ०१, २०७७
विगतलाई नियाल्दा
बि.सं.२००७ सालभन्दा अघि जनताले दुःख पाउनुको कारण राणा हुन् भन्ने पुर्खाले बुझे । सहिदहरूको रगतका टिका लगाएर राणा फ्याँके । तर २००७ सालको प्रजातन्त्र ‘बाँदरको हातमा नरिवल’ साबित भयो । २०१५ सालको आम निर्वाचनमा देशको इतिहासमै पहिलो पटक दुई तिहाइको सरकार बन्यो । त्यसलाई पाखा लगाएर राजा महेन्द्रले २०१७ सालमा मौलिक व्यवस्थाको नाममा पञ्चायत जन्माए । ३० वर्षसम्म हामी चिच्याइरह्यौँ, ‘पञ्चायत खराब हो ।’ त्यस बेलको भनाई चर्चित थियो– ‘पञ्च खाने दूध र भात, जनता पाउने लातै लात । निर्दलीय पञ्चायती व्यवस्था मुर्दावाद !’ २०४६ सलमा त्यसलाई पनि मिल्कायौँ । निर्दय फ्याल्यौ, बहुल भित्र्यायौँ ।
अब चाहिँ केही हुन्छ भनेर बुरुक्क उफ्रियौँ । बहुदल आएको केही वर्ष भित्रमै जन आन्दोलनका सर्वोच्च कमान्डरले स्व. गणेशमान सिंह भन्नुपर्ने भयो ‘जनता भनेका भेँडा हुन् ।’ नभन्दै उनकै भाषामा भेडाको बथानलाई नेतृत्व गरेर त्यत्रो ठुलो लडाइँ जितेका सिंहले राजनीतिबाटै सन्न्यास लिनुपर्ने अवस्था सृजना भयो वा गरियो । जनता सुखी हुन्छन्, खुसी हुन्छन् भनी के के न गरेँ भन्ठानेका थिए । तर आफै खुसी हुन सकेनन् । बहुदल भित्र्याएको पाँचै वर्षमा एक जमात मान्छे जङ्गल पस्न थाल्यौंं । बहुदलीय व्यवस्था भनेको ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो’ भन्यौँ । दश बर्से वनबासको क्रममा हजारौँले ज्यान दियौँ, हजारौँको ज्यान लियौँ ।
विदेशीको बैसाखी टेकेरै सही २०६२ सालमा १२ बुँदे सम्झौता गर्यौं । बनवासीलाई घरवास हुल्ने वातावरण निर्माण गर्यौं । लोकतन्त्रको नाममा २०६२/०६३ को दोस्रो जनआन्दोलनको कथा मञ्चन गर्यौं । अन्ततः शान्ति सम्झौताको नाममा वन बास गएकालाई दरबारमै हुल्यौं । दरबार बसेकालाई वन बास पठाउने प्रपञ्च रच्यौँ । संसद्को सभामुख नै विदेशी युनियनले दान गरेको कुर्सीमा बसायौँ । सोझो तरिकाले हेर्दा नेपालीले गरेको क्रम भंगतामा विदेशीहरूको राम्रो सहयोग छ भने जस्तो देखिएकै हो तर कुर्सी उपहारको कूटनीति बुझेनौँ । कुर्सी उपहारको अर्थ–‘सभामुखको पद सधैँ उनीहरूको कब्जामा रहनेछ, अटेर गरेमा कुनै पनि बेला त्यो कुर्सीबाट खसालिनेछ’ भनेको हो नि !
लाटो पाराले हेर्दा हाम्रो देशमा विश्वले नसकेका आठौँ आश्चर्यका धेरै वटा घटनाहरू भएका छन् । तर एउटा आश्चर्यको महसुस कहिल्यै गर्न पाइएन । नेपालको यी वीर गाथाले भरिएको यो ६० बर्से इतिहासमा वास्तविक जनता कहिल्यै खुसी हुन पाएनौँ । सुखी हुन पाएनौँ । अमेरिका र युरोपका अति विकसित भनिएका कयौँ राष्ट्रहरू अस्तित्वमा आउनु भन्दा अघि स्वर्ग मानिएको यो देश नेपाललाई हामीले केमा परिणत गर्यौं ? भानुभक्तको अलकापुरी नगरीलाई लुछ्दा लुछ्दा कस्तो बनायौँ ? अझ पनि भन्दैछौं, हामीले यो देशलाई स्वर्ग बनायौँ वा बनाउँदैछौं ।
मेरा यी कुराहरू पढिरहँदा तपाईको मनमा मेरो बारेमा कस्तो धारणा बन्यो होला भन्ने कुरा म सहजै अनुमान लगाउन सक्छु –‘देशमा अग्रगामी छलाङको कुरा भइरहेको छ । तँ भने पश्चगामी कुरा गर्छस् ?’ भनेर मेरो आलोचना गर्न सक्नुहुन्छ । हुन त अग्रगामी कदम नभएको कहाँ हो र ? हिजो पञ्चेसँग घाँटी जोड्नेहरूले दशकौँसम्म सिंहदरबार कब्जा गरे । चप्पल फड्कार्दै लुकीलुकी हिँड्नेहरू ल्याण्डरोभरमा छन् । सुरुङ पसेकाहरू सिंहदरबारमा छन् । जङ्गल बसेकाहरू पनि सिंहदरबारमै छन् । म चाहिँ बित्थामा केही भएन भनेर चिच्याइरहेको छु ।
भ्रष्टाचार मुक्त समाज आजको आवश्यकता हो । देशमा सुशासन कायम गर्ने जस्तैः नेता र कर्मचारीहरूले भ्रष्टाचार नगर्ने, कामको सम्मान र स्वदेशमै श्रम गर्ने वातावरण बनाउने, स्वदेशी उद्यामीहरुलाई सम्मान गर्ने र व्यापार घाटा घटाउने काम भयो भने हामी जस्तो सानो देशले छलाङ मार्न धेरै वर्ष कुर्नु पर्दैन । हाम्रो देशलाई अरू कुनै विदेशीले आएर बनाइदिन्न । यसलाई हामी आफैले बनाउनु पर्छ ।
वर्तमानलाई नियाल्दा
अहिले त गाउँ गाउँमा सिंहदरबार आएको छ । यो कुरा नभुलौँ, सिंहदरबार भनेको सिंह बस्नको लागि हो, चाहे त्यहाँ सानो सिंह बसेको होस वा ठुलो । जहाँ सिंह बस्छन् त्यहाँ सिकार चाहिन्छ । हिजो पो देशभरिका लागि एउटै मात्र सिंह थियो । एक्लैले खान्थ्यो । जति खान्थ्यो डकारुन्जेल खान्थ्यो । अहिले धेरै सिंहहरू छन् । जतिखेर पनि भोकै । तपाईँलाई भनिरहनु नपर्ला, भोको सिंहले सिकार भेटेन भने फट्याङ्ग्रा पनि टिप्छ । फेरि सिंहले सिकार खायो भनेर विरोध गर्ने ! अझ ताक परे त्यही सिकार लुटेर खान पाइएला कि भनेर तिनको चियो गर्ने ब्वाँसाहरू त बाँकी नै छन् !
मैलै तपाईँको आस्थामा चोट पुर्याएको रहेछु भने माफ गर्नुहोला । विश्वका यति धेरै देशहरू छन्, जो ६ दशक अघिसम्म हामी भन्दा गए गुज्रेका थिए । ती देशहरूमा न त यहाँ जस्तो हरेक १० वर्षमा ठुला क्रान्ति नै भए, न त धेरै पटक व्यवस्था परिवर्तन नै भए । तर पनि उनीहरू अहिले अति विकसित र महाशक्ति राष्ट्रको रूपमा खडा भइसकेका छन् । धेरै टाढा नजाऊँ, तपाईँले सिंगापुर र लिकवान् युको बारेमा पढ्नु भएको छ । मलेसिया र महाथिर मुहम्मदको बरेमा राम्ररी जानकारी राख्नुहुन्छ । कोरियाको बारेमा मैले बताइरहनु पर्दैन । माओत्सेतुङलाई भगवान् कृष्ण वा जिसस मान्नेहरूकै शासन चलाई रहका छन् अहिले । गान्धीलाई भगवान् विष्णुको अवतार मान्नेहरूले पनि यो देशमा धेरैबर्ष राज गरेकै हुन् ।
त्यसकै फल होला पाखुरीमा दम भएकाहरू, खाडीमा डढ्न बाध्य भए । जुँगाको रेखी पलाउँदै गरेकाहरू, कुवाको भ्यागुतो बन्न चाहेनन् । कुवाबाट जो उफ्रिए, फेरि फर्केर आएनन् । बाँकी जति छन्, उनीहरू पनि लाइनमा छन् । दोष कसलाई ? मेरो छोरो यो देशमा छ, छोरी त्यो देशमा छे भन्न पाउँदा संसारै जितेँ भन्ठान्ने हामी नै हौँ । देशमा भएका उद्योग, कलकारखाना सबैलाई धराशायी बनाएका हामीले, युवा पाखरीलाई विदेशमा बेचेर रेमिट्यान्सक भित्र्याउँदा महा–उत्सव मनायौँ ।
शिक्षा दिने नाममा नोकर उत्पादन गर्ने कारखानालाई चलाइरहयौं । पढाउने मास्टरलाई दोष लगायौँ । स्कुललाई नै दोष लगायौँ । किन यसो गर्यौं ? अरू धेरै कुरा बुझ्यौँ, तर एउटा कुरा बुझेनौँ । जुन देशको पाठ्यक्रम विदेशीको पैसाले बन्छ, त्यहाँ कस्तो पाठ्यक्रम बन्ला ? स्वाभाविकै छ, प्रायोजक देशले आफूलाई जुन खालको नोकर चाहिन्छ, उस्तै मान्छे उत्पादन गर्ने पाठ्यक्रमलाई त मान्यता दिन्छ नि ! झन् त्यस माथि देशमा बेथिति उत्तिकै । त्यस पछि बौद्धिक पलायनका लागि यो भन्दा ठुलो बहाना के चाहियो र ?
आफैलाई ऐना अगाडि उभ्याउँदा
ल अब एक छिन उल्टो सोचौँ । माथि चर्चा गरिएका सबै कुरालाई एउटा खराब सपना सम्झौँ । अब एक पटक आफ्नै ऐनामा आफैलाई हेरौँ । पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको ‘पल’ नामक चलचित्रमा झैँ समयको सुईलाई उल्टो घुमाऊँ । औँला अन्त होइन, आफैतिर सोझ्याऊँ । अब भने हामीलाई यो कुराको बोध हुन थाल्छ, हामीले पुर्खाको रगतको होली खेल्यौँ । उनको पसिनाको व्याज धेरै खायौँ ।
पुर्खाहरूको वीरगाथा गाएर नथाक्ने हामी । उनीहरूको देशभक्तिका बारे पुराण लगाएर नथाक्ने हामी । ऐन वख्तमा आएर त्यही पुर्खाले सिर्जेको देशलाई धिक्कार्ने पनि हामी । आफ्नो स्वार्थ सिद्धिका लागि देशलाई कहिले तोड्यौँ, कहिले फोड्यौँ । धेरैले त देशलाई छोड्यौँ । को बहादुरले भन्न सक्छ, हामीले देशका निम्ति यी यी कुरा जोड्यौँ ? शायद औँलामा गन्न सकिएला ।
देशका ठालु, मुखिया देखि हामी लुतेसम्म सबैले देशको चीरहरण गर्ने कुरा मात्र सोच्यौँ । आफ्नो लाज ढाक्न गुहार मागिरहेकी नेपाल आमालाई लात मार्यौं । विदेश भाग्यौँ, नभागेकाले देशलाई लुट्नसम्म लुटयौं । त्यसैले त लोक गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ भनेर गीतै गाउनुपर्यो । एउटा उखान छ, ‘ताक परे तिवारी नत्र गोतामे’ । हामीले आजसम्म यो देशसँग यस्तै व्यवहार गर्यौं । स्वार्थ मिलेसम्म मेरो देश, मेरो नेपाल आमा । नमिलेपछि यस्तो जाबो देश । यहाँ बसेर के गर्नु ? यहाँ त कुनै सुविधा छैन, आदि इत्यादि कुरा गर् यौं ।
देशभक्ति प्रमाणित गर्ने मौका
अहिले परिस्थितिले फेरि प्रमाणित गरेको छ । राम्रो भए पनि, नराम्रो भए पनि, भत्किए बिग्रिएको भए पनि स्वदेश आखिर स्वदेशै हो । शरीरमा तागत छउन्जेल स्वदेशलाई लात मारे पनि जीवनको अन्तिम अवस्थामा सम्झिने भनेको फेरि स्वदेशै हो । विश्वको जुनसुकै कुनामा बसे पनि आपत् पर्दा भागेर वा लखेटिएर फर्किनुपर्ने ठाउँ आखिर स्वदेशै हो । कोरोना भाइरसलाई धन्यवाद ! कमसेकम यति कुरा सम्झाइदिएको छ । त्यसैले त हिजोसम्म देशलाई बिर्सनेहरू आज महाकाली नदीमा पौडी खेलेर सीमा बारी भित्रिरहेका छन् । यो देशमा केही छैन भन्नेहरू भागाभाग गरेर स्वदेश फर्किरहेका छन् ।
आउनुहोस् ! अब आफ्नै पौरखले खाने र पुर्खाको ऋण चुक्ता गर्ने मौका आएको छ । यो मौकालाई नगुमाऔँ । आज फेरि यो देशलाई तपाइको साथ चाहिएको छ । २०७२ सालको महा–भूकम्पको सामना गर्दा होस् या त्यही सालमा भारतीय नाकाबन्दी विरुद्ध लड्दा होस् । त्यति बेला हामीले जुन एकता र प्रदर्शन गरेका थियौँ, आज कोरोना भाइरस (कोभिड १९) लाई ढाल्न पनि त्यत्तिकै साहस र एकता खाँचो परेको छ । हिजो जतिसुकै पाप गरे पनि आज त्यो पापलाई पखाल्ने मौका आएको छ । महा–भूकम्प पछि राहतका लागि आएको जस्ता र त्रिपाल लुकाउँदा लागेको पाप, अहिले कटाउने मौका आएको छ । आज फेरि पनि एक पटक देशभक्ति देखाउने अवसर जुटेको छ ।
हुन त यी दिनमा पनि पापीहरू जन्मिसके भन्ने सुनिन थालेको छ । कोभिड–१९ विरुद्धको अभियानमा स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा बदमासी गर्नेहरू नरक बास हुने पक्का भइसक्यो । कोभिड–१९ले मानव जातिमाथि नै धावा बोलिरहेको यस्तो अवस्थामा समेत जनताको दुःख, पीडा र चोट माथि खेलबाड गर्ने जो केहीलाई इतिहासले माफ गर्ने छैन । ती पापीहरूलाई पनि भन्छु, तुरुन्तै प्रायश्चित गरिहाल्नुहोस् ।
कोरोना भाइरस विरुद्धको विश्वयुद्धबाट हामी नेपालीहरू अछुतो छैनौँ । यसबाट भाग्नु भन्दा पनि सामना गर्ने हो । लकडाउन खुलेपछिको नेपाल कस्तो होला ? त्यति बेला के कस्ता चुनौतीहरू आइपर्लान् ? त्यसको विषयमा अहिल्यै अनुमान लगाउनु अलि छिटो होला । यसमा विश्व परिस्थिति र वातावरणले प्रत्यक्ष भूमिका खेल्छ । यसको बारेमा विस्तृत रूपमा अर्को हप्ता चर्चा गर्नेछु । तर परि आएको चुनौतीको सामना गर्न हामी सधैँ तम्तयार रहनुपर्छ । सबैले हातमा हात मिलाउन जरुरी छ ।
मुख्यतः भ्रष्टाचार मुक्त समाज आजको आवश्यकता हो । देशमा सुशासन कायम गर्ने जस्तैः नेता र कर्मचारीहरूले भ्रष्टाचार नगर्ने, कामको सम्मान र स्वदेशमै श्रम गर्ने वातावरण बनाउने, स्वदेशी उद्यामीहरुलाई सम्मान गर्ने र व्यापार घाटा घटाउने काम भयो भने हामी जस्तो सानो देशले छलाङ मार्न धेरै वर्ष कुर्नु पर्दैन । हाम्रो देशलाई अरू कुनै विदेशीले आएर बनाइदिन्न । यसलाई हामी आफैले बनाउनु पर्छ । त्यसैमा हाम्रो गौरव गाथा लुकेको छ ।